‘लजिक’विहीन कार्टून जस्तै राजनीति 

नेपाली राजनीतिमा लजिकसँगै लाज पनि हराइरहेको अवस्था छ । हुन त जो एकपटक कुतर्क गर्न सुरु गर्छ, उसको लागि 'सरम' भन्ने कुराको महत्त्व नै के रहन्छ । वर्तमान प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसको जल्दोबल्दो उदाहरण हुन् ।

Feb 17, 2025 - 08:00
 0
‘लजिक’विहीन कार्टून जस्तै राजनीति 

एउटा छ बिरालो – सिल्भेस्टर द क्याट । अर्को छ ब्वाँसो (वा स्याल) – वाइलकायोटीसिल्भेस्टरको तारो ‘ट्विटि’ चरी, अनि कायोटीको भने ‘रोडरन्नर’ चरो । दुई एनिमेसन कार्टुन र प्रमुख पात्रहरूको कथा यति मात्र हो- निरन्तरको दौड, तर लक्ष्यको कोसिस हरेक पटक असफल । सानो हुँदा रमाइलो लाग्ने यि कार्टुन फिल्म अहिले हेर्दा पनि रमाइलै त लाग्छ तर, एउटा कुरा चाहिँ मनमा आउँछ- तिनमा ‘लजिक’ भने छैन, अधिकांश कुरा नै त युक्तिसङ्गत हुँदैनन् ।

किशोरावस्था हुँदै उमेर बढ्दै गएपछि मानिसका रुचि फरक हुँदै जान्छन् । राजनीतिमा चासो हुन्छ । तपाईंहरूले नेपाली परिप्रेक्ष्यमा कतिपय नियमित जसो राजनीतिक घटना / मञ्जनहरू हेरी नै रहनु भएको हुन्छ । अझ अधिकांश नेपाली नेता, कार्यकर्ता त हुने नै भइहाले, त राजनीतिमा अत्यन्तै ‘इन्भेस्टेड’ नै छन् । कुनै पनि भेटघाट वा कुराकानीमा राजनीतिक विषय प्रवेश नगरेको बिरलै हुन्छ होला । अनि धेरै जसो कुराकानी फेरि ‘हेर्दै जाम,’ ‘रमाइलै छ’ भन्ने मै टुङ्गिइरहेको  हुन्छ । तर, कुरा यो पनि छ कि नेपालमा केही वर्षदेखि राजनीतिक घटना र त्यसका विकासक्रम ‘रमाइलै’ जस्तो लागे पनि, तिनमा कुनै ‘लजिक’ नै छैन ।

अनवरत उही कथा, करिब करिब उही पात्र, कसै कसैका केही फरक तरिका, तर लक्ष्यको प्रयास जहिले असफल । ती कार्टुन कथा जस्तै ‘लजिक’ विहीन राजनीति नेपाली नेताहरूले गरिरहेका छन् पछिल्लो केही वर्षदेखि । र, डर के भएको छ भने यो यो ‘लजिक’विहीन राजनीतिको सिलसिला कतै अनन्तकालसम्म चलिराख्ने त हैन ।

स्थायित्व र आर्थिक विकास अहिले नेपाली राजनीतिक पात्रका मुख्य लक्ष्य हुन्, उनीहरूको भनाइ मान्ने हो भने । उनीहरू स्थायित्व र विकासलाई ‘भेट्ने’ प्रयास ‘भरमग्दुर’ गरिरहेका छन् सधैँभरि भाषणमा त्यही भनिरहेका छन्, आजभोलि त झन् अचानक ‘हुटहुटी’ यस्तो बढेको छ दल र नेताहरूमा कि रातारात नै पो परिवर्तन गरिदिन्छन् झैँ गरेका छन् । 

उनीहरूको आशय पनि गलत नहोला । तर, समस्या के छ भने, उनीहरू पनि सिल्भेस्टरकायोटी ले ‘ट्विटि’‘रोडरन्नर’ लाई ‘छोप्न’ जस्तो ‘लजिक’विहीन यन्त्र प्रयोग गर्छन, त्यस्तै खाले अजीव किसिमका उल्टोपाल्टो, मेसिन र उपकरण अनि अवधारणा बनाइरहेका छन्- बिल्कुलै ‘इल्लोजिकल’, विसङ्गत अनि अतार्किक ।

सिल्भेस्टरक्याटको तरिका सरल नै छ; ऊ धेरै जसो घरायसी उपकरण प्रयोग गर्छ, जस्तै टेबल पङ्खालाई आफ्नो शरीरमा बाँधेर उड्ने अनि ‘ट्विटि’ बसेको  पिँजडासम्म पुग्ने । बेखबर केमा भने ‘प्लग’ निकाली दिनासाथ पङ्खा बन्द भएर ड्याम्म भुँईमै बजारिने । खासमा त्यो प्रक्रिया सुरुदेखि नै युक्तिसङ्गत छैन, जुन कार्टुनमा त ‘लजिक’ नभए पनि रमाइलै भयो । तर, नेपाली राजनीतिक नेताहरू पनि अनेक बेढङ्गी अतार्किक काम गरिरहेका नै छन्, जसले उनीहरूले चाहेको लक्ष्य भेट्ने त परै जाओस्, उक्त दिशातिर एक कदम पनि बढ्न मद्दत गरिरहेको छैन । बरु आखिरमा बजारिने सम्भावना नै बढी छ । 

‘स्थायित्व’ हासिल गर्ने नाममा केही नेताका भाषण र प्रस्ताव नै कति हास्यास्पद छन् भन्ने कुराबाटै प्रष्ट हुन्छ उनीहरूको सृजनशीलता र बौद्धिक  दिवालियापनको स्तर । कायोटी चाहिँ अलि चतुरझैँ छ, उसको प्रक्रिया अलि फरक छ । ऊ ‘एक्मे’ नामक कम्पनीबाट विचित्र किसिमका यन्त्र र मेसि मगाउँछ, ‘कनट्राप्शन’हरू बनाउँछ । तर, अत्यन्तै अप्रायोगिक अनि अव्यावहारिक । नेपाली नेताहरू ‘विकास’ लाई ‘छोप्न’ भनेर अनेक किसिमका ‘अवधारणिक’ उपकरण र ‘विज्ञ’बाट ‘आइडिया’ आयात गरिरहेका छन्, जस्तै आगामी केही वर्षमै १० प्रतिशतको आर्थिक वृद्धि वा हजारौं मेगावाट बिजुली बिक्री, अनि देश सीधै समृद्ध, वा पानी जहाज, अँ यस्तै यस्तै । तर, पूर्णरूपमा अनभिज्ञ कि कुनै पनि प्रक्रिया युक्तिसङ्गत नै छैनन्, र त्यसबाट लक्ष्य प्राप्ति त सम्भव नै छैन ।

संविधानले विशेष अवस्थामा ‘अध्यादेशको प्रयोग गर्न सकिने’ भन्ने व्यवस्थालाई गलत र आफू अनुकुल व्याख्या गरेर संसदबाट कानुन ल्याउन महिनौँ लाग्न सक्ने थियो भन्ने अनुमानका आधारमा दुईतिहाइको दुहाइ दिने सत्ताधारीहरूको उक्त कदमको दम्भी एकोहोरो प्रतिरक्षा र साना साझेदारहरूले थापेको अत्तोले नेपाली राजनीतिमा रमाइलोपन त थपेको होला तर, यो छ चाहिँ अत्यन्तै ‘लजिक’विहीन । त्यही ‘अध्यादेश’का कारण दुईतिहाइको इज्जत जोगाउन गाह्रो भएर आएको छ । तर, नेपाली राजनीतिमा लजिकसँगै लाज पनि हराइरहेको अवस्था छ । हुन त जो एकपटक कुतर्क गर्न सुरु गर्छ, उसको लागि ‘सरम’ भन्ने कुराको महत्त्व नै के रहन्छ । वर्तमान प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसको जल्दोबल्दो उदाहरण हुन् । कुतर्कमा उनको बराबरी नेपालमा कुनै अर्को नेताले सायदै गर्न सक्ला, हो ‘नयाँ’ पुस्ताका केही नेताले उनको यो ‘अद्वितीय प्रतिभा’ अङ्गीकार गर्ने कोसिस भने गरेकै छन्, जुन झनै डरलाग्दो छ ।

राजनीतिमा लफ्फाजी अनौठो त हैन, तर राजनीतिकर्मीहरूले आफूलाई समय र समाजअनुसार बदल्न सकेनन् भने उनीहरू असान्दर्भिक हुँदै जाने नै हुन् । अहिलेको युगमा आम मानिसले लफ्फाजीबयानबाजीका भरमा मात्र कुनै नेतालाई विश्वास गर्दैन, अबको समाजले उनीहरूले बोलिरहेका कुरा र गरिरहेको राजनीतिमा तर्क छ कि छैन भन्ने पनि सोच्छ, अनि सोध्छ पनि । आन्दोलन र क्रान्तिका दौरानमा दल र जनताको सामूहिक लक्ष्य हुन्छ, त्यसकारण लक्ष्य प्राप्तिका दौरानमा कतिपय प्रक्रिया युक्तिसङ्गत नभए पनि स्वीकार्य हुन्छन् । किनकि, त्यसको अन्तिम उद्देश्य लोकतन्त्र तथा जनताको हित र अधिकार हुन्छ ।

नेपालमा राजनीतिक र सामाजिक परिवर्तनका लागि हालका मुख्य भनिने दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादीको भूमिकामा त प्रश्न छैन नै, तर उनीहरूले आफूलाई समयसँगै परिवर्तन गर्दै समकालीन सामाजिक आवश्यकताअनुसार ढाल्न सके त ? अहिलेको टड्कारो प्रश्न चाहिँ यो हो । पछिल्लो केही दशकदेखि उनीहरूले गरिरहेको राजनीतिमा ‘लजिक’ कम, लफ्फाजी बढी र लाज शून्य छ ।

उनीहरुको हरेक जसो क्रियाकलाप नै असङ्गत छ । आम जनता भने त्यही असङ्गत राजनीतिको खेल हेर्न बाध्य छन्, रमाइलो लागे पनि नलागे पनि । तर, प्रश्न यो पनि छ, गणतन्त्र पछिको नेपालको नयाँ पुस्ताले वर्तमान राजनीतिलाई कसरी हेर्छ र बुझ्छ, अनि अझ हुर्कंदै गयो भने यसको, दलहरूको र नेताहरूको (विशेषगरी युवा नेताहरूको) बारेमा कस्तो धारणा बनाउँछ ?

हालैका दिनमा आएर ठूला दल र तिनका नेताहरूको लागि आफ्नो असफलता लुकाउने एउटा नयाँ चिज भेटिएको छ, आफूप्रति आलोचना आए ‘लोकप्रियताको हावा’ भन्दिने । संसारभर लोकप्रियतावादको लहर चलेको बेला, नेपाली नेतालाई क्षणिक विषयान्तरको लागि त यो काम लाग्ला, तर जबसम्म उनीहरू आफ्नो काम गराइ र व्यवहार नसुधारेर, अव्यावहारिक र हावादारी योजनाको आधारमा स्थायित्व र विकासको गफ गरिरहन्छन्, तबसम्म राजनीति एउटा लक्ष्यविहीन ‘रमाइलो’ खेल मात्र भइरहनेछ । अरूलाई लोकप्रियतावादमा रमाउने भनेर दोष लगाउने कुनै पनि दल र नेताले यो पनि बुझ्न जरुरी छ कि कुतर्कमा आधारित राजनीति र जनतासमक्ष औचित्य पुष्टि गर्न नसक्ने क्रियाकलापमा उनीहरू जति लिप्त् हुँदै जान्छन् त्यति देश र समाज उल्टो दिशातिर बग्नेछ ।

‘लजिक’बिनाको कार्टुनबाट मनोरन्जन लिनुमा त हानी छैन, तर ‘लजिक’विहीन राजनीतिको मञ्चन अनवरत भइरह्यो भने राजनीतिक पात्रहरू नै ‘कार्टुन’ बन्न थाल्ने सम्भावना चाहिँ बढ्छ । राजनीतिले इमानदारी, विश्वसनियता र नैतिकता सँगसँगै ‘लजिक’को पनि माग त गर्छ नै । चिन्ताको कुरा युवा नेताहरू पनि अब ‘लजिक’ र तर्कलाई तिलाञ्जलि दिएर असफल साबित भइसकेका अघिल्लो पुस्ताका नेताहरूको नयाँ रूपमा अवतरित भइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register