डोनाल्ड ट्रम्पको निर्णयले ७००० नेपालीको उठिबास, बैंकको खराब कर्जा बढ्ने, होटल सुक्यो, अरु के ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । ऋषि धमला दाइको भाषामा ‘डोनाल टुमटुम’, अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा युएस एडका कार्यक्रमहरु बन्द गर्दा अहिले डलरबादीदेखि डलरवादीका आसेपासेहरुको रोनाधोना चर्कै छ । युएस एडले नेपालमा राम्रा काम पनि नगरेको होइन, तर अमेरिकी जनताको पसिनाबाट आएको अधिकांश पैसा नेपालका सुकिलामुकिलाहरुले कागज मिलाएर खान्थे भन्ने कुरा हिजो पनि ओपन सेक्रेटजस्तै थियो, अव […]

Mar 5, 2025 - 02:59
 0
डोनाल्ड ट्रम्पको निर्णयले ७००० नेपालीको उठिबास, बैंकको खराब कर्जा बढ्ने, होटल सुक्यो, अरु के ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । ऋषि धमला दाइको भाषामा ‘डोनाल टुमटुम’, अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा युएस एडका कार्यक्रमहरु बन्द गर्दा अहिले डलरबादीदेखि डलरवादीका आसेपासेहरुको रोनाधोना चर्कै छ । युएस एडले नेपालमा राम्रा काम पनि नगरेको होइन, तर अमेरिकी जनताको पसिनाबाट आएको अधिकांश पैसा नेपालका सुकिलामुकिलाहरुले कागज मिलाएर खान्थे भन्ने कुरा हिजो पनि ओपन सेक्रेटजस्तै थियो, अव त झन् उदांगो नै भो । अझ त्यसरी आएको पैसामध्ये केहि पैसा राम्रो काममा खर्च भए पनि नेपालमा धर्म परिवर्तन, राजनीतिक दाउपेच र तिनै कामको गुणगान गाउने केहि मुठिभर मिडियामा खर्च हुन्थ्यो, अझ काम कम, कागज बढी मिलाएर त्यो पैसा पचाईन्थ्यो भन्ने तथ्य अव घाम जतिकै छर्लंग भईसक्यो । युएस एडकै डलरले बसाएकाहरुलाई त सहयोग बन्द हुँदा चिन्ता हुने नै भयो, यो चिन्ताको बाछिटा र युएस एड कार्यक्रम नेपालमा बन्द हुँदा त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव सानो छैन । नेपालमा यु एस एड बन्द हुँदा काठमाडौँ उपत्यकामा मात्र ४०० बढी घर खाली भएका छन्, ७००० व्यक्ति बेरोजगार बनेका छन्, पाँच तारे होटलको व्यापारमा सुकेनास लागेको छ, एयरलाइन्सको व्यापार खस्किएको छ, रक्सीको कर्पोरेट व्यापार घटेको छ, डलरमै रमाएका रिसोर्टहरुको हरिबिजोग भएको छ, डलरकै आडमा खुलेका मिडियाहरु बन्द हुने पीरमा छन्, गाउँ गाउँमा पुग्ने पैसा रोकिएको छ, डलरको दलाली गरेर काठमाडौँमै मस्ती गरिरहेकाहरु जाने डान्सबारको समेत व्यापार खुम्चिएको छ । र आजको स्ट्रेट फरवार्डमा हामी युएस एड बन्द हुँदा नेपालमा कहाँ कहाँ असर पर्छ, र पर्यो, भन्ने तथ्य खोतल्दैछौँ ।

युएस एडले उपत्यकामा मात्र करिव ४०० आलिसान घरहरु भाडामा लिएको थियो । कार्यक्रम बन्द भएसँगै अव ती घरमा कर्मचारी जाने बाटो पनि बन्द भयो । युएस एडका प्रोजेक्ट बन्द भएपछि, घरभेटीहरुको चर्को भाडाको आय बन्द भयो । युएस एडको अफिस बस्ने भनेपपछि भाडा पनि चर्कै लिने, छिमेकीका अगाडी नाक पनि घिरौंलाजत्रो पार्ने अधिकांश घरभेटीको मुखमा बुझो लाग्ने भयो । युएस एड बस्ने भनेपछि एउटा घरको सरदर भाडा ३ लाखसम्म थियो । ३ लाखकै सरदर हिसाब गर्दा पनि ४०० घरबाट घरभेटीहरुले मासिक १२ करोड भाडा बुझ्थे । यो भनेको बर्षको १ अर्व ४४ करोड रुपैयाँ हो । यो पैसा नेपालमै भित्रिन्थ्यो, एकाध घरभेटी बाहेक अधिकांशले नेपालमै खर्च गथ्र्य । १ अर्व ४४ करोडको बाटो बन्द भएपछि त्यसले अर्थतन्त्रमा प्रभाव पार्ने नै भयो । अव तपाईंलाई लाग्ला, घरभेटीले घर त अरुलाई पनि भाडामा लगाईहाल्ला नि ! तर होइन, युएस एडले साविक अरु कम्पनीले भन्दा बढी भाडा दिन्थ्यो, जुन रोकियो । यो मन्दीमा, घरनै लिएर व्यावासाय गर्न आँट गरिहाल्नेहरु कम छन्, यो रकम आधामै पुग्ने स्थिति हुँदा पनि करोडौं रुपैयाँ नेपाली अर्थतन्त्रबाट बाहिरिएको छ ।

युएस एडको कार्यक्रम बन्द हुँदा नमज्जासँग प्रभावित भएको क्षेत्र होटल हो । विशेषगरी पाँच तारे होटलहरुमा युएस एड अन्तर्गतका विभिन्न कार्यक्रमहरुको उपस्थिति बाक्लै हुन्थ्यो । गाउँगाउँका कुरा पनि पाँच तारेमा बहस गरेर करोडौं सिध्याउँथे उनीहरु । प्रोजेक्टहरुले पनि बजेट छ भनेर होटलहरुलाई मागेकै पैसा दिन्थ्ये । बरु केहिले त्यहाँबाट पनि मिठो कमिसन असुल्थे । जे होस्, एउटा कार्यक्रमको सरदर बिल १० लाखको आउँदा पनि मासिक करोडौं र बार्षिक अरवौंको व्यापार हुन्थ्यो होटलहरुको, सोहि युएस एडको कार्यक्रममा । अझ, अमेरिकन परियोजनाको निरीक्षण, र अनुगमनका लागि आउने अधिकांश अमेरिकन नेपालका कहलिएका पाँच तारे होटलमा बस्ने गरेका थिए । अंग्रेजी नाममै चलेका म्यारियट, हायात रिजेन्सी, हिल्टन, ¥याडिसन, हायात सेन्ट्रिक, अलफ्ट, रमडालगायतका ब्राण्डमा अमेरिकीहरुको चहलपहल निकै हुने गरेको थियो । त्यहाँ उनीहरुले गर्ने खर्च पनि चर्कै हुन्थ्यो । युएसएडका कार्यक्रमका लागि अमेरिकनहरु आएका छन् भनेपछि होटलका मेनेजरहरुको अनुहार पनि हँसिलो हुने गरेको थियो । सो रकम पनि अव सपनाको फल हुने भयो । नेपालमै संचालित त्यस्ता युएस एडका कार्यक्रमकै कारण पनि नेपाल आउने अमेरिकी पर्यटकहरुको संख्या बढेको थियो । पछिल्लो तथ्यांक नै हेर्ने हो भने पनि सन् २०२४ मा नेपालमा आउने पर्यटकमध्ये भारतपछि अमेरिका बनेको थियो । अमेरिकाबाट २०२४ मा मात्र १ लाख ११ हजार २१६ जना आएको सरकारी आंकडा छ । युएस एडको कार्यक्रम रोकिएपछि यो संख्यामा पनि भारी कटौती हुने निश्चित छ ।

नेपालमा युएस एडअन्तर्गतको अमेरिकी सहायता कार्यक्रम बन्द हुँदा तयसको सिधा असर एयरलाइन्सको बिजनेशमा पनि परेको छ । अमेरिकी परियोजनाहरु अनुगमनका नाममा नेपालमा थुप्रै अमेरिकनहरु भित्रिन्थे । नेपाल आएपछि, पोखरा घुम्नैपर्यो, लुम्बिनी देखाउनैपर्यो, अझ कहाँ कहाँ कार्यक्रम छन् त्यहाँ आतेजाते गर्नैपर्यो । र त नेपालका एयरलाइन्सहरुले गज्जबको पैसा बनाइरहेका थिए । अझ बिदेशीलाई त लोकल एयरलाइन्समा झन् महँगो भाडा लिने छुट छ । यहि कारण पनि युएस एडसँग जोडिएका कर्मचारीहरु हुँदासम्म नेपाली एयरलाइन्सहरुले पनि अरुलाई प्राथमिकता दिंदैनथे । तर उनीहरुको यो बिजनेश पनि स्वाहा भएको छ । त्यस्तो नहोस् भन्ने कामना गरौँ, तर यहि कारण देखाएर, सरकारलाई लविङ गरेर, मन्त्रीलाई यसो खर्चबर्च मिलाएर, प्लेन भाडा नै व्यवसायीहरुले नबढाउलान् भन्न सकिन्न ।

युएसएड अन्तर्गतको अमेरिकी सहायता कार्यक्रम अन्तर्गतका विभिन्न परियोजनामा काम गर्ने ७००० कर्मचारीको छँदाखाँदाको गज्जबको जागिर ट्रम्पले एक बचनमै खाईदिएका छन् । कुनै बेला नेपालमा यस्तो स्थिति पनि थियो कि, युएस एडमा काम गर्ने भनेपछि उसको सान नै अहिलेको गाउँघरतिरका गाउँपालिका अध्यक्षको भन्दा पनि बढी हुन्थ्यो । गज्जबको डलरे तलव, अफिसले दिएको गाडी सुविधा, आतेजाते, इन्धन, बसाई सब अफिसकै खर्चमा, पाँच तारेको डिनर, गज्जबका रिसोर्टको दारु, अझ मिलाउन सक्नेले अथाह कमिसन, उनीहरुको ठाँट नै बेग्लै हुन्थ्यो । यतिसम्मकि केटो युएस एडको प्रोजेक्टमा काम गर्ने भनेपछि बाउले जड्याहा नै भए पनि छोरी दिन तयार हुन्थे, सरकारी जागिरको उपल्लो तहका कर्मचारीले पाउने तलव भन्दा उनीहरुको जुनियर कर्मचारीले पाउने तलव धेरै हुँदा त्यतिको ठाँट र छाँट हुने नै भयो । तर, ७२ सालको भूकम्प भन्दा चर्को धक्का लाग्नेगरी एक सटमै जागिर चट भएको उनीहरुको । हिजो टन्न तलव हुँदा किनेको गाडीको किस्ता अव कसरी तिर्ने हो थाहा छैन । हिजो तलव टन्न हुँदा छोराछोरीलाई महिनाकै ५० हजार फी लाग्ने स्कुलमा भर्ना गरियो, अव सो बिल कसरी भर्ने थाहा छैन । बानी फाइब स्टारको लागेको छ, अव घरको भात कसरी पचाउने हो थाहा छैन, फ्रीको रक्सीको मातमा मज्जा थियो, अव किनेर त्यहि ब्राण्ड खान नसक्दा जिब्रोले कति सराप्ने हो थाहा छैन । अव कहाँ के गर्ने नै थाहा छैन उनीहरुलाई । जानेको जे काम थियो, सो काम नै अव नेपालमा नहुने भएपछि ७०००को स्थिति चिन्ताजनक छ । यसले बजारलाई पनि नमज्जासँग हानेको छ । उनीहरुले गर्ने खर्च त आखिर धेरै जसो नेपालमै हुन्थ्यो, सो रोकिएको छ । ७००० कर्मचारीले खाने तलव नै हिसाब गर्ने हो भने बार्षिक अरवौं रुपैयाँ नेपालमै परिचालन हुन्थ्यो । सो सबै रकम रोकिएको छ ।

युएसएडका कार्यक्रम रोकिंदा त्यसको असर नेपालको बैंकिङ र अटो क्षेत्रमा पनि परेको छ । युएसएडका प्रोजेक्टमा पाइने गज्जबको तलव भएकाहरुले किस्तामा इभिको चर्कै खरिद गरेका थिए । नेपालमा गाडी बेच्नेहरुले पनि यस्तै ग्राहकलाई टार्गेट बनाउँथे । गत नाडा अटो शोकै गाडी बिक्री हेर्ने हो भने पनि कुल गाडीको ठुलो हिस्सा एनजिओ, आईएनजिओमा काम गर्ने कर्मचारीले ती गाडी खरिद गरेको देखिन्छ । तर गाडी त किस्तामा किनिएको थियो । अव ती गाडीको डाउन पेमेन्ट सजिलो पक्कै छैन । जसका कारण बैंकले गरेको अरवौंको लगानी त जोखिममा परेको छ नै, फेरी गरी गाडी चढ्नेहरुको हालत खराब हुँदा थप गाडीहरु बिक्री नहुने देखिन्छ । युएस एडमा काम गरिरहेकाहरुले बुक गरेका गाडीको बुकिङ धमाधम रद्द भईरहेको छ । यसले नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको बैंकिङलाई थप पिरोल्ने निश्चित छ ।

अमेरिकाले विश्वभर सहायता दिने मुलुकमध्ये नेपाल १६ औँ स्थानमा छ । युएसआईडीमार्फत मात्र नेपालमा करिब ६९ करोड ५० लाख अमेरिकी डलर (९५ अर्ब रुपैयाँ) बराबर सम्झौता भएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका उपसचिव डोलिन्द्र शर्माको भनाई छ । अर्थात, नेपालमा आईरहेको ९५ अर्व रुपैयाँ अव रोकिएको छ । युएसआईडीको सहयोगमा स्वास्थ्य प्रत्यक्ष वित्तपोषण परियोजना, कृषि, प्रत्यक्ष वित्तपोषण परियोजना, शिक्षा प्रत्यक्ष वित्तपोषण परियोजना र समावेशी नीति प्रत्यक्ष वित्तपोषण परियोजना थिए । अव ती सब रोकिएका छन् ।

अलि सकारात्मक भएर हेर्दा युएस एडले गरेका थुप्रै राम्रा काम पनि थिए । डोनाल्ड बाजेले फ्रड भने पनि, वा सो काम केहि हदसम्म फ्रड नै भए पनि गाउँ गाउँमा डलर भित्रिंदा त्यसले गाउँलाई केहि सहयोग पक्कै गरेको थियो । बित्तापोषण योजनामा आम नागरिकको भन्दा कर्मचारीकै पोषण बढी भए पनि गाउँगाउँमा केहि पैसा गएकै थियो । कृषिमा केहि राम्रा काम भएका थिए । स्वास्थ क्षेत्रमा थुप्रै राम्रा काम संचालित थिए । शिक्षामा त झन् युएस एड प्रोजेक्टले गज्जबको भूमिका खेलेको थियो । सहयोगको केहि अंशमात्र भए पनि हाम्रा नेपाली विद्यार्थी भाइबहिनीहरुले सहयोगबाट केहि हदसम्म लाभ लिएका थिए । चुहिएर पुगेको थोरै रकम भएपनि गाउँघरमा सो रकम अमृतसमान बनेको थियो । थुप्रै अनुसन्धान, र गाउँगाउँ समृद्धि बनाउनेगरीका काम पनि भएका थिए । मातृ तथा वाल स्वास्थ्य, परिवार नियोजन, एचआईभी (एड्स), खानेपानी, सरसफाइ, विपद् व्यवस्थापन लगायतमा पनि राम्रै काम भएको थियो । तर, अव सबै ’चिलिम च्वाट’ भएपछि त्यसको सिधा असर अर्थतन्त्रमा पक्का पर्नेछ ।

युएस एडका कार्यक्रम बन्द भएपछि त्यसको सिधा असर नेपाल र अमेरिकाको कुटनीतिक सम्बन्धमा पनि पर्नेछ । त्यहि युएस एडलाई देखाएर भाजइएको कुटनीति फेल खाने प्रष्ट छ । अझ नेपालमा सार्है राम्रो काम भएका ‘माइक्रोन्युट्रिएन्ट सर्भे’, ‘डेमोग्राफिक हेल्थ सर्भे’, खोप कार्यक्रम जस्ता स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण कार्यक्रमसमेत बन्द हुँदा त्यसको थप भार सरकारलाई पर्ने देखिन्छ ।

अझ नेपालमा युएसएड मात्र होइन संसदभित्र हङ्गामा गरेर, संसद बाहिर जुलुस गरेर पास गरेको एमसीसी पनि बन्द भएको छ । एमसीसी बन्द हुँदा गनगनमा रमाउने नेतादेखि एमसीसीकै पैसाले किनेको सिसिले गिलास भर्नेहरुको हालत खराब भएको छ । एमसीसी सहि थियो वा गलत, त्यसको बहस अव आवश्यक नै परेन । तर, नेपालमा एमसीसी लागु हुँदा केहि राम्रा काम पनि हुने वाला थिए । ती सब रोकिने भएका छन्, जसको सिधा असर नेपाली अर्थतन्त्रलाई जरुर पर्छ ।

हुन त मागेरै खानु, चल्नु राम्रो होइन । तर घर टाल्न, परिवार पाल्न कसैले सहयोग गर्छ भने त्यो ठिकै पनि थियो । अमेरिकाले सहयोग बन्द गर्दा अव पीर मान्ने होइन, आत्म निर्भर कसरी हुनेतर्फ सरकारले सोच्नुपर्छ । चन्दा मागेरै चुनाव लडेजस्तो मागेरै देश चलाउँछु भन्नु गलत हो । अव अमेरिकाको सहयोग बन्द भएको ’ट्रमा’बाट माथि उठेर सरकारले नेपालीलाई स्वाभिमान बनाउने दिशातर्फ काम गर्नुपर्छ । कि कसो त ? (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register