डोनाल्ड ट्रम्प र एलन मस्कबीच पनि दूरी बढ्ने दिन आउनेछ

दार्शनिक अल्बर्ट कामु भन्थे– विसङ्गति सृष्टिमै व्याप्त छ । तसर्थ, यो मानव जीवनमा पनि बारम्बार प्रकट हुन्छ । अमेरिकी राजनीतिमा विश्व धनाढ्य एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्ध त्यस्तै एक विरोधाभास हो कि संयोगिक यथार्थ ? यो प्रश्नले धेरैको दिमाग खलबल्याउने गर्दछ । सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका एलन मस्क अहिले ५३ […]

Mar 26, 2025 - 05:05
 0
डोनाल्ड ट्रम्प र एलन मस्कबीच पनि दूरी बढ्ने दिन आउनेछ

दार्शनिक अल्बर्ट कामु भन्थे– विसङ्गति सृष्टिमै व्याप्त छ । तसर्थ, यो मानव जीवनमा पनि बारम्बार प्रकट हुन्छ । अमेरिकी राजनीतिमा विश्व धनाढ्य एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्ध त्यस्तै एक विरोधाभास हो कि संयोगिक यथार्थ ? यो प्रश्नले धेरैको दिमाग खलबल्याउने गर्दछ ।

सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका एलन मस्क अहिले ५३ वर्षका भए । सन् १९८९ मा उनी क्यानडा गए । आमाको नाताले उनले पाएको क्यानडाको नागरिकता सन् २००२ सम्म थियो । मस्क कानुनतः अमेरिकी नागरिक भएको जम्माजम्मी २२ वर्ष पूरा भयो ।

तर, उनी वासिङ्टनमा त्यस्तो राष्ट्रपतिको मुख्य सहयोगी बन्न पुगेका छन्, जो अमेरिकी ‘राष्ट्रवाद’ मा विश्वास गर्दछन् । ‘नेटिभ अमेरिका’ मा गौरव गर्दछन् । अमेरिकालाई फेरि एकपटक महान् राष्ट्र बनाउन चाहन्छन् । ‘मेक अमेरिका ग्रेट अगेन’ ट्रम्पको मुख्य नारा नै हो ।

त्यसो त ट्रम्प आफै जर्मन पिता र स्कटिस माताका सन्तान हुन । उनको पुर्ख्यौली इतिहास हेर्दा अमेरिकामा जन्मिएको पहिलो पुस्ता हुन् । उनकी तेस्री पत्नी तथा वर्तमान ‘फर्स्ट लेडी’ मेलानिया स्लोभेनियाली हुन् । तर, ट्रम्प आप्रवासीप्रति सबैभन्दा अनुदार र आक्रामक राष्ट्रपति साबित भएका छन् । के यो आफैमा ठूलो विरोधाभास हैन ?

डोनाल्ड ट्रम्पले एलन मस्कलाई व्यक्तिगत रूपमा औपचारिक तवरले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनभन्दा करिब ३ महिनाअघि मात्र चिनेका थिए । तर, छोटो समयमै यी दुई बीचको सम्बन्ध यसरी घनिष्ठ भएर गयो, जो अमेरिकी राजनीतिको एक दुर्लभ संयोग हो ।

त्यसअघि मस्क सोच्थे कि ट्रम्प एक ‘मुर्ख मान्छे’ हुन् । बढो अडबाङ्गे सोच र चरित्रको मान्छे । राम्रोसँग बोल्ने तमिज पनि नभएको ‘रफ’ मान्छे । मस्कले रिपब्लिकन प्राइमरीमा फ्लोरिडा गभर्नर रोन डिस्यान्टिसलाई समर्थन गरेका थिए । तर, डिस्यान्टिसले जब रिपब्लिकन प्राइमरी हापे, उनको ध्यान ट्रम्पतिर गयो।

मस्क चाहन्थे कि जो वाइडन–कमला ह्यारिसको जोडी हारोस् । डेमोक्र्याटिक नीति र व्यवहारसँग उनी विभिन्न कारणले चिढिएका थिए । तसर्थ, उनले कमला ह्यारिसलाई मन पराउन सकेनन् । एलन मस्काका लागि ट्रम्पको महत्त्व त्यतिखेर बढ्यो जब ह्यारिसलाई हराउन सक्ने ठाउँमा उनी देखिए ।

सन् २०२४ को चुनावमा मस्कले डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीका लागि २७७ मिलियन डलर चुनावी खर्च व्यहोरे । मस्क–ट्रम्प सम्बन्ध सुमधुर हुनुमा यो रकमले धेरै ठूलो रसायनको काम गर्यो । ट्रम्पको चुनावी अभियानलाई मस्कको समर्थन र खर्च चिट्ठा परेझैँ भयो ।

तर, मस्क–ट्रम्प सम्बन्धको आधार चुनावी खर्च मात्र हो भन्न नसकिएला । चुनावी अभियानकै क्रममा मस्कले ट्रम्पको दिमागमा सङ्घीय सरकारको खर्च कटौतीको मुद्दा भरिदिएका थिए । ट्रम्पको पहिलो कार्यकालमा यो त्यति ठूलो सवाल बनेको थिएन ।

पहिलो कार्यकालमा ट्रम्पले राज्यको सार्वजनिक ऋण ८ ट्रिलियन डलर थपेका थिए । यसले के पुष्टि गर्दछ भने सङ्घीय सरकारको खर्च कटौती खासमा ट्रम्पको नभएर मस्कको मुद्दा हो, जसलाई ट्रम्पले समर्थन दिएका छन् । ट्रम्प बारम्बार यो भन्दैछन् कि मस्कले यो क्षेत्रमा राम्रो काम गर्ने उनलाई विश्वास छ ।

ट्रम्प प्रशासनमा मस्कको प्रभाव अस्वाभाविक रूपमा बलियो देखिएको छ । उनी अन्य मन्त्रालय र विभागलाई पनि आफ्नो कार्यक्षेत्रभित्र तान्न सक्ने भएका छन् । ट्रम्पका वैधानिक उपराष्ट्रपति जेडी भान्स छन् । तर, मस्कालाई मानिसले ‘सहराष्ट्रपति’ ( को–प्रेसिडेन्ट ) भन्दिन्छन । यसको अर्थ हो कि मस्क शक्ति अभ्यासको सहजतामा छन् । ट्रम्पबाहेक उनले डराउनु पर्ने कसैसँग छैन । उनी ट्रम्पका अन्य उत्तिकै महत्त्वपूर्ण सहयोगीलाई समेत थर्काउन वा छायामा पार्न सक्ने हैसियतमा छन्।

यसरी छोटो समयमै मस्कले यो पुष्टि गर्दिएका छन् कि धन आफैमा एक ठूलो शक्ति हो । राजनीतिक वा राज्य शक्तिलाई पनि गलाउन, निहुराउन सक्ने शक्ति ।
एलन मस्कलाई संसारकै सबैभन्दा धनी मान्छे भन्नु मात्र त्यति उचित हैन, सायद उनी इतिहासकै सबैभन्दा धनी हुन् । ‘संसारकै धनी’ र ‘इतिहासकै धनी’ मान्छे हुनुमा पक्कै भिन्नता हुन्छ । उनी अघिका ‘संसारकै धनी’ सँग सायदै उनीसँग जति धन थियो ।

तर पनि मस्कमा शक्तिको चाहना किन भयो ? के धनको शक्तिले मान्छेको आत्मा तृप्त हुँदैन ? राज्य शक्तिबाट मस्कले के त्यस्तो थप लाभ वा आनन्द पाउलान् जो उनलाई धनको शक्तिले दिन सकेन ?

ठीक यही प्रश्न अर्को तरिकाले गर्न सकिन्छ, ट्रम्पको पाटोबाट । शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एलन मस्कको आवश्यकता किन पर्‍यो ? के राजनीतिको शक्तिले मान्छेको आत्म तृप्त हुँदैन ?

ट्रम्प शक्तिशाली मात्र हैन, आफै एक धनी मानिस हुन् । तर, एलन मस्कभन्दा कम धनी । संसारको सबैभन्दा शक्तिशाली राज्यको सबैभन्दा शक्तिशाली पदमा पुगिसक्दा पनि धनप्रतिको मोह ट्रम्पमा छँदै थियो । अन्यथा ट्रम्पले मस्कलाई मानिसले ‘सहराष्ट्रपति’ भन्नु पर्ने गरी महत्त्व दिन जरुरी हुन्थेन।

ट्रम्प आज मस्कका त्यस्ता थुप्रै अभिव्यक्ति र कारबाही सहन गर्दै छन्, जो कतिपय अवस्था उनलाई नै अपाच्य लागेको हुन सक्दछ । जस्तो कि मस्कले युएसएडलाई ‘एक अपराधी सङ्गठन’ भन्दिए । जसले अमेरिकी इतिहास र विरासतकै भर्त्सना गर्दछ ।

ट्रम्प र मस्क– दुवैको स्वभाव विचित्र अधैर्यता र आतुरताले आवृत्त छ । यदाकदा त यो दुई असाधारण मान्छे बीचको साधारण सम्बन्धजस्तो भान हुन्छ । मस्कले विज्ञान, प्रविधि र धर्नाजनमा, ट्रम्पले राजनीतिक सङ्घर्षमा हासिल गरेको उपलब्धि दुवै असाधारण हुन ।

तथापि यो आशङ्का बाँकी नै छ– ट्रम्प–मस्क सम्बन्धको मनोवैज्ञानिक आधार के हो ? यो कति दिगो होला ? के ट्रम्पको ४ बर्से कार्यकालभरि कायम रहला ? वा कुनै बिन्दुमा पुगेर त्यो अघि नै अनपेक्षित तवरले भङ्ग होला ?

ट्रम्पले मस्कका लागि सरकारमा एक भिन्नै विभाग नै बनाए । डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसियन्सी ( डोज ) । यसको मुख्य उद्देश्य सङ्घीय सरकारको खर्च कटौती गर्नु र कार्यसम्पादन क्षमता वृद्धि गर्नु हो ।

टेस्ला, एक्स, स्पेस एक्सजस्ता कम्पनीले मस्कलाई के त्यस्तो सन्तुष्टि दिएन जसले गर्दा उनी ट्रम्पले उनका लागि नयाँ खडा गरेको ‘डोज’ प्रमुख हुन राजी भए ? मस्कको यो नयाँ भूमिका निस्वार्थ छ कि स्वार्थ–बझानयुक्त ?

उनको प्राथमिकतामा के छ ? आफ्ना कम्पनीहरूको सफलता र थप धन वृद्धिका लागि राजनीतिक शक्तिको उपयोग कि अमेरिकी राज्यको सफलता, खर्च कटौती र नागरिक हित ? यी दुई फरक मार्गबीच मस्कको खाँटी मनसाय के होला?
खर्च कटौतीका नाममा मस्कले अहिलेसम्म गरेका सिफारिस जटिल हैनन् । यति नै कामलाई धेरै सृजनशील उपाय मान्न सकिँदैन । उनी सरकारी कार्यालय, निकाय, आयोग, नियोगमात्र भङ्ग गर्दै छैनन्, सरकारको कार्यक्षेत्र नै सङ्कुचन गर्दैछन् । जस्तो कि युएसएड बन्द गर्ने निर्णय । यसले अमेरिकी सरकारको खर्च घट्यो होला तर, प्रभाव के भयो ? कार्यक्षेत्र के भयो ? यसमार्फत हुँदै आएका विश्व सम्बन्ध अब कसरी सञ्चालित हुन्छन् ?

युएसएड हुँदा र नहुँदाको अमेरिका र अमेरिकी राष्ट्रपति उत्तिकै प्रभावशाली रहन सक्ला ? सायद सक्दैन ।

मस्क र ट्रम्प दुवैको हिसाब गर्ने तरिका व्यापारिक छ । दुवैको पृष्ठभूमि व्यापार नै हो । तर, के राजनीति भनेको व्यापारजस्तै हो ? के राजनीतिमा पनि त्यसरी नै नाफा घाटाको आर्थिक हिसाब गर्न सकिन्छ, जसरी व्यापारमा गरिन्छ ? सम्भवत: राजनीतिमा त्यस्ता क्षेत्र र कर्तव्य पनि हुन्छन्, जसको लाभहानीलाई अल्पकालमा आर्थिक गणना गर्न सकिँदैन । दीर्घकालमा मात्र तिनको रणनीतिक महत्त्व खुल्छ ।

त्यसो त मस्क व्यापारभन्दा बढी विज्ञानसँग जोडिएका छन् । उनका टेस्ला र स्पेस एक्सजस्ता कम्पनी व्यापार बन्नुभन्दा अघि विज्ञान थिए । प्रविधि र आविष्कार थिए । तर, विज्ञान र राजनीतिबीच पनि दूरी हुन्छ । विज्ञान ‘प्योर साइन्स’ हो र राजनीति ‘भावनात्मक विज्ञान’ । विज्ञान र आविष्कारको यान्त्रिकी हुन्छ । राजनीति यान्त्रिक कम र मानवीय बढी हुन्छ ।

मस्कको वैज्ञानिक पराक्रम ट्रम्पसँगको सम्बन्धको आधार हैन । सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान क्रममा मस्क ट्रम्पसँग जोडिए । तर, मस्कका कम्पनीहरू त्यसअघि नै स्थापित भइसकेका थिए । भलै कि मस्कका कम्पनीहरूको द्रुत उन्नतिमा ट्रम्पको पहिलो कार्यकालको स्पेस प्रविधिमा लगानी र अनुदान बढाउने नीति सहयोगी भएको थियो ।

ट्रम्पको चुनावी अभियानमा गरेको खर्चभन्दा धेरै मस्कले आर्थिक प्रतिफल पाइसकेका छन् । ट्रम्पको राजनीतिक सफलतासँगै उनका कम्पनीहरूको शेयर मूल्य आकासिएको छ । ट्रम्पले सत्ता सम्हालेको २ महिनाको छोटो अवधिमै मस्कको कुल सम्पत्ति ३३० बिलियन डलरबाट बढेर ३७० बिलियन डलर पुगेको बताइन्छ ।

मस्कले राज्यमा हैसियत पनि पाएका छन् र निजी सम्पत्ति पनि बढाएका छन् । तर, के ट्रम्पलाई मस्कसँग सम्बन्धले उस्तै फाइदा पुर्‍याएको छ ? यो प्रश्न भने अनुत्तरित नै छ । मस्कले खर्च कटौतीका नाममा खारेज गर्न सिफारिस गरेका एजेन्सीहरूको कारण सरकारको कार्यसम्पादन क्षमता कति बढ्यो र अमेरिकी नागरिकलाई के कति फाइदा भयो ? त्यसको भने कुनै प्रस्ट तथ्याङ्क आएको छैन ।

ट्रम्प प्रशासनमा मस्कको भूमिका ‘स्वार्थ–बझान’ मुक्त छ भनेर मान्न धेरैलाई गाह्रो परिरहेको छ । अझ कतिपय ट्रम्प प्रशासनमा मस्कको स्थान र उनका व्यापारिक स्वार्थले धेरै चिज निर्धारण गर्न सक्ने ठान्दछन् ।

जस्तो कि चीन मामिलाका जानकार मस्कले चीन–अमेरिकाबीच नयाँ सन्तुलन खोज्ने विश्वास गर्दछन् । किनकि चीनमा मस्कको कम्पनी टेस्लाको ठूलो लगानी छ । चीनसंगको सम्बन्ध बिगारेर उनी आफ्नो लगानीलाई जोखिममा पार्न चाहँदैनन् । चीन विद्युतीय सवारी साधनको ठूलो बजार हो ।

त्यस्तो बेला के होला जब मस्कका व्यापारिक स्वार्थका लागि ट्रम्पले आफ्ना विदेश नीतिमा समायोजन खोज्न पर्ने छ ? यो क्षण ट्रम्प–मस्क सम्बन्ध अहिले जस्तै सुमधुर रहिरहन गाह्रो पर्ने छ ।

मस्कको अधैर्यता र मनका कुरा भन्नै पर्ने ‘अकूटनीतिक स्वभाव’ ले समस्या ल्याउन सक्दछ । जस्तो कि जर्मनीको चुनावमा उनले दक्षिणपन्थी दल एएफडिको पक्षमा खुलेर पैरवी गरे । तर, सिडियू सबैभन्दा ठूलो पार्टी भएर आयो । सिडियू नेता फ्रेडरिख मर्जले युक्रेन मामिलामा ट्रम्पका नीतिको आलोचना गरेर अप्ठ्यारोमा पारिदिए ।

यस्ता केही संवेदनशील बिन्दु छन्, जसले मस्क–ट्रम्प सम्बन्धको नाजुक पक्षलाई सङ्केत गर्दछन् । भन्न सकिन्न– एलन मस्कले अन्ततः ट्रम्प प्रशासनका लागि के परिणाम देलान् वा परिणामहीन फर्किएलान् ?

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register