बेलायतको ग्याल्पो ल्होसारमा झल्कियो शेर्पा कला-संस्कृति

लन्डन । शेर्पा संघ बेलायतले हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयां वर्ष सिङ मो डुल लो २१५२ औं ल्होसार भव्य रुपमा मनाएको छ । मार्च ८ तारिख शनिबार लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाइएको हो ।  ल्होसार मनाउन बेलायतका विभिन्न शहरबाट सयौं शेर्पा समुदाय सहभागी भएका थिए । त्यहां […]

Mar 9, 2025 - 13:35
 0
बेलायतको ग्याल्पो ल्होसारमा झल्कियो शेर्पा कला-संस्कृति


लन्डन । शेर्पा संघ बेलायतले हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयां वर्ष सिङ मो डुल लो २१५२ औं ल्होसार भव्य रुपमा मनाएको छ ।

मार्च ८ तारिख शनिबार लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाइएको हो । 

ल्होसार मनाउन बेलायतका विभिन्न शहरबाट सयौं शेर्पा समुदाय सहभागी भएका थिए । त्यहां आफ्नो मौलिक पहिरन र गरगहनामा सजिएर आएका शेर्पाहरुको सुन्दर कला-संस्कृति झल्किएको देखिन्थ्यो । 

कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले सात समुद्रपार आएर पनि शेर्पा समुदायले आफ्नो कला, संस्कृति, चाडपर्व जीवन्त राख्नु सर्‍हानीय काम भएको बताए । यस कार्यलाई निरन्तरता दिएर दोश्रो पुस्तालाई पनि सिकाउन अपिल गर्दै राजदूत घिमिरेले आफ्नो पहिचान मेटिए पितृको पाप लाग्ने उल्लेख गरे ।


कार्यक्रम संयोजक छोङ शेर्पाले बेलायतमा पनि शेर्पा समुदायको परम्परा र संस्कृतिलाई निरन्तरता दिने अवसर र पारिवारिक भेटघाटका रुपमा ल्होसार मनाइएको बताए ।

बेलायतमा २६ वटा सुसी रेष्टुरेन्टका मालिक युवा व्यवसायी छोङले अरुलाई शिखर चढ्न सधैं सहयोगी बनेका शेर्पा जातीले अब आफू सफलताको शिखर चढ्न पनि अठोट लिनुपर्ने बताए ।

उनले कार्यक्रमका सहयोगी र सहभागी सबैप्रति आभार समेत व्यक्त गरे ।

विशेष अतिथी शेर्पा संघ बेलायतका संस्थापक अध्यक्ष तथा संरक्षक काजी शेर्पाले आफ्नो भाषा, कला संस्कृति जोगाउन र प्रवर्धन गर्न संघ स्थापना भएयता सन् २००३ देखि नै बेलायतमा ल्होसार मनाउन थालिएको स्मरण गरे । उनले बुद्ध धर्म र शिक्षा नयां पुस्तामा समेत हस्तान्तरण गर्न जरुरी रहेको बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ल्होसार शुभकामना दिंदै नेपाललाई भारतमा गाभ्न खोजिएको दावी गर्दै वंशजको नेपाली नागरिकता बचाउन बेलायतमा रहेका सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको बताए ।


मन्तव्यका क्रममा सेचेन गुम्बाका धर्म गुरु फुर्तेम्बा शेर्पाले ल्होसार शुभकामना दिंदै आफ्नो संस्कृति, धर्म र पहिचान जहां रहेपनि जोगाइराख्नु पर्ने र दोश्रो पुस्तालाई दिनुपर्ने बताए ।

संघका अध्यक्ष रिन्जी शेर्पा लामाले शुभकामना दिंदै सन् २००३ देखि नै बेलायतमा ल्होसार मनाउन थालिएको बताए । नयाँ पुस्ताले मातृभाषा बिर्संदै गएकाले त्यो जोगाउन चुनौती रहेको पनि उनले बताए ।

अध्यक्ष शेर्पाले सहयोग गर्ने प्रायोजक, कलाकार, स्वयंसेवक, मिडिया लगायतलाई धन्यवाद पनि दिए । 

कार्यक्रममा महासचिव नोर्बु शेर्पाले हिमाली भूभागमा बस्ने शेर्पा जातीको धर्म, संस्कृति, परम्परा र चाडपर्व बेलायतमा समेत संरक्षण गर्न लाप्सो पूजासहित ल्होसार मनाइएको जनाए ।

कार्यक्रममा प्रथम वरिष्ठ उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य दिएका थिए ।

ल्होसारको औपचारिक कार्यक्रम समापनपछि दोश्रो चरणमा मिस मंगोल नेपाल सिभिरा लामाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


सो अवसरमा बेल्जियमबाट आएका गायक सोनाम वाङ्चु शेर्पाले कयौं शेर्पा गीत सुनाए । पासाङ छिरिङले लोपोन्मुख टुङ्ना प्रस्तुत गरे । वाङचु शेर्पा र आङ लाक्पा शेर्पाले स्वागत गीत गाए ।  

कार्यक्रममा स्थानीय कलाकार र स-साना बालबालिकाले स्याब्रु, टुङ्ना लगायत आधुनिक नाच प्रस्तुत गरेका थिए । सो अवसरमा बेलायती विश्वविधालयबाट शैक्षिक सफलता हासिल गरेका विधार्थीलाई सम्मान समेत गरियो ।

अन्त्यमा सहभागीहरु डिजे हेम विष्टको गीतसंगीतमा अबेरसम्म नाचेर रमाए ।

संघले ल्होसार मनाउनुअघि २ मार्चमा अल्डरसटस्थित बीसीसी यूके गुम्बामा ग्रह दशा शान्ति पूजा ल्हप्सो गरेको थियो।

सन् २००३ मा स्थापित संघले सन् २०२० मा कोभिडका कारण बाहेक स्थापनाकालदेखि नै वर्षेनी ल्होसार मनाउंदै आएको छ बेलायतमा झन्डै २५ सय शेर्पा जाती रहेको अनुमान छ ।




तस्विर- शिव भण्डारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register