सरकारका गलत काममा सँगै हुँदैनौँ, कुलमान हटाउने निर्णय तीन कारणले गलत छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले नेतृत्वको सरकारले गर्ने सबै गलत कदममा काङ्ग्रेस सँगै नरहने बताएका छन् । संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सात बुँदे समझदारीमा प्रधानमन्त्रीले गरेका गलत कामको बचाउ गर्नुपर्ने उल्लेख नभएको बताए । प्रधानमन्त्री ओलीले गर्ने गलतको कामको काङ्ग्रेसले विरोध गर्ने उनको भनाइ छ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी […]

Mar 27, 2025 - 06:50
 0
सरकारका गलत काममा सँगै हुँदैनौँ, कुलमान हटाउने निर्णय तीन कारणले गलत छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले नेतृत्वको सरकारले गर्ने सबै गलत कदममा काङ्ग्रेस सँगै नरहने बताएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सात बुँदे समझदारीमा प्रधानमन्त्रीले गरेका गलत कामको बचाउ गर्नुपर्ने उल्लेख नभएको बताए ।

प्रधानमन्त्री ओलीले गर्ने गलतको कामको काङ्ग्रेसले विरोध गर्ने उनको भनाइ छ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेर गलत गरेको उनको भनाइ छ ।

तीन कारणले सरकारको यो निर्णय अनुचित रहेको उनले बताए । पहिलो, कुलमानको पदावधि बाँकी नै रहेकाले, दोस्रो चैत १९ भित्र अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्ने अवस्थाले र तेस्रो सरकारप्रति नागरिक असन्तुष्टी बढेको समयमा निर्णय गरेकाले यो कदम गलत रहेको उनले बताए ।

“तीन कारणले कुलमानलाई हटाउनु हुँदैनथ्यो । पहिलो पदावधि बाँकी थियो । सरकारले केही समय पर्खिएन । दोस्रो सरकारले प्रतिस्थापन विधेयक पारित गर्दै चैत्र १९ गतेभित्र प्रमाणिकरण गर्नुपर्नेमा यो निर्णयले संसद् अवरूद्धको स्थिति पैदा गर्‍यो । तेस्रो कारण नागरिक पङ्क्तिमा  असन्तुष्टी भइरहेको बेला सरकारले असन्तुष्टीमा घिउ हालेको छ,” उनले भने ।

कुलमान घिसिङको बर्खास्तीको प्रकरण अदालतमा पुगेको भन्दै अदालतमा विचाराधीन विषयलाई लिएर प्रतिपक्षीले संसद् अवरूद्ध गर्न नहुने बताए ।  प्रधानमन्त्रीले गरेका हरेक निर्णयमा संसद्‌लाई जवाफ दिनुपर्ने गलत नजिर स्थापनाको कोशिस भइरहेको भन्दै उनले प्रतिपक्षीलाई संसद खुलाउन आग्रह गरेका छन् ।

“कुलमान घिसिङ बर्खास्तको प्रकरण अदालतमा पुगेको छ । अदालतमा विचाराधीन विषयलाई लिएर संसद्‌मा अवरोध खडा गर्नु हुँदैन ।अर्को कुरा प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा संसदमा जवाफ माग गर्ने विषय पनि त्यति राम्रो होइन । प्रतिपक्षीको विरोध जायज छ तर कार्यकारीले गरेको हरेक निर्णयमा संसदमा जवाफ दिनुपर्ने बाध्यता सिर्जना गर्ने नजिर बस्यो भने त्यो राम्रो हुँदैन,” उनले भने ।

कुलमान घिसिङलाई बर्खास्त गरेको प्रकरणमा सामाजिक सञ्जालमा मात्रै नभएर संसद्‌मा समेत महामन्त्री गगत थापा र आफूले विरोध गर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register