‘इन ट्रान्जिट’ — ‘डिलेड’ 

उदासिन र चुपचाप समाजले लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्दैन, बरु अधिनायकवादी चरित्र विकास गरिरहेका दल र नेताका चाहनालाई मलजल गर्छ ।

Feb 28, 2025 - 03:58
 0
‘इन ट्रान्जिट’ — ‘डिलेड’ 

स्टीवन स्पिलबर्गले सन् २००४ मा एउटा सिनेमा बनाएका थिए, ‘द टर्मिनल’ । हवाई यात्रामा हुँदाहुँदै विक्टर नवोर्सकीको देश क्रकोझियामा ‘कू’ भएकोले संयुक्त राज्य अमेरिकाले उसको पासपोर्ट रद्द गरिदिन्छ । अध्यागमनले अमेरिका प्रवेश नदिएपछि विक्टरसँग कुनै विकल्प नै रहँदैन, सिवाय जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको ‘ट्रान्जिट’मा अध्यागमनको प्रमुख फ्रयाङ्कले ‘वेट’ भनेपछि पर्खिनेबाहेक

आफ्नो देश फर्किन ‘डर’ रहेको हुनाले अमेरिकामा आश्रयको लागि निवेदन दिनसक्छ भन्ने फ्र्याङ्कको प्रस्ताव विक्टरले अस्वीकार गर्छ । ‘तिमीलाई तिम्रो देशसँग डर लाग्छ ?’  भन्ने फ्रयाङ्कको प्रश्नको जवाफमा विक्टरले सरल उत्तर दिन्छ — ‘नाईं ।’ न अमेरिका प्रवेश गर्न सक्ने अवस्था, न देश फर्किने सम्भावना । विक्टरको स्थिति, ‘इन ट्रान्जिट’ ।

अमेरिकाले ‘कू’को कारणले क्रकोझियाको नयाँ सरकारलाई मान्यता दिन इन्कार गर्दै विक्टरको पासपोर्ट रद्द गरि दिएझैँ नेपाली समाजको विकास र आर्थिक वृद्धिको ‘पासपोर्ट’ यहाँ शासन गरिरहेका ‘क्लेप्टोक्रेटहरूले रद्द गरिदिएका छन् । र, नेपाली समाज पनि पछिल्लो केही वर्षदेखि ‘इन ट्रान्जिट’ मै छ ।

देशमा केही हुँदै नभएको हैन नि भन्ने तर्कहरू त छन् नै, साथै राजनीतिक र सामाजिक रूपमा समाज पहिलाभन्दा अघि बढेको पनि छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि सुधार भएका छन् । धुले कक्षाकोठामा भुइँमा बसेर प्राथमिक शिक्षा हासिल गर्नुपर्ने स्थिति आज छैन, न त सामान्य औषधि उपचारका लागि घण्टौँ या दिनहुँ हिँड्नुपर्ने स्थिति छ । सञ्चारमा ठूलो परिवर्तन आएको छ । खानेपानी, यातायात सहज भएको छ ।

तर पनि आर्थिक विकासका कुरामा भने नेपाली समाजले जति फड्को मार्न पर्ने थियो त्यो हुन सकेको छैन । संसारका अन्य मुलुकहरू एक तमासले एउटा रफ्तारमा अगाडि बढिरहेका छन् भने आर्थिक गति पकड्न नसकेको नेपाली समाज विश्वका अरू समाजलाई बेचैन र उत्सुक भएर हेरिरहेको छ, विक्टरले ‘ट्रान्जिट’बाट अन्य यात्रुहरूले एकपछि अर्को फ्लाइट समाउनका लागि दौडिरहेको हेरेझैँ ।

कतिपय सूचकहरू राम्रा हुँदाहुँदै पनि निराशा किन छ त भन्ने विषयमा पनि बहस आजभोलि निकै चलेको छ । नेपालमा आमरूपमा निराशाको जड राजनीति र राजनीतिक वर्गसँग जोडिएको छ भन्छन् विश्लेषकहरू । राजनीतिक दलहरू बिग्रिए, राजनीतिकर्मीहरू बिग्रिए, भ्रष्ट भए भन्ने बुझाइ आम जनमानसमा छ ।

त्यो हो भने राजनीति कसरी बिग्रियो त ? राजनीतिज्ञ कसरी बिग्रिए त ? यदि बाँकी सबै ठीक छ, राजनीतिले गर्दा मात्र ‘निराशा’ हो भने, यसलाई सुधार्न जरूरी छैन त ? कसरी सुधार्ने त ? राजनीति बिग्रेकै यथास्थितिमा रहे नि के भयो त बाँकी कुरामा आम मानिस खुशी नै त छन्, त्यसकारण ‘निराशा को व्यापार किन गर्ने’ भन्ने भाव आम मानिसलाई र समाजलाई दिइरहने हो भने त पूरै देश नै यथास्थितिमा अड्केको अड्क्यै हुने खतरा बढेर जान्छ । राजनीति बिग्रेको छैन भन्ने आभास जनतालाई दिन चाहने हो भने सबैभन्दा पहिलो पहल त दलहरूले नै लिनुपर्छ । र, त्यसका लागि दलहरूलाई यो सोच्न बाध्य गर्नुपर्छ कि उनीहरूका क्रियाकलापमाथि अनेकन प्रश्न उठेका छन् ।

नेपालका पछिल्ला आन्दोलनहरूको मुख्य ध्येय राजनीतिक र सामाजिक अधिकारको लागि थियो । ती क्रान्तिका यस्ता चरणहरू थिए, जसले धेरै हदसम्म आम मानिसको विशेषगरी सीमान्तीकृत, दलित र ऐतिहासिकरूपमा पछि पारिएकाहरूको, राजनीतिक र सामाजिक चेतको विकास मात्र गरेन, उनीहरूको अधिकार सुरक्षित पनि गर्‍यो ।

त्यसपछिको आवश्यकता थियो, अर्को चरणको आर्थिक फड्को । र, ठ्याक्कै यही बेला नेपालमा यस्तो अभ्यासको सुरुवात भयो कि नेता र दलहरूले लोकतन्त्रका खम्बा मानिने संस्थाहरूमा हस्तक्षेप सुरु गरे । राजनीतिक दल, नेता र सत्ता सञ्चालकहरू व्यापक आर्थिक आन्दोलनमा लाग्नुपर्ने बेलामा नराम्ररी आर्थिक अपचलनमा लिप्त् हुन थाले । एक हिसाबले उनीहरूले ‘क्लेप्टोक्रेटिक कू’ गरे । नेताहरूको नवसामन्तका रूपमा प्रादुर्भाव भयो, अनि उनका आसेपासेहरूले उनीहरूलाई झन् झनै यसको भासमा धकेल्दै गए ।

अब स्थिति यो आएको छ कि  शासकहरू त्यो आहालबाट निस्कन सक्ने स्थिति नै छैन, चाहे भने पनि उनीहरूकै रेखदेखमा यस्ता नयाँनयाँ ‘क्रोनी’हरू जन्मेका छन् ,जसले तिनलाई त्यो दलदलबाट निस्कन दिएकै छैनन् । ‘दलाल पुँजीवाद’को अन्त्य गर्नुपर्छ भनेर क्रान्ति छेडेका नायकहरू नै त्यसको हिस्सा बन्न पुगे । अनि ‘क्लेप्टोक्रेसी’ दिनानुदिन बढ्दो छ । 

अहिलेको नेपाली समाज पहिला जस्तो ‘ह्याभ्स एण्ड ह्याभ नट्स’ (हुने र नहुने) बाट मात्र विभाजित छैन . बरु यो यसरी छुट्टिएको छ कि एउटा ठूलो तप्का ‘लुटिएको’ महसुस गर्छ किनकि ‘क्लेप्टोक्रेट्स’ र उनका ‘क्रोनी’हरूको सानो समूहले उनलाई ‘लुटिरहेको’ छ । निराशाको जड यहाँ छ । मोबाइल प्रयोग गर्न पाउनु, बसमा यात्रा गर्न पाउनु, बाटो बन्नु र बडेमानका घरहरू ठडिनु मात्र त विकास पक्कै हैन होला । पहिलेभन्दा अहिले जीवनमा सहजता आएको छ भन्दैमा आम मानिसले अन्य आकाङ्क्षा नै राख्न नपाउनु पनि पक्कै हैन होला । 

राज्यले पासपोर्ट दिएकै छ, नागरिकता दिएकै छ, पिउने पानी दिएकै छ तैपनि किन आम मानिस ‘निराश’ भएको भन्ने भाषा सत्तामा बस्ने, शासन चलाउनेहरूले बोल्ने गर्छन् । विचारकहरूले पनि त्यही भाषा थपक्क टिपेर जबर्जस्ती ‘आशाको सञ्चार गर्ने’ प्रयास गर्नु आम मानिसप्रति अन्याय गर्नु हो । सर्वसाधारण नेपालीका आकाङ्क्षा पनि त्यति ठूला कहाँ छन् र ? अहिले पनि आम मानिसलाई ठूलै रोग लागि हाल्यो भने उपचारको लागि हम्मेहम्मे पर्ने अवस्था छ, उसले यो सहज र सरल होस् भन्ने चाहेको छ । बेरोजगारीको समस्या व्याप्त छ, आम नेपालीले यसको समाधान चाहेका छन् । 

बिग्रँदो राजनीति र त्यसले आफूमा पारेको असरबारे आम मानिसले बोल्नु, पीडा पोख्नु वा राजनीतिकर्मीको आलोचना गर्नुलाई सोलोडोलो ‘निराशा फैलाउने जमात’ भनेर सन्देहको घेरामा राखिदिनु कति उचित होला ? समाज र मानिसहरूको जीवनमा ‘आशा’ र ‘निराशा’ अनि ‘खुशी’ र ‘दु:खी’ का दुई चरण मात्र हुन्छन र ? बीचमा अरू कुनै रङ्ग नै हुँदैन ? नेता र शासकलाई प्रश्न के ‘निराश’ भएपछि मात्र गर्ने हो ? 

राजनीतिज्ञहरू गलत कार्यमा लिप्त् भएपछि, उनका व्यवहार दिनप्रतिदिन जनसरोकारका विषयभन्दा पनि व्यक्तिगत स्वार्थ केन्द्रित हुन थालेपछि आम मानिसले प्रश्न त गर्छन् नै, आलोचना पनि गर्छन् । त्यो त लोकतन्त्रले दिएको अधिकार हो । राजनीतिकर्मीहरू दिनानुदिन गलत क्रियाकलापमा लिप्त् हुँदा उनीहरूको आलोचना गर्नुलाई ‘निराशा किन फैलाउने’ भन्दै सतही विकास देखाएर आम मानिसलाई नै दोषी देखाउने प्रवृत्तिले त लोकतन्त्रलाई नै कमजोर बनाउँदै लैजान्छ । उदासिन र चुपचाप समाजले लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्दैन, बरु अधिनायकवादी चरित्र विकास गरिरहेका दल र नेताका चाहनालाई मलजल गर्छ ।

समाजको राम्रो पक्ष के हो भने यो उदासिन बस्दैन, शासकहरूले जतिसुकै यो चुपचाप बसोस् भन्ने चाहना राखे पनि । बढ्दो ‘क्लेप्टोक्रेसी’ले अहिले समाजलाई एक हिसाबले यथास्थितिमा अड्काइ दिएको छ । सिनेमाको विक्टरलाई अध्यागमनको हाकिमले ‘वेट’ भने झैँ विकृत राजनीति कुनै दिन त सुध्रिएला भनेर आम नेपालीहरू पनि ‘वेट’ गरिरहेका छन् । र, नेपाली समाज पनि विक्टर जस्तै आशावादी छ ।

‘ट्रान्जिट’मा अडकिएको अङ्ग्रेजी जान्दै नजान्ने विक्टरलाई एक दिन एक जना ‘फ्लाइट अटेण्डेण्ट’ले ‘तिम्रो फ्लाइट छ’ भनेर सोध्दा, ऊ यताउता हेर्छ अनि उडान समयसूचक स्क्रिनमा हेरेर भन्छ—’डिलेड’ ।

नेपाली समाज पछाडि फर्कन चाहँदैन, न यो केही मानिसहरूले भनेको जस्तो विगतको काल्पनिक रोमाञ्चमा विश्वास गर्छ । यो विक्टर जस्तै अघि बढ्ने बाटो खुल्ने पर्खाइमा छ । तर, विक्टरको झैँ स्थितिमा छ, ‘इन ट्रान्जिट’— ‘डिलेड’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register