चिया र अलैँची निर्यात बढाउँदै नेपाल, मुख्य बजार भारत 

काठमाडौं । नेपाल चिया र अलैँचीमा आत्मनिर्भर बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा नेपालको चिया र अलैँचीको निर्यात सुखद देखिन्छ । चालु आवको ६ महिनामा कुल वस्तु निर्यात ३१ दशमलव ८ प्रतिशतले बढेर ९८ अर्ब ७९ […]

Feb 11, 2025 - 07:09
 0
चिया र अलैँची निर्यात बढाउँदै नेपाल, मुख्य बजार भारत 

काठमाडौं । नेपाल चिया र अलैँचीमा आत्मनिर्भर बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा नेपालको चिया र अलैँचीको निर्यात सुखद देखिन्छ । चालु आवको ६ महिनामा कुल वस्तु निर्यात ३१ दशमलव ८ प्रतिशतले बढेर ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर पुगेको छ ।

गत आवको सोही अवधिमा निर्यात ७ दशमलव २ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ । यस्तै चालु आवको ६ महिनामा १ करोड १३ लाख २६ हजार किलोग्राम चिया निर्यात भएको छ ।

जसमध्ये सबैभन्दा धेरै भारतमा निर्यात गरिएको छ । समीक्षा अवधिमा भारततर्फ नेपालले एक करोड १० लाख केजी चिया निर्यात गरेको छ ।

गत वर्ष सोहीको अवधिमा दुई अर्ब १४ करोड रुपैयाँ बराबरको ८५ लाख १६ हजार केजी चिया निर्यात भएको थियो भने यो वर्ष तीन अर्ब १६ करोड रुपैयाँमा एक करोड १३ लाख २६ हजार केजी चिया निर्यात गरिएको छ ।

कृषि तथ्याङ्क २०७८/७९ अनुसार नेपालका ३४ जिल्लाको २० हजार २१९ हेक्टर जमिनमा चिया खेती हुने गरेको छ । जसबाट वार्षिक दुई करोड ६४ लाख केजी चिया उत्पादन हुने गरेको छ ।

जसमध्ये झापामा मात्रै ७३ प्रतिशत अर्थात् एक करोड ९४ लाख केजी उत्पादन हुने गरेको छ । जुन नेपालमा उत्पादन हुने जिल्लाहरूमध्ये सबैभन्दा धेरै हो । झापापछि धेरै चिया उत्पादन गर्ने जिल्लामा इलाम पर्छ ।

चिया निर्यात बढ्नुको कारण

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब १७ हजार हेक्टर जमिनमा चिया खेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने जनाइएको छ । चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन् ।

यस उद्योगमा ६० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष संलग्न छन् । नेपालले डेढदेखि २ करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको बोर्डले जनाएको छ ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले भारतमा चिया उत्पादनमा कमी आएका कारण नेपाली चियाको निर्यात बढिरहेको बताउँछन् । भारतमा पछिल्ला वर्षहरूमा चिया उत्पादन घटिरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पछिल्लो समय भारतमा चिया उत्पादन घटिरहेको छ र मागअनुसार आपूर्ति हुन नसकिरहेको अवस्था छ । त्यसैले, भारतीय बजारमा नेपाली चियाले स्थान पाइरहेको छ ।’

यद्यपि, भारतले नेपाली चियाको आयातमा ४० प्रतिशत भन्सार शुल्क लगाउने वा अक्सन मार्केट (लिलामी बजार)मार्फत लिलामी गर्ने प्रक्रिया अघि बढाइरहेको छ । उनी भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानुनी व्यवस्था लागू गराउन लागि परेको बताउँछन् ।

भारतीय बजार गुम्दा नेपालको चिया उद्योग धराशायी हुने बताउँदै उनले यो क्षेत्रमा आश्रित लाखौँ मजदुर, किसान, उद्योगी र व्यवसायी सङ्कटमा पर्ने चेतावनी दिए । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको उनको भनाइ छ ।

अरोमा चिया व्यवसायी राजेश रौनियारका अनुसार नेपाली चियाले अन्तर्राष्ट्रिय बजार विस्तार गरिरहेको छ ।

दार्जिलिङ चियालाई ब्रान्ड बनाएर भारतले बेचिरहेको उदाहरण दिँदै उनी भन्छन्, ‘न्युओर्क टाइम्समा आएको अध्ययन प्रतिवेदनअनुसार दार्जिलिङको भन्दा नेपालको इलामको चिया राम्रो छ ।’

त्यसैले पनि नेपाली चियाको अन्तर्राष्ट्रिय बजार भविष्य राम्रो रहेको उनको दाबी छ ।

उतारचढाबबीच अलैँची निर्यात पनि बढ्दो

यस्तै नेपालले अलैँची निर्यातमा पनि पछिल्लो समय प्रगति देखिएको छ । अघिल्लो वर्षको तुलनामा २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव ७ प्रतिशतले बढेको पाइएको छ । यद्यपि, अलैँचीको निर्यातमा उतारचढाब भनेको आएको पाइएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७७/७८ मा ७ अर्ब १० करोड रुपैयाँ बराबरको ८८ लाख ४२ हजार केजी अलैँची निर्यात गरेको थियो ।

तर अर्को वर्ष भने निर्यात घटेको थियो । आव २०७८/७९ मा नेपालबाट ४ अर्ब ८१ करोड रुपैयाँको ५३ लाख ६७ हजार केजी अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

सो समयमा बजार मूल्य एकाएक घटेकाले किसानले अलैँची भण्डारण गरेर राखेका थिए । सोही कारण अलैँची निर्यातमा कमी देखिएको सरोकारवालाहरूको भनाइ छ ।

आव २०७९/८० मा भने निर्यात बढेको पाइएको छ । तथ्याङ्कअनुसार आव २०७९/८० मा ८ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको ९९ लाख ९० हजार केजी अलैँची निर्यात भएको थियो ।

तर अर्को वर्ष फेरि अलैँचीको निर्यात घटेको पाइएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ३ अर्ब ९० करोड ५८ लाख ०६ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको पाइएको छ । तर यस वर्ष भने निर्यात पुनः बढेको छ । चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव ७ प्रतिशतले बढेको छ ।

चालु आवको ६ महिनामा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । यसर्थ, आव २०८०/८१ मा खस्किएको अलैँची निर्यात चालु आवमा वृद्धि भइरहेको देखिन्छ ।

भारतसँगै मुस्लिम बाहुल्य  देशमा बढी माग  

भन्सार विभागको तथ्याङ्कअनुसार अलैँची र चियाको अन्तर्राष्ट्रिय मुख्य बजार निकटको छिमेकी देश भारत रहेको छ । नेपालमा उत्पादित ९९ प्रतिशत अलैँची भारततर्फ निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा अलैँची उत्पादनको वार्षिक क्षमता ५ हजार मेट्रिक टनदेखि १० हजार मेट्रिक टनसम्म छ । हाल नेपालभर अलैँची खेती विस्तार भए पनि सबैभन्दा धेरै कोशी प्रदेशमा उत्पादन हुन्छ ।

नेपालमा उत्पादन हुने कुल अलैँचीको ८० प्रतिशत कोशीमा उत्पादन हुने र ताप्लेजुङ र सङ्खुवासभामा प्रदेशको ४० प्रतिशत अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ ।

अलैँची विकास केन्द्रका प्रमुख राजन परियार भारतमा अलैँची निर्यात सजिलो हुने र भन्सार शुल्क पनि कम रहेकाले धेरै निर्यात हुने बताउँछन् ।

साथै, पिज्जामा राखिने अलैँची त्यहाँको उत्पादनले धान्न नसकेका कारण पनि नेपालको अलैँची भारततर्फ बढी निर्यात हुने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘हामीले गरेको अध्ययनअनुसार भारतमा एक सेकेन्डमा १ हजार पिज्जाको माग हुन्छ । त्यहाँको अलैँची उत्पादन कम छ, त्यो पनि घट्दो अवस्थामा छ । त्यसैले भारतमा धेरै नेपाली अलैँची जाने गरेको छ ।’

उनले मुस्लिम समुदायको बाहुल्यता रहेका देशहरूमा अलैँचीको माग बढी रहेको जानकारी दिए । उनी भन्छन्, ‘मुस्लिम समुदायहरूले मसलाको रूपमा अलैँचीको प्रयोग गर्छन्, त्यसैले बङ्गलादेश, पाकिस्तान लगायतका देशमा यसको माग बढ्दो छ ।’

भन्सार शुल्क महँगो हुँदा निर्यातमा समस्या

बङ्गलादेश, पाकिस्तान लगायतका देशमा अलैँची निर्यात गर्दा निर्यातकर्ताले ३५ प्रतिशत कर तिर्नुपर्ने भएकाले समस्या भएको विकास केन्द्रका प्रमुख परियार बताउँछन् । उनी भन्छन्, ’यी देशहरूमा भन्सार शुल्क महँगो भएका कारण निर्यातमा धेरै समस्या भएको छ ।’

पछिल्लो समय नेपालको पनि अलैँची उत्पादनको क्षमतामा ह्रास आएको तथ्याङ्कमा देख्न सकिन्छ । यद्यपि, माग बढेका कारण अलैँचीको मूल्य अकासिइरहेको छ ।

विकास केन्द्रका प्रमुख परियार नेपालमा अलैँची उत्पादनको क्षमता बढाउन यसै आर्थिक वर्षबाट विभिन्न योजना र कार्यक्रम भित्र्याइएको बताउँछन् ।

नेपालको कृषि प्रणाली प्रविधिमैत्री नभएको कारण उत्पादनमा वृद्धि हुन नसकेको उनको भनाइ । उनी भन्छन्, ‘नेपालको कृषि प्रकृतिमै केन्द्रित छ । जलवायु परिवर्तनबाट अलैँची खेती पोहोर पनि ग्रसित भयो । समयमा पानी परेन र सुख्खै भइराख्यो भने यसवर्ष पनि अलैँची उत्पादन घट्छ । तर यस वर्षबाट हामीले उत्पादन बढाउन नसके पनि ह्रास हुन नदिन केही कार्यक्रम ल्याएका छौँ ।’

परियार यसै आवमा पालिकास्तरबाट ४० वटा नर्सरी राखेर अलैँचीको बिरुवा उत्पादन गर्ने र किरा नास गर्ने प्रविधिहरूबारे किसानहरूलाई प्रशिक्षण दिन जुटेका छन् । जलवायु परिवर्तनबाट अलैँची खेतीमा क्षति हुन नदिन मौसमी खेती लगायतका काम गरिने उनले योजना सुनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register