च्याङ्ग्रा बेच्न रारादेखि फेवासम्मको यात्रा

काठमाडौं । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू ८ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दशैंको मुखमा च्याङ्ग्रा […]

Oct 5, 2024 - 08:17
 0
च्याङ्ग्रा बेच्न रारादेखि फेवासम्मको यात्रा

काठमाडौं । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू ८ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए ।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दशैंको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ ।

लामाले दशैंमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् ।

‘यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्ग्रा बिक्री भइसकेको बताए ।

लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने योजना छ ।

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा बर्सौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन् ।

‘दशैंको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउँनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवाउन पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ’, लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नुपर्‍यो ।’

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजार रुपैयाँले मूल्य घटाएको लामा बताउँछन् । लामाको व्यवसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा । उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रुपैयाँ रहेको कर्माले जानकारी दिए । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४२ हजार रुपैयाँमा दिने गरेको उनी बताउँछन् ।

कर्मा भन्छन्, ‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महंगो होइन, पोहोर सालको दशैंमा ४८/५० हजार रुपैयाँ भन्थे अहिले ३८/४० हजार रुपैयाँमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ ।’

दशैंका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register