एमाले कार्यशालाका ६ सङ्कल्प र ७ भ्रम

एमाले कार्यशालाको उद्देश्य समस्याको वस्तुनिष्‍ठ पहिचान गरी समाधान खोज्नु थियो होला तर, सङ्कल्प पढ्दा सहभागी, नेता र कार्यपत्र प्रस्तोता आफैँ गलत मान्यताबाट भ्रमित भएको छनक पाइन्छ । एमालेको ६ बुँदे सङ्कल्प ७ वटा भ्रममा आधारित छ ।

Dec 19, 2024 - 10:29
 0
एमाले कार्यशालाका ६ सङ्कल्प र ७ भ्रम

 काठमाडौं केही दिन अघि एमालेको दुई दिने सङ्गठन विभाग कार्यशाला ६ बुँदे सङ्कल्प पारित गर्दै सम्पन्न भयो । स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेपछि झस्किएको एमालेले ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गरेको थियो ।

सङ्गठन विभागको तर्फबाट जारी विज्ञप्‍तिअनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षद्वय ईश्वर पोख्रेल र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेलले कार्यशालालाई सम्बोधन गरेका थिए भने सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालाको ६ बुँदे सङ्कल्पमा ६ वटा विषय छन् :

१. राष्ट्रिय शक्ति निर्माणका लागि माघ–चैत्र ३ महिना लामो वडाकेन्द्रित अभियान सञ्चालन गर्ने ।

आधारभूत तहमा पार्टी निर्माण र सदस्यता विस्तारसँगै जनतासँग जनसङ्गठन अभियान सञ्चालन गर्ने ।

३. चैत्र मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने ।

४. २०८१ भित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने ।

५. चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सव गर्न पार्टी केन्द्रलाई आग्रह गर्ने ।

६. पार्टी र नेतृत्वविरुद्धको षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र कार्यदिशा जनताबीच स्थापित गर्ने ।

एमालेको यो सङ्कल्पले स्थानीय तहमा पार्टी कमजोर हुँदै गएको कारण भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा कमजोर नतिजा हात लागेको निष्कर्ष निकालेको सहजै अनुमान गर्न सकिन्छ ।

एमालेले मिसन–२०८४ को नारा दिँदै आगामी निर्वाचनमा कम्युनिष्ट एकता र वाम गठबन्धन बिनै एक्लै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने र देशलाई ‘दुईदलीय जनवाद’ तिर उन्मुख गराउने दाबी गर्दै आएको थियो ।

तर, उपनिर्वाचन परिणामले एमालेको उक्त आकाङ्क्षा जनअनुमोदित नभएको देखाउँछ । तसर्थ, पार्टी पङ्क्तिलाई झक्झक्याएर सङ्घगठनमार्फत गल्तीकमजोरी पुर्ताल गर्ने उद्देश्यले कार्यशाला राखिएको हुन सक्दछ । कार्यशालाको उद्देश्य के कति पूर्ति होला वा नहोला, त्यो तपसिलको विषय भयो । तर, पार्टी नेताहरूले स्थिति सोचे अनुरूप सहज नभएको सङ्केत गर्न चुकेनन् ।

कार्यशालामा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले पार्टी राजनीति गर्न नभइ देश बनाउन बनेको’ दाबी गर्न भ्याए । तर, यतिका वर्ष सत्तामा हुँदा ‘पार्टीले देश बनाउँदै छ कि बिगार्दै छ’ भन्ने जनजिज्ञासाको कुनै उत्तर दिएनन् । ओली प्रधानमन्त्री भएको यो चौथोपटक हो र बितेका करिब ३ दशकमा अधिकांश यो पार्टी सरकारको नेतृत्व गर्ने वा गठबन्धन सरकारमा सामेल हुँदै आएको छ ।

कार्यशालालाई अध्यक्ष ओलीले कुनै वस्तुनिष्‍ठ समीक्षाको साटो आफ्नो ‘नेतृत्व निरन्तरताको औचित्य’ स्थापित गर्न जोड दिने अवसरका रुपमा उपयोग गरे । उनले ‘पार्टीभित्र शङ्कर पोखरेल र विष्णु पौडेलको गुटबन्दी नभएको’ भन्दै ‘आफ्ना लागि दुबै बराबर भएको, आफू हुन्जेल नेतृत्वको विकल्प नखोज्न’ समेत सन्देश दिए । यसबाट प्रष्ट हुन्छ कि उनी आगामी एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिन चाहन्छन्, जबकि एमाले विधानमा दुई कार्यकाल बढी अध्यक्ष हुन नपाउने प्रावधान छ ।

महासचिव पोखरेलले भनेका थिए–‘अवस्था कस्तो छ भने कोशी प्रदेशमा विगतमा हामीले प्राप्त गरेको मतमा १ हजार ९२१ कम भएको छ । तर, त्यो ठाउँमा अस्वाभाविक ढङ्गले माओवादीको मत ५ हजार ४९० ले बढेको छ । वास्तवमा हामीले जे अभियान चलाइरहेका छौं, त्यसका सन्देश जनताका बीचमा गएका छैनन् भन्ने यो भन्दा बलियो दृष्टान्त के हुन्छ ? हामी देशलाई यदि समृद्धितिर लैजाने हो भने सानासाना राजनीतिक दल हैन, बलियो राजनीतिक दलको आवश्यकता छ भन्ने अभियान चलाइरहेका छौं तर, कोशी प्रदेशका जनताको झुकाव साना दलप्रति देखिन्छ ।’

दशौं महाधिवेशनयता एमालेको संगठित सदस्यता नवीकरण र विस्तारमा भारी गिरावट आएको छ । दशौं महाधिवेशनमा करिब ७ लाख पार्टी सदस्य भएको, माधव नेपाल–झलनाथ खनाल समूहको विभाजनले पार्टीलाई कुनै असर नपरेको, पार्टी सदस्यता विस्तार गरी छिट्टै १० लाख पुर्याइने भनिएको थियो ।

तर, त्यसपछिका वर्षमा करिब २ लाख ७५ हजार मात्र पार्टी सदस्यता नवीकरण हुने गरेको छ । यो ७ लाखको करिब ४० प्रतिशत मात्र हो । दशौं महाधिवेशनयता एमालेका करिब ६० प्रतिशत  संगठित सदस्यले नवीकरण गराउन छोडेका छन् ।

एमाले कार्यशालाको उद्देश्य समस्याको वस्तुनिष्‍ठ पहिचान गरी समाधान खोज्नु थियो होला तर, संकल्प पढ्दा सहभागी, नेता र कार्यपत्र प्रस्तोता आफैँ गलत मान्यताबाट भ्रमित भएको छनक पाइन्छ । एमालेको ६ बुँदे संकल्प निम्न ७ भ्रममा आधारित छ ।

१. ठूलो पार्टी हुनुको भ्रम

एमालेले आफू र नेपाली कांग्रेसलाई दुईदलीय प्रणालीका दुई ठूला पार्टी ठान्दै अरुलाई ‘साना पार्टी’ को संज्ञा दिन चाहेको छ । बहुदलीय लोकतन्त्रमा यस्तो मान्यता आफैँमा ठूलो भ्रम हो । लोकतन्त्रमा चुनावैपिच्छे पार्टी साना ठूला भइरहन्छन् । यो कुनै दीगो र स्थायी वर्गिकरण हैन ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि एमाले कमजोर तेस्रो स्थानमा धकेलिएको र माओवादी पहिलो ठूलो पार्टी भएकै हो । भर्खरैको उपनिर्वाचनमा पनि एमाले तेस्रो स्थानमा ओर्लिएको छ ।

‘दुई ठूला दल’ को बुझाई लोकतन्त्रको सिद्धान्त, मान्यता विपरित र भ्रामक छ । कुनै दल स्थायी रुपमा ठूलो हो वा हुन्छ भन्ने मान्यतामा विश्वास गर्ने हो भने आवधिक निर्वाचनको कुनै अर्थ रहँदैन । साथै, एमालेले यसबीच चर्को पैरवी गरेको दुई दलीय प्रणाली सम्भव छैन भन्ने यथार्थ व्यवहारतः पुष्टि भइसकेको छ ।

२. तल्लो तहमा पार्टी कमजोर भएको भ्रम

६ बुँदे सङ्कल्पले यो भन्छ कि तल्लो तहमा पार्टी कमजोर भएको कारणले एमालेले अपेक्षित मत प्राप्त गर्न नसकेको हो । यो अर्को भ्रम हो ।

खासमा एमाले बदनाम र कमजोर हुँदै गएको तलबाट हैन, माथिबाट हो । नेताका तुलनामा यसका कार्यकर्ता, माथिल्लो कमिटीका तुलनामा तल्ला कमिटी धेरै इमान्दार छन् । त्यसमा पनि विशेषगरी २०७४ सालको वामगठबन्धन, कम्युनिष्ट एकता, झण्डै दुई तिहाईको सरकारको असफलता र पतन तथा दुईदुई पटकको असंवैधानिक संसद विघटन पश्चात एमाले कमजोर हुन थालेको हो ।

यी गल्ती तल्ला कमिटी र कार्यकर्ताको कारणले भएको हैनन, माथिल्लो कमिटी र मूल नेताबाट भएको हो । पार्टीको टाउको नै बिरामी भएपछि खुट्टा कति हिँड्न सक्छ ? आफ्ना कमजोरी ढाकछोप गर्न नेतृत्वपङ्तिले कार्यकर्ता र तल्ला कमिटीलाई दोषी देखाउन खोजेको छ । माथिका नेताले पार्टीको इज्जत, प्रतिष्ठा र छवि बिगार्दिएपछि तलका मान्छेले मात्र कति थाम्न सक्लान ?

३. आग्रह गर्दैमा सदस्यता नवीकरण र विस्तार हुने भ्रम

एमाले संकल्पको अर्को चिन्ता पार्टी सदस्यता नवीकरण र विस्तार नभएको, नयाँ मानिसले सदस्यता लिन नचाहेकोमा केन्द्रित छ । नेतालाई लागेको रहेछ कि स्थानीय कमिटीको सक्रियताको अभावले यस्तो भएको हो । यो बुझाई पनि सही हैन, भ्रम नै हो ।

तल्ला कमिटीको सक्रियता वा नवीकरण सूचना र आग्रहको अभावले एमाले सदस्य संख्या घटेको हैन । मानिस दलतन्त्रबाट विस्तारै वाक्क दिक्क हुँदै गएका छन् । पार्टीको सदस्य बन्नु अब गौरवभन्दा बढी हिनताको विषय बन्न थालेको छ । एमालेको हकमा मात्र हैन, यो अरु पार्टीमा पनि लागू हुन सक्दछ ।

समाज अति दलीयकरणबाट अब स्वतन्त्र, सार्वभौम नागरिकको अवधारणातिर फर्किन खोज्दैछ । अगामी दिनमा एमालेका मात्र हैन, जुनकुनै पार्टीका सक्रिय तथा संगठित सदस्य घट्न सक्छन् ।हिजो जुन अनुपातमा मानिसले पार्टी सदस्यता लिन्थे, अब नलिन सक्छन् ।

४. जनसंगठनको भ्रम

एमालेलाई आफना जनसङ्गठन निस्क्रिय र कमजोर हुँदै गएको कारणले मूल पार्टी कमजोर भएको भान परेको देखिन्छ । तर, यो बुझाई पनि उत्तिकै ठूलो भ्रम नै हो । नागरिकमा जनसंगठनप्रतिको धारणामै व्यापक भिन्नता आएको छ ।

पार्टीका जनसङ्गठन पनि समाजको अतिदलीयकरणका औजार हुन् । यति धेरै जनसङ्गठन वा ट्रेड युनियन अबको युगमा आवश्यक नै छैन । राजनीतिमा रुचि भएकाले मूल पार्टीकै सदस्यता लेलान । जनसंगठनमा समय खेर फाल्न किन आवश्यक होला ?

५. सन्देश जनतामा नपुगेको भ्रम

एमाले नेताहरूलाई लागेको रहेछ कि पार्टीको सन्देश जनतामा पुगेकै छैन । खासमा भएको उल्टो हो । सन्देश जनताबीच नपुगेको हैन, जनतालाई मन नपरेको वा जनअनुमोदित नभएको हो । यसबीच एमालेले दुई दलीय जनवादको पैरवी गर्दै मिसन–२०८४ अभियान चलाई रहेको छ भन्ने सबैलाई थाहा छ ।

६. नेतृत्वको लोकप्रियताको भ्रम

एमाले नेताहरूलाई लागेको रहेछ कि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व ७० को दशकमा जस्तै अहिले पनि लोकप्रिय छ । यही बुझाईको कारण ओलीले अध्यक्ष पदमा तेहेरिने आकाङ्क्षा राखेका हुन सक्दछन् । अन्य नेता पार्टी विधानको दुई कार्यकाल प्रावधानको प्रतिरक्षा समेत गर्न नसक्ने गरी नीरिह बनेका हुन सक्छन् ।

तर, यथार्थ त्यस्तो छैन । ओलीको लोकप्रियता दिन प्रतिदिन घट्दै गएका थुप्रै घटना र सङ्केत छन् । २०८४ को चुनावसम्म अध्यक्ष ओलीको नेतृत्व कायमै रहेमा एमालेको लोकप्रिय मत अहिलेभन्दा धेरै अनुपातमा घटने सम्भावना छ ।

७. युवा पुस्ताप्रतिको भ्रम

राष्ट्रिय युवा महोत्सव गर्ने सोच अघि सारेर एमालेले युवा मतदाता आफ्नो पार्टीबाट टाढिँदै गएको अनुभूति गरेको प्रष्ट त हुन्छ तर बुझ्न के आवश्यक छ भने एमाले बलियो बनाउने शर्तमा युवा पङ्ति आफ्नो र देशको भविष्य बर्बाद गर्न चाहँदैन ।

एक त युवा पुस्ता देशभित्र भविष्य देख्न नसकेर ठूलो संख्यामा विदेशिएको छ । अर्कोतिर शिक्षा र रोजगारीको अवसरका लागि संघर्षरत छ । उद्यमशीलताका क्षेत्रमा युवाले भोग्न परेको दु:ख र सामना गरेको झन्झटको भिन्नै अध्याय छ ।

स्वयं एमाले परिवारका युवा आफ्ना मातापिताले दलीय राजनीतिबाट भोगेका दु:खप्रति वितृष्णा भाव व्यक्त गर्दछन् । यस्तो बेला एमालेले मात्र हैन, कुनै पनि पार्टीले दलीयकरणका लागि युवा पुस्ताको ठूलो पङ्क्तिलाई आकर्षित गर्ने सम्भावना रहँदैन ।

यी ७ तथ्यलाई ध्यान दिने हो भने एमालेको ६ बुँदे सङ्कल्प कम र भ्रमको पोको बढी भान हुन्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register