पहिलो प्रश्न प्रचण्डलाई गराैँ, त्यसपछि प्रकाश सपूतलाई

ढलेको/मरेको आन्दोलनको इतिहास त्यसैगरी लेखिन्छ, जसरी प्रकाश सपूतले लेखे । पहिलो प्रश्न प्रकाश सपूतलाई हैन प्रचण्डलाई गरौँ । किरण र विप्लवलाई पनि गरौंँ ।

Mar 13, 2022 - 05:30
 0
पहिलो प्रश्न प्रचण्डलाई गराैँ, त्यसपछि प्रकाश सपूतलाई

१. माओवादी पृष्ठभूमिका साथीहरूले आफ्नो गौरवपूर्ण क्रान्तिप्रति जुन सामुहिक प्रतिबद्धता देखाउनुभएको छ, त्यो एकदमै सराहनीय छ । एउटा महान आन्दोलनका योद्धाप्रति बनाइएको बिम्बलाई जसरी प्रतिवाद गर्नुभएको छ, त्यो पनि सराहनीय छ । यद्यपि आन्दोलन बचाउन नसकेपछि, आन्दोलनलाई नयाँ दिशा दिन नसकेपछि जतिसुकै बल गरे पनि इतिहासको भ्रष्टिकरणलाई रोक्न सकिन्न ।

२. गीतभरीमा हाम्रा साथीहरूको प्रश्न जम्माजम्मी जनमुक्ति सेनाकी पूर्व सदस्यको यौन कार्यलाई लिएर मात्रै छ । लडाकु हरितन्नम र अपमानित जीवन बाँचिरहेको छ, कुनै प्रश्न छैन । अर्की लडाकु विदेश गएर त्यतै अलपत्र परेको प्रसंग छ, त्यहाँ पनि चासो छैन ।

माओवादी आन्दोलनकै नवधनाड्यकाे तुजुकै अर्कै छ, त्यहाँ पनि प्रश्न छैन । जुन दिनसम्म आन्दोलनमा लडेका योद्धाहरूमाथिको हेला, अपमान र तिनको रगत/पसिनाको बिक्रीमाथि कोही प्रश्न गर्न सक्दैन, उसले यौन कार्यको दृश्यमा प्रश्न उठाउने नैतिकतासमेत राख्दैन ।

यहाँ कुनै रहरमा गरिएको यौन कार्य देखाइएको छैन । उनले बाध्यतामा यौन कार्य गरेको देखाइएको छ । बाँच्नकै लागि किड्नी बेच्नुभन्दा धेरै गुणा बढी सहज र कम अपमानजक काम पो होकि बाँच्नकै लागि यौन कार्य गर्नु, सोचौँ ।

आफूले लडेको आन्दोलनले अयोग्यताको दर्जा दिनुभन्दा कम पीडादायी काम पो होकि बाध्यतामा यौन कार्य गर्नु, त्यो पनि सोचौँ । जनमुक्ति सेनाको रगत/पसिना बेच्नु, उनीहरूलाई अरब पठाउनु, अपमानजनक जीवन बाँच्न अभिशप्त गर्नु, घाइते योद्धालाई पुषको ठन्डीमा माइतीघरमा अनसन बस्न बाध्य पार्नु, शहीदहरूलाई आजसम्म पनि राष्ट्रिय शहीद घोषणा नगर्नु, आफैँले प्रतिक्रियावादी भनेको एमालेसँग माओवादी आन्दोलनका विरासत त्यागेर घाँटी जोड्न जानुभन्दा हजार गुणा कम अश्लील होकि यौनकार्य गरेको कथा भन्नू ? त्यो पनि सोचौँ ।

बाँच्ने बाध्यतामा मान्छेले आफूसँग भएका सबै विकल्प लगाउँछ नै, मान्छे बाँच्न चाहन्छ । लडाकुहरूलाई बाँच्नु न मर्नु पारिएको छ कि छैन त ? दर्जनौँपटक सत्ताभोग गर्दा जनमुक्ति सेनाका योद्धाहरूलाई सम्मानजनक जीवनको हकदार बनाइयो त ? जब सम्मानजनक जीवनको हकदार योद्धाहरूलाई बनाइएको छैन भने यौन कार्य गरेर होस् कि अरबमा मुर्छित परेर होस्, दुवै खालका जीवन समान रूपमा अपमानजनक नै हुन् ।

३. प्रकाश सपूतको गीत १६ मिनेटभन्दा बढीको छ, त्यसमा १ मिनेट र केही सेकेन्ड बढी यौन कार्यको प्रसंग आउँछ । बाँकी १५ मिनेटमा कुनै प्रश्नै छैन हैन ? जीवन दाउमा लगाएका योद्धाको हद दर्जाको दुरावस्था छ त्यहाँ । तर, 'समस्या नभएका होइनन्' टाइपको साखुल्ले टिप्पणी गरिदिएमात्रै पुग्छ हैन ? एउटी महिला योद्धाको बाध्यताको यौन कार्यमा सबभन्दा धेरै टाउको दुख्छ, किन ? यसको एकमात्रै कारण माओवादी कमरेडहरूको दिमागमा बसेको पितृसत्तावादी यौन नैतिकता हो । 

आफ्नी श्रीमती विदेश पठाएर, श्रीमती विदेशमा अलपत्र परेको समय त्यो मुठ्ठी उठाउने क्रान्तिकारी श्रीमान् बासनापूर्तिका लागि यौन अखडा हिँडेको छ । कसैले सोध्नुभयो- क्रान्तिकारी नैतिकताद्वारा लैष योद्धा यस्तो हुनै सक्दैन भनेर ? दिमागमा गढेको पत्रु र पितृसत्तावादी यौन नैतिकताको हतियारले प्रकाश सपूतको प्रतिवाद हुन सक्दैन ।

४. यो गीत ठीक छ त ? बिल्कुल छैन । यसले जनयुद्धका मूल्यको भ्रष्टिकरण गर्छ । यसले अपवादका पात्रलाई उभ्याएर जनयुद्धका लडाकुको कथा भन्छ । समस्याग्रस्त विचारहरू प्रवाहित गर्छ र आँसुको अन्धाधुन्द व्यापार गर्छ । तर, यो दण्दनीय पनि हैन र पूर्णत काल्पनिक पनि हैन ।

यो गीतले जनयुद्ध हिजो बेठीक थियो भनेर तर्क गरेको पनि होइन । र, यो गीतको आलोच्य पक्ष तथाकथित यौन नैतिकता पनि हैन । जनयुद्धको समग्र भाष्यको सवाल हो उठाउनुपर्ने । त्यसैले सपूतलाई सरापेर होइन, गाली गरेर पनि होइन जनयुद्धका मूल्यहरूको भ्रष्टिकरणको प्रतिवाद गर्ने संकल्प र जनयुद्धको गौरवशाली जगमा टेकेर क्रान्तिको कार्यभार उठाउने साहसले मात्रै सारा माओवादी आन्दोलनमाथिका आक्रमणको जवाफ दिन्छ । त्यसैले आन्दोलन भ्रष्टिकरणमा पहिलो प्रश्न प्रचण्डलाई सोधौँ, त्यसपछि सपूतहरूलाई प्रश्न गर्नु त छँदैछ । 

(शिलापत्रमा प्रकाशित ,मनोज खतिवडाको फेसबुकबाट साभार)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register