पूर्वनगरप्रमुखहरूले औंल्याए जनकपुरका सम्भावना

जनकपुर । जनकपुरधामका पूर्वनगरप्रमुखहरूले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वलाई विशेष जोड दिँदै हालका चुनौतीहरूको समाधानका विषयमा सम्भावनाहरू अघि सारेका छन् । जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करणको दोस्रो दिनको पहिलो सत्रमा ‘जनकपुरधामका चुनौती र अवसर’ विषयक बहसमा प्रमुख उनीहरूले यहाँको समग्र विकासका लागि आवश्यक कदमहरूबारे चर्चा गरेका हुन् । सत्रका मुख्य वक्ता तराई मधेश लोकतान्त्रिक पार्टीका […]

Feb 7, 2025 - 13:21
 0
पूर्वनगरप्रमुखहरूले औंल्याए जनकपुरका सम्भावना

जनकपुर । जनकपुरधामका पूर्वनगरप्रमुखहरूले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वलाई विशेष जोड दिँदै हालका चुनौतीहरूको समाधानका विषयमा सम्भावनाहरू अघि सारेका छन् ।

जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करणको दोस्रो दिनको पहिलो सत्रमा ‘जनकपुरधामका चुनौती र अवसर’ विषयक बहसमा प्रमुख उनीहरूले यहाँको समग्र विकासका लागि आवश्यक कदमहरूबारे चर्चा गरेका हुन् ।

सत्रका मुख्य वक्ता तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् जनकपुरधामका पूर्व नगर प्रमुख वृषेश चन्द्र लालले जनकपुरधामको प्राचीन महत्त्वलाई पुनर्स्थापित गर्न वर्तमान समयमा आवश्यक संरचनात्मक सुधार र दीर्घकालीन योजना अपरिहार्य भएको बताए । उनले जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउन सक्षम रहेको तर्क गर्दै सहरको आधारभूत संरचनामा सुधार गर्नुपर्नेमा जोड दिए ।

‘जनकपुरधामलाई एक अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामीले पूर्वाधारहरूमा लगानी गर्नुपर्नेछ,’ उनले भने ।

त्यसैगरी, जनकपुरधामका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहले सहरको आर्थिक र सामाजिक विकासका लागि राजनीतिक इच्छाशक्ति र एकीकृत प्रयास आवश्यक भएको बताए । उनले सहरभित्र शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न लामो समयदेखि अवरोध भइरहेका परियोजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘विकासका लागि स्थानीय प्रशासनको सशक्त भूमिका हुनु आवश्यक छ । यसले हाम्रा जनताका आवश्यकता र आकांक्षालाई सम्बोधन गर्छ,’ साहले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका वर्तमान प्रमुख मनोज कुमार साहले पनि सहरको सम्भावनालाई उजागर गर्दै हालको अवस्था सुधार्न आफू प्रतिबद्ध रहेको बताए । उनले सहरको विकास योजनामा जनसहभागिता र सरकारी निकायबीचको सहकार्यलाई प्रोत्साहन गर्दै जनकपुरधामको समृद्धि सुनिश्चित गर्नुपर्ने तर्क गरे । ‘जनकपुरधामको भविष्य उज्ज्वल छ । तर, यसका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ,’ साहले भने ।

सत्रको सहजकर्ता पत्रकार मनिका झाले बहसलाई सञ्चालन गर्दै सहरका चुनौती र अवसरहरूको विश्लेषण गर्दै विकासका विविध आयाममा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

सत्रको समापनमा सहभागीहरूले जनकपुरधामको सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै विकासका पहलहरू अघि बढाउन एकताबद्ध प्रयासको खाँचो रहेको निष्कर्ष निकाले ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register