जेभिपीको उकाली-ओराली र वामपन्थी राष्ट्रपति अनुराका चुनौती

एलिटहरूबाट सत्ता खोस्न सजिलो छैन, खोसिसकेपछि टिकाउन र जनताका पक्षमा सुधार गरिरहन पनि असहज छ । यस्तो अवस्थामा वामपन्थी जनमतको माग र सत्ताका सीमाबीच तालमेल मिलाएर अनुरा कसरी अघि बढ्लान भन्ने परीक्षण सुरु भएको छ ।

Oct 2, 2024 - 07:17
 0
जेभिपीको उकाली-ओराली र वामपन्थी राष्ट्रपति अनुराका चुनौती

“हाम्रो लक्ष्य यो देशका जनताको जीवनस्तर उकास्नु हो । हामी हाम्रा नागरिकले सामना गरिरहेको गह्रुँगो बोझ निवारण गर्न केही व्यावहारिक कार्यक्रमहरू लागू गर्दैछौँ ।”

अनुरा कुमारा दिशानायके, श्रीलंकन राष्ट्रपति, सेप्टेम्बर २८ ।

सेप्टेम्बर २०२४ को तेस्रो साता भएको निर्वाचनबाट श्रीलंकाको नवौं राष्ट्रपतिमा ५५ वर्षीय अनुरा दिशानायके चुनिए । मार्क्सवादी-लेनिनवादी राजनीतिक दलका तर्फबाट राजनीतिमा उदाएका अनुरा श्रीलंकाका पहिलो वामपन्थी राष्ट्रपति बनेका छन् ।

उनले आफ्नै दलकी एकजना बौद्धिक व्यक्तित्व तथा सांसद सदस्य हरिणी अमरसुर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् र संसद् भङ्ग गर्दै १४ नोभेम्बरमा नयाँ निर्वाचन गर्ने घोषणा गरेका छन् । विघटित संसद्‌मा जम्मा तीन सिट जितेको जेभिपीका लागि के परिणाम आउँछ भन्ने अनुमान गर्न गाह्रो छ । एउटा अनिश्चित राजनीतिक भविष्यका लागि अनुरा अहिले नै तयार भएका जस्ता देखिन्छन् ।

अनुरा जनता विमुक्ती पेरामुना (जेभिपी) का अध्यक्ष पनि हुन् । जेभिपी त्यो दल हो जसले १९७१ र १९८७ मा गरेर दुईपटक दक्षिणपन्थीले नेतृत्व गरेको बुर्जुवा राजनीतिक प्रणालीविरुद्ध हतियार उठाएको थियो । सशस्त्र शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने प्रयास गरेको थियो । उसलाई आतङ्कवादी भन्दै प्रतिबन्ध लगाइएको थियो ।

यसका मुख्य नेता रोहना विजयवीराको निशस्त्र अवस्थामा १९८९ मा पक्राउ गरेर सेनाले हत्या गरेको थियो । विजयविराको अन्त्यसँगै यो दलले सत्ता कब्जा गर्ने हिंसाको मार्ग परित्याग गरेको थियो । शान्तिपूर्ण राजनीतिमा आएसँगै प्रतिबन्ध पनि फुकुवा भएको थियो । सन् २००० मा पहिलो पटक अनुरा सांसद सदस्य निर्वाचित भएका थिए । त्यसयता धेरै समय सांसद र मन्त्री पनि भइसकेका छन् ।

सन् १९८१ का स्थानीय निर्वाचनमा सहभागी भएको जेभिपीबाट १९८२ मा भएको निर्वाचनमा रोहना विजयविरा राष्ट्रपति पदका उम्मेदवार भएका थिए । उनले ३ प्रतिशत मत प्राप्त गरेका थिए । त्यसको ४२ वर्षपछि उनको दलबाट अनुराले राष्ट्रपतिको निर्वाचन जितेका छन् । उनको जितले के परिणाम दिन्छ हेर्न बाँकी छ तर, यसले इतिहासमा जेभिपीको भूमिकाको पुनस्मरण भएको छ । मार्क्सवादी-लेनिनवादी विचारका नेता रोहना विजयवीरा, उनको विद्रोह र श्रीलंकाली कम्युनिष्ट आन्दोलनको इतिहासबारे यहाँ संक्षेपमा चर्चा गरिनेछ ।

कम्युनिष्ट पार्टी र विभाजन

एसियामा कम्युनिष्ट पार्टीहरूको गठनको मुख्य प्रेरक शक्ति अक्टोबर क्रान्ति, सोभियत समाजवाद र त्यसका नेता भ्लादिमिर लेनिन रहेका देखिन्छन् । अक्टोबर क्रान्ति र लेनिन दुवैले साम्राज्यवाद विरोधी आन्दोलनमा लागेका उपनिवेशका जनतालाई एउटा उत्प्रेरणाको काम गरेको देखिन्छ ।

ब्रिटिश साम्राज्यबाट स्वतन्त्रता खोजिरहेको श्रीलंकामा पनि कम्युनिष्ट पार्टीको स्थापना अघि सन् १९३५ मा पहिलो वामपन्थी दलका रूपमा लंका सम समाज स्थापना भएको थियो । त्यसको वामपन्थी हिस्साले सन् १९४३ मा विभाजित भएर श्रीलंका कम्युनिष्ट पार्टी स्थापना गरेको थियो । सन् १९५६ पछि विस्तारै सोभियत सङ्घ र चीनबीच, ख्रुस्चोवको लाइन र माओका लाइनका बीच मतभेद देखा पर्दै गयो । विश्वका कम्युनिष्ट पार्टीहरू पनि क्रमशः सोभियत धुरी र चिनियाँ धुरीमा विभाजित भए ।

श्रीलंकाको कम्युनिष्ट पार्टीमा पनि मस्कोपन्थी र पेकिङपन्थी दुई समूह देखा परे र अलग भएर काम गर्न थाले जस्तो नेपालमा १९६२ पछि भएको थियो । त्यसका एकजना सदस्य थिए रोहना विजयविरा ।

उनका पिता कम्युनिष्टहरूको पेकिङ समर्थक समूहका सदस्य थिए । रोहनाको परिवार गरिबीमा थियो । उनले विद्यालय शिक्षा पूरा गरेपछि उच्च शिक्षा अध्ययनका लागि रुसमा छात्रवृत्ति पाए । पेट्रिस लुमुम्वा विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातक गरे । रुसमा पढ्दै गर्दा उनले ख्रुस्चोव र सोभियत सङ्घको कम्युनिष्ट पार्टीका धाराणासँग असहमति राख्न थालेका थिए । माओको राजनीतिक लाइनप्रति झुकाव बढ्दै गएको थियो । मेडिकल साइन्समा एमबीबीएस तेस्रो वर्षमा हुँदा बिरामी भएर देश फर्केका उनलाई चीन समर्थक भएको भन्दै मस्कोले फर्कने भिसा दिएन । त्यसपछि उनको पढाइ रोकियो ।

उनलाई श्रीलंकाका दुवै कम्युनिष्ट पार्टीको नेतृत्वले क्रान्ति गर्दैन भन्ने विश्वास भइसकेको थियो । उनीहरूले आम विद्यार्थी, किसान र मजदुरलाई धोका दिएको उनको निष्कर्ष थियो । उनी आफ्ना साथीहरू सहित त्यसबाट अलग भए । युवा तथा विद्यार्थी र मजदुर युनियन बीच काम गर्न थाले, व्याख्यान दिन थाले । विस्तारै उनका कुरा मानिसले ध्यान दिएर सुन्न थाले ।

मजदुर र विद्यार्थीका आन्दोलन उठ्न थाले । यसबाट तर्सिएको सरकारले सन् १९७० मा उनलाई गिरफ्तार गरेर मुद्दा चलाउन खोज्यो । तर, अदालतले उनलाई निर्दोष ठहर गरेर रिहा गर्‍यो । त्यसपछि उनकाप्रति मानिसहरूको ध्यान तानियो र एउटा शक्तिशाली आन्दोलन निर्माण हुँदै गयो ।

यस्तैमा भियतनाम युद्धको विरोध गर्ने भन्दै १९७१ मा सरकार समर्थक सांसदसहितको एउटा जुलुस अमेरिकी राजदूतावासतिर गयो । अमेरिका विरोधी नारा लगाएको उक्त जुलुसबाटै एकजना सांसदले दूतावासमा पेट्रोल बम हान्यो । तर, त्यो एउटा सरकारी चाल मात्र थियो । वामपन्थीहरूलाई दोष लगाइयो । त्यसैलाई निहुँ बनाएर विजयविरालाई गिरफ्तार गरियो । र, जेभिपीमाथि व्यापक दमन थालियो ।

गिरफ्तारी अघि नै उनीहरूले जनता विमुक्ति पेरामुना गठन गरिसकेका थिए । त्यसको नेतृत्वले ससस्त्र विद्रोहमार्फत सत्ता कब्जा गर्ने निर्णय गर्‍यो । यो विद्रोहमाथि सरकारले चरम दमन गर्‍यो । दश हजार जति नेता कार्यकर्ता र समर्थक मारिए अरु २० हजार जति पक्राउ परेपछि विद्रोह समाप्त भयो ।

१९७७ मा जेलबाट छुटेपछि विजयविरा पुनः शक्ति सञ्चयमा लागे । १९८१ मा भएको जिल्ला र स्थानीय तहका निर्वाचनमा उम्मेदवार उठाए र केही ठाउँमा जिते । १९८२ मा उनी आफैँ राष्ट्रपतिको निर्वाचनमा खडा भए । तर, निकै कम मत मात्रै प्राप्त गरे ।

जेभिपीले १९८७ मा फेरि ससस्त्र विद्रोहको तयारी थाल्यो । यसपटक प्रहरी चौकी र सरकारी कार्यालयलाई निशाना बनाइयो । विद्रोह बढ्दै गएपछि सेनाले दमन गर्न थाल्यो । त्यसक्रममा विजयविरा र उनका एकजना सहकर्मी पोलिटब्यूरो सदस्यलाई सँगै गिरफ्तार गरेर हत्या गरियो ।

केहीवर्षपछि फेरि जेभिपी शान्तिपूर्ण राजनीतिमा सामेल भएर निर्वाचन लड्न थाल्यो । सन् २००४ मा त चन्द्रिका कुमारातुङ्गाको सरकारमा सामेल समेत भयो । अहिलेका राष्ट्रपति कृषि मन्त्री बने । तर, चन्द्रिकासँग पनि तमिलहरूलाई दिइने अधिकारका सम्बन्धमा उनीहरूको मत बाझिएपछि अनुराले सरकार छाडे ।

सर्वसाधारणका प्रतिनिधि अनुराका चुनौती

सिँहला बहुल क्षेत्रमा बढी प्रभाव रहेको र तमिलहरूलाई स्वायत्तता दिन अस्वीकार गर्ने सिँहल राष्ट्रवादको धार बलियो भएको जेभिपीमा नेपालका कम्युनिष्टहरूझैँ भारत विरोधी भावनाको बढी नै प्रभाव छ । अहिलेसम्म एउटा विद्रोही र प्रतिपक्षी छवि भएको मार्क्सवादी विचारधारा बोकेको राजनीतिक समूहका नेताका रूपमा अनुराका अगाडि केही चुनौती छन् ।

परम्परादेखि सत्तामा हालिमुहाली चलाएको सम्भ्रान्त वर्गले पचाउँछ पचाउँदैन भन्ने एकातिर छ भने अर्कोतिर राज्यका मुख्य अवयवहरू सेना, अदालत, प्रचलित कानून, ठूला व्यापारी र उद्योग क्षेत्रले कसरी लिन्छ भन्ने कुराले पनि उनका चुनौतीलाई सहज या असहज बनाउनेछन् ।

मार्क्सवादी भएकै कारण उनको सम्बन्ध पश्चिमा र अमेरिकासँग चिसिन सक्ने तथा बाध्य भएर चीनतिर ढल्किने सम्भावना पनि छ । यसमा भारत उनीसँग कतिको सहज रूपमा प्रस्तुत हुन्छ भन्ने कुराले पनि अर्थ राख्नेछ । दिल्लीमा पढेकी हिरणी प्रधानमन्त्री बनेकाले भारतसँग संवादको सम्भावना भने बढाइदिएको छ ।

यी कुरालाई तपसिलमा छाड्दा पनि उनका सामु दुईवटा ठूला चुनौती छन् । पहिलो, संसद्‌मा अहिलेसम्म उनका जम्मा तीनजना सांसद थिए । संसद्को बहुमतले अनुमोदन नगरि सरकारले काम गर्न सक्दैन । आउने चालिस दिनमा हुने निर्वाचनमा उनको दलले बहुमत ल्याउने सम्भावना कम छ ।

तमिल क्षेत्रमा उनको प्रभाव कम रहेको र प्रेमदासाले बढी मत ल्याएको हालैको निर्वाचन परिणामले देखाएको छ । यसले राष्ट्रिय रुपमा सबैलाई एकताबद्ध बनाएर जान बाधा पुग्न सक्छ । तमिलहरूसँग भारतको स्वार्थ गाँसिएको कारणले पनि यो विषयले उनलाई अप्ठेरो पारिरहन सक्छ ।

दोस्रो, र महत्त्वपूर्ण कुराचाहिँ आर्थिक क्षेत्रमा देखिएको सुस्त रिकभरीलाई गति दिने र रोजगारी सिर्जना गर्दै युवालाई चित्त बुझाउनु हो । उनको उदयका पछाडि दुई वर्ष पहिले भएको जनविद्रोहको हात छ, जसमा आम साधारण मानिसको मुख्य सहभागिता रहेको थियो ।

सन् १९६५ देखि नै जेभिपीले आम श्रमजीवि वर्ग, किसान र युवा तथा विद्यार्थीलाई परिवर्तनको सपना देखाउँदै आएको हो । अनुरा र हरिणी दुवैका लागी यो परीक्षाको घडी हो । उनीहरू असफल हुँदा त्यहाँको वामपन्थी या मार्क्सवादी जनमतको विश्वास गुम्नेछ र आम साधारण मानिसले उनीहरूका तर्फ पिठ फर्काउन सक्नेछन् । यसले झन्डै ६० वर्षअघि कम्युनिष्ट पार्टीको नेतृत्वले गद्दारी गरेको व्याख्यासहित उदाएको नयाँ लोकप्रिय वामपन्थको पनि अवसान हुनसक्छ ।

सेप्टेम्बर २८ मा उनले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट् गर्दै स्टेटमेन्ट दिएका छन् कि उनीहरू आफ्ना जनताको जीवनस्तर उकास्न केही व्यावहारिक कार्यक्रम लागू गर्दैछन् । तर, यी कार्यक्रम के हुनेछन् भन्नेचाहिँ प्रष्ट चित्र आएको छैन । यद्यपि, उनले आफ्नो आउटसाइडर स्वभाव र लोकप्रिय नेताको छविअनुकूलका केही व्यवाहारिक कदम चालेका छन् ।

उनले परम्परागत शासकका सबै ढस्सा त्यागेका छन् । राष्ट्रपति बनेपछि पनि उनको लवाइमा कुनै परिवर्तन आएको छैन । जनतासँगको सम्बन्ध सहज र सरल बनाइरहेका छन् । यस अगाडि पनि जेभिपीका सांसदले आफ्नो तलब लिँदैनथे, एउटा कोषमा जम्मा गरेर जनताको निर्णयअनुसार विकासका काममा लगाउने गर्थे ।

तर, आइएमएफसँग भएको सहमतिले निम्त्याउने खर्च कटौती, ठूलो मात्राको वैदेशिक ऋण, अमेरिका, भारत र चीनका बीचको भूराजनीतिक तनाव र सङ्घर्षहरू झेल्दै उनले के कस्ता कार्यक्रम लागू गर्न सक्लान् भन्ने प्रश्न जीवित छ ।

जे होस्, उनको जितले आन्दोलन उठान गरेको ५९ वर्षपछि संस्थापक नेता तथा विचारक रोहन विजयविरासहित हजारौंको बलिदानको जगमा उठेको जेभिपीका समर्थक र आम सर्वसाधारण श्रीलंकालीमा एउटा आशा जगाएको छ । साथै अरु देशका वामपन्थीमा पनि यदि राजनीतिक नेतृत्वले जमिन छाडेन र बुर्जुवावर्गसँग अनावश्यक साँठगाँठ र सम्झौता गरेन भने जनताको विश्वासका आधारमा सत्तामा पुग्न र सुधार गर्न सम्भव छ भन्ने विश्वास पनि देखाएको छ ।

एलिटहरूबाट सत्ता खोस्न सजिलो छैन, खोसिसकेपछि टिकाउन र जनताका पक्षमा सुधारहरू गरिरहन पनि असहज छ । यस्तो अवस्थामा अनुरा र हरिणीहरू वामपन्थी जनमतको माग र सत्ताका सीमाबीच तालमेल मिलाएर कसरी अघि बढ्लान भन्ने परीक्षण सुरु भएको छ ।

उनी एकदम सजग र फुकेर पाइला चाल्ने आफ्नो विचार प्रष्टसँग भन्ने र जनतासँग संवाद गर्ने खालका देखिन्छन् । जस्तो उनले सरकारी अधिकारीहरूले चढ्ने लक्जरी सवारी साधन अत्यावश्यक सेवामा लगाउन निर्देशन दिएका छन् र मछुवारहरूलाई इन्धनको अनुदान व्यवस्था गर्न किसानलाई मलमा अनुदान बढाउन निर्देशन दिइसकेका छन् ।

प्रत्येक बालबालिकाको उचित शिक्षाका लागि उनीहरूले अवसर पाउने कुराको निश्चितता गरिने बताएका छन् । शपथ लिएपछिको मन्तव्यमा उनले आफ्नो सिमाना र क्षमता बुझेको र आफूसँग जादुको छडी या सबै कुराको समाधान भएको दाबी नगर्ने भनेर विनम्रतापूर्वक जनताको सेवा गर्ने बताएका छन् । उनको थालनी उत्साहप्रद छ । बाँकी त संसद्को निर्वाचनपछि मात्र भन्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register