समाजवादी मोर्चालाई बुद्धिजिवीका दुई विकल्प : विकृति सुधारमा श्वेतपत्र, विश्रामको सङ्कल्प

काठमाडौं । राजवादी गतिविधि बढेपछि सशक्त प्रतिवादनमा उत्रिन लागेको समाजवादी मोर्चाका नेतृत्वलाई नागरिक समाजका अगुवा तथा बुद्धिजिवीहरूले प्रतिवाद र प्रतिक्रियात्मक राजनीतिमा नउत्रिन सुझाव दिएका छन् । गणतन्त्र ल्याउने दलहरूले नै फैलाएका विकृतिले नागरिकमा निराशा बढेको भन्दै राजनीतिक नेतृत्वलाई त्यसको सुधारका लागि श्वेतपत्र जारी गर्न र राजनीतिबाट विश्रामको सङ्कल्प गर्न उनीहरूले सुझाएका छन् । राजनीतिक विकृति […]

Mar 15, 2025 - 11:17
 0
समाजवादी मोर्चालाई बुद्धिजिवीका दुई विकल्प : विकृति सुधारमा श्वेतपत्र, विश्रामको सङ्कल्प

काठमाडौं । राजवादी गतिविधि बढेपछि सशक्त प्रतिवादनमा उत्रिन लागेको समाजवादी मोर्चाका नेतृत्वलाई नागरिक समाजका अगुवा तथा बुद्धिजिवीहरूले प्रतिवाद र प्रतिक्रियात्मक राजनीतिमा नउत्रिन सुझाव दिएका छन् ।

गणतन्त्र ल्याउने दलहरूले नै फैलाएका विकृतिले नागरिकमा निराशा बढेको भन्दै राजनीतिक नेतृत्वलाई त्यसको सुधारका लागि श्वेतपत्र जारी गर्न र राजनीतिबाट विश्रामको सङ्कल्प गर्न उनीहरूले सुझाएका छन् ।

राजनीतिक विकृति सुधारमा श्वेतपत्र

गणतन्त्रवादी दलहरूले शासन प्रणालीलाई विकृत बनाउँदा नागरिकामा निराशा बढेको र पश्चगमनकारी शक्तिको पक्षमा भीड देखापर्न थालेकाले गणतन्त्रवादी दलहरूले विकृत सुधारका लागि श्वेतपत्र जारी गर्नुपर्ने सुझाव बुद्धिजिवीहरूले दिएका हुन् । सडकमा शक्ति प्रदर्शन गर्न लागेको समाजवादी मोर्चालाई उनीहरूले राजसंस्था समर्थित गतिविधिमा प्रतिक्रियात्मक नबन्न सुझाएका छन् । यस्तै, सशक्त प्रतिवादको साटो आफूले गरेका गल्ती कमजोरी सुधारको प्रतिबद्धतासहित श्वेतपत्र जारी गर्न बुद्धिजिवीहरूको सुझाव छ । गणतन्त्रवादी दल प्रतिक्रियात्मक र प्रतिवादमा उत्रिँदा त्यसले मुठभेड निम्त्याउन सक्ने भन्दै सदनमा प्रणाली सुधारका लागि विशेष सङ्कल्प प्रस्ताव लैजान सुझाएका हुन् ।

नागरिक समाजका अगुवा भोजराज पोखरेलले सत्ता र शक्तिका लागि जे पनि गर्ने चरित्रका कारण आम नागरिकमा दलहरूप्रति वितृष्णा बढेको बताए । गणतन्त्रवादी दलहरूले मुलुकको हितमा गरेको काम र आफ्ना हितमा गरेको कामको वर्गीकरण गर्दै त्यसको स्पष्ट जानकारी जनतालाई गराउनुपर्ने उनको भनाइ छ । यसका लागि श्वेतपत्र जारी गर्न उनले सुझाएका छन् । “राज्यसंयन्त्रलाई ध्वस्त बनाउन तपाईंहरुले गरेका गल्ती, मुलुका हितमा गरेका काम र आफ्नो हितमा मात्रै गरेका कार्यबारे जनतालाई जानकारी गराउँदै क्षमा माग्नुस् । तपाईंहरूले श्वेतपत्र जारी गरेर नागरिकहरूलाई सच्चिने सवालमा संसद् र सडक दुवै माध्यमबाट विश्वस्त बनाउनुनोस्,” उनको सुझाव छ ।

नागरिक अगुवा मल्लके सुन्दरले प्रतिक्रियात्मक राजनीति नगर्न समाजवादी मोर्चालाई सुझाएका छन् । राजावादीले शक्ति प्रदर्शन गर्दैमा त्यसको काउन्टरमा शक्ति उतार्न कुनै जरूरी नरहेको उनको भनाइ छ । “गणतन्त्रवादीको इम्युनिटी कमजोर भएकोले रोगले आक्रमण गर्न खोजेको हो । इम्युनिटी बलियो बनाउनुस्, तपाईंहरूको सजग हुन जरूरी छ, तर प्रतिवाद आवश्यकता छैन,” उनले भने ।

आफ्ना कमजोरी स्वीकार गर्दै संसद्‌बाट सशक्त रूपले सुधारका एजेण्डा अघि सार्न उनले समाजवादी मोर्चालाई सुझाव दिएका छन् ।

बुद्धिजिवी देवबहादुर पौडेलले गणतन्त्रवादी दलहरूले जनतालाई दास ठान्दा नागरिकमा वितृष्णा बढेको उल्लेख गर्दै ३५ वर्ष शासन गर्दा गरेका गल्तीहरूको सूची नागरिकलाई जानकारी गराउनुपर्ने बताए । “सत्तामा जानका लागि सर्वहारा वर्गको सहारा लिने अनि सत्तामा पुगेपछि जनतालाई दास ठान्न थाल्यौँ । सत्ता बाहिर हुँदा अग्रमन र सत्तामा गएपछि पश्चगमनतर्फ अघि बढ्दा अनेकौँ गल्ती भए । ती गल्तीको सूची बनाउँदै नागरिक समक्ष सच्चिने प्रतिबद्धता लिएर अघि बढौँ,” उनले भने ।

जनताको नासो जनतामै सुम्पिएका पूर्व राजाले फेरि जनताको साथ खोज्ने वातावरण बन्नुमा गणतन्त्रवादी दलहरूनै दोषी रहेको उनको भनाइ छ । “राजाले त गरिखाउ भनेर शासन छोडिदिएका थिए । अहिले फेरि उनले जनताको साथ खोज्ने वातावरण हामीलेनै बनाइदिएको होइन । अब जनतालाई ढाँटेर राजनीति गर्ने अवस्था छैन, हाम्रा सबै गल्तीको सूची बनाएर जनता समक्ष जाऔं,” उनको सुझाव छ ।

यस्तै, कानुन व्यवसायी गोविन्द बन्दीले नागरिकसँग दलहरूको सम्पर्क टुटेकाले सच्चिने प्रतिबद्धतासहित जनताकोमा जानुपर्ने सुझाव दिएका छन् । “आन्दोलन गर्ने शक्तिका मागलाई मात्रै सम्बोधन गर्दा हाम्रो लोकतन्त्रमा बारम्बार समस्या आइरहेको छ । आन्दोलनको एजेण्डा सम्बोधन गर्नेतर्फ केन्द्रित बनौँ । सत्तामा पुर्‍याउने वर्गलाई राजनीतिक नेतृत्वले भूलेको छ । अब श्वेतपत्र लिएर र हाम्रा प्रतिबद्धता लिएर नागरिकसमक्ष पुगौँ,” उनले भने ।

पूर्वराजदूत महेश मास्केले गणतन्त्रवादी दलहरूले सत्तामा गएपछि एकअर्काविरूद्ध शत्रुतापूर्ण अभिव्यक्ति दिँदा र सुशासनलाई कमजोर बनाउँदा नागरिकमा वितृष्णा बढेको बताए । उनले गणतन्त्रवादी दलहरूलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् । धेरै प्रतिक्रियात्मक बन्दा वा प्रतिवादमा उत्रिँदा मुठभेड निम्तिन सक्ने भन्दै उनले सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सुझाएका छन् । “जनता निराशादेखि नेरासाम्मको यात्रामा छन् । यो अवस्था दलहरूकै कारणले सिर्जना भएको हो । सत्तामा गएपछि गणतन्त्रवादी दलहरूले नै एक अर्काप्रति शत्रुतापूर्ण अभिव्यक्ति दिन्छन् । अनि जनताले दलहरूलाई कसरी पत्याउने ?” उनको प्रश्न छ ।

राजसंस्था समर्थित प्रदर्शनको प्रतिवादमा सडकमा मान्छे ओराल्दैमा मात्रै समस्याको समाधान नहुने उनको मत छ । उनले संसद्‌मा प्रभावकारी रूपमा अघि बढ्न समाजवादी मोर्चालाई सुझाएका छन् । “संसद्‌को प्रतिपक्ष बेन्चमा रहेको तपाईंहरू आफ्नो म्याजिक नम्बर त्यहाँ प्रयोग गर्नुस् । १० बुँदे घोषणा सहितको विशेष सङ्कल्न प्रस्ताव दर्ता गरेर सदनमा छलफल गराउन तपाईंहरूलाई कसले रोकेको छ । राजतन्त्रवादी विरूद्ध जुलस निकाल्दैमा सबै समस्याको हल हुँदैन,’ उनले भने ।

बाम बुद्धिजिवी खिमलाल देवकोटाले राजसंस्था समर्थित दललाई बलियो बनाउन गणतन्त्रवादी दलकै भूमिका रहेको भन्दै आफ्ना त्रुटि र कमजोरीलाई सच्याउँदै जनतामाझ जानुपर्ने उल्लेख गरे । “संविधानको विपक्षमा हस्ताक्षर गर्दा राजावादीहरूको सङ्ख्या कति थियो र अहिले राष्ट्रिय दल बन्न गणतन्त्रवादीहरूले कसरी सहयोग गरे यो विषयमा पनि समीक्षा हुन जरूरी छ । राजवादीहरूलाई बलियो बनाउन गणतन्त्रवादीहरूको पनि भूमिका छ । हामीले अब व्यवस्थामा गर्ने सुधारबारे संसद्‌मा सङ्कल्प पत्र पेस गर्दै छलफल गराऔं,’ उनको सुझाव छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि मुलुकले आर्जन गरेको उपलब्धिबारे अनुसन्धानमुलक प्रतिवेदन जनतासमक्ष पेस भएमा निराशा चिर्न सहयोगी हुने उनको भनाइ छ ।

नागरिक अधिकारकर्मी मोहना अन्सारीले निराशा चिर्नका लागि संसद्‌मा प्रभावकारी ढङ्गले अघि बढ्न सुझाएकी छिन् । “परिवर्तनको नेतृत्व गर्नेहरू जनताबाट टाढिनुभयो । तपाईंहरू संसद्‌मा प्रभावकारी ढङ्गले अघि बढ्नुस्, नागरिकका समस्या समाधानका लागि संसद्‌बाट दबाब दिनुस्,” उनको सुझाव छ ।

राजनीतिबाट विश्रामको सङ्कल्प

नागरिक समाजका अगुवा तथा बुद्धिजीविहरूदले दलका शीर्ष नेतालाई राजनीतिबाट विश्रामको सङ्कल्प गर्न समेत सुझाएका छन् । राजनीतिक दलहरूले सत्ताका लागि जे पनि गर्न दलका नेताहरूप्रति नागरिकको विश्वसनियता गुमेको उनीहरूको भनाइ छ ।

समाजवादी मोर्चालाई सुझाव दिन पुगेका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले भने, “कुर्सी भेटेपछि त्यसलाई जोगाउन अनेक विकृति अँगाल्दा राजनीतिक नेतृत्वप्रति जनताको विश्वसनीयता घट्दै गएको छ  अहिलेको समस्याको उपज पनि कुर्सी मोहका लाग चालिएका विकृत कदमहरू हुन् ।”

यस्तै, नागरिक अधिकारकर्मी मोहना अन्सारीले पनि जनताले लोकतान्त्रिक व्यवस्थामासँगै दलहरूको आन्तरिक लोकतन्त्रमा पनि परिवर्तन चाहेको बताइन् । “जनताले लोकतान्त्रिक व्यवस्थामा मात्रै होइन, दलहरुको आन्तरिक लोकतन्त्रमा पनि  परिवर्तन चाहेका छन् । राजनीतिक नेतृत्वले जनताले खोजेको परिवर्तन बुझ्ने कोशिस गर्नुस्,” उनले भनिन् ।

नागरिक समाजका अगुवा भोजराज पोखरेलले  नेतृत्वमा पटक-पटक बसेकाहरू आउटडेट भएकाले अब यथासक्य विश्रामको सङ्कल्प गर्न सुझाएका छन् । “लामो समयदेखि परीक्षण भएका हामीहरू आउटडेट भइसक्यौँ । हामीले विश्वसनीयता गुमाइसक्यौँ । अब यथासक्य विश्राम लिएर नयाँ पुस्तालाई अवसर दिए मात्रै निराशाको न्युनिकरण हुनसक्छ,” उनले भने ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले श्री पाँचको अन्त्य गरेर राजनीतिक दलहरूले श्री पन्ध्रको सुरूवात गर्दा व्यवस्थामा प्रश्न उठ्न थालेको बताए । यस्तो विकृति अन्त्यको साहस नदेखाउने हो भने राजनीतिक नेतृत्वले विश्राम लिनुपर्ने उनको मत छ । “पहिले श्री पाँच थियो, अहिले श्री पन्ध्र भयो,” यसबारे प्रस्ट्याउँदै उनले भने, “न्यायपरिषद्का पाँच जना जसले न्यायाधीश नियुक्ति गर्छ । संवैधानिक परिषद्का ६ जना, जसले विज्ञताको ख्याल नगरेर आफ्ना चिनजानाकालाई अवसर दिन्छ । एक जना प्रधानमन्त्री जसको निकट भएमात्रै मन्त्री बन्ने अवसर प्राप्त हुन्छ । श्री पन्ध्र मध्येका ३ भनेको शीर्ष तीन दलका नेता जसले सांसदको टिकट बिक्री गरिरहेको हुन्छ । यस्ता विकृत अन्त्य नगर्ने हो भने विश्राम लिनु बाहेकको विकल्प छैन ।”

वाम बुद्धिजवी युवराज लम्सालले पनि तत्कालै शीर्ष नेताको विश्रामको अवस्था नआएपनि विकृति अन्त्यमा अग्रसरता नदेखाउने हो भने त्यसको विकल्प नरेहको उल्लेख गरे ।

अर्थविद् चन्द्रमणि अधिकारीले नयाँ पुस्तालाई साथमा लिएर अघि बढ्न राजनीतिक दलहरूलाई सुझाएका छन् । “नयाँ पुस्ताबाट तपाईंहरू निकै टाढा हुनुहुन्छ । तपाईंहरूप्रति ढिक्का भएका नयाँ पुस्तालाई आशा नदेखाउने हो भने तपाईंहरूले विश्राम लिनुबाहेक अरू उपाय छैन,” उनले भने ।

समाजवादी मोर्चालाई आत्मनिर्भर अर्थतन्त्र सहितको नेपाल सुहाउँदो समाजवादको अवधारणा लिएर जनतामा जान बुद्धिजिवीहरूले सुझाएका छन् ।

विकृति सुधारमा शीर्ष नेतृत्वको प्रतिबद्धता

समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलका नेतृत्वले विकृति सुधारमा प्रतिबद्धता व्यक्त गरेका छन् । राजसंस्था समर्थित गतिविधिप्रति प्रतिवाद वा प्रतिक्रियात्मक राजनीतिमा नलाग्न दिएको सुझाव मननयोग्य भन्दै उनीहरूले प्रणाली सुधारमा आफूहरूको प्रतिबद्धता जनतालाई बुझाउन सभा गर्न लागेको बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना त्रुटिबारे जनतालाई जानकारी गराउन सभा गर्न लागेको बताए । “राजावादी सडकमा आए अनि सडकमा जान लागेको जस्तो बुझाइ तपाईंहरूको भयो । यो कुरा तपाईंहरूले सच्याउन जरूरी छ,” प्रचण्डले भने, “प्रणालीभित्रको सुधारमा हाम्रा आगामी कार्यक्रमबारे जनतालाई केन्द्रबाट जानकारी दिन र पश्चगमनकारीहरूलाई मैदान खाली छैन भन्ने सन्देश हामीले दिन खोजेका हौँ ।”

प्रचण्डले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै रहेको उल्लेख गरे । गणतन्त्रवादी प्रहार हुन खोज्दा त्यसको रक्षाको दायित्व गणतन्त्रको नेतृत्व गर्ने दलकै हुने उनको भनाइ छ । यो सभामा काङ्ग्रेस र एमालेलाई पनि जोड्ने प्रयास भइरहेको उनले बताएका छन् । “मैले बिहान मात्रै एमालेको नेतासँग कुराकानी गरेको छु । यो सभामा काङ्ग्रेस र एमाले दुवैलाई जोड्ने तयारी भइरहेको छ,” उनले भने ।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्यवस्थामाथि प्रहारको सङ्केत देखापर्दा सरकारले कुनै तदारूकता नदेखाएपछि आफूहरू जागरूक भएको बताए । राजवादीका गतिविधिलाई कम आँक्न नहुने उनको भनाइ छ । “व्यवस्थामाथि प्रश्न उठ्दा सरकार नै अग्रसर हुनुपर्थ्यो । सरकार अघि नबढेपछि हामी जागरूक भएको हो । अब अहिले सभा नगरौँ शक्ति नै रहेनछ डराएर भाग्यो भन्नलान् । राजवादीहरूलाई गणतन्त्रवादीको शक्ति देखाउन आवश्यक छ भने जनतालाई हामी सच्चिने सन्देश पुर्‍याउन आवश्यक भएकाले सभा गर्न लागेका हौँ,” उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले व्यवस्थाभित्र रूपान्तरणको अभियानमा अघि बढ्न लागेको सन्देश प्रवाहका लागि सभा आयोजना गर्न खोजेको बताए । “यो व्यवस्थाभित्रको विकृतिमा राजनीतिक नेतृत्व जिम्मेवार छ नै । यो व्यवस्थाको रूपान्तरणको जिम्मेवारी पनि राजनीतिक नेतृत्वमाथि छ । हामी सच्चिनका लागि तयार छौँ भन्ननै सभा गर्न लागिएको हो,” उनले भने ।

यसअघि चैत २४ मा निर्धारित कार्यक्रमलाई चैत १५ मा सारिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register