जनकपुरमा आजदेखि साहित्य महोत्सव : परराष्ट्र नीतिदेखि क्रिकेटसम्मका विषय

जनकपुरधाम । ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिमका साथ आज (बिहीबार)देखि तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण जनकपुरधाममा सुरु हुँदैछ । नवमिथिला फाउन्डेसनको आयोजनामा यही आजदेखि शनिबारसम्म चल्ने यस महोत्सवमा साहित्यिक विमर्श, सामाजिक, आर्थिक र राजनीतिक बहसका कुरा समेटिने छन् । मिथिला सभ्यता र संस्कृतिको धरोहर जनकपुरधामलाई विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बनाउने […]

Feb 6, 2025 - 01:42
 0
जनकपुरमा आजदेखि साहित्य महोत्सव : परराष्ट्र नीतिदेखि क्रिकेटसम्मका विषय

जनकपुरधाम । ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिमका साथ आज (बिहीबार)देखि तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण जनकपुरधाममा सुरु हुँदैछ ।

नवमिथिला फाउन्डेसनको आयोजनामा यही आजदेखि शनिबारसम्म चल्ने यस महोत्सवमा साहित्यिक विमर्श, सामाजिक, आर्थिक र राजनीतिक बहसका कुरा समेटिने छन् ।

मिथिला सभ्यता र संस्कृतिको धरोहर जनकपुरधामलाई विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बनाउने उद्देश्यले साहित्य उत्सव गर्ने लागिएको आयोजकले बताएका छन् ।

महोत्सवमा १४ वटा प्यानलमा छलफल र तीनवटा एकल प्रवचन समावेश गरिएका छन् । जसबाट साहित्यको सीमाना मात्र नभई समाजका विविध आयामलाई उजागर गरिने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा लेखक सीके लालले विद्वत् प्रवचन गर्नेछन् । यससँगै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘उज्यालोको यात्रा’मा आफ्नो अनुभव बाँड्ने छन् भने भारतका लेखक सुवोधचन्द्र भारतीयले ‘सीता र रोटीबेटीको सम्बन्ध’ विषयमा विचार राख्नेछन् । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ‘आन्दोलन र साहित्य’मा आफ्नो विश्लेषण प्रस्तुत गर्नेछन् ।

यस्तै ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ सत्रमा पत्रकार सुधीर शर्मा, लेखक तुलानारायण साह र इन्द्र अधिकारीको सहभागितामा गहिरो बहस हुनेछ, जसको पत्रकार अनिल गिरीले सहजीकरण गर्नेछन् ।

‘नेपाली उद्यमीको यात्रा’मा उद्योगपति सौरभ ज्योति, सुलभ बुढाथोकी र असिममान सिंहले आफ्ना अनुभव साझा गर्नेछन् भने ‘आनन्दको खोजी’ सत्रमा पत्रकार घनश्याम खड्का र समा थापाबीच विचार विमर्श हुनेछ ।

महोत्सवमा जनकपुरका चुनौती र अवसरहरू, डिजिटल युगमा पठन संस्कृति, क्रिकेट : समस्या, समाधान र सम्भावना, मधेस महिमा : उद्यमको व्यावसायीकरण, नीतिमा युवाको चासो लगायत विषयमा बहस हुने फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए । जसले साहित्य, कला, संस्कृति र सामाजिक विषयहरूमा गहिरो संवादको ढोका खोल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

यसैगरी, महोत्सवको उद्घाटन समारोहमा जनकपुरका १० विद्यालयका ६० जना विद्यार्थीले सामूहिक रूपमा ‘इएह छी हमर जनकपुर’ गीतमा कोरस प्रस्तुति गर्नेछन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्ने आयोजकको भनाइ छ ।

फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले यो महोत्सव केवल साहित्यिक उत्सव नभएर जनकपुर र मधेसको सामाजिक, आर्थिक र सांस्कृतिक चेतनाको प्रतिविम्ब रहेको बताए । ‘विचारहरूको आदान–प्रदान र नयाँ सोचको विकास यहीँबाट सुरु हुन्छ,’ उनले भने ।

यस्तै, उपाध्यक्ष नेपालले यस वर्षको अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कर स्वर्गीय गुरुदेव कामतको नाममा उनका परिवारलाई दिइने पनि जानकारी दिए ।
साहित्य महोत्सवको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्ने आयोजक संस्थाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register