‘यू डोन्ट नीड अ वेदरम्यान…’

अत्यन्त जोडबल गरेर लोकतन्त्र र गणतन्त्रको पक्षमा भीषण तर्कहरू प्रस्तुत गर्नु परेको छ भने, यसको अर्थ समस्या कतै न कतै छ भन्ने नै हो । तर, त्यो समस्याको केन्द्रबिन्दु न ज्ञानेन्द्र हुन्, न तिनका समर्थक ।

Apr 1, 2025 - 04:26
 0
‘यू डोन्ट नीड अ वेदरम्यान…’

अमेरिकी महान गायक, गीतकार बब डिलनको सन् १९६५ को एउटा गीत छ – सबटेरेनिएन होमसिक ब्लुज (Subterranean Homesick Blues)

गीतमा एउटा पङ्क्ति छ ‘यू डोन्ट नीड अ वेदरम्यान टू नो व्हिच वे द विंड ब्लोज’ (You don’t need a weatherman to know which way the wind blows)

डिलनले मौसमविद् (weatherman) लाई एक मेटाफोरको रूपमा प्रयोग गरेका छन्, कि कुनै प्रत्यक्ष कुरा बुझ्न वा देख्न ‘विज्ञ’ कै आवश्यकता पर्दैन ।

यहाँ हावा (Wind) एउटा प्रतीकको रूपमा प्रयोग गरिएको छ – समाजको अवस्था, परिवर्तनको चाहना वा दिशाका लागि । भन्नुको अर्थ के भने, कतिपय विषयहरू कता, कसरी बढिरहेका छन् भन्ने जान्न, बुझ्न न ‘आधिकारिक व्यक्ति’मा भर पर्नु पर्छ न ‘बाह्य प्रमाणीकरण’मा नै ।

हालैका दिनहरूमा पूर्वराजा ज्ञानेन्द्रका विभिन्न रङ्ग र खोल ओढेका समर्थकहरू गोलबन्द भएर नेपालको संविधान नै ‘उल्ट्याउने’ भन्ने कर्कश आवाज निकाल्दै  सडकमा ओर्लिएका छन् । अनि लोकतान्त्रिक राजनीतिक दल र नेताहरू रक्षात्मक बनेका छन् । पछिल्ला केही दिन उनीहरूले तीव्र प्रतिक्रिया दिनमै बिताएका छन् । नेपाल लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भएको डेढ दशकपछि पनि बहस यो व्यवस्था राम्रो कि राजतन्त्र राम्रो भन्नेमा अल्झिएको छ ।

लोकतन्त्र, गणतन्त्रको सरल अर्थ के हो ? जनताको तन्त्र अथवा जनताको राज्य । राजतन्त्र भनेको कुनै (एक) राजाको तन्त्र, शासन वा राज्य । जनताको राज्य र  जनताको आफ्नै शासन राम्रो कि कुनै एक व्यक्तिद्वारा शासित हुने भन्नेमा खास बहस नै जरुरी छैन / थिएन । यदि छ भने, र त्यसरी अत्यन्त जोडबल गरेर लोकतन्त्र र गणतन्त्रको पक्षमा भीषण तर्कहरू प्रस्तुत गर्नु परेको छ भने, यसको अर्थ समस्या कतै न कतै छ भन्ने नै हो । तर, त्यो समस्याको केन्द्रबिन्दु न ज्ञानेन्द्र हुन्, न तिनका समर्थक । यी त धमिलो पानीमा माछा मार्न सल्बलाएका तत्त्वहरू हुन्, र खास भन्ने हो भने, रहि नै रहनेछन्। 

नेपाली दल र नेताहरूले जुन प्रत्यक्ष छ, जुन आँखा अगाडि छ त्यो कुरा महसूस गर्न र बुझ्न जबदेखि इन्कार गरिदिए समस्या त्यहाँबाट सुरु भएको हो । २०४६ मा प्रजातन्त्रको पुनरोदय भएपछिको खुलापन, नेपाली समाजले अब कहिल्यै पछाडि हेर्न पर्दैन भन्ने तरिकाले अगाडिको बाटो तय गर्ने प्रक्रियामा थियो ।  आम मानिसका सामाजिक, राजनीतिक अधिकारहरू बिस्तारै प्रत्याभूत हुँदै गएका पनि थिए । आर्थिक उडानका लागि आधार बनाउनु पर्ने समय थियो त्यो । त्यसपछिको माओवादी आन्दोलन त्यतिबेलासम्म पनि ऐतिहासिक रूपमा उत्पीडित र सीमान्तकृत वर्ग र समुदायको अधिकार र राज्यमा उनीहरूको पहुँच बिस्तारका लागि थियो ।

तर, ज्ञानेन्द्रले २०६१ मा हठात् शासन हत्याउने मूर्खता गरेर नेपाली जनतालाई लोकतन्त्रको आवश्यकता र महत्त्व बुझ्ने झनै ठूलो मौका दिए, जसले गर्दा जनसागर सडकमा ओर्लियो । ज्ञानेन्द्रले आफ्नो गद्दी त गुमाए नै, उनकै मूढताका कारणले राजसंस्था नै इतिहास भयो । अब त्यो भूत भइसक्यो, भूतका छायाँहरू कहिलेकाहीं मडारिए झैँ हो अहिलेको यो राजावादी ‘आन्दोलन’ ।

मूल मुद्दा के हो भने, नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि दल र नेताहरूले हावाको दिशा नै खुट्याउन सकेनन् । जुन तप्काले ‘डेटा’ देखाउँदै ‘सबै गजब छ’ भन्ने ‘न्यारेटिभ’ दिइराखे, तिनले पनि हावा कता बगिराखेको छ भन्ने कुरालाई नजरअन्दाज गरिदिए ।

बढ्दो बेरोजगारी, व्यवसाय गर्ने वातावरणको अभाव (ठूला निजी क्षेत्रको कुरा मात्र हैन, अनौपचारिक अर्थतन्त्रमा आश्रित समूह), उच्च शिक्षाका लागि देशमै मौकाको अनुपलब्धता, आधारभूत सेवा प्रवाहमा समस्या जस्ता सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरू दल, नेता र एक पछि अर्को बन्दै गरेका सरकारका प्राथमिकतामै परेनन् । लोकतन्त्रमा दल र सरकारको तार आम जनतासँग जोडिएको हुन्छ, तर नागरिकमा बढ्दै गरेको असन्तुष्टिको भेउ सत्ता सञ्चालकले पाउँदै पाएनन् । यी विषय त हावा कता बग्दै छ भन्ने कुनै ‘वेदरम्यान‘ले नभनेर नै थाहा हुनु पर्ने हो ।

फागुन २५ मा ज्ञानेन्द्रको स्वागतमा जम्मा भएका मानिस (सबै राजावादी थिएनन्, हैनन्) को जमात देखेर रक्षात्मक बनेका सत्ताधारी दलको मूर्खताले चरम सीमा तब नाघ्यो जब उनीहरूले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाइदिए । कुलमान वा कुनै पनि अरु कर्मचारीलाई देवत्वकरण गर्नुपर्ने कुनै कारण त छैन नै, तर उक्त कदमले सरकारमा रहेका दलहरू समय र हावाको बहाव बुझ्न कति असफल र अटेर छन् भन्ने उदाहरण पक्कै दिएको छ ।

स्वार्थ समूहको चंगुलमा नराम्ररी फसेका नेपालका दलहरूले अझै पनि सच्चिने वा सुध्रिने छाँट देखाइरहेका छैनन् । केन्द्रीय बैङ्कको गभर्नर पदका लागि चलिरहेको हानथापमा उनीहरूको ‘सहभागिता’ नेपाली दलहरूले हावाको बहावलाई कति जबर्जस्त रूपमा नजरअन्दाज गरिरहेका छन् भन्ने अर्को दृष्टान्त: हो ।   

हो, यस्तै कारणहरूले हो कतिपय मानिस राजावादी ‘आन्दोलन’मा देखा परेको । यसलाई एक विडम्बना नै मान्नु पर्छ कि दुर्गा प्रसाईं जस्तो विवादास्पद र अराजक मानिसको बारेमा आज सिङ्गो समाजले बहस गर्नु परिरहेको छ । उसलाई त्यस्तो बनाउन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली (चारपटक सरकार प्रमुख) र भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (तीनपटक सरकार प्रमुख) उत्तिकै दोषी हैनन् ? नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा (पाँचपटक सरकार प्रमुख र छैटौँपटक प्रधानमन्त्री बन्न तम्तयार) बाट आम मानिसले कुनै आशा राखेका छैनन्, राख्ने ठाउँ नै छैन । उनको ओलीप्रतिको अनुराग अहिले चरम उत्कर्षमा किन छ भनेर आम जनताले नबुझेका पक्कै छैनन् ।  

अझै पनि हावा कुन दिशामा बहेको छ भन्ने थाहा पाउन नेपाली दल र नेताहरूलाई, विशेषगरी शीर्ष भनाउँदा हरूलाई, कुनै ‘वेदरम्यान’ले भन्दिनु पर्ने हो ? डिलनको गीतको मेटाफोरको रूपमा प्रयोग गरिएको ‘वेदरम्यान’ त छोडौँ, साच्चिकै ‘वेदरम्यान’ले प्रक्षेपण गरेको बाढी पहिरो र त्यसले निम्त्याउनसक्ने खतरालाई बेवास्ता गर्ने सरकार र सत्ताप्रति आम मानिसको विश्वास घट्दै जानु अस्वाभाविक हैन ।

जेलनेल भोगेका, घामपानी नभनेर सडकमा आन्दोलनको नेतृत्व गरेर लोकतन्त्र ल्याएका नेता र दल वर्तमान समाजको हावाको दिशा र बहाव महसूस गर्न नसक्ने गरी कसरी सुन्न (numb) भए त ?

चिकित्सकीय पद्धतिमा एउटा प्रक्रिया हुन्छ — ‘लोकल एनेस्थेसिया ।’ जस्तै बिग्रेको दाँत निकाल्नु पर्‍यो भने, चिकित्सकले त्यही वरिपरि एउटा ‘एनेस्थेसिया’को सुई लाइदिन्छन् । आँखा खुल्लै, दिमाग खुल्लै भए पनि, दुखाइ थाहा हुँदैन । आजका नेताहरू भ्रष्टाचार, शक्ति र पैसाको ‘एनेस्थेसिया’मा लठ्ठिएका छन्; उनीहरूको आँखा खुल्लै छ, दिमाग पनि खुल्लै छ, तर उनीहरू न आम मानिसमा बढेको असन्तुष्टिको, न त समाजमा बहिरहेको हावाको बहाव नै महसूस गर्न सक्छन् ।

शुक्रबारको राजावादी ‘आन्दोलन’को आयातन र सम्भावित प्रभाव आकलन गर्न नसक्नु पनि सत्ताधारी दलहरू कति निरपेक्ष छन् भन्ने उदाहरण हो । कमसेकम आफ्नै रेखदेखमा हुर्किएको दुर्गा प्रसाईं जस्तो अराजक व्यक्तिले सडकमा नेतृत्व गर्दै छ भन्ने थाहा पाएपछि ओली र उनको सरकारले त्यो ‘आन्दोलन’ हिंसात्मक हुन सक्छ भन्ने अनुमान गर्नुपर्ने थिएन ? दुई जनाको ज्यान जानु कुनै असामान्य घटना हो ?

शुक्रबारको ‘आन्दोलन’ हिंसात्मक हुनु राजावादीहरूका लागि एउटा झट्का हुन सक्ला, तर उनीहरू भविष्यमा फेरि अर्को कुनै अराजक ‘मोडेल’ मा प्रस्तुत हुन सक्ने परिदृश्यलाई नकार्न सकिने स्थिति भने छैन । साथै प्रश्न सत्ताधारीतर्फ पनि तेर्सिएको छ ।

पत्रकार मित्र रमेश कुमारले शनिबार X मा एउटा पोस्ट लेखे, ‘प्रकारान्तरले राजावादीको उपद्रोका कारण दलहरूको मनपरितन्त्र र अक्षमताले वाध्यात्मक स्वीकार्यता पाउने जोखिम पनि बढ्यो भन्न मिल्ला कि ! ?’

उनको प्रश्न र चिन्ता जायज र महत्त्वपूर्ण किन छ भने, दलहरूले अझै पनि हावाको दिशा नबुझ्ने हुन् कि भन्ने सम्भावना बढेर गएको छ । दल र नेताहरूले अहिलेसम्म पनि आफूले गल्ती गरेका हौँ / छौँ भन्ने न महसूस गरेका छन्, न तिनमा कुनै आत्मग्लानि नै छ । हालका दल र नेताहरूले आफ्नो अस्तित्वको आधार जनता र मात्र जनता हुन् भन्ने बिर्सिए झैँ देखिएको छ । त्यसकारण आजको आवश्यकता उनीहरूले जनतासमक्ष माफी मागेर अघि बढ्नु पर्ने हो । तर, समस्या के छ भने नेपाली दलहरू आम नागरिक, जो उनीहरूका शक्तिका श्रोत हुन्, लाई नचिने झैँ गर्छन् ।

नेपालको लोकतान्त्रिक गणतन्त्र कसैकसैलाई कमजोर जस्तो लागेर यही बेला यसमाथि प्रहार पो गर्न सकिन्छ कि भन्ने लागे पनि, जनताको विश्वास यसप्रति टुटिसकेको भने छैन । अहिलेको झैँ व्यवहार नेताहरूले प्रदर्शन गरिराख्ने हो भने पनि जाने अहिलेको व्यवस्था हैन, बरु उनीहरू नै बढारिने हुन् । हावाको बहाव र समयलाई चिन्न र बुझ्न अहिलेका शीर्ष भनिने नेताहरूले अझै ढिला गरे भने उनीहरूकै दिनगन्ती सुरु हुने नै छ । जनताले आफूले ल्याएको व्यवस्थाको प्रतिरक्षा त गर्छन्, गर्ने नै छन् ।

डिलनकै अर्को गीत छ नि — ‘टाइम्स दे आर अ चेन्जिङ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register