नेपाली अर्थतन्त्र गतिशील बन्न नसक्नुको कारण

आधुनिक अर्थतन्त्रको संवाहक तत्त्व उदारीकरण, विश्वव्यापिकरण, बजारीकरण, निजी क्षेत्रको महत्त्व र योगदानप्रति वैचारिक रुझान सकारात्मक छैन । राष्ट्रवाद र समाजवादको नाममा सर्वसत्तावादको लालसा आर्थिक गतिरोधको कारक मात्र होइन दुर्गतिको अभिप्रेरक बन्न सक्छ ।

Feb 8, 2025 - 01:27
 0
नेपाली अर्थतन्त्र गतिशील बन्न नसक्नुको कारण

सन १९५० देखि ७३ सम्मको अवधिमा जापानको वार्षिक आर्थिक वृद्धिदर औसतमा ९ प्रतिशत हाराहारी थियो । यदि त्यहाँ सन् १८७० देखि १९४० बीचको औसत दर २ प्रतिशत नै कायम रहेको भए वर्तमानको स्तरमा पुग्न तीन सय वर्षभन्दा बढी लाग्थ्यो । पूर्वी एसियन मुलुकहरूको चामत्कारिक कायापलटको रहस्य निरन्तर उच्च आर्थिक वृद्धिदर कायम रहनु हो । 

नेपाली अर्थतन्त्रको ऐतिहासिक वृद्धिदर निकै सुस्त देखिन्छ । सन १९६० देखि ९० सम्म तीन दशकको औसत वृद्धिदर ३ प्रतिशतको हाराहारीमा थियो । त्यसलगत्तै तीन दशकमा पनि त्यो ४ प्रतिशतको हाराहारीमा अल्झिरह्यो । नेपालको अर्थतन्त्रलाई विकसित त के मध्यमस्तरका मुलुकको हाराहारीमा उठाउने हो भने पनि डा. बाबुराम भट्टराईको शब्दमा वृद्धिदर घिस्रने वा हिड्ने होइन कुद्ने वा उफ्रने गतिको हुनु पर्दछ कम्तिमा पनि डेढ दशकसम्म ।

समृद्धिको लागि उच्च वा डबल डिजिटको वृद्धिदरको आवश्यकता बोधको चर्चा निकै अघि देखि हो, नेपाली अर्थ राजनीतिक चिन्तन जगतमा । तथापि, त्यस्तो दर हालसम्म मात्र होइन निकट भविष्यमा पनि हासिल हुने छाँट देखिदैन । त्यो त्यति सहज छैन, आधुनिक दुनियाँमा त्यस्तो वृद्धिदर हासिल गर्ने एकाध दर्जन देश मात्र छन् । पश्चिमा देशले दुई तीन शताब्दीको प्रयासमा हासिल गरेको विकासस्तरमा केही पूर्वी एसियन मुलुक पुग्नुका पनि केही अपवादजनक कारण पनि हुन सक्दछन्

नेपाली अर्थतन्त्रको गतिशीलता दिने शक्तिभन्दा अल्झाउने बल्झाउने बल्छिहरू बलिया देखिन्छन् । आर्थिक वृद्धिमा अनपेक्षित स्पीड ब्रेकरहरू राष्ट्रिय जीवनका हरेक पाटा र अखडामा हाजिर छन् । राजनीतिक संस्था, आर्थिक संरचना, सामाजिक संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अनेकौँ तह र तरिकाका व्यवधान र चुनौती देख्न सकिन्छ ।

राजनीतिक पाटोमा राज्य राष्ट्रिय अर्थतन्त्रको सबैभन्दा ठूलो र महत्त्वपूर्ण स्टकहोल्डर हो । तर, नेपालमा आधुनिक अर्थतन्त्रको सहजीकरण, सञ्चालन तथा व्यवस्थापनको लागि राज्यको पर्याप्त क्षमता हासिल हुन बाँकी नै छ । राजनीतिक शास्त्रको भाषामा आधुनिक राज्य निर्माण प्रक्रिया पुरा भइसकेको छैन । व्यावहारिक रवैया हेर्दा राजकीय संयन्त्र अझै अर्थतन्त्रको गतिशीलताको सहजकर्ताभन्दा अधिकतर शोषण तथा दोहनको हर्ताकर्ताको अवस्थामा देखिन्छ । राज्यको गुणात्मक चरित्र आधुनिक अर्थव्यवस्थासँग तादम्यता राख्न सक्नेगरी रूपान्तरित हुन नसक्नु अग्रगतिको लागि विकराल उल्झन मान्न सकिन्छ ।

नेपालमा राजनीतिक व्यवस्थाहरू बदलिए कति पटक, राज्यको बाहिरी पुनसंरचना पनि भइसक्यो तर, राज्यको केन्द्रीय अङ्ग वा उपकरण ब्युरोक्रेसी अर्थात कर्मचारीतन्त्रको परिपाटी पञ्चायतकालीन जीर्ण हालतमा छ । राज्य नै समग्र अर्थतन्त्रमा प्रमुख उत्पादक, उपभोक्ता र लगानीकर्ता हो । राजश्व सङ्कलनमा प्रसस्त चुहावट छ भने, वार्षिक बजेटमा व्यवस्था गरिएको पुँजीगत खर्च लक्ष्यभन्दा निकै तल रहने गर्दछ । अधिकांश राष्ट्रिय गौरवका परियोजनाहरूको प्रगति टिठ लाग्दो छ । राज्यको खर्च समग्र अर्थतन्त्रको लागि लगानी तथा आम्दानी हो । जीर्ण ब्युरोक्रेसीको अकर्मण्यताको कारण पनि लक्ष्य र उद्देश्यअनुसार सरकारको पुँजीगत खर्च पर्याप्त हुन सकेको छैन । भएको खर्चको पनि नगन्य प्रतिफल तथा उत्पादकत्वको दीर्घरोगले नै समग्र अर्थतन्त्रलाई मझौरो बनाइरहेको छ ।

नेपाली समाजमा एउटा जबर्जस्त भाष्य स्थापित भएको छ कि, भ्रष्टाचार नै विकासको सबैभन्दा ठूलो बाधक हो र सबैभन्दा पहिला त्यसको निर्मूल हुनु पर्दछ भन्ने । वास्तविकतामा भ्रष्टाचार आर्थिक गतिविधि सँगसँगै आउने विकार हो त्यसको न्यूनिकरण गर्न सकिन्छ तर निर्मूल हुँदैन । 

नेपालमा विकासको लागि प्रत्यक्ष भ्रष्टाचारभन्दा त्यसको नियन्त्रण तथा निवारणका लागि व्यवस्था गरिएका कानुन, खडा गरिएका निकाय र सञ्चालन गरिएका गतिविधि नै व्यवधानको रुपमा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानदेखि राजश्व अनुसन्धानसम्म, पार्टीका भातृ संस्थादेखि दातृसंस्थासम्म, युट्युबेदेखि घिउट्युबे सम्मका भीडको चियोचर्चो, केरकार, छेकबारले भ्रष्टाचार नियन्त्रणभन्दा काम गर्ने इमानदार सोझासाझालाई हतोत्साहित तुल्याएको देखिन्छ ।

अनुसन्धान निकायदेखि न्यायिक निकायसम्मका चालु परियोजनाहरूको फाइल खिच्नेदेखि काम रोक्नेसम्मका हर्कतले समय र स्रोतको बर्वादी गरेको देखिन्छ तर, त्यसबाट भएको क्षतिको जिम्मेवारी लिएको पाइँदैन । प्राय त्यस्ता निकाय, संस्था, समूह तथा व्यक्ति बेथिति नियन्त्रणको साझेदारभन्दा बढी घुस कमिसनको भागबिलोका हिस्सेदार बनेको देखिन्छ । त्यस्तो बथान जति बढ्दै गयो, त्यति घुस कमिसनको दर पनि महङ्गो बन्दै गएको छ ।

भ्रष्टाचारप्रतिको ओभर रियाक्सनले पनि आर्थिक गतिविधिमा निकै धा पुर्‍याएको छ । भ्रष्टाचार निर्मूल गर्ने नाममा हलचल गर्न नसक्ने अवस्था सृजना हुँदा कसलाई काम गर्ने आँट र जाँगर आउला र ? प्रायजसो आदर्श र इमानदार कर्मचारीगणमा काम गर्दा अनाहकमा भ्रष्टाचारको अभियोग लाग्नसक्ने संशयले काम पन्छाएर जोगिएर, चोखिएर जागिर धान्ने प्रवृत्ति देखिन्छ ।

विकासशील मुलुकहरूमा तीव्र आर्थिक वृद्धिको स्रोत आर्थिक संरचनागत परिवर्तन हो । परम्परागत अर्थतन्त्र कृषि तथा प्राकृतिक सम्पदामा आधारित थियो, जुन भौगोलिक अवस्थिति अवस्थाबाट निर्धारित हुन्थ्यो । 

आधुनिकीकरणसँगै प्राय मानिस निर्वाहमुखी ग्रामीण जीवनबाट उन्मुक्ति खोज्दै उद्योग तथा सेवा क्षेत्रमा प्रवेश गर्न शहर पस्ने गर्दछन् । आधुनिक अर्थतन्त्र मूलत गैरकृषि क्षेत्रमा आधारित हुन्छ । आम जनशक्तिलाई अनुत्पादन निर्वाहमुखी ग्रामीण क्षेत्रबाट बढी उत्पादक उद्योग, कलकारखाना तथा सेवा क्षेत्रमा स्थानान्तरण गरेर नै प्राय विकसित देशहरूले आर्थिक रुपमा फड्को मारेका थिए ।

कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने र त्यसबाट उब्रेको अतिरिक्त जनशक्तिको लागि शहरी क्षेत्रमा काम वा रोजगारी सृजना गरेर स्थानान्तरण गर्ने प्रक्रिया नेपालमा सहज रुपमा हुन सकिरहेको छैन । तसर्थ, आधुनिक अर्थतन्त्रको आधारशिला नै निर्माण हुन सकेको छैन । नयाँ पुस्तामा ग्रामीण कृषिको आधुनिकीकरणबिना नै गाउँ छाड्ने लहर चलेको छ । तर, गैरकृषि क्षेत्रमा पर्याप्त रोजगारीको अवसर नभएकोले झण्डै एकतिहाइ जनशक्ति वैदेशिक रोजगारी तथा प्रवासनमा बाहिरिएको अवस्था छ । त्यसले विप्रेषण उपलब्ध गराएर अर्थतन्त्रलाई उल्लेख्य भरथेग गरिरहेको त छ । तर, विप्रेषण प्रवाहले सृजना गरेका नकारात्मक साइड इफेक्टहरूका कारण अर्थतन्त्रमा थप गम्भीर चुनौती उत्पन्न भएका छन् । 

कतिपय क्षेत्रमा श्रमिक वा दक्ष जनशक्तिको अभाव खड्कन थालेको छ भने विप्रेषण प्राप्त गर्ने परिवार उपभोग र सुविधाको लागि अन्धाधुन्ध शहर पस्ने लहड चलेको छ । उत्पादनमूलक व्यवसायमा भन्दा घरजग्गामा लगानी खन्याउने प्रवृत्तिले शहरी क्षेत्रमा घर जग्गा तथा आवासको मूल्य अस्वाभाविक वृद्धि भएको छ । जसका कारण समग्र अर्थतन्त्र नै महङ्गो हुन गएको छ ।

त्यसले व्यवसायिक तथा उत्पादन लागत बढाएकोले प्रतिस्पर्धी क्षमता ह्रास भई आर्थिक वृद्धिमा गम्भीर प्रतिकूलता सृजना गरेको छ । साथै न्यून आर्थिकस्तर हुनेहरूको जीवन निर्वाह अत्यास लाग्दो हुँदै गएको छ । 

आर्थिक विकास प्रक्रियामा संरचनागत परिवर्तनको महत्त्व र अपरिहार्यता अझै महसुस गरिएको छैन । बरु व्यवसायिक तथा राजनीतिक हर्ताकर्ताहरू त्यस प्रक्रियाका अवसरलाई दुरुपयोग गरी नाजायज ढङ्गले घरजग्गा, म्यानपावर, सहकारी आदि धन्दा चलाएर बसेका छन् । जसका कारण संरचनागत रूपान्तरणको प्रक्रिया कचल्टिएको छ । 

अर्थतन्त्रको आधुनिकीकरणको प्रक्रिया औद्योगिकरण तथा व्यवसायिकरण फस्टाउनु पर्नेमा अनेक तरहले ठगीधन्दा गर्ने माफियाकरण, गिरोहकरण मौलाएको छ । जुन अर्थतन्त्रको अग्रगतिको लागि भीषण चुनौती हो ।

आर्थिक विकासका लागि पुँजीगत अभिवृद्धि अपरिहार्य छ । आधुनिक समाजमा सम्पत्तिका अनेक रूप छन् । भौतिक सम्पत्तिको अतिरिक्त मानिसमा निहित शारीरिक तथा मानसिक सामर्थ्य इत्यादि मानवीय सम्पत्ति, इज्जत नाम प्रतिष्ठा विश्वसनीयता आदि सामाजिक सम्पत्ति, नवीन ज्ञान, रचना, सृजना, ट्रेडमार्क आदि बौद्धिक सम्पत्ति मानिन्छ । 

आर्थिक गतिशीलताका लागि भौतिक वा वित्तीय पुँजीको अतिरिक्त गुणात्मक मानवीय, सामाजिक तथा बौद्धिक पुँजीको लगानी र संयोजन अत्यावश्यक छ, जसबाट अर्थतन्त्रको कुल उत्पादकत्व बढ्दछ । तसर्थ, मानवीय, बौद्धिक तथा सामाजिक पुँजीको अभावमा वित्तीय पुँजीको लगानी आकर्षित हुन सक्दैन ।

अन्य पुँजी आयातित पनि हुन सक्छ तर, सामाजिक पुँजी आफैँ निर्माण गर्नु पर्दछ । समाजिक पुँजी व्यक्तिगतदेखि समाज र राष्ट्रियस्तर सम्मको आर्जन हुन सक्दछ । सामाजिक पुँजीको प्रत्यक्ष रूप विश्वसनीयता हो । यो संस्थागत चरित्र र नैतिक मूल्यहरूको जगेर्नाबाट निश्रित हुन्छ । सामाजिक अर्थशास्त्रीहरूले समाजको औसत नैतिक स्तरलाई विकासको सबैभन्दा प्रभावकारी सूचक मानेका छन् । नैतिकरूपमा पतित समाज आर्थिकरूपमा पनि विकसित हुन सक्दैन । देशको राजनीतिक, व्यवसायिक, प्रशासनिक लगायत हरेक क्षेत्रमा देखिएको नैतिकताको खडेरीले सामाजिक पुँजी पर्याप्त सृजना हुन सकेको छैन । यो पनि अर्थतन्त्रको गतिरोधको प्रभावकारी कारण बन्न पुगेको छ ।

आर्थिक विकासको लागि आवश्यक मानवीय संशाधन उत्पादनको गुणस्तर मुलुकको शिक्षा प्रणालीमा निर्भर रहन्छ । विकसित मुलुकको दृष्टान्त हेर्दा विद्यालयको माध्यमिक तहमा साठी प्रतिशतभन्दा बढी प्राविधिक तथा व्यावसायिक तालिमसहितको शिक्षा प्रदान गरिन्छ, त्यो पनि अर्थतन्त्रको आवश्यकता र सम्भावना हेरेर । डाक्टर, इन्जिनियरसहित विज्ञान, प्रविधि तथा व्यवस्थापनको विश्वविद्यालय शिक्षा समेत आफ्नै राष्ट्रिय भाषामा प्रदान गरिन्छ । जसकारण राष्ट्रको लगानीमा उत्पादित दक्ष जनशक्ति देशभित्रै खपत हुने अवसर सृजना हुन्छ । आधुनिक ज्ञान समाजमा सहज प्रसारित हुन सक्छ, आर्थिक प्रतिफल उच्च हुन्छ । अर्थतन्त्रको अग्रगतिको त्यो पनि एक प्रमुख कारण हो । 

नेपालको सन्दर्भमा त्यसको ठिक उल्टो भइरहेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षाको अनुपात अत्यन्त न्यून छ । विश्वविद्यालय तहमा विज्ञान प्रविधिसहित प्राय विषयहरू विदेशी भाषा अङ्ग्रेजीमा अध्यापन हुन्छ । फलस्वरूप शिक्षितको सङ्ख्या बढे पनि मानवीय संशाधनको गुणस्तर, उत्पादकत्व र आर्थिक प्रतिफल अपेक्षित हुन सकेको छैन । शिक्षा क्षेत्रको विस्तारको बावजुद अर्थतन्त्रमा पर्याप्त परिणाम नदेखिनुको कारण त्रुटिपूर्ण शिक्षा प्रणाली पनि हो ।

अर्थतन्त्रकै अर्को महत्त्वपूर्ण पाटो वैदेशिक सम्पर्क सम्बन्ध हो । आधुनिक अर्थव्यवस्थामा प्राय व्यावसायिक सम्बन्ध वा इकोसिस्टमको दायराले राष्ट्रिय सीमा पार गरेको हुन्छ । अर्थतन्त्रलाई गति दिन बाह्य सम्बन्ध सम्पर्क विस्तार अपरिहार्य रहन्छ । नेपाल भूपरिवेष्‍टित मुलुक भएकोले अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक सम्बन्ध सम्पर्क स्वाभाविकै रुपमा चुनौतीपूर्ण छ । 

साथै व्यवहारिकरूपमा नेपाल तीनतिरबाट घेरिएको भारतवेष्‍टित छ र उसँग कतिपय राजनीतिक तथा आर्थिक सम्बन्ध सहज र अनुकुल हुन सकेका छैनन् । नेपालको विश्व मामिलामा अध्ययन अनुसन्धानको कमी र आर्थिक कूटनीतिक कौशलताको अभावमा विद्यमान उदारीकरण तथा विश्वव्यापिकरणको अनुकुलताको उपयोग हुन सकेको छैन । तर, प्रतिकुलताबाट बच्न भने सकिएको छैन । विश्व मामिलामा कमजोर पहुँच अर्थतन्त्रको अर्को स्पीड ब्रेकर हो ।

राजनीतिक संस्थापन, आर्थिक संरचना, सामाजिक वातावरण, बाह्य परिवेश प्राय: एकअर्कामा अन्तर्सम्बन्धित छन् । अर्थतन्त्रका ति सबै पाटाहरूमा विद्यमान प्रतिकूलता चिर्न उपयुक्त वैचारिक प्रणाली अङ्गिकार गर्नु पर्ने हुन्छ । नेपालको अर्थराजनीतिक विचार जगतमा हावी भइरहेको अति वामपन्थी र अन्धराष्ट्रवादीहरूको दृष्टिकोण आधुनिक अर्थतन्त्रको अनुकुल छैन ।

आधुनिक अर्थतन्त्रको संवाहक तत्त्व उदारीकरण, विश्वव्यापिकरण, बजारीकरण, निजी क्षेत्रको महत्त्व र योगदानप्रति वैचारिक रुझान सकारात्मक छैन । राष्ट्रवाद र समाजवादको नाममा सर्वसत्तावादको लालसा आर्थिक गतिरोधको कारक मात्र होइन दुर्गतिको अभिप्रेरक बन्न सक्छ । नेपाली अर्थतन्त्र कुद्न नसक्नुमा यस्तै प्रतिकुल अर्थराजनीतिक सोच पनि जिम्मेवार छ ।

‍-डेनमार्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register