बालखैमा मुग्लान जानुपर्ने बाध्यताले आधारभूत शिक्षाबाट टाढिँदै बालबालिका

सुर्खेत । रोजीरोटीकै लागि परिवारसहित भारतका विभिन्न सहरमा गएर काम गर्नुपर्ने बाध्यता अहिले पनि सुदूरपश्चिम र कर्णाली क्षेत्रमा छ । यस्तो बाध्यताले विद्यालय जाने उमेरका बालबालिका पनि अभिभावकसँगै भारत जानुपर्ने बाध्यताले आधारभूत विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ । स्थानीय दलबहादुर विक यो रहर नभएर बाध्यता भएको बताउँछन् । ‘गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको […]

Feb 2, 2025 - 11:15
 0
बालखैमा मुग्लान जानुपर्ने बाध्यताले आधारभूत शिक्षाबाट टाढिँदै बालबालिका

सुर्खेत रोजीरोटीकै लागि परिवारसहित भारतका विभिन्न सहरमा गएर काम गर्नुपर्ने बाध्यता अहिले पनि सुदूरपश्चिम र कर्णाली क्षेत्रमा छ ।

यस्तो बाध्यताले विद्यालय जाने उमेरका बालबालिका पनि अभिभावकसँगै भारत जानुपर्ने बाध्यताले आधारभूत विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

स्थानीय दलबहादुर विक यो रहर नभएर बाध्यता भएको बताउँछन् । ‘गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो । केटाकेटीलाई यहाँ एक्लै छाड्न सकिन्न,’ उनी भन्छन् । विकका अनुसार गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् ।

दलित समुदायको बाहुल्यता रहेको यस वडाका मानिसहरू भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरूको बाध्यता हो ।

वडा सदस्य रामशिला विकका अनुसार जागिरको खोजीमा अधिकांश मानिस भारत जाँदा बालबालिका पनि सँगै लैजानु पर्ने अवस्था आउने गरेको छ ।

‘यो दलित समुदायको बाहुल्यता भएको वडा हो । रोजगारीका लागि भारतमा जाने बाध्यता यहाँका लागि नौलो होइन । यहाँ गरिबी, त्यसमा पनि दलित समुदायको अवस्था दयनीय छ,’ विक भन्छिन्, ‘उनीहरूले छोराछोरीलाई पनि सँगै लैजाने भएकाले पढ्न पाउँदैनन ।’

विद्यालय उमेर समूहका बालबालिका अविभावकको साथमा भारतमै जाँदा उनीहरूको शिक्षा पाउने अधिकार खोसिएको छ ।

वडामा सञ्चालित भैरव प्राथमिक विद्यालय लमचुडीका प्रधानाध्यापक महेन्द्र रामजालीले यो ठाउँमा शिक्षाको अवस्था कमजोर रहेको बताए । यस्तै महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापक रेशम भट्टराई पनि भारत जानुपर्ने बाध्यताका कारण विद्यार्थीले पढ्न नपाएको बताए । ‘जबसम्म सरकारले गाउँमै रोजगारी गर्ने खालका कार्यक्रम ल्याउँदैन, तबसम्म सबै बालबालिकालाई विद्यालयमा ल्याउन गाह्रो छ,’ उनले भने।

भैरव प्रावि रानिवनका प्रधानाध्यापक नन्दा शाहीले पनि आफूहरुले बालबालिकालाई नियमित विद्यालय आउन जनचेतनाका कार्यक्रम सञ्चालन गरे पनि अवस्था परिवर्तन हुन नसकेको बताइन् ।

८० जना बालबालिका मुग्लान

राष्ट्रिय जनगणना २०७८ अनुसार गुराँस गाउँपालिका–२ को जनसङ्ख्या दुई हजार सात सय ३३ छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको सङ्ख्या एक हजार एक सय २१ छ । जसमध्ये बालक छ सय ३० र बालिका चार सय ९१ जना छन् ।

एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कूल विद्यार्थीको सङ्ख्या आठ सय ७७ जना रहेको छ । विद्यालयको तथ्याङ्कअनुसार ८० जना विद्यार्थी विद्यालय आउँदैनन् । जसमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ कक्षासम्मका रहेको विद्यालयको भनाइ छ ।

विद्यालयमा अनुपस्थित विद्यार्थीहरू बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको भैरव प्रावि रानिवनकी प्रधानाध्यापक नन्दा शाही बताउँछिन् । अविभावकमा आवश्यक चेतनाको कमी तथा बाध्यताका कारण यस्तो अवस्था आएको भगवती प्रावि शेरिबाडाका प्रधानाध्यापक हर्कबहादुर विसीको भनाइ छ ।

तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा चार सय ८० विद्यार्थी छन् तीमध्ये २० जना विद्यार्थी भारतमा छन् ।

बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँग भारत गएका छन् । भैरव प्रावि रानिवन शेरीवाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि शेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडी एक सय ४१ विद्यार्थीमध्यै १८ जना बाबुआमासँगै भारत गएका छन् ।

यस वडाका बालबालिकामा कुपोषणकोसमेत समस्या पनि रहेको पाइएको छ ।

वडा नं २ को पुरैनी स्वास्थ्य चौकी इञ्चार्ज किरणकुमार केसीले साझेदार संस्था र गाउँपालिकाको सहयोगमा सचेतना तथा पोषणयुक्त खानाका विषयमा जानकारी गराइँदै आएको बताए ।

हाल चार जनामा उक्त समस्या छ । चेतनाका कार्यक्रम सञ्चालन गर्छौंः वडाध्यक्ष रावल गुराँस गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर रावलले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ भनेर आफूहरुले पहल गरे पनि कठिनाइ रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register