बाँकेमा एक महिनायता ६५ जना फरार अभियुक्त पक्राउ

जानकी । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार अभियुक्त लाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ […]

Jan 19, 2025 - 07:48
 0
बाँकेमा एक महिनायता ६५ जना फरार अभियुक्त पक्राउ

जानकी । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार अभियुक्त लाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।

पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिए ।

उनका अनुसार पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको १२ लाख ९४ हजार एक सय ५८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । एक महिनामा दर्ता भएका एकसय १७ वटा मुद्दामा एकसय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका ६ सय ८१ ठाडो उजुरीतर्फ ६ सय ६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन् ।

जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सात वटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार आठ रुपैयाँ जरिवाना गरिएको छ । सोही अवधिमा तीनजना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ । त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चारवटा मोटरसाइकल र १० वटा स्मार्टफोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको उल्लेख छ । समुदाय प्रहरी सहकार्यलगायतका गतिविधिअन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register