वैदेशिक रोजगारीको कालोपाटो : प्रत्येक महिना ७२ जनाले गुमाउँछन् ज्यान

वैदेशिक रोजगारीमा प्रत्येक महिना ७२ नेपालीले ज्यान गुमाउँछन्। परिवारका लागि सुखको सपना बोकेर परदेशिएका कतिपयका लागि यो यात्रा जीवनको अन्तिम अध्याय बनिरहेको छ।

Dec 21, 2024 - 01:17
 0
वैदेशिक रोजगारीको कालोपाटो : प्रत्येक महिना ७२ जनाले गुमाउँछन् ज्यान

काठमाडौं । भर्खरै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एउटा विवरण सार्वजनिक गरेको छ । जसअनुसार वर्षैपिछे वैदेशिक रोजगारीमा ज्यान गुमाउने नेपाली कामदारको सङ्ख्या बढेको देखिन्छ ।

तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा १४ हजार २१३ नेपाली कामदारले कामको सिलसिलामा प्रदेशमा ज्यान गुमाइसकेका छन् । समीक्षा अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर तीन हजार ४४० श्रमिक स्वदेश फर्किएका छन् ।

आर्थिक वर्ष २०८०/८१ कै कुरा गरौँ, एक वर्षको अवधिमा ७ लाख ४१ हजार २९७ जना श्रमिकले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिएका छन् । जसमा ८० हजार १७२ जना महिला छन् ।

वि.सं. २०६५/६६ यता प्रत्येक महिना औसतमा ७२ जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् त्यस्तै, प्रत्येक वर्ष औसतमा ८६५ जनाभन्दा बढी नेपाली कामदारको वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने गरेको देखिन्छ ।

वैदेशिक रोजगारीमा गएका मध्ये आर्थिक वर्ष २०७८/७९ सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु भएको देखिन्छ । तथ्यांकअनुसार विगत १६ वर्षमा ६५ लाख १३ हजार ४६२ नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् ।

यो त वैधानिक तवरले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या मात्र हो । यसका अलवा अवैधानिक रूपमा पनि धेरै नेपाली कामदार विदेश गएको अनुमान लगाइएको छ । जसमध्ये कति फर्किएर स्वदेश आए र कति आएनन् त्यसको लेखाजोखा कोहीसँग छैन ।

पछिल्लो १६ वर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये ६० लाख ७४ हजार ९०९ पुरुष र चार लाख ३८ हजार ५४८ महिला छन् । गत आवमा मात्रै एक हजार मृतकको परिवारलाई ७ अर्ब रुपैयाँ प्रदान गरिएको बोर्डको तथ्यांक छ ।

यस्तो छ मृत्युको कारण 

मृत्यु हुनेहरूमा अहिलेसम्म सबैभन्दा धेरै ‘कार्डियाक अरेस्ट’ (एक्कासी हुने हृदयाघात) को कारण देखिएको सचिवालयले जनाएको छ । जसमध्ये धेरैजसो निदाएको बेला नै मृत्यु हुने गरेको जनाइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार लगातार लामो समयको कठिन काम, धूम्रपान–मद्यपान सेवन, प्रतिकूल आहार बिहार, चर्को गर्मीमा काम गरेर रुम फर्किएपछि फूल एसी लगाएर सुत्नु लगायतले हृदयाघातबाट मृत्यु हुनेको सङ्ख्या बढी देखिएको हो ।

जसमा कतिपय श्रमिकले मानसिक तनावका कारण आत्महत्या पनि गरेको देखिएको निर्देशक उप्रेती बताउँछन् । ऋणको पिरलो, कामको थकान, कार्यस्थलमा हुने शारीरिक तथा मानसिक दबाब, पारिवारिक चिन्ता लगायतका कारणले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकले आत्महत्या गर्ने गरेको उनको भनाई छ ।

त्यस्तै, कोही सडक दुर्घटनामा परेर अस्ताउँछन् त कोही कार्यस्थलमा मेसिनबाट हुने दुर्घटनाको कारण मृत्यु भएका छन् ।

मृत्युदर घटाउने तयारी कस्तो छ ?

निर्देशक उप्रेती विदेशमा श्रमिकहरूको मृत्युदर घटाउन बोर्डले आवश्यक पहलहरू गरिरहेको बताउँछन् । बोर्डको सचिवालयका अनुसार गत आवमा वैदेशिक रोजगारीबाट फर्किएका वा जान चाहने दुवै पक्षलाई लक्षित गरी १९ वटा संस्थाहरूसँग १३ वटा रोजगारमूलक सीप विषयमा ६ हजार ४० जनालाई विभिन्न निःशुल्क एक महिने सीप तालिम सञ्चालन गर्ने बताइए पनि ६ हजार १३ जनालाई सो तालिम दिइएको छ ।

जसबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूलाई सीप विकासमा मद्दत पुग्नुका साथै कन्फिडेन्स बढाउने र मृत्युदर पनि घटाउन सकिने विश्वास लिइएको छ । यस्तो तालिमको सङ्ख्या बढाउँदै लगिने बताइएको छ ।

त्यस्तै, श्रमिकहरूलाई मानसिक र शारीरिक स्वास्थ्य सेवा दिने गरी बोर्डले ‘टेलिमेडिसिन सेवा’ सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१मा बोर्डले यस्तो सेवा तीन हजार ३१ जनालाई प्रदान गरेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register