पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एकदिन त्यसको प्रतिफल पाइन्छ’ भन्ने सोचमा विश्वास गर्ने धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले खुशी हुँदै भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो ।” कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा […]

Jul 28, 2025 - 12:11
 0
पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एकदिन त्यसको प्रतिफल पाइन्छ’ भन्ने सोचमा विश्वास गर्ने धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले खुशी हुँदै भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो ।”

कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठूलो संघर्ष गरेकी छन्, धेरै गुमाएकी छन् । उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् ।

उनले विसं २०७२ सालको भूकम्पमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन् । भूकम्पले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिल्सिएकी उनले ऋण गरेर श्रीमान्‌लाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौंमा प्लस टुमा अध्ययनरत छन् ।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।

“मैले जीवनमा कैयौँ दु:खहरु भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको संघर्षको परिणामस्वरुप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु”, उनले भनिन् । श्रीमान्‌लाई विदेश नफापेपछि उनले केही समय काठमाडौंमा व्यापार पनि गरिन् । तर, केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमान्‌लाई फेरि विदेश पठाइकी थिइन् ।

“अहिले पनि श्रीमान् विदेश जाँदाको र अरु ऋण बाँकी छ, श्रीमान्‌को स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनुपरेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ”, उनले सुनाइन् ।

एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बीचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।

“सधैं अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,” एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने, “सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौं । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौं ।”

उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रमा यस योजनामा सहभागिता जनाएका ग्राहकवर्गहरुलाई कम्पनीले प्रतिबद्धता जनाए बमोजिम विजेता घोषणा गरी पुरस्कृत गरेको हो । कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरुलाई पनि प्रमाणिकरणको प्रक्रिया पुर्‍याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register