सन् २०२६ अघि युद्ध रोक्न चाहँदैनन् पुटिन !

काठमाडौं । रुस र युक्रेन युद्धविरामबारे पछिल्ला दिनमा निकै चर्चा भइरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ३० दिने युद्धविराममा सहमति जनाएका छन् । पुटिन पनि युद्धविरामको लागि तयार देखिन्छन्, तर उनी दीर्घकालीन समाधानको बारेमा कुरा गरिरहेका छन् । यसैबीच रुसको कथित गोप्य योजनाको रिपोर्ट चुहावट भएको छ । रिपोर्टअनुसार पुटिन सन् २०२६ सम्ममा युक्रेनलाई कमजोर […]

Mar 14, 2025 - 07:29
 0
सन् २०२६ अघि युद्ध रोक्न चाहँदैनन् पुटिन !

काठमाडौं । रुस र युक्रेन युद्धविरामबारे पछिल्ला दिनमा निकै चर्चा भइरहेको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ३० दिने युद्धविराममा सहमति जनाएका छन् । पुटिन पनि युद्धविरामको लागि तयार देखिन्छन्, तर उनी दीर्घकालीन समाधानको बारेमा कुरा गरिरहेका छन् ।

यसैबीच रुसको कथित गोप्य योजनाको रिपोर्ट चुहावट भएको छ । रिपोर्टअनुसार पुटिन सन् २०२६ सम्ममा युक्रेनलाई कमजोर बनाउने र यसको सरकारलाई पूर्ण रूपमा ध्वस्त पार्ने योजना बनाइरहेका छन् ।

क्रेमलिनको गोप्य कागजातअनुसार रुसको उद्देश्य युक्रेनी सरकारलाई उल्टाउनुका साथै अमेरिकालाई कमजोर पार्नु र पश्चिमा प्रभावलाई रोक्नु हो । अमेरिकी अखबार वाशिङ्गटन पोस्टकाअनुसार पुटिनको कुनै पनि शान्ति सम्झौताको मनसाय छैन ।

यो फेब्रुअरीमा रूसी सङ्घीय सुरक्षा सेवा (FSB) सँग सम्बन्धित थिङ्क ट्याङ्कद्वारा तयार पारिएको रिपोर्ट हो । यसले देखाउँछ कि रुस युद्ध रोक्नुअघि धेरै माग पूरा होस् भन्ने चाहन्छ ।

रिपोर्टअनुसार पुटिन वार्ताको टेबलमा कमजोर अमेरिका चाहन्छन् साथै युक्रेनी सरकार पूर्ण विघटन भएको । साथै, सन् २०२६ अघि युद्धको कुनै समाधान नखोज्ने पक्षमा पुटिन छन् ।

नयाँ बफर जोनको निर्माण, युरोपेली शान्ति सेनालाई युक्रेनमा अनुमति नदिने, युक्रेन नाटोको सदस्य हुन नपाउने, कब्जा गरेका क्षेत्रहरू रूसमा गाभिनुपर्नेलगायत महत्वकाङ्का पुटिनमा रहेको रिपोटमा उल्लेख छ ।

रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनी सीमामा जतिसक्दो चाँडो पूर्ण शान्ति सुनिश्चित गर्ने कुरा गरिरहेका छन्, जुन हासिल गर्न असम्भव देखिन्छ ।

दस्तावेजमा सन् २०२६ अघि कुनै पनि स्थायी शान्तिपूर्ण समाधान फेला पार्न नसकिने उल्लेख छ । साथै, क्रेमलिनले वर्तमान युक्रेनी सरकारलाई पूर्ण रूपमा समाप्त पार्न चाहन्छ, जसमा सबैभन्दा ठूलो शत्रु जेलेन्स्की पनि समावेश छन् ।

दस्तावेजअनुसार रुसले वार्ताको क्रममा अमेरिका कमजोर स्थितिमा रहोस् भन्ने चाहन्छ ताकि कुनै पनि सम्झौतामा रुसले अग्रता पाओस् । पुटिन विश्वास गर्छन् कि यो गर्ने सबैभन्दा राम्रो तरिका भनेको युक्रेनलाई युद्धभूमिमा पराजित गर्नु हो ।

के भन्छन् पुटिन ?

बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले युद्धविराम प्रस्तावबारेमा भने, “विचार त राम्रो हो । हामी यसलाई समर्थन गर्छौँ । तर, केही प्रश्नहरू छन् जुन हामीले छलफल गर्न आवश्यक छ ।” यो युद्धविरामले शान्ति स्थापना गर्नुपर्ने र यस सङ्कटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

उनले भने, “हामीले हाम्रा अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्छ । सायद म डोनाल्ड ट्रम्पसँग कुरा गर्नेछु ।”

३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने पनि उनले बताए । आफू यसको यसको समर्थनमा रहेको तर यसमा जटिलताहरू भएको उनले बताए । रुस र युक्रेनबिच विवादमा रहेको एउटा क्षेत्र कुर्स्क हो । यहाँ युक्रेनले गत वर्ष सैन्य घुसपैठ गरेको थियो । यस समयमा युक्रेनले केही भाग कब्जा गरेको थियो । रुसले कुर्स्कको पूर्ण नियन्त्रण लिएको र युक्रेनी सेनालाई एक्लो पारेको दाबी पुटिनले गरेका छन् ।

“तिनीहरू भाग्न खोजिरहेका छन्, तर हामीले उनीहरूलाई समातेका छौं । उनीहरूका उपकरणहरू बेवारिसे अवस्थामा छन् ।” उनले भने । कुर्स्कमा युक्रेनसँग कि आत्मसमर्पण गर्ने होइन भने मर्ने दुई विकल्प भएको पनि उनले बताए । युद्धविराम कसरी काम गर्छ भन्नेबारे पुटिनले धेरै प्रश्नहरू पनि सोधेका छन् ।

“ती ३० दिन कसरी प्रयोग गरिनेछ ? यो के हो – युक्रेनलाई सङ्गठित गर्न ? फेरि उसलाई हतियारले सुसज्जित गर्न ? मानिसहरूलाई तालिम दिन ? वा त्यो मध्ये कुनै पनि होइन ? त्यसपछि यसलाई कसरी नियन्त्रण गरिनेछ भन्ने प्रश्न पनि छ ?” पुटिनले प्रश्न गरे ।

“लडाइँ अन्त्य गर्ने आदेश कसले दिनेछ ? अनि कुन मूल्यमा ? २ हजार किलोमिटरभन्दा बढीको दूरीमा कुनै सम्भावित युद्धविरामलाई कसले तोडेको हो भनेर कसले निर्णय गर्नेछ ? यी सबै प्रश्नहरू दुवै पक्षले सावधानीपूर्वक समाधान गर्नुपर्छ । यसको निगरानी कसले गर्छ ?” अझ अगाडि पुटिनले प्रश्नको वर्षात् गरेका छन् ।

के होला त युद्धविरामलाई ?

आफूले शान्ति नै चाहेको होइन भन्दै रुसले दबाब दिन सक्छ भन्ने युक्रेनको ठम्याइ छ । उता, रुसले पनि यसलाई नाटोको विस्तार र युक्रेनको सार्वभौमिकताको बारेमा आफ्नो आधारभूत चिन्ता व्यक्त गर्ने अवसरको रुपमा हेरिरहेको छ । तर, यसले ट्रम्पको लागि पनि समस्या सिर्जना गर्छ । लडाइँ केही दिनमै समाप्त होस् भनेर आफूलाई तत्कालै परिणाम चाहिएको ट्रम्पले स्पष्ट पारिसकेका छन् । तर, यतिबेला पुटिनले यो विषयलाई अगाडि बढाउन नचाहेको हो कि जस्तो भान भइरहेको छ ।

पुटिनको टिप्पणीको जवाफमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले आफूले रुसी नेतालाई भेट्न चाहेको र रुसले सही काम गर्ने अनि प्रस्तावित ३० दिने युद्धविराममा सहमत हुने आशा व्यक्त गरेका थिए । “हामी रुसी पक्षबाट युद्धविराम भएको हेर्न चाहन्छौँ,” उनले भनेका थिए ।

युक्रेनसँग यससम्बन्धी विवरणहरू पहिले नै छलफल गरिसकेको नाटो महासचिव मार्क रुटसँग ओभल अफिसमा बोल्दै ट्रम्पले पत्रकारहरूलाई भनेका थिए । “हामीले युक्रेनसँग कुन जमिन र जमिनका टुक्राहरू राख्ने र कुन त्याग्ने भन्ने बारेमा छलफल गर्‍यौँ र अन्तिम सम्झौताका सबै पक्षहरूमा छलफल गरियो ।” उनले भने ।

वास्तवमा अन्तिम सम्झौताका धेरै तत्त्वहरू पहिले नै छलफल भइसकेको पनि उनले बताए । युक्रेनको नाटो सैन्य गठबन्धनमा सामेल हुने विषयमा ट्रम्पले भने, “सबैलाई थाहा छ यसको उत्तर के हो ।”

रुसले फेब्रुअरी २०२२ मा पूर्ण आक्रमण सुरु गर्‍यो । अहिले युक्रेनको करिब २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ । युद्धमा रुसी सेनाको लागि लड्ने ९५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । युक्रेनले अन्तिम पटक डिसेम्बर २०२४ मा आफ्नो हताहतको तथ्याङ्क अद्यावधिक गरेको थियो ।

यसैबीच रुसी तेल र ग्यासमा नयाँ प्रतिबन्धहरू लगाइएको छ । तीमध्ये ट्रम्प प्रशासनले अमेरिकी भुक्तानी प्रणालीहरूमा रुसको पहुँचलाई थप प्रतिबन्धित गरेको छ, जसले गर्दा अन्य देशहरूलाई रुसी तेल किन्न गाह्रो भएको छ । यसैबिच, पुटिनले मस्कोमा बन्द ढोका पछाडि अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेटेका छन् ।

यसअघि दिनको सुरुमा क्रेमलिनका सहयोगी युरी उशाकोफले अमेरिकाले राखेको युद्धविराम प्रस्ताव अस्वीकार गरेका थिए । बुधबार, क्रेमलिनले एउटा भिडिओ जारी गरेको थियो, जसमा पुटिनले सैन्य पोसाक लगाएर प्रतिकात्मक रूपमा रुसको कुर्स्क क्षेत्रको भ्रमण गरेको देखाइएको थियो पछि रुसले सुड्जाको प्रमुख शहर पुनः कब्जा गरेको बताएको थियो ।

उता जेलेन्स्कीले ४३ हजार युक्रेनी मारिएको स्वीकार गरेका छन् । यसमा सैनिक र अधिकारीहरू पनि थिए । पश्चिमा विश्लेषकहरू यो तथ्याङ्कलाई निकै कम बताइएको भनिरहेका छन् ।

‍-एजेन्सीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register