हमास नेता सिनवरको मृत्युपछि गाजामा शान्ति र पुनर्निर्माणको सम्भावना

गाजामा यति धेरै मान्छेको मृत्युपछि अब इजरायल युद्ध अन्त्य गर्न राजी हुनु पर्दछ । र, अन्तर्राष्ट्रिय शान्ति स्थापना शक्ति एक दिन प्यालेस्टाइन राज्य हुने दिशामा अघि बढ्नु पर्ने छ ।

Oct 21, 2024 - 14:49
 0
हमास नेता सिनवरको मृत्युपछि गाजामा शान्ति र पुनर्निर्माणको सम्भावना

हमास नेता याह्या सिनवरको मृत्युको महत्त्व बढाइचढाइ गर्न असम्भव छ । यसमा गाजा युद्ध अन्त्यको मात्र हैन, इजरायली बन्धकलाई फिर्ता ल्याउने र गाजाका जनतालाई राहत दिने सम्भावना पनि निहित छ ।

यसले ओस्लो सम्झौतापछि इजरायली र प्यालेस्टाइनीबीच दुई राज्य समाधानको दिशामा सबैभन्दा ठूलो कदम चाल्न सकिने सम्भावना पनि उत्पन्न गर्दछ । त्यसैगरी यसले इजरायल र साउदी अरेबियाबीच स्थिति सामान्यीकरण गर्ने सम्भावना राख्दछ, जो समग्र मुस्लिम विश्वका लागि ज्यादै राम्रो हो ।

यो धेरै ठूलो कुरा हुनेछ । तर, याह्या सिनवरको मृत्यु नै गाजा युद्ध अन्त्यको पर्याप्त शर्त भने हैन । यतिले मात्र इजरायल र प्यालेस्टाइनलाई राम्रो भविष्यतिर डोर्‍याउन सक्दैन । हो, सिनवर र हमासले दुई राज्य समाधानलाई सधैँ अस्वीकार गरे । उनीहरू यहुदी राज्यको हिंसात्मक ध्वंसका लागि प्रतिबद्ध थिए ।

उनको यो जिद्दीको सबैभन्दा ठूलो मूल्य प्यालेस्टाइनको गाजाले चुक्ता गर्नुपर्‍यो । यो समस्यालाई एक कदम अघि बढाउन सिनवरको मृत्यु अनिवार्य थियो । तर, यो नै एक मात्र उपाय भने हैन ।

यसका लागि इजरायलसँग पनि एउटा यस्तो नेता र गठबन्धन सरकार चाहिन्छ, जो सिनवरको मृत्युबाट निर्मित अवसरको लाभ उठाउन तयार छ । के यसका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तयार होलान् ? हो भने इजरायल सिनवर नेतृत्वको हमासले नियन्त्रण गरिरहेको गाजा क्षेत्रमा पश्चिम किनाराको प्यालेस्टाइनी प्राधिकार र अन्तर्राष्ट्रिय शान्ति स्थापना बललाई स्थान दिन राजी हुनुपर्दछ ।

हमासपश्चात्को गाजालाई कसरी पुननिर्माण गर्ने ? यसबारे पछिल्लो एक महिनादेखि जो बाइडनको निर्देशनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान, इजिप्टका फतेह अल सीसी, युएईका मोहम्मद बिन जायद सरसल्लाह गरिरहेका छन् ।

यसका लागि इजरायल र साउदी अरबको सम्बन्ध सामान्यीकरण गर्नुपर्ने हुन्छ । साथै इजरायल र पश्चिमी किनाराको प्यालेस्टाइनी प्राधिकारबीच अर्को चरणको संवादका लागि अनुकूल वातावरण बनाउनुपर्ने छ । त्यो कसरी होला ?

धेरैको भनाइ यो छ कि प्यालेष्टिनी प्राधिकारका राष्ट्रपति महमुद अब्बास अर्थशास्त्री तथा पूर्वप्रधानमन्त्री सलाम फैयाद वा यस्तै कोही स्वच्छ छवि भएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न राजी होऊन् । पश्चिम किरानामा एउटा यस्तो सरकार बनोस्, जसले भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्न, प्यालेस्टाइनी शासनको गुणस्तर र सुरक्षा बलको सुधार गर्न सकोस् ।

त्यस्तो प्यालेष्टिनी सरकारले औपचारिक रूपमा अन्तर्राष्ट्रिय शान्ति सेनाको माग गर्नुपर्ने हुन्छ । यसमा इजिप्टसहित अन्य अरब देश तथा युरोपेली देशका पनि सेना सामेल हुन सक्नेछन् । यस्तो शान्ति सेनालाई गाजामा इजरायली सेनाले बनाएको स्थानको साटो चरणबद्ध रुपमा तैनाथ गर्न सकिन्छ ।

यसो भए प्यालेष्टिनी प्राधिकरण साउदी अरब, यूएई, अन्य अरब देश, युरोपेली देश र अमेरिकाद्वारा दिइने राहत सहयोगको आधारमा गाजाको पुननिर्माणका लागि जिम्मेवार हुनेछ । यसले गाजा क्षेत्रमा प्यालेस्टाइनी प्राधिकरणको विश्वासनीयता बहाल हुनेछ । प्यालेस्टाइनी राजनीतिमा मूलधारको रूपमा फतह समूहको सङ्गठन स्थापित हुनेछ । हमासको बचे-खुचेको अवशेष समाप्त हुनेछ ।

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको सौम्य सहायतामा इजरायलका रणनीतिक मामिलामन्त्री तथा प्रधानमन्त्री नेतान्याहूका नजिकका सल्लाहकार रान डर्मर र अमेरिकी तथा अरब राजदूतहरू यसमा काम गर्दैछन् ।

यसबारे इजरायलले अरु धेरै कुरा गर्नुपर्ने केही छैन । गाजाको पुनर्निर्माणमा प्यालेस्टिनी प्राधिकारलाई अन्तर्राष्ट्रिय शक्तिको अंशका रूपमा औपचारिक मान्यता दिनुको साटो चुपचाप स्वीकार गरे पुग्छ ।

नेतान्याहूले यो कुरा बुझेका छन् कि गाजाको पुनर्निर्माणमा अरब शक्तिले त्यतिखेर मात्र सहभागिता जनाउनेछन्, जब प्यालेस्टाइनी राज्यत्व समग्र प्रक्रियाको अंश बन्नेछन् ।

मोहम्मद बिन सलमानले यो स्पष्ट गरेका छन् कि साउदी अरब इजरायलसँग सम्बन्ध बनाउने दिशामा अघि बढ्न चाहन्छ । तर, गाजामा यति धेरै मान्छेको मृत्युपछि अब इजरायल युद्ध अन्त्य गर्न राजी हुनु पर्दछ । र, अन्तर्राष्ट्रिय शान्ति स्थापना शक्ति एक दिन प्यालेस्टाइन राज्य हुने दिशामा अघि बढ्नुपर्ने छ । यूएई र इजिप्टबारे पनि कुरा ठीक यस्तै हो ।

मोहम्मद बिन सलमानलाई यो देखाउन छ कि उनले इजरायलबाट जे पाए त्यो कुनै साउदी नेताले कहिल्यै पाएको थिएन र इजरायलले साउदी अरबबाट जे पाएको छ, त्यो यसअघि कहिल्यै पाएको थिएन ।

यो जुन देशमा इस्लामका दुई पवित्र मस्जिद छन्, ती बीचको सम्बन्ध हुनेछ । अब्बासबाट फैयादजस्तालाई नियुक्ति गराउन मोहम्मद बिन सलमान महत्त्वपूर्ण हुनेछन् । अब्बास सलमानलाई सम्मान गर्दछन् ।

तर, यसका लागि इजरायलको तर्फबाट प्यालेस्टिनी राजत्वको प्रतिबद्धता चाहिन्छ । यो कुरा नेतान्याहूका अतिवादी साझेदारलाई स्वीकार्य नहुनु सक्दछ । रक्षामन्त्री इटामा बिन गभीर र अर्थमन्त्री बेजलेल स्माट्रिचबाट तीव्र विरोध हुन सक्नेछ ।

सिनवरको हत्या र हमासको पतनबाट यो मुर्ख सोच पलाएको हुन सक्दछ कि उनीहरूले हमासको सबैभन्दा तलको सदस्यलाई समेत मार्नेछन् । गाजामा यहुदी बस्ती बसाउनेछन् र पश्चिमी किनारामा समेत विस्तार हुँदै जाने अवसरका रूपमा लिनेछन् ।

नेतान्याहू लामो समयदेखि यो सिद्ध गर्न चाहन्थे कि उनी एक ऐतिहासिक व्यक्तित्व हुन् । उनी राजनीतिक रूपमा जीवन्त रहन चालबाजी गर्ने रणनीतिकार मात्र हैन, इतिहास परिवर्तन गर्न ठूलो जोखिम लिन सक्ने नेता सिद्ध हुन चाहन्छन् । यदि त्यसो हो भने अब उनको बेला आएको छ । यसका लागि के उनी आवश्यक सीमा नाघ्न तयार हुन्छन् ? कि त्यही गर्छन्, जे गर्दै आएका छन् ?

नेतान्याहूको सामुन्ने एक ऐतिहासिक क्षण छ, त्यसलाई उनले उम्काउनु हुँदैन । ठीक यस्तै ऐतिहासिक अवसर अहिले राजकुमार सलमानसँग पनि छ । यदि उनी अमेरिकासँग नयाँ सुरक्षा सम्झौता गर्न चाहन्छन् भने बाइडन राष्ट्रपति हुँदै प्रक्रिया सुरु गर्न आवश्यक छ ।

यसको अर्थ राजकुमार सलमानले प्यालेस्टाइनी राज्यत्व स्थापनाअघि नै इजरायलसँगको सम्बन्ध सामान्यीकरण गरिसकेका हुनेछन् । तर, यस्तो सम्झौताको आधार बनाउन इजरायल र प्यालेस्टाइन दुबै यस दिशामा अग्रसर हुनुपर्छ ।

अब गाजामा युद्ध रोकिने, प्यालेस्टिनीको हत्या नगरिने, इजरायली बन्दी फिर्ता हुने र वास्तविक कूटनीति सुरु हुनेमा आशावादी हुन सकिन्छ । यदि सम्बन्धित नेताहरूले यो क्षणको महत्त्व बुझ्दछन् भने त्यहाँ आशावादी हुन सकिने धेरै ठाउँ छन् ।

आज एक सुरुवात हो । यो युद्धको अन्त्यपछि के हुन्छ, त्यो सबै थोक हो ।

(द न्यूओर्क टाइम्सबाट अनुदित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register