ड्रोनबाटै राहत वितरण, यसरी काम गर्दैछ ‘हामी नेपाल’ ? (भिडिओसहित)

संस्थाले राहत सामग्री वितरणका लागि प्रयोग गरिरहेको ड्रोनले सामान्यतया: ४० देखि ५० किलो सामान लिफ्ट गर्न सक्छ । ड्रोन सामग्री बोकेर सामान्य ३० देखि ४५ मिनेटसम्म उड्न सक्छ ।

Oct 7, 2024 - 08:57
 0
ड्रोनबाटै राहत वितरण, यसरी काम गर्दैछ ‘हामी नेपाल’ ? (भिडिओसहित)

काठमाडौं । ड्रोनबाटै राहत सामग्री वितरण ! अलि नौलो लागेन ? पक्कै लाग्यो होला । त्यसो त स्वाभाविक हो, नेपालको सन्दर्भमा यो पहिलोपटक हो ।

हो, अहिले काभ्रेको पनौती नगरपालिका १२ को मगर गाउँमा ड्रोनमार्फत राहत सामग्री वितरण गरिँदैछ । ‘हामी नेपाल’ नामक संस्थाले यो काम गरिरहेको छ ।

छिमेकी देश चीनको डीजेआई नामक संस्थाको सहकार्यमा हामी नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको उपयोग गरेर राहत सामग्री वितरण गरिरहेको हो ।

अहिलेसम्म ८० भन्दा बढी पीडित परिवारलाई ड्रोनमार्फत राहत सामग्री वितरण गरिसकिएको संस्थाका स्वयम्‌सेवक अप्सन बीसीले बताए ।

अरु ठाउँ पनि पीडित छन्, किन तपाईंहरूले मगर गाउँ रोज्नुभयो ? भन्ने जिज्ञासामा बीसी भन्छन्, “यो अलिक विकट ठाउँ हो । जति पनि राहत आए, ती सबै तल-तल अलि सहज ठाउँका पीडितले मात्र पाए । तर, यता गाडी पनि जाँदैन, त्यससँगै राहत पुग्न गाह्रो हुन्छ ।”

संस्थाले रासन-पानी, लत्ताकपडा, ब्लाङ्केट-डस्नालगायत सामग्री राहतस्वरूप वितरण गरिरहेको छ ।

कसरी काम गरिरहेको छ संस्थाले ?

गत असोज १० गतेदेखि १२ गतेसम्म भएको लगातारको वर्षापछि सृजित बाढी, पहिरो र डुबानमा सयौं मान्छेहरू बिते, कति घाइते-बिरामी छन् त कति अझै बेपत्ता ! त्यसबेला अझ बढी क्षतिचाहिँ सङ्घीय राजधानी काठमाडौंमै भयो ।

त्यसबेला संस्थाले बोटमार्फत काठमाडौंको टेकु क्षेत्रमा दर्जनौँको उद्धार गर्‍यो । त्यहीबेला संस्थालाई थाहा भयो कि काभ्रेको पनौतीतिर व्यापक धनजनको क्षति भयो र त्यहाँ राहत सामग्रीको आवश्यकता पर्‍यो ।

यसपछि संस्थाका अध्यक्ष सुधन गुरुङको नेतृत्वमा त्यहाँ राहत सामग्री वितरण गर्ने तयारी सुरु गर्‍यो र अन्तत: आइतबार (असोज २० गते) बाट ड्रोनमार्फत राहत सामग्री वितरणको काम सुरु भयो ।

फिल्डमा अध्यक्ष गुरुङसहित सुशन बज्राचार्य, रोनेश प्रधान, रवीनमान डङ्गोल, जेनिश महर्जन, अप्सन जीसी, अश्विन खड्गी, जेनिथ मोक्तानलगायतका स्वयम्‌सेवक खटिएका छन् ।

यो टिमले सबै कामको तयारी गर्छ । उनीहरू बिहान ५ बजे काठमाडौंबाट हिँड्छन् र राति ११ बजेतिर काठमाडौं नै फर्कन्छन् । ड्रोनको ब्याट्री चार्जका लागि पनि काठमाडौं नै आउनुपर्छ । किन भने त्यहाँ बत्ती अवरुद्ध छ । उनीहरूसँग जेनेरेटर छ तर, त्यसले राम्रोसँग ब्याट्री चार्ज गरिदिँदैन ।

त्यसो त राहत सामग्री पनि उनीहरूले काठमाडौंबाटै लान्छन् । “यी सबै काम मिलाउन केही साथी काठमाडौं आउँछौँ । एउटा टिमचाहिँ उतै बस्छ,” जीसीले भने ।

राहत सामग्री हस्तान्तरण गर्नका लागि मगर गाउँ नै पुगेका छन् संस्थाका स्वयम्‌सेवक अनिल बानियाँ । उनी ७ घण्टा पैदल यात्रा गरेर त्यहाँ पुगेका हुन् । तलबाट ड्रोन गएपछि उनले माथि राहत सामग्री लिन्छन् र पीडितको हातमा थमाइदिन्छन् ।

“तलबाट हामीले सबै मिलाएर सामान पठाइदिन्छौँ,” जीसी भन्छन्, “वाकिटकीबाट कन्ट्याक्ट भइरहेको हुन्छ । त्यहीँबाट काम हुन्छ ।”

कति क्षमताको छ ड्रोन ?

संस्थाले राहत सामग्री वितरणका लागि प्रयोग गरिरहेको ड्रोनले सामान्यतया: ४० देखि ५० किलो सामान लिफ्ट गर्न सक्छ ।

त्यही परिमाणको सामान आफूहरूले ड्रोनमार्फत पठाइरहेको जीसी बताउँछन् ।

ड्रोन सामग्री बोकेर सामान्य ३० देखि ४५ मिनेटसम्म उड्न सक्छ । त्यस समयभित्र काम सकाएर पुन: फर्काइ सक्नुपर्ने जीसी बताउँछन् ।

कस्तो संस्था हो हामी नेपाल ? 

हामी नेपाल संस्थाको जन्म २०७२ वैशाख १२ गते भएको हो, जुन दिन नेपालमा गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।

त्यही दिनबाट एउटा टिम स्वत: खडा भएर विपद्‌मा काम गर्न थाल्यो । भलै त्यतिबेला त्यो टिमले नाम पाइसकेको थिएन ।  त्यसबेला ‘आई डू विथ टिम’ भनेर जुटेको टिमले २०७७ सालमा ‘हामी नेपाल’ नाम पायो ।

हामी नेपालले खासगरी प्राकृतिक विपत्तिमा स्वत: स्फूर्त रूपमा जनताका लागि काम गर्छ । २०७२ सालकै भूकम्पमा काम गरेको संस्थाले त्यसयता हरेक विपद्‌मा काम गर्दै नै आएको छ ।

उसले बाढी, पहिरो तथा डुबानमा फसेकाहरूको उद्धार, राहत वितरणलगायतका काम मुख्य रूपमा गर्छ । संस्थाले जाजरकोट भूकम्प, मुगु बाढी, मुस्ताङ बाढी-पहिरोका बेला विशेष रूपमा काम गरेको थियो ।

  • सम्बन्धित समाचार

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register