संसदीय छानबिन समिति गठन गरेर आरोप पुष्टि गर्न झलनाथको चुनौती
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्तिमा आफूले दिएको दबाबको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । खनालको दबाबबारे संसदीय छानबिन समिति गठनको माग भएपछि उनले संसदीय समितिमार्फत अनुसन्धान गरेर आरोप पुष्टी गर्न चुनौती दिएका हुन् । नेपालभ्युजसँग कुराकानी गर्दै खनालले आफूले कसैलाई पनि कहीँ सिफारिस […]

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्तिमा आफूले दिएको दबाबको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । खनालको दबाबबारे संसदीय छानबिन समिति गठनको माग भएपछि उनले संसदीय समितिमार्फत अनुसन्धान गरेर आरोप पुष्टी गर्न चुनौती दिएका हुन् ।
नेपालभ्युजसँग कुराकानी गर्दै खनालले आफूले कसैलाई पनि कहीँ सिफारिस नगरेको दाबी गरे । आफ्नै दलका सांसद तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले लगाएको आरोपमा कुनै सत्यता नरहेको उनको भनाइ छ । ‘कोही व्यक्ति कसैको सिफारिसमा महानिर्देशक हुँदैन । कहाँ कसलाई महानिर्देशक बनाउने भन्ने कुरा मन्त्रिपरिषद्को निर्णयबाट हुने हो । मैले जीवनमा कसैलाई पनि कहीँ नियुक्तिका लागि कतैपनि सिफारिस गरेको छैन,’ खनालले भने ।
तपाइँले सिफारिस नगरेको वा दबाब नदिएको भए संसदीय समितिमा तपाइँकै दलका सांसदले नामै किटान गर्नुहुन्थेन होला नि भन्ने प्रश्नमा खनालले भने,’उहाँले मेरो नाम किटान गरेपछि त्यसको पुष्टी पनि गर्नुपर्छ । मैले कुन कुन पदाधिकारी नियुक्तिका लागि कहाँ कुन मितिमा कसलाई पत्राचार गरेँ सार्वजनिक गर्नुपर्यो,’ खनालले भने ।
चैत ८ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा एकीकृत समाजवादी सांसद रहेका पूर्व मन्त्री आलेले नयाँ पार्टीलाई चलायमान बनाउन नेताहरूको दबाबमा वरिष्ठता मिचेर क्यानमा पदाधिकारी नियुक्ति गरिएको बताएका थिए । ‘ मलाई एकपटक मेरो पार्टीबाट चिट्ठी आएको थियो। यो यो मानिसहरूलाई यहाँ नियुक्ति गर्नु भनेर। अब के गर्ने, समाजवादी नयाँ पार्टी पनि भयो। अलिअलि चलायमान पनि बनाउनुपर्यो,’ उनले भने, ‘धेरै दबाबमा, पार्टीका सम्मानित नेता झलनाथ खनाल र अन्य नेताको सिफारिसमा यी दुई अधिकारी नियुक्त गरेँ।’
आलेको यो अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एकीकृत समाजवादीका वरिष्ठ नेता खनालमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरेका हुन् । राजनीतिक दबाबमा नियुक्ति भ्रष्टाचारसँग जोडिने भएकाले संसदीय छानबिन हुनुपर्ने माग गरे । ‘पूर्वमन्त्री प्रेम आलेले लेखा समितिमा दिएको धारणाबारे छानबिन गर्नुपर्छ, उहाँको धारणा नियुक्तिसँग जोडिएको भ्रष्टाचारको विषयसँग सम्बन्धित छ,’ रास्वपा सांसद खनालले भने, ‘नियुक्तिमा भ्रष्टाचार भएको विषय पूर्वमन्त्रीले स्वीकार गर्नु भएको छ। यो विषयमा पूर्वप्रधानमन्त्रीले पनि स्वीकार गरेको विषय सञ्चार माध्यमहरूमा आएका छन्। यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको क्षेत्राधिकारमा पनि पर्छ, यसमा हामीले छानबिन गर्नुपर्छ।’
उनको भनाई पछि समिति सभापति राजकिशोर यादवले यो विषयको उठान लेखा समितिमा भएकाले यसको छानबिनको क्षेत्राधिकार उक्त समितिकै रहने बताए ।
एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री खनालले संसदीय छानबिन समिति गठन गरेर आरोप पुष्टी गर्न चुनौती दिएका छन् । ‘संसदीय छानबिन बनाउने हो भने बनाउँदा हुन्छ । मैले यदि गलत काम गरेको लाग्छ भने छानबिन होस् । छानबिन गरेर आरोप पुष्टी गर्दा हुन्छ । राज्यलाई पनि निष्कर्षमा पुग्न सहज हुन्छ,’ उनले भने ।
संसदीय छानबिन समिति गठन भए त्यसलाई सघाउन आफू तयार रहेको उनले बताएका छन् ।
What's Your Reaction?






