के हो ‘इलेक्टोरल कलेज’ ? जसले अमेरिकी राष्ट्रपति तय गर्छ

राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो ।

Oct 24, 2024 - 12:01
 0
के हो ‘इलेक्टोरल कलेज’ ? जसले अमेरिकी राष्ट्रपति तय गर्छ

काठमाडौं । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतीय चुनावका लागि मतदान हुँदैछ । त्यसअघि अमेरिकाका धेरै ठाउँमा प्रारम्भिक मतदान भइरहेको छ । न्यूओर्क टाइम्सका अनुसार अहिलेसम्म लगभग २ करोड अमेरिकीले मतदान गरेका छन् ।

यसलाई अग्रिम मतदान प्रक्रिया भनिन्छ । यसअघि पनि अमेरिकी चुनावमा अग्रिम मतदान हुने गरेको थियो । अग्रिम मतदान विभिन्न तरिकाले गरिन्छ । अधिकांश राज्यमा मेलइन भोटिङको सुविधा छ । यसमा जनताले हुलाकमार्फत भोट गर्छन् । धेरै राज्यमा मतदाता केन्द्रमा जान सक्छन् र चुनावअघि पनि व्यक्तिगत रूपमा मतदान गर्न सक्छन् ।

०००

अमेरिकामा जनताले दिएको प्रत्यक्ष भोटले राष्ट्रपति निर्वाचित गर्दैन । बरू राष्ट्रपति को हुने भन्ने निर्णय गर्न इलेक्टोरल कलेजको प्रयोग गरिन्छ । धेरै मानिसका लागि इलेक्टोरल कलेज एक रहस्य हो ।

यसलाई बुझ्न त्यति गाह्रो छैन, जति हामीले गल्ती गर्छौं । इलेक्टोरल कलेज प्रणाली बुझ्नको लागि तपाईंले पहिले यो जान्न आवश्यक छ कि अमेरिकी राष्ट्रपतिहरू राष्ट्रिय लोकप्रिय भोट (सामान्य मतदान)द्वारा निर्वाचित हुँदैनन्, अर्थात् कुन उम्मेदवारले बढी मत पाउँछ भन्नेले निर्णय हुँदैन ।

यसको सट्टा, ५३८ तथाकथित ‘निर्वाचक समूह’ले राष्ट्रपति चयन गर्दछ । र, यी निर्वाचकहरूको समूहले इलेक्टोरल कलेज बनाउँछ ।

इलेक्टोरल कलेज के हो ?

यसलाई सन् १७८७ मा अमेरिकी संविधानमा समावेश गरिएको थियो । इलेक्टोरल कलेज भनेको अमेरिकाको प्रत्येक राज्यको लागि निर्धारण गरिएको निर्वाचकहरूको संख्या हो ।

यो निर्वाचनमा अधिकांश अमेरिकीले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई भोट हाल्ने छन् ।

मतदाताले दिएको मत सिधै उनीहरूलाई जाँदैन । अर्थात् उम्मेवारबीच राष्ट्रव्यापी प्रत्यक्ष प्रतिस्पर्धा हुँदैन, प्रत्येक राज्यमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुन्छ ।

जनताले दिएको मत उनीहरूलाई प्रतिनिधित्व गर्ने ‘इलेक्टोरल कलेज’ अर्थात् निर्वाचक मण्डलमा रहने व्यक्तिलाई जान्छ । यो समूहमा रहेका व्यक्तिलाई ‘इलेक्टर’ अर्थात् निर्वाचक भनिन्छ । उनीहरूको काम राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु हो ।

कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो । अमेरिकामा ५० राज्य छन् । ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ ।

इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ । त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ ।

कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छ । निजसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छ ।

‘कलेज’ शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकको समूहलाई बुझाउँछ । अमेरिकामा ती व्यक्तिलाई ‘इलेक्टर’ भनिन्छ । यो प्रणाली राष्ट्रपति निर्वाचनमा मात्र प्रयोग हुन्छ । अरू निर्वाचनमा लोकप्रिय मतका आधारमा नै परिणाम आउँछ ।

०००

अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अमेरिकाको प्रत्येक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ, जुन केही हदसम्म राज्यको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ ।

जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत उपलब्ध छ । जुन उम्मेदवारले २७० भन्दा बढी त्यस्तो मत प्राप्त गर्न सक्छ उही विजयी हुन्छ ।

यसको अर्थ सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्छन् राष्ट्रियस्तरमा होइन ।

यही कारणले गर्दा राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो । देशभरि भएको कुल मतदानमा हिलारी क्लिन्टनले पाएको कुल मत धेरै थियो तर, इलेक्टोरल कलेज वा निर्वाचक मण्डलमा धेरै मत पाएका डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित थिए ।

अमेरिकामा दुईवटालाई छाडेर बाँकी सबै राज्यमा जो जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ ।

यस हिसाबले धेरैजसो राज्यहरू दुईमध्ये एक पार्टीको पक्षमा राम्रैसँग ढल्केको पाउन सकिन्छ । त्यसैले यसरी मतदाताको झुकावमा स्पष्टता नदेखिएका एक दर्जनजति राज्यमा नै चुनाव प्रचारप्रसार केन्द्रित हुने गर्छ ।

यस्ता राज्यलाई ब्याटलग्राउन्ड स्टेट्स वा सङ्ग्रामभूमि भन्ने गरिन्छ ।

कसरी निर्धारण हुन्छ ?

प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ । क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत छ । कम जनसङ्ख्या भएका वाइओमिङ, अलास्का, नर्थ डकोटा र वाशिङ्टन डीसीसँग न्यूनतम तीन-तीन मत छ ।

सामान्यतया प्रत्येक राज्यमा सबैभन्दा धेरै मतदाताको प्रत्यक्ष मत पाउने पार्टीले राज्यभरिको इलेक्टोरल कलेज मत पाउँछ ।

उदाहरणका लागि यदि रिपब्लिकन उम्मेदवारले टेक्सस राज्यमा ५० प्रतिशतभन्दा बढी मत ल्याए भने निजले उक्त राज्यका सबै ४० इलेक्टोरल कलेज मत हात पार्छन् । राज्यमा ठूलो मतान्तरले जित्ने उम्मेदवारले भनेको निर्धारित सङ्ख्याको इलेक्टोरल कलेज मत नै हो ।

तसर्थ उम्मेदवारहरू देशभरि धेरै मतदातालाई आफ्नो पक्षमा उभ्याउनेभन्दा पनि मत जता पनि ढल्किन सक्ने सम्भावना भएका कडा प्रतिस्पर्धा हुने ‘स्विङ स्टेट’ भनिने राज्यमा विशेष मेहनत गर्छन् ।

उम्मेदवारले केही राज्यमा निकै कम मतान्तरबाट चुनाव जितेको र देशभरिको समग्र मत कम पाएको अवस्थामा पनि राष्ट्रपति बन्ने सम्भावना रहन्छ ।

कुन राज्यमा कति छ इलेक्टोरल भोट ?

अमेरिकाको नेशनल अर्चिवसकाअनुसार सबैभन्दा धेरै क्यालिफोर्नियासँग ५४ भोट छ । यसपछि टेक्साससँग ४० भोट छ भने राजधानी शहर रहेको वाशिंगटनसँग १२ भोट छ ,न्यूओर्कसँग २८ भोट छ ।

निर्वाचन कलेज प्रणालीको फाइदा र बेफाइदा

यस प्रणालीले साना राज्यहरू उम्मेदवारहरूको लागि महत्त्वपूर्ण सावित हुन्छ । उम्मेदवारहरूले भोट माग्नका लागि देशको सम्पूर्ण क्षेत्रमा यात्रा गर्न आवश्यक हुँदैन तर, बचेको समयमा मुख्य राज्यहरूमा ध्यान केन्द्रित गर्न सकिन्छ ।

साथै, पुन: गणना गर्नु परेमा सजिलो हुन्छ किनभने फरक फरक राज्यको छुटाछुट्टै मत गणना हुनेछ ।

यसका बेफाइदा पनि छन् । यस प्रणालीको कारण लोकप्रिय भोट जित्नेले चुनाव हार्न सक्छ । कतिपय मतदाताले आफ्नो व्यक्तिगत मतले फरक पर्दैन भन्ने महसुस गर्छन् ।
साथै, अत्यधिक शक्ति तथाकथित स्विङ राज्यहरू मा रहन्छ ।

स्विङ राज्य

अमेरिकामा पहिलेदेखि नै अधिकांश राज्यहरूमा प्रत्येक चुनावमा एउटै पार्टीलाई लगातार मतदान गर्छन् । यसैले राष्ट्रपति पदका उम्मेदवारहरूले विशेष ‘स्विङ राज्यहरू’लाई लक्षित गर्छन्, जहाँ भोट कुनै पनि उम्मेदवारले तान्न सक्छन् ।

सन् २०२४ मा स्विङ राज्यहरू एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register