केजरीवाल : भ्रष्टाचार विरोधीबाट ‘सफ्ट हिन्दुत्व’को राजनीतिमा

“म बाल्यकालदेखि नै हनुमानजीको भक्त हुँ । बाल्यकालमा रातभर बसेर कहिलेकाहीँ त २५०-३०० पटक हनुमानजीको आरती गरेको छु । जीवनमा कुनै अप्ठ्यारो परे उहाँको शरणमा जानुहोस् । समस्या हट्छ ।” हालै एक अन्तर्वार्तामा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आफूलाई हनुमान भक्त भनेका छन् । केजरीवालले आफूलाई हनुमान भक्त भनेका […]

Jan 24, 2025 - 08:28
 0
केजरीवाल : भ्रष्टाचार विरोधीबाट ‘सफ्ट हिन्दुत्व’को राजनीतिमा

“म बाल्यकालदेखि नै हनुमानजीको भक्त हुँ । बाल्यकालमा रातभर बसेर कहिलेकाहीँ त २५०-३०० पटक हनुमानजीको आरती गरेको छु । जीवनमा कुनै अप्ठ्यारो परे उहाँको शरणमा जानुहोस् । समस्या हट्छ ।”

हालै एक अन्तर्वार्तामा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आफूलाई हनुमान भक्त भनेका छन् ।

केजरीवालले आफूलाई हनुमान भक्त भनेका यो पहिलो पटक भने होइन । दिल्ली विधानसभा चुनाव २०२५ को लागि उम्मेदवारी दर्ता गर्नुअघि नै उनी कनाड प्लेसको प्राचीन हनुमान मन्दिर पुगेका थिए ।

राजनीतिक मञ्चदेखि समाचार टिभी क्यामेरासम्म उनले प्रायः हनुमान चालिसा, रामायणको कथा र यससँग सम्बन्धित पात्रहरूको सहयोगमा आफ्ना विरोधीलाई निशाना बनाउँदै आएका छन् ।

केजरीवाल, जो एक दशकअघि धनी र शक्तिशालीको नाम पनि लिन नडराउने भ्रष्टाचार विरोधी नेताका रूपमा उभिएका थिए ।

आफ्ना समर्थकका लागि धर्म र जातबाट टाढिएर इमानदारीलाई मात्र प्राथमिकता दिने नेता थिए । प्रश्न यो छ कि केजरीवालले ‘सफ्ट हिन्दुत्व’को बाटो अपनाएपछि पछिल्लो दशकमा के भयो ?

केजरीवालको ‘हिन्दुत्व प्रेम’

विगत केही वर्षदेखि केजरीवालको राजनीतिमा अम्बेडकरवाद र लोकतान्त्रिक योजनाका साथसाथै हिन्दु धर्मको सार्वजनिक प्रदर्शन प्रबल देखिँदै आएको छ ।

वरिष्ठ पत्रकार आशुतोष भन्छन्, “म सन् २०१८ सम्म अरविन्द केजरीवालसँग बसेँ । यस अवधिमा मैले उहाँलाई धर्मको नाममा भोट जुटाउन खोजेको देखिनँ, तर पछि उहाँले धर्म प्रदर्शन गर्न थाल्नुभयो । क्यामेरा लिएर हनुमान मन्दिर जान थाल्नुभयो, हनुमान चालिसा पढ्न थाल्नुभयो, यसले अरू पार्टीजस्तै उहाँले पनि धर्मको राजनीति गरिरहेको देखाउँछ ।”

राजनीतिक विश्लेषक विश्वास गर्छन् – सन् २०१७ मा दिल्ली एमसीडीमा आम आदमी पार्टीको नराम्रो हारले केजरीवाललाई आफ्नो राजनीतिक शैली परिवर्तन गर्न बाध्य तुल्यायो ।

कुल २७० एमसीडी सिटमध्ये आप ४८, काङ्ग्रेस ३० र भाजपा १८१ सिटमा विजयी भएका थिए ।

सन् २०१८ मा दिल्लीको सत्तारुढ ‘आप’ सरकारले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि  तीर्थयात्रा योजना सुरु गर्‍यो । हालसम्म करिब ९० हजारले यो योजनाको लाभ लिएको दाबी गरिएको छ ।

यस योजनाअन्तर्गत अयोध्या, रामेश्वरम, वैष्णोदेवी, द्वारकाधीश, अमृतसर र अजमेरजस्ता महत्त्वपूर्ण धार्मिक स्थलमा वृद्धवृद्धालाई नि:शुल्क यात्रा गराइन्छ । 

तर, आम आदमी पार्टीले यी तीर्थयात्राका योजना चुनावी राजनीतिमा प्रयोग नगरिएको बतायो ।

जब कोरोना आयो, आपले निजामुद्दीन मरकजको मुद्दा उठायो र लेफ्टिनेन्ट गभर्नरलाई पत्र लेखेर एफआईआर दर्ता गर्न माग गर्‍यो ।

सन् २०२२ को गुजरात विधानसभा चुनावअघि केजरीवालले भारतीय नोटमा हिन्दु देवी-देवताको तस्वीर हुनुपर्ने बताएका थिए ।

जनवरी २०२४ मा अयोध्याको राम मन्दिरमा अभिषेक कार्यक्रम भयो । यसैदिन आम आदमी पार्टीले दिल्लीमा रामलीला आयोजना गरेको थियो ।

पार्टीका वरिष्ठ नेतादेखि कार्यकर्ताले भण्डारा, प्रसाद वितरण र जुलुसमा सहभागिता जनाएका थिए ।

त्यसको केही दिनपछि केजरीवाल आफ्नो परिवारसँग राम मन्दिर दर्शन गर्न अयोध्या गए भने विपक्षी दलका नेता त्यसबाट टाढै बसे ।

केजरीवाल भन्छन् – मेरो सरकारले दिल्लीको सेवा गर्न रामराज्यबाट प्रेरित १० सिद्धान्तहरू पछ्याउँछ ।

दिल्लीमा बङ्गलादेशी र रोहिङ्ग्या शरणार्थीप्रति आम आदमी पार्टीको अडान पनि आक्रामक छ ।  दिल्ली सरकारले अवैध आप्रवासीका बालबालिकालाई विद्यालयमा भर्ना नगर्न आदेश जारी गरेको छ ।

चुनावअघि पार्टीले ‘पुजारी अनुदान’ योजना घोषणा गरेको छ । यस योजनाअन्तर्गत मन्दिरमा काम गर्ने पुजारी र गुरुद्वाराका शिक्षकलाई मासिक १८ हजार रुपैयाँ दिने वाचा गरिएको छ ।

सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटीज (सीएसडीएस), नयाँ दिल्लीका सहयोगी प्राध्यापक हिलाल अहमद भन्छन् – सन् २०१४ देखि सम्पूर्ण प्रवचन नै परिवर्तन भएको छ ।

उनी भन्छन्, “सन् २०१३-१४ सम्ममा अन्ना आन्दोलनले स्थापना गरेको राष्ट्रवादलाई भाजपाले आफ्नै रङ्ग दिन थाल्यो । जसका कारण हिन्दुत्वमा आधारित राष्ट्रवादको अवधारणा अगाडि आयो । यो समय थियो, जब हरेक चुनावमा धर्मनिरपेक्ष भएर मात्र सत्ता प्राप्त गर्न सकिँदैन भन्ने प्रतिद्वन्द्वी दलले महसुस गरे ।”

नरम हिन्दुत्व आवश्यकता कि बाध्यता ?

सन् २०११ को जनगणनाअनुसार दिल्लीको जनसङ्ख्या १.६८ करोड छ । जसमध्ये २१.५९ लाख अर्थात् १२.८६ प्रतिशत मुस्लिम र ८१.६८ प्रतिशत हिन्दु छन् ।

विगत ४१ वर्षदेखि पत्रकारिता गर्दै आएका विनीत वाही दिल्लीका कुल ७० सिटमध्ये ७ वटामा मुस्लिम मतदाताको निर्णायक भूमिका रहेको बताउँछन् । जसमा सीलमपुर, ओखला, मुस्तफाबाद, चाँदनी चोक, बल्लीमारन, मटिया महल र बाबरपुर सिट पर्छन् ।

उनी भन्छन्, “मुस्लिमको सहयोगले मात्र सत्ता हासिल गर्न सकिँदैन भन्ने केजरीवालले बुझिसकेका छन् । मुस्लिम बाहुल्य सिट पनि जित्नका लागि उनलाई हिन्दु भोट चाहिन्छ । यी सिटमा काङ्ग्रेस अलि बलियो भयो भने उनलाई गाह्रो हुनेछ ।” 

वरिष्ठ पत्रकार शरद गुप्ता विश्वास गर्छन्, “दिल्लीको पछिल्ला दुई विधानसभा चुनावमा काङ्ग्रेस पार्टीले एक सिट पनि जित्न सकेन । काङ्ग्रेसको भोट बैङ्क आम आदमी पार्टीतिर सर्‍यो । मुस्लिम केजरीवालबाहेक भाजपामा जान चाहँदैनन् । अरु ठाउँ पनि  छैन ।”

सीएसडीएसमन सह-प्राध्यापक हिलाल अहमद भन्छन्, ”सन् २०१४ मा भाजपाको सफलताले हिन्दुत्व बिना चुनाव जित्न सकिँदैन भन्ने स्थापित गर्‍यो । केजरीवालले हिन्दुत्वलाई समर्थन गर्नुको कारण पनि यही हो ।”

उनी भन्छन्, “मुस्लिम भोट आफ्नो खल्तिमा छ भन्ने केजरीवाललाई लाग्छ । यस्तो अवस्थामा हनुमान चालिसा पढ्नुहोस्, आफूलाई हिन्दुको रूपमा देखाउनुहोस् ताकि परम्परागत रूपमा भाजपाको मानिने भोट बैङ्क तोड्न सकियोस् ।”

आशुतोष पनि यस्तै भन्छन् । उनी भन्छन्, “जब दिल्ली दङ्गा भयो, आम आदमी पार्टीले नागरिकलाई सहयोग गरेन । महिला शाहीन बागमा धर्नामा बसे, तर अरविन्द केजरीवाल एकपटक पनि गएनन् । उनलाई डर थियो कि यदि उनले त्यसो गरे भने भाजपाले उनलाई विचार गर्नेछ । मुस्लिम समर्थक नेताको रूपमा घोषणा गर्नेछ ।”

आशुतोष थप्छन्, “मुख्यमन्त्री भएकाले अरविन्द केजरीवालले उनीहरूको पीडा सुन्नुपर्थ्यो, तर उनले सुनेनन् । हिन्दु मत टाढा नजाओस् भनेर मात्र ।”

एक समय थियो, जब अरविन्द केजरीवाल टाउकोमा गोल टोपी लगाएर इफ्तार पार्टीमा जान्थे, तर समयसँगै उनले आफूलाई यसबाट टाढा राख्न थाले ।

शरद गुप्ता भन्छन्, “सन् २०२० सम्ममा अरविन्द केजरीवालले गोल टोपी छोडेर हनुमान मन्दिरमा शिर झुकाउन थाले । यो ठूलो परिवर्तन हो, जुन एकदमै स्पष्ट देखिन्छ ।”

‘सफ्ट हिन्दुत्व’ भन्ने प्रश्नमा मिडियासँग कुरा गर्दै केजरीवालले भनेका थिए , “तिमी मन्दिर जान्छौ ? म पनि जान्छु । मन्दिर जानुमा कुनै गल्ती छैन । मन्दिरमा जाँदा शान्ति मिल्छ । के गलत छ ? विरोध गर्नेहरूलाई के समस्या छ ?”

उनले थप भने, “म मन्दिर जान्छु, म हिन्दु हुँ, म हनुमानजी, रामजीको मन्दिर जान्छु । मेरी श्रीमती शिवजीको भक्त छन् । उनी हरेक हप्ता गौरीशंकर मन्दिर जान्छिन् । कसैलाई किन समस्या छ ? यसलाई किन मुद्दा बनाइन्छ ?”

धार्मिक प्रतीकहरूको सहारा

९० को दशकमा भारतमा सुरु भएको धर्मको सङ्गठित र योजनाबद्ध प्रयोगको प्रक्रियाले सन् २०१४ पछि थप गति लियो ।

वरिष्ठ पत्रकार विनीत वाही भन्छन्, ”भारतीय जनता पार्टीले भगवान रामको नाम राखेको छ, किनभने भगवान राम दशकौंदेखि उनीहरूको राजनीतिको केन्द्रमा छन् ।”

उनी भन्छन्, “जब आम आदमी पार्टी हिन्दुत्वतर्फ अघि बढ्यो, उनीहरुको अगाडि सबैभन्दा ठूलो चुनौती एउटा धार्मिक प्रतीक अपनाउनु थियो जसको सहायताले उनीहरू हिन्दु जनतासँग जोडिन सकून् । यसै सन्दर्भमा उनीहरूले हनुमानलाई रोजे ।”

दिल्लीका अधिकांश हिन्दु हनुमानजीमा विश्वास गर्छन् । कनाड प्लेस, करोल बाग र यमुना बजारमा मार्गघाट हनुमानजीको ठूलो मन्दिर छ । हनुमानजीको सहयोगमा केजरीवाललाई हिन्दु देखाउन र बताउन धेरै सजिलो छ ।

यसको प्रतिध्वनि २०२० को दिल्ली विधानसभा चुनावमा सबैभन्दा बढी सुनिएको थियो । हनुमान चालिसा वाचन र मन्दिरमा जानुका साथै प्रचारका क्रममा गदा लिएर भोट मागेको पनि देखिएको थियो । 

हिलाल अहमद विश्वास गर्छन्, “चुनावको राजनीतिअनुसार चिन्ह छनोट गरिन्छ र अरविन्द केजरीवालले हनुमानलाई छनोट गरेर त्यसै गरे ।”

उनी भन्छन्, “मानिसले केजरीवालले यसो गरेर भाजपालाई जवाफ दिइरहेका छन् भनेर भन्छन्, तर यो जवाफको कुरा होइन, सत्ता प्राप्त गर्ने राजनीति हो ।” 

आपको ‘हिन्दुत्व’ भाजपा भन्दा कति फरक ?

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ६ मुस्लिम उम्मेदवारलाई टिकट दिएको छ भने भाजपाले एउटा पनि मुस्लिम उम्मेदवार बनाएको छैन ।

शरद गुप्ता भन्छन्, “भाजपाको हिन्दुत्वमा कुनै मिश्रण छैन । त्यहाँ मुस्लिमका लागि केही छैन । केजरीवाल मुस्लिमलाई पनि पूजा गर्न चाहन्छन् ।”

उनी भन्छन्, “भाजपाको डीएनए सुरुदेखि नै कट्टर हिन्दुत्व हो । उनीहरू हिन्दु राष्ट्र बनाउने कुरा गर्छन्, मुस्लिमलाई टिकट दिँदैनन् । उनीहरूको लक्ष्य देशका करिब ८० प्रतिशत हिन्दु जनता हो, जसबाट ५० प्रतिशत चाहन्छन् । तर, केजरीवालको हिन्दुत्व कट्टर छैन ।”

गुप्ता अरविन्द केजरीवालको लक्ष्य हिन्दु भोट हो भन्ने विश्वास गर्छन्, तर उनी मुस्लिमहरूको आकर्षण छोड्न सक्षम छैनन् ।

आशुतोष पनि यस्तै भन्छन् । उनी भन्छन्, “एउटा विशेष धर्मको मत प्राप्त गर्न केजरीवाल कम्तिमा अन्य धर्मविरुद्ध घृणाको व्यापार गर्दैनन् । एक प्रकारको सन्तुलन कायम राख्न खोजिरहेका छन् ।”

सन्तुलनको मुद्दामा हिलाल अहमद भन्छन् – ”यो अरविन्द केजरीवालले बनाएको होइन, बरु यो आफैँले बनाएको हो ।”

-बीबीसी हिन्दीको सहयोगमा

सम्बन्धित सामग्री –

दिल्लीमा सरकार बनाउने ‘हट’ सिट, केजरीवाललाई दुई पूर्वमुख्यमन्त्रीका छोराको चुनौती

नयाँ दिल्लीमा केजरीवालको अर्को अग्निपरिक्षा

दिल्ली चुनाव : भाजपाले २७ वर्षको खडेरी तोड्ला कि आपले ११ वर्षे विरासत जोगाउला ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register