तपाईंलाई के मनपर्छ, ट्रिआर्की कि मोनार्की ?

यो रगतको होली, यो अस्थिरता, यो षड्यन्त्रको अनन्त शृङ्खला, वंश हत्याको पटकपटक पुनरावृत्ति, यो आङ सिरिङ्ग हुने इतिहास ! तपाईंलाई यो शाह दरबारको इतिहास मनपर्छ ? तपाईंलाई मोनार्की मनपर्छ ? के यो दरबार देश र जनताको हितमा हुन्छ ? के हामी योभन्दा राम्रो प्रणाली र व्यवस्थाका लागि योग्य छैनौँ ?

Mar 16, 2025 - 08:53
 0
तपाईंलाई के मनपर्छ, ट्रिआर्की कि मोनार्की ?

नेपालमा अहिले राजावादीहरू जति असहिष्णु छन्, कथित ‘उदारवादी’हरू पनि त्यत्तिकै असहिष्णु छन् । आफूभन्दा फरक धारणा राख्नेमाथि सामाजिक सञ्जालमा (उनीहरूकै शब्दमा) ‘ह्यारेसमेन्ट’ गर्नेदेखि चरित्र हत्यासम्मको काम योजनाबद्ध र सङ्गठित रूपमा गरिरहेकै छन् । रवि लामिछानेदेखि बालेनसम्म, सुमनादेखि टङ्क दाहालसम्म, रवीन्द्र मिश्रदेखि दुर्गा प्रसाईंसम्म, माओवादीदेखि समाजवादीसम्म, सबैविरुद्ध भिड्नु परेकाले पनि होला, उनीहरूलाई भ्याइनभ्याई छ ।

कम्युनिष्टहरूको कुरै गर्नु परेन, स्टालिनदेखि चलिआएको परम्परा उनीहरूले धानेकै छन् । राजनीतिक लाभका लागि कम्युनिष्टको खोल ओढेको खुलमखुल्ला घोषणा गर्ने वर्तमान प्रधानमन्त्री चाउचेस्कुका साक्षात् अवतार जस्ता छन् । विगतमा उनले खडा गरेका साइबर सेनाले सामाजिक सञ्जालमा मात्रै होइन, उनका ‘गणतन्त्रका सेनानी’ले कहिले दिउँसै रङ्गशालामा मान्छे पिटिरहेका छन् भने कहिले ठमेलमा प्रहरी पिटिरहेका छन् । 

यस्तो बेला समाजमा राजनीतिक र स्वस्थ बहस हुने कुरै भएन । तर, राजतन्त्रको मागलाई काङ्ग्रेस सभापति तथा ‘प्राइममिनिस्टर इन वेटिङ’ (कुनै निश्चित नभएपनि) शेरबहादुर देउवाले भनेजस्तो ‘त्यस्तो ठूलो केही पनि भएको छैन’ भनेर खारेज गर्न सकिँदैन । कसै न कसैले यसमा राजनीतिक बहस गर्नै पर्ने हुन्छ ।

यो बहसको सुरुवात के वर्तमान प्रणालीमा हामी सन्तुष्ट छौँ ? र यसले मुलुक र जनताको हित गरिरहेको छ भन्ने प्रश्नबाट गर्नुपर्छ । यस्तो बहस गर्न हामीले लोकतन्त्र/जनवाद भनिआएको ‘डेमोक्रेसी’ र गणतन्त्र भनिआएको ‘रिपब्लिक’को सिद्धान्त अकाट्य र अन्तिम सत्य होइनन्, यसमाथि प्रश्न उठ्नु, बहस हुनु र आलोचना हुनु स्वाभाविक हो भन्ने स्वीकार गर्न आवश्यक छ ।

सन १९९० मा सोभियत सङ्घको पतनसँगै ‘उदारवादी’ आर्थिक र राजनीतिक प्रणाली अङ्गिकार गरेको अमेरिका एक्लो विश्व शक्ति नभएको भए संसारमा यसलाई निर्विकल्प पक्कै ठानिँदैन थियो । आज पनि संसारको लगभग आधा जनसङ्ख्यामा बहुदलीय प्रतिस्पर्धा र आवधिक चुनावमा आधारित पश्चिमा मोडलको लोकतान्त्रिक प्रणाली छैन । चीन, रुस, क्युबा, भियतनाम साउदी अरब, इरान लगायतका मुलुकले फरक अभ्यास गरिरहेका छन् । कतिपयले सैद्धान्तिक रुपमा यो प्रणाली स्वीकार गरेको भए पनि व्यावहारिक रूपमा त्यस्तो छैन । ती सबै देश सबै क्षेत्रमा खत्तम भएर गएका छैनन् । 

अर्कातिर, कतिपय देशमा अझै पनि राजतन्त्र छ । बेलायत र कमनवेल्थ फेडेरेसन देशहरूमा बेलायती राजा ‘सेरेमोनियल’ राज्यप्रमुख छन् । साउदी अरब, थाइल्याण्ड, भुटान लगायतमा राजा कार्यकारी छन् ।

थाइल्याण्डमा प्रत्यक्ष राजतन्त्र छ र म्यानमारमा जुन्ता शासन । त्यहाँ कहिले बहुदलीय प्रजातन्त्र बहाली हुने र फेरि खोसिने क्रम चलिरहेको छ । जसले यी देशलाई अस्थिर बनाएका छन् । भियतनाम, लाओस् र कम्बोडियामा एकदलीय प्रणाली छ । जसमध्ये भियतनामले राम्रो आर्थिक प्रगति गरेको छ तर, लाओस् र क्याम्बोडिया आज पनि हामीजस्तै गरिब मुलुक हुन् ।

स्वतन्त्रतापछि लोकतान्त्रिक र गणतान्त्रिक प्रणाली अपनाएका देशमध्ये अमेरिकाको प्रगति सबैभन्दा उदाहरणीय छ । भारत, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका ठूला देशहरूको प्रगति पनि सन्तोषजनक छ । पाकिस्तान, बङ्गलादेश र अधिकांश अफ्रिकी मुलुकमा यो प्रणाली संस्थागत हुन सकेन । यी देशहरूमा सैनिक विद्रोह, निर्वाचित तानाशाहद्वारा लादिएको एकदलीय प्रणाली, जातीय द्वन्द्व, चरम भ्रष्टाचार, युरोपेली/अमेरिकी नवउपनिवेश र आइएमएफ-विश्वबैङ्कको लुट लगायतले समाज आर्थिकरूपमा कमजोर र प्रणालीगत रूपमा अस्थिर बनेका छन् ।

कतिपय अफ्रिकी मुलुकले सैन्य तानाशाह रोजेका छन्, जसले वर्तमान आर्थिक प्रणाली र पश्चिमाहरूको औपनिवेशिक लुटको विकल्प दिएका छन् । अहिले अफ्रिकाको मध्य भाग ‘कु बेल्ट’ नै बनेको छ, जसमा आन्ध्र महासागरदेखि हिन्द महासागरसम्मका देशहरू गिनी, बुर्किनाफासो, नाइजर, गाबोन, माली, सुडान, चाड लगायतका मुलुक छन् । र, यो क्रम बढ्दो छ ।

दक्षिण एसियाका दुई छिमेकी क्षेत्रमा पनि यो प्रणाली दिगो हुन सकेको छैन । पश्चिम एसिया र अरब प्रायद्वीपमा प्रत्यक्ष राजतन्त्र र इस्लामिक शासन छ । इरानमा ‘इस्लामिक समाजवादी’ शासन छ । इराक, सिरिया लगायतका मुलुक अस्थिर छन् । यता हाम्रो पूर्वमा रहेको दक्षिणपूर्वी एसियाली देशमा पनि लोकतन्त्र र गणतन्त्र संस्थागत हुन सकेको छैन । केही उतारचढावका बावजुद फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र सिङ्गापुरमा बहुदलीय प्रतिस्पर्धामा आधारित व्यवस्था छ, तर मलेसियामा मौलिक राजतन्त्र छ । 

थाइल्याण्डमा प्रत्यक्ष राजतन्त्र छ र म्यानमारमा जुन्ता शासन । त्यहाँ कहिले बहुदलीय प्रजातन्त्र बहाली हुने र फेरि खोसिने क्रम चलिरहेको छ । जसले यी देशलाई अस्थिर बनाएका छन् । भियतनाम, लाओस् र कम्बोडियामा एकदलीय प्रणाली छ । जसमध्ये भियतनामले राम्रो आर्थिक प्रगति गरेको छ तर, लाओस् र क्याम्बोडिया आज पनि हामीजस्तै गरिब मुलुक हुन् ।

मलेसिया, सिङ्गापुर र इन्डोनेसियाको तुलनामा थाइल्याण्ड र म्यानमारको आर्थिक प्रगति धेरै कमजोर छ । पछिल्ला केही वर्ष थाइल्याण्डलाई पर्यटनले ठूलो टेवा दिए पनि अरु क्षेत्रमा प्रगति हुन सकेको छैन ।

हाम्रै क्षेत्र दक्षिण एसियाकै कुरा गरौँ,  भारत र श्रीलङ्काबाहेक कुनै पनि देशमा यो प्रणालीले काम गर्न सकेको छैन । अनेक अवरोधका बावजुद भारत र श्रीलङ्कामा भने नियमित आवधिक निर्वाचन मार्फत सत्ता हस्तान्तरण भइरहेको छ । पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश र नेपालमा व्यवस्थाको अस्थिरताले असफल राष्ट्र बनाउने खतरा बढेको छ ।

नेपालमा ०६२/०६३ को जनआन्दोलनयता प्रणालीगत स्थिरता हुने अपेक्षा गरिएपनि यसमाथि आशङ्का गर्नुपर्ने कारणहरू धेरै छन् । तत्कालीन सात राजनीतिक दल र माओवादी मिलेर ल्याएको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ले आज नागरिकका अपेक्षा पुरा गर्न नसकेको मात्रै होइन, आम मानिसको दृष्‍टिमा बदनाम पनि भएको छ ।

कुनै व्यवस्था सम्पूर्ण रूपमा आफैँमा असल वा खराब हुँदैन । हरेक व्यवस्थाका आआफ्नै अन्तरनिहित कमजोरी र सीमा हुन्छन् भने सकारात्मक पक्ष पनि हुन्छन् । लोकतन्त्र र गणतन्त्र यस्तै गुण र दोष सहितको राजनीतिक प्रणाली हो । हरेक प्रणालीले काम गर्छ कि गर्दैन भन्ने कुरा यो चलाउने व्यक्तिहरूले कसरी काम गर्छन् भन्नेमा भर पर्छ । त्यसैले, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ पूर्वराजा ज्ञानेन्द्र शाह वा भारतीय संस्थापनका कारणले होइन, ओली, देउवा र प्रचण्डका कारण खतरामा छ । भ्रष्ट राजनीतिक व्यवस्थाको संरक्षक बनेको मात्रै होइन, यी त्रिदेवमाथि प्रणालीगत अस्थिरताको आरोपमा पनि जनताको अदालतमा मुद्दा चलाइनु पर्छ ।

कागजमा नेपालमा सङ्घीय लोकतान्त्रिक व्यवस्था भनिए पनि व्यावहारिक रुपमा त्यस्तो छैन । नेपालमा न त सङ्घीयताले काम गर्न पाएको छ,  न त वास्तविक अर्थमा बहुदलीय लोकतन्त्रको अभ्यास भएको छ । बहुदलीय लोकतन्त्रको अर्थ आवधिक चुनाव मात्रै होइन, दलहरूको सैद्धान्तिक/संस्थागत कार्यप्रणाली पनि हो । यसले केही तहमा काम गर्नुपर्छ ।

पहिलो, दलहरू जनताका प्रतिनिधि हुन्, उनीहरूले निर्वाचनमा जनतासमक्ष गरेका प्रतिबद्धताका आधारमा जनताको प्रतिनिधिका रुपमा काम गर्ने हो । जे सुकै निर्णय गर्ने छुट उनीहरूसँग हुनुहुँदैन । एकपटक फर्किएर हेर्नुहोस्, दलहरूले २०७९ को निर्वाचनको पूर्वसन्ध्यामा जनसमक्ष गरेका प्रतिबद्धताअनुरूप एउटा मात्रै काम गरेका छन् ? 

यसअघि नेपाली काङ्ग्रेसले खड्गप्रसाद ओलीलाई संविधान मिचेको आरोप लगाएको थियो र त्यसपछि अदालतबाट देउवालाई प्रधानमन्त्री स्थापित गरिएको थियो । माओवादी लगायतका दलसँगको चुनावअघिको गठबन्धनमार्फत ‘संविधान र लोकतन्त्र रक्षाका लागि’ भन्दै भोट मागेर सबैभन्दा ठूलो दल बनेको काङ्ग्रेसले आज तिनै ओलीसँग मिलेर सरकार बनाउन मिल्थ्यो ? के यो चुनावी म्यान्डेटको विरुद्ध थिएन ?

देउवा र ओली गठबन्धन फेर्ने निर्णयमा पुग्नुअघिसम्म ‘नेपाली काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्छ, सरकार भत्काउने बनाउने खेलमा लाग्दैन’ भन्ने महामन्त्री गगन थापाको चर्को भाषण कहाँ हरायो ? ‘अब चुनावअघि गठबन्धन हुँदैन’ भन्ने दुई महामन्त्रीको घोषणा गएको उपचुनावमा कहाँ बिलायो ? सार्वजनिक खपतका यी भनाइ सर्वेसर्वा देउवाका अगाडि निस्किन सकेनन् ।

दोस्रो प्रश्न, संसद्को सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनाउनु अस्वाभाविक हो । यो प्रतिपक्षलाई अर्थहीन बनाउने र सरकारमा भएकाहरूले मनपरीतन्त्र चलाउने खेल हो । रातारात गठबन्धन गर्ने निर्णय कसको थियो ? एमाले र काङ्ग्रेसको वा देउवा र ओलीको ?

देउवा र ओली गठबन्धन फेर्ने निर्णयमा पुग्नुअघिसम्म ‘नेपाली काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्छ, सरकार भत्काउने बनाउने खेलमा लाग्दैन’ भन्ने महामन्त्री गगन थापाको चर्को भाषण कहाँ हरायो ? ‘अब चुनावअघि गठबन्धन हुँदैन’ भन्ने दुई महामन्त्रीको घोषणा गएको उपचुनावमा कहाँ बिलायो ? सार्वजनिक खपतका यी भनाइ सर्वेसर्वा देउवाका अगाडि निस्किन सकेनन् ।

यसको अर्थ, ‘लोकतान्त्रिक गणतन्त्र’को नाममा तीन नेताको मनपरीतन्त्र चलिआएको छ । ओली, देउवा र प्रचण्ड मिले जस्तोसुकै जायज-नाजायज निर्णय गर्न सक्ने, पार्टी, संसद्, सरकार, अदालत लगायत लोकतन्त्रका सबै संस्थाहरू सहीछाप गर्ने संयन्त्र उनीहरूले निर्माण गरेका छन् । जहाँ संस्थाहरू स्वायत्त हुँदैनन् तथा संविधान र कानुनमा आधारित भएर काम गर्दैनन्, त्यस्तो व्यवस्था लोकतन्त्र हुनसक्दैन । यो व्यवस्था ‘ट्रीआर्की’ अर्थात तीन जना ठालुको मनपरीतन्त्र हो ।

बहुदलीय लोकतन्त्रको प्राण दलहरू हुन् । नेपालका उदारवादी बौद्धिकहरूले संसद् विघटनअघि ओलीलाई ‘प्रधानमन्त्री दलको अधीनमा हुनुहुँदैन’ भनेर हौस्याउने काम गरे । यो कुनै सैद्धान्तिक तर्क नभएर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भनेर डराएको काङ्ग्रेसभित्रको शेखर-गगन गुटको त्रास र प्रचण्ड कुनैपनि हालमा प्रधानमन्त्री नभइदिउन् भन्ने अर्को समूहको विद्वेषको अभिव्यक्ति मात्रै थियो । यसले ओलीलाई तत्कालीन नेकपाको म्यान्डेट र अनुमोदनबिना मनपरी गर्न उक्साएको थियो, जसको परिणाम असंवैधानिक संसद् विघटनका रूपमा अभिव्यक्त भयो । संविधानको मानमर्दन भयो । आज नेपालका ‘उदारवादी’ बौद्धिकहरूको खेमाले ओली-देउवाको गठबन्धनलाई त्यसैगरी काँध हालिरहेको छ ।

त्रिदेव तन्त्रको मनपरी र उनीहरूको काँधमा बुर्कुसी मारिरहेको कथित निजी क्षेत्रका केही ओलीगार्कहरूको ताण्डव नृत्यबाट नेपाली जनता दिक्क भएका छन् । कोल पेलेझैँ श्रमजीवी जनतामाथिको शोषणको भरमा खडा भएको राज्यकोषमाथि त्रिदेवका सन्डमुसन्ड र ओलीगार्कको खुलमखुल्ला लुट र कानुन-अदालतमा तिनैलाई हुने छुटले मानिसहरूको धैर्यताको बाँध टुटेको छ । यसमा ठूलो प्रभाव खाडी, मलेसिया र अन्य मुलुकमा रगत पसिना बगाउनेहरूको छ । 

उनीहरूमध्ये कतिपयले देखेको विकल्प हो- मोनार्की अर्थात राजतन्त्र । ज्ञानेन्द्र शाहको सत्तामा वापसी । यसमा दक्षिणका गेरुवस्त्रधारी उग्रदस्ताले आगोमा इन्धन खन्याइरहेका छन् । यही सन्दर्भमा सडकमा केही र सञ्जालमा व्यापक सक्रिय मानिसहरूले मुल पण्डित थापेका छन्, प्रसिद्ध मार्सीभातवाला दुर्गा प्रसाईं । माओवादीको धन ‘सुरक्षा गरिदिएको’देखि ओली-प्रचण्डको एकता गराएकोसम्म, मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नसकेपछि गैरकानुनी रूपमा धीतोभन्दा बढी लिएको ऋणले तनाव दिएपछि श्री ५ को शरणमा चाकडी गर्नपुगेका महामण्डित प्रसाईंको लीला बयान गरिसाध्य छैन ।

आलोचनात्मक कोणबाट इतिहास लेख्ने कमल प्रधानदेखि महेशराज रेग्मीसम्मलाई पढ्नु पर्छ । पपुलर पड्कास्ट र युट्युबका च्यानलमा दरबारका अँध्यारा कोठी भित्रका खेलहरू हेर्नुपर्छ । यसले तपाईंलाई एउटा कटु सत्य भन्नेछ, अपवादबाहेक पृथ्वीनारायण शाहको सेखपछि रक्तपातविहीन वा षडयन्त्रविहीन ढङ्गले श्रीपेचको हस्तान्तरण भएको छैन । शाह परिवार र तीनका भारदारबीचको खेलले नेपाललाई सधैँ अस्थिर र कमजोर बनाएको छ ।

दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, कमल थापाहरूको आफ्नै स्वार्थ हुन्छ, अजयसिंह विष्ट र राष्ट्रिय स्वयंसेवक सङ्घको आफ्नै हिसाबकिताब हुन्छ । तर, सडक र सञ्जालमा राजतन्त्रको पक्षमा जुलुस लगाइरहेको युवापुस्ताले एकपटक इतिहास फर्किएर हेर्न जरूरी छ । एकपटक शाहवंशको महिमामण्डनमा इतिहास लेख्ने बाबुराम आचार्यका किताब पल्टाउनु पर्छ । संशोधन मण्डलका ठेलीहरू खोल्नु पर्छ । आलोचनात्मक कोणबाट इतिहास लेख्ने कमल प्रधानदेखि महेशराज रेग्मीसम्मलाई पढ्नु पर्छ । पपुलर पड्कास्ट र युट्युबका च्यानलमा दरबारका अँध्यारा कोठी भित्रका खेलहरू हेर्नुपर्छ । यसले तपाईंलाई एउटा कटु सत्य भन्नेछ, अपवादबाहेक पृथ्वीनारायण शाहको सेखपछि रक्तपातविहीन वा षडयन्त्रविहीन ढङ्गले श्रीपेचको हस्तान्तरण भएको छैन । शाह परिवार र तिनका भारदारबीचको खेलले नेपाललाई सधैँ अस्थिर र कमजोर बनाएको छ ।

पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाहले बाबुको मृत्यु हुनेबित्तिकै आफ्नै भाइ बहादुर शाहलाई बाबुको किरिया पनि गर्न नदिई नजरबन्द गरे । पछि बहादुर शाह भागेर भारत गएर बसे । प्रतापसिंह शाहको मृत्युपछि नाबालक रणबहादुर शाहलाई श्रीपेच पहिर्‍याएर उनकी रानी राजेन्द्र लक्ष्मीले शासन सम्हालिन् । उनले बहादुर शाहलाई काठमाडौं फिर्ता बोलाइन्, तर केही समयपछि नजरबन्दमा राखिन् । आफू नजरबन्दबाट निस्किएपछि बहादुर शाहले भाउजू राजेन्द्रलक्ष्मीलाई नजरबन्दमा राखे । तर, भाउजू नजरबन्दबाट निस्किएको थाहा पाएपछि फेरि भागेर भारतमै गए, भाउजू राजेन्द्र लक्ष्मीको मृत्युपछि मात्रै नेपाल फर्किए । यिनै आदर्श विभूति बहादुर शाह थिए, जसले भारदार हत्याको खेल सुरु गरेका थिए ।

२६ वर्षका राजा मरेपछि बालक रणबहादुर शाहलाई श्रीपेच पहिर्‍याएर प्रतापसिंह शाहकी रानी राजेन्द्र लक्ष्मीले शासन हातमा लिइन् । रणबहादुर यही सिकेर हुर्किए । उनले बहादुर शाहलाई थुनामा राखेर कार्यकारी अधिकार लिए । थुनामै भएका बहादुर शाहलाई उनकै भतिजा रणबहादुर शाहले मार्न लगाए ।

षड्यन्त्र र वंश हत्याको यो विष वृक्षले रणबहादुर शाहलाई पनि डस्यो । साइँली रानी कान्तीमतिको जिद्दीसामु उपाय नचलेर स्वाभाविक उत्तराधिकारी रणद्धोत शाहको अधिकार खोस्दै बालक छोरा गिर्वाणयुद्धलाई राजा बनाएर आफू जोगी भएको ढोँग रचे । तर, राजनीतिको स्वाद बिर्सिन सकेनन् । गेरुवस्त्र पहिरिएर काशी गएका स्वामी महाराज फेरि काठमाडौं फर्किएर आफ्नै छोराको नायब भइ सत्ता चलाउन थाले । पृथ्वीनारायण शाहका जेठो छोराका जेठो छोरा, यिनै रणबहादुर शाह थिए, जसले बनारसमा सत्तामा फर्काइदिन अङ्ग्रेजहरूसँग याचना मात्रै गरिरहेका थिएनन्, तिमीले भनेको मान्छु भनेर वाचा पनि गरिरहेका थिए ।

काका बहादुर शाहको सिको गर्दै उनले दामोदर पाँडे लगायतका भारदारहरूको हत्या गराए । रणबहादुरले भारदार त्रिभुवन खवासकै घरमा बसेको सभामा उनकै घाँटी काट्न र आफ्नै भाइ शेरबहादुरको आँखा फोड्न आदेश दिए । तर, शेरबहादुर शाहले तुरुन्तै दाजुको टाउको छिनाए । रणबहादुरका अङ्गरक्षकले शेरबहादुर शाह र त्रिभुवन खवास दुवैको हत्या गरे ।

ढिलो आएका कारण यो हत्याकाण्डमा बाँचेका भीमसेन थापाले कार्यकारी अधिकार हातमा लिए । जसले आफ्नो कमजोर कूटनीतिक कौशलता र निर्णय क्षमताको अभावमा नेपाललाई भारतमा शासन गरिरहेका अङ्ग्रेजसँगको युद्धमा होमे । यो युद्धका कारण अपमानजनक सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य पारे, जसले आजसम्म पनि नेपालको घाँटी अँठ्याइरहेको छ । तिनै भीमसेन थापाले पनि जेलमा दुर्दान्त अवस्थामा आत्महत्या गर्नुपर्‍यो । आज हामीले आदर्श वीर मान्ने अमरसिंह थापा विरक्तिएर गोसाइँकुण्डतर्फ हिँडेका फर्किएर आएनन् । बलभद्र कुँवर जागिर खोज्दै दुश्मन सेनाको फौजमा भर्ती भएर अफगानी सेनाको गोलीले विदेशी भूमिमा मारिए ।

यही संस्कारमा दीक्षित भारदारहरूले मच्चाएको कोत पर्व र जङ्गबहादुरको उदय हामीले स्कुलमै पढेका छौँ । जङ्गबहादुरको परिवारै मारेर उनको भाइखलकले कसरी शासन कज्यायो भन्ने विषय किताबमा पढे पनि हुन्छ, युट्युबमा भिडिओ खोजेर हेरे पनि हुन्छ । १०७ वर्षमा शासन हत्याउन श्री ३ हरूले बगाएको रगत आज राजतन्त्रको पक्षमा उभिनेहरूले बिर्सिए होलान्, तर काठमाडौंको माटोले त्यो स्वाद पक्कै बिर्सिएको छैन ।

राणाको नजरबन्दमा रहेका श्री ५ त्रिभुवन भारतीय दुतावासको शरणमा परेका थिए । उनलाई भारतले शरणमात्रै दिएन, गद्दी पनि दियो । आज रवीन्द्र मिश्रहरू जसरी प्रचण्ड भारतबाट सञ्चालित थिए भनेर आरोप लगाउँछन्, तर यो इतिहासको कुरा गर्दैनन् । सत्तामा रहनका लागि शाह हुन् वा राणा वा गणतन्त्रका दलहरू, शक्तिशाली भारत आफ्नो पक्षमा रहिदेओस भनेर सधैँ प्रार्थनाशील छन् । यसमा मोनार्की र ट्रीआर्कीमा कुनै भिन्नता छैन ।

राणाको नजरबन्दमा रहेका श्री ५ त्रिभुवन भारतीय दुतावासको शरणमा परेका थिए । उनलाई भारतले शरणमात्रै दिएन, गद्दी पनि दियो । आज रवीन्द्र मिश्रहरू जसरी प्रचण्ड भारतबाट सञ्चालित थिए भनेर आरोप लगाउँछन्, तर यो इतिहासको कुरा गर्दैनन् । सत्तामा रहनका लागि शाह हुन् वा राणा वा गणतन्त्रका दलहरू, शक्तिशाली भारत आफ्नो पक्षमा रहिदेओस भनेर सधैँ प्रार्थनाशील छन् । यसमा मोनार्की र ट्रिआर्कीमा कुनै भिन्नता छैन ।

के त्रिभुवन र महेन्द्रको मृत्यु स्वाभाविक थियो ? कतिपय इतिहासकारले शङ्का गरेका छन् । यी दुवै बुढेसकाल लागेर वा रोगले थलिएर मरेका थिएनन् । यसपछि, २०५८ को दरबार हत्याकाण्ड सबैलाई थाहै छ । हतियारधारी सैनिकको बीचमा उभिएर एक्लो दीपेन्द्रले छानीछानी आफ्नो र कान्छो काकाको परिवार र दर्जनौं सैनिक सखाप पारे, सैनिकहरूले हाँसीहाँसी छातीमा गोली थापे । अनि त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहको परिवारलाई ईश्वरले जोगाइदिए भन्ने कुरामा विश्वास गर्छ नेपालको मिलेनियल र जेन जेड ? दायाँ हाते दीपेन्द्रले त्यति भारी हतियारले आफ्नो बायाँ कन्चटमा गोली हाने भन्ने तारानाथ रानाभाटको भटटटटमा विश्वास गर्छन् मोनार्की पक्षधरहरू ? आम मानिसहरूले त्यतिबेला ज्ञानेन्द्रमाथि त्यत्तिकै शङ्का गरे भन्ने ठान्छ यो युवापुस्ता ?

यो रगतको होली, यो अस्थिरता, यो षड्यन्त्रको अनन्त शृङ्खला, वंश हत्याको पटकपटक पुनरावृत्ति, यो आङ सिरिङ्ग हुने इतिहास ! तपाईंलाई यो शाह दरबारको इतिहास मनपर्छ ? तपाईंलाई मोनार्की मनपर्छ ? के यो दरबार देश र जनताको हितमा हुन्छ ? के हामी योभन्दा राम्रो प्रणाली र व्यवस्थाका लागि योग्य छैनौँ ?

युवापुस्ताले ज्ञानेन्द्र शाही, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको बहकाउमा लाग्नु भन्दा पहिले बहस गर्नु, मन्थन गर्नु जरूरी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register