ट्रम्पको ‘५१औं राज्य’ बनाउने धम्की र क्यानडाली प्रतिरक्षाको रणनीति

ट्रम्पले बदनियतपूर्ण ढङ्गले जानाजान र बारम्बार क्यानडाको स्वतन्त्र र राष्ट्रिय पहिचानको अपमान गरिरहेका छन् । उनको अवधारणाले क्यानडाको सार्वभौमसत्तालाई खुला चुनौती दिन्छ । क्यानडाले पनि त्यसै अनुरूपको जवाफ दिनैपर्ने हुन्छ ।

Jan 6, 2025 - 10:41
 0
ट्रम्पको ‘५१औं राज्य’ बनाउने धम्की र क्यानडाली प्रतिरक्षाको रणनीति

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने आफ्नो प्रष्ट इच्छा अभिव्यक्त गरेका छन् । सामाजिक मिडियामा क्यानडाली उद्यमी केभिन ओ’लेरीको पोस्ट सेयर गर्दै ट्रम्पले उनको विचारको समर्थन गरे ।

क्यानडाबारेको उनको यो पछिल्लो ‘ट्रोलिङ’को चौतर्फी खिल्ली उडाइएको छ । तर, उनको यो कठोर धारणा त्यस्तो बेला अझ् बढी खतरनाक लाग्दछ, जब क्यानडाको उदारवादी सरकार कमजोर भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डको विस्मयकारी राजीनामापछि सरकार अन्योलमा परेको छ ।

यथार्थ कस्तो छ भने फ्रिल्यान्डले राजीनामा पत्रमा प्रधानमन्त्री जस्टिन ट्रुडोको आलोचना गर्न ट्रम्पको भनाइलाई केन्द्र भागमा राखिन् । उनले आफ्ना पूर्वअधिकारीहरूलाई गरेको कठोर आलोचनामध्ये एक क्यानडा ट्रम्पको दोस्रो कार्यकालको डरलाग्दो नयाँ खतरालाई सामना गर्न तयारी गरिरहेको छैन भन्ने तथ्यलाई दोहोर्‍याउनु हो ।

ट्रम्पले क्यानडाको आन्तरिक मामिलामा आफूलाई घुसाएर समय बर्बाद मात्र गरेनन्, फ्रिल्यान्डलाई ‘विषाक्त’ भने र ट्रुडोलाई एक सार्वभौम राष्ट्रको नेताको सट्टा ‘अमेरिकी राज्यको गभर्नर’ भन्न जारी राखे ।

क्यानडामाथि यस्ता आक्रमण नियमित जसो हुँदैछन् । अर्को एक पोस्टमा ट्रम्पले क्यानडाली बहुमत जनता अमेरिकाको ५१औं राज्य हुन चाहन्छन् र त्यसो गरे उनीहरूले ‘कर र सैन्य सुरक्षा खर्चमा ठूलो बचत गर्न सक्ने’ भनेका छन् ।

आउँदा समयमा क्यानडामा जोसुकै प्रधानमन्त्री बनोस्, उसले जस्टिन ट्रुडो शासनकालमा उदारवादीहरूले भन्दा धेरै कठोर रुपमा ट्रम्पले सृजना गर्ने अस्तित्व सङ्कटको जोखिमलाई कसरी सामना गर्ने भनेर उपाय पत्ता लगाउनु पर्नेछ ।

ट्रम्पले बदनियतपूर्ण ढङ्गले जानाजान र बारम्बार क्यानडाको स्वतन्त्र र राष्ट्रिय पहिचानको अपमान गरिरहेका छन् । उनको अवधारणाले क्यानडाको सार्वभौमसत्तालाई खुला चुनौती दिन्छ । क्यानडाले पनि त्यसै अनुरूपको जवाफ दिनैपर्ने हुन्छ ।

ट्रम्पको अमेरिकामा विलय गर्ने धम्कीले क्यानडाको आर्थिक समृद्धि, लोकतान्त्रिक मान्यता र सार्वभौमसत्तामाथि निरन्तर बहुआयामिक चुनौती सृजना गर्दछ ।

क्यानडामाथि आर्थिक जोखिमको आयाम सबैलाई राम्रोसँग थाहा छ । ट्रम्पले सबै क्यानडाली उत्पादन अमेरिका निर्यातमा २५ प्रतिशत शुल्क लगाउने भनेका छन्, जो दुवै देशको अर्थतन्त्रका लागि निक्कै महङ्गो पर्नेछ । तर, दुई देशको आकार असमानतालाई ध्यानमा राख्दा नराम्रो प्रभाव क्यानडामाथि नै पर्ने छ ।

लोकतन्त्र माथिको खतरा पनि उत्तिकै स्पष्ट छ । ट्रम्पले लोकतन्त्रलाई विधि र मान्यताको पुञ्जका रुपमा हैन, छिचोल्नु पर्ने अवरोधका रुपमा लिएका छन् । उनी हार स्वीकार गर्न वा जितलाई विनम्रतापूर्वक ग्रहण गर्न मानिरहेका हुँदैनन् ।

उनले प्रतिशोधपूर्ण यात्रा सुरु गरेका छन् । उनी मिडियाविरुद्ध बोल्ने मात्र गर्दैनन्, कानूनी रुपमा मुद्दा हालिरहेका हुन्छन् । भर्खरै उनले अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा कमला ह्यारिस अग्रस्थानतिर अघि बढेको सर्वेक्षण देखाउने एक मिडियालाई मुद्दा हालेका थिए । ह्वाइट हाउसमा फर्किएपछि उनले सार्वजनिक संस्था विपक्षीलाई प्रतिशोध साँध्न प्रयोग गर्न सक्नेछन् ।

ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालमा अमेरिकी लोकतन्त्रको स्थिति कस्तो हुन्छ, त्यो अर्कै पाटो हो । तर, उनको क्यानडाली मामिलामा हस्तक्षेप गर्ने इच्छाले उत्तरी सीमा क्षेत्रमा अहिल्यै स्तब्धकारी लहर चलिसकेको छ ।

ट्रम्पको कामकारबाहीले बारम्बार यो देखाउँछ कि शक्तिहीन ठानिएकाप्रति उनको हृदयमा कुनै सम्मान हुँदैन । ठीक यतिखेर क्यानडाका लागि यो लागू हुन्छ । उनले अहिले यो कुरालाई चल्तीको मजाक नै बनाएका छन् कि क्यानडा वास्तविक देश हैन, एक अर्को अमेरिकी राज्य मात्र हो । तर, उनको मजाक सुनेर निन्याउरो हाँसो हाँस्नुले मात्र जवाफ पूरा हुँदैन ।

क्यानडाको अहिलेसम्मको काम गराइले ट्रम्पलाई पैठ दिएजस्तो लाग्दछ । आफ्नो बलियो सीमा सुरक्षा अभिलेखलाई व्यवस्थापन गरेर अमेरिकालाई पछाडि धकेल्नुको साटो क्यानडा सरकारले तुरुन्तै सीमा सुरक्षा खर्चमा १ बिलियन डलर बराबरको थप खर्चको वाचा गर्‍यो । क्यानडाका नेताहरू ट्रम्पको धम्कीलाई कडा प्रतिधम्की दिन असफल भए ।

शुल्क वृद्धिको धम्कीपछि क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पप्रति सम्मान देखाउन र क्यानडा मामिलामा बिन्ती बिसाउन फ्लोरिडाको अच्चम्मलाग्दो यात्रा गरे । ट्रम्पले औपचारिक पदबहाल गर्नुभन्दा अगाडि नै गरिएको यस्तो भ्रमण र भेटघाट सामान्य कूटनीतिक मर्यादाको पनि विपरित थियो ।

यसले ट्रुडोलाई सरकार प्रमुखभन्दा बढी एक याचकजस्तो बनायो । यो त ट्रम्पको हेपाहा प्रवृत्तिलाई थप गृहकार्य गर्न दिएजस्तो मात्र भयो । यस्ता धम्कीलाई यस प्रकारले अन्त्य गर्न सकिँदैन । त्यतिखेर मात्र सकिन्छ जब चाल्नु पर्ने कदमबारे प्रष्टता हुन्छ ।

सीमा सुरक्षा कुनै पनि राज्यको मुख्य कार्य हो । अमेरिकी सीमा सुरक्षा अमेरिकाले नै गर्ने हो । त्यो राष्ट्रपतिका रुपमा ट्रम्पको कर्तव्य हो । अमेरिकी सीमा सुरक्षाको बोझ क्यानडामाथि थोपर्ने ट्रम्पको माग र ट्रुडोका स्वीकारोक्ति दुवै कमजोरी हो । क्यानडाका लागि यस्तो प्रयास असफल भए फेरि बलीको बोको बनाइने सम्भावना रहन्छ ।

कसैको धम्कीको प्रतिक्रियामा तपाईं उसका लागि काम गर्ने वाचा गर्नुहुन्छ भने त्यो आफैँमाथिको थप पीडाका लागि प्रोत्साहन हो । ट्रुडो ट्रम्पका धम्की र बदमासीको प्रतिक्रियामा अझै धेरै उनकै लागि काम गर्ने मनस्थितिमा थिए र ट्रम्पले उनलाई ‘५१औं अमेरिकी राज्यको गभर्नर’ भनेकोमा सबैले गिल्ला गर्न थालेपछि ट्रुडो पछि हटे ।

अहिले संसारले यो हेरिरहेको छ कि क्यानडाले ट्रम्पको धम्कीलाई कसरी जवाफ दिन्छ । यदि क्यानडाले संसारको सम्मान प्राप्त गर्ने आशा गर्दछ भने यसले आफ्नो समृद्धि र मूल्यमान्यताका लागि लड्ने इच्छाशक्ति र तत्परता देखाउनु पर्ने छ । ती जो क्यानडाली सार्वभौमसत्ताको सम्मान गर्न अस्वीकार गर्दछन्, तिनबाट यसको रक्षा गर्ने पर्दछ ।

क्यानडाले आफ्नो समृद्धिलाई कायम राख्न दृढतापूर्वक काम गर्नु पर्दछ । त्यो भनेको व्यापार युद्ध हुन सक्दछ ।

एक शताब्दीभन्दा बढी समयदेखि क्यानडा र अमेरिका सहयोग र सहकार्यमा थिए । यी सँगसँगै समृद्ध भए । तर, यो पनि यथार्थ हो कि अमेरिका क्यानडाभन्दा शक्तिशाली राष्ट्र बन्यो । तथापि, यी राष्ट्रबीच गहिरो बहुपक्षीय सम्बन्ध छ । यिनका बीच साझा मापदण्ड, मूल्य र प्रचलन छन् । यिनीहरुले आपसमा विभिन्न सम्झौता र गठबन्धन विकास गरेका छन् ।

तर, इतिहासका यी कुनै पनि कुराले ट्रम्पलाई फरक पर्दैन । अब क्यानडाको सार्वभौमसत्ताभन्दा अमेरिकाको शक्ति ठूलो कुरा भएको छ । यो शक्ति असन्तुलनको आधार अमेरिकी अर्थतन्त्र र अमेरिकी सैन्यशक्तिमा क्यानडाको निर्भरता नै हो । तर, क्यानडा शक्तिहीन भने छैन

दुई देशको अर्थतन्त्रको एकीकरण र निर्भरता एकपक्षीय हुँदैन । यसको जरा दुवैतिर फैलिएको हुन्छ । एकीकरण र निर्भरताले क्यानडालाई कमजोर मात्र हैन, अमेरिकालाई पनि नाजुक बनाएको छ ।

ओन्टारियोका प्रथम मन्त्री डग फोर्डले सुझाव दिएजस्तै उर्जा निर्यात बन्द गर्नु अमेरिकी अर्थतन्त्रमा तुरुन्तै र हानिकारक प्रभाव पार्ने एक महत्त्वपूर्ण कार्य हुनेछ । पेट्रोलियमको कुरा पनि त्यस्तै हो । उर्जा धेरै अर्थमा निक्कै ठूलो शक्ति हो । उर्जा निर्यात रोक्नु क्यानडाका लागि व्यापार युद्धको सबैभन्दा ठूलो हतियार हुन सक्दछ ।

अमेरिकाले प्रतिदिन लाखौँ ब्यारेल क्यानाडाली पेट्रोलियम खपत गर्दछ । त्यसमा महङ्गी र मुद्रास्फिति बढ्ने गरी गरिने शुल्कवृद्धिले अमेरिकी मतदातामा ट्रम्पको अलोकप्रियता बढाउने छ ।

अमेरिकाले क्यानडाको सार्वभौमसत्ताको अनादर गर्नु यतिमा मात्रै सीमित घटना हुँदैन, यो अरु देशसम्म विस्तार हुन्छ । यदि ट्रम्प क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्न चाहँदैनन् भने कुनै पनि देश सुरक्षित हुँदैनन् । डेनमार्क र पनामामा त यो कुरा प्रमाणित नै भइसक्यो ।

राष्ट्रको स्वतन्त्रताको मूल्यमा त्यसमाथिका धम्कीलाई पछाडि धकेल्ने रचनात्मक तरिकाको खोजी कुनै पनि देशका लागि अनिवार्य हो । क्यानडाले त्यस्ता सहयोगीसँग मिलेर काम गर्न आवश्यक छ ।

ट्रम्प फेरि एकपटक छिट्टै राष्ट्रपतिको पदबहाल गर्दैछन् । तर, उनी क्यानडाका राष्ट्रपति हैनन् र उनीसँग त्यस्तो व्यवहार प्रदर्शन गर्नुहुँदैन ।

आगामी महिनामा क्यानडाको नेतृत्वमा जो आए पनि सार्वभौमसत्ताको रक्षाका लागि उसँग हतियार हुनेछ, तिनको प्रयोग गर्न भने तयार हुनुपर्दछ ।

-द कन्भर्सेसनबाट अनूदित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register