चितवनमा पाहुनालाई मौलिक स्वागत, दूध, दही र मोही दिइने

चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दशैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बजारमा उपलब्ध पेय पदार्थले सत्कार हुने गरेको थियो । यस पटक कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उनले भने ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरू अहिले दूध, […]

Oct 14, 2024 - 04:17
 0
चितवनमा पाहुनालाई मौलिक स्वागत, दूध, दही र मोही दिइने

चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दशैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बजारमा उपलब्ध पेय पदार्थले सत्कार हुने गरेको थियो ।

यस पटक कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे ।

उनले भने ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरू अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।’

उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बाबुआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे ।

उनले भने,“बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ । बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही,मोही नै रुचाए ।’

विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न जानुभएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउँछन् ।

कृषिमा स्नातकोत्तर गर्नुभएका उनले भने, ‘धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।’

सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उहाँको सुझाव छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउँछन्। उनको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरूले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् ।

जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् ।

जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरूले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन् । शुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उनले पछिल्लो समय माग बढ्दै गएको बताउँछन् ।

विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उनले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिए । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरूमा मोहीको माग अधिक हुने गरेको छ ।

उनले भने ‘विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।’

यस वर्षको दशैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन् । फूलपातीदेखि दशमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उनले जानकारी दिए ।

दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register