भीमदत्त भुलाउँदै महेन्द्र सम्झिँदै राजावादी
काठमाडौं । चैत २३ गते शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकामा राजावादीहरूको कार्यक्रम थियो । त्यो कार्यक्रममा काठमाडौंबाट पुगेका थिए, स्वागत नेपाल । अघिल्लो चुनावमा झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाल यतिखेर राजा फर्काउने अभियानमा छन् । ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’का प्रवक्ता छन्, स्वागत नेपाल । कञ्चनपुरको भीमदत्त नगरको कार्यक्रममा पुगेका स्वागत नेपालले भीमदत्त […]

काठमाडौं । चैत २३ गते शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकामा राजावादीहरूको कार्यक्रम थियो । त्यो कार्यक्रममा काठमाडौंबाट पुगेका थिए, स्वागत नेपाल ।
अघिल्लो चुनावमा झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाल यतिखेर राजा फर्काउने अभियानमा छन् । ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’का प्रवक्ता छन्, स्वागत नेपाल ।
कञ्चनपुरको भीमदत्त नगरको कार्यक्रममा पुगेका स्वागत नेपालले भीमदत्त नगरको नाम नै फेरेको घोषणा गरिदिए । नाम फेर्ने प्रस्ताव होइन, उनले फेरेको घोषणा नै गरिदिए ।
‘आजको कार्यक्रमबाट यति नै बेलादेखि, आजको यो मितिको, यो घडीको, यो पलादेखि यो नगरको नाम भीमदत्त नगर खारेज गरेको घोषणा गर्दछु । आजदेखि भीमदत्त नगर खारेज भयो, यो महेन्द्रनगर हो,’ स्वागत नेपालले भाषण गर्दै भने ।
भीमदत्त नगर कि महेन्द्रनगर
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा भीमदत्त नगरपालिका छ । बोलीचालीमा महेन्द्रनगर र औपचारिक रूपमा भीमदत्त नगर भन्ने गरिएको ठाउँको नाम करिब २०१८ साल अगाडि ‘घुसुडी बजार’ थियो ।
देश दौडाहामा निस्किएका तत्कालीन राजा महेन्द्रले ब्रह्मदेवमा रहेको कञ्चनपुरको मुख्य बजारलाई घुसुडीमा सार्न निर्देशन दिएका थिए भन्ने गरिन्छ । उनैले घुसुडी बजारलाई व्यवस्थित बनाउन पनि निर्देशन दिए । र, ब्रह्मदेवको बजार बिस्तारै घुसुडीतिर सर्न थाल्यो । र, बोलीचालीबाट पनि घुसुडी नाम हराउँदै गयो ।
महेन्द्रको निर्देशनपछि घुसुडीले आफ्नो नाम र चोला दुवै फेर्यो । नाम भयो महेन्द्रनगर । २०२३ सालमा आफ्नै नामको सहरलाई महेन्द्रले कञ्चनपुर जिल्लाको सदरमुकाम घोषित गरे । महेन्द्रले बसाएको (?) सहरको मध्य भागमा उभियो महेन्द्रको सालिक ।
२०३४ सालमा यो महेन्द्रनगर नगर पञ्चायत भयो । २०४६ को राजनीतिक परिवर्तनपछि यो महेन्द्रनगर नगरपालिका भयो । २०६२-०६३ को जन–आन्दोलनपछि यो सहरले फेरी एकपटक नाम फेर्यो । २०६५ साल कार्तिक २० मा महेन्द्रनगरको नाम फेरेर भिमदत्तनगर राखियो ।
सहरको नाममा बस्ने भीमदत्त को थिए ?
नेपाली समाज र राजनीतिका अध्येताहरूले भीमदत्त पन्तलाई किसान आन्दोलनका प्रणेता मान्छन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सुदूरपश्चिम क्षेत्रमा सक्रिय थिए, भीमदत्त ।
पूर्णप्रकाश नेपाल ‘यात्री’को किताब ‘सेती अञ्चल दिग्दर्शन’मा उल्लेख भएअनुसार ००७ सालको आन्दोलनमा सुदूरपश्चिम क्षेत्रबाट कार्यकर्ता परिचालन गरेको भन्दै भीमदत्तलाई डडेलधुरा जिल्लाको गभर्नर पनि बनाइएको थियो ।
तर, राणा शासन हटेर प्रजातन्त्र आइसक्दा पनि आम नागरिक र किसानको अवस्था परिवर्तन नभएपछि आक्रोशित भएका भीमदत्तले सुदूरपश्चिममा आन्दोलन चर्काए । इतिहासका विवरण अनुसार उनले आफ्नै सेना बनाए । सुदूरपश्चिम पहाडबाट नुन लिन तराई झरेका किसानले नुन नपाएपछि ब्रह्मदेव मन्डी (बजार) कब्जा गरेर भीमदत्तले किसानलाई नुन बाँडे ।
यति मात्र होइन, उनले गाउँका जमिनदार, ठूला ठालुको जग्गा जमिन पनि कब्जा गरेर गरिब किसानलाई बाँड्न सुरु गरे । किसान आन्दोलन चर्काएपछि २०१० सालमा मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले भीमदत्तलाई कम्युनिस्ट घोषित गर्यो । त्यस समयमा कम्युनिस्टमाथि प्रतिबन्ध पनि लगाइएको थियो ।
तर, कम्युनिस्ट नेता अरविन्द रिमालको बुझाइमा भने भीमदत्त कम्युनिस्ट नभई रबिनहुड थिए । ‘१९९७ सालदेखि २०१७ साल, एक अवलोकन’ पुस्तकमा रिमालले भीमदत्तबारे लेखेका छन्, ‘कम्युनिस्ट पार्टीको कार्यक्रमले पनि उनलाई आकर्षित गर्न सकेन । उनी त्योभन्दा धेरै अघि बढ्न चाहन्थे । उनी शब्दको सही अर्थमा रबिनहुडजस्ता थिए । दिन दुःखीहरूको हितैषी, मित्र एवं मुक्तिदाता ।’
सुदूरपश्चिम क्षेत्रमा किसान भेला पारेर आन्दोलन चर्काएपछि तत्कालीन प्रधानसेनापति किरण शमशेर राणाले त भीमदत्तलाई जिउँदै वा मृत ल्याउनेलाई ५ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।
भीमदत्तलाई पक्राउ गर्न नेपाली प्रहरी र सैनिकको संयुक्त टोली खटियो । तर, पक्राउ गर्न नसकेपछि नेपाल सरकारले भारत सरकारको सहयोग माग्यो ।
गृष्मबहादुर देवकोटाको किताब ‘नेपालको राजनीतिक दर्पण–१’ मा लेखिए अनुसार ‘०१० साल आषाढको सुरुदेखि सुदूरपश्चिम नेपालमा भीमदत्त पन्तद्वारा अशान्तिको वातावरण सुरु भयो । यस अशान्तिको दमनका निम्ति नेपाल सरकारले भारतबाट सशस्त्र सैनिक ल्यायो । र, नेपाल भारत संयुक्त सैनिक कारबाही गरायो ।’ भारतीय फौजले दुई नेपालीको हत्या गर्यो, ५० जना घाइते बनायो भने २७२ जना पक्राउ गर्दा पनि भीमदत्त पन्तलाई पक्रन सकेन ।
अन्ततः १७ साउन २०१० मा भीमदत्तलाई भारतीय सैनिक र नेपाली सैनिकको संयुक्त फौजले मार्यो । भीमदत्त मारिएको समाचारबारे देवकोटा लेख्छन्, ‘०१० श्रावण २० गतेका दिन ‘पश्चिम सीमान्त जिल्ला डडेलधुराको जङ्गलमा सरकारका तर्फबाट खटिएका दमनकारी सैनिकहरूका बीच गोली हानाहान हुँदा भीमदत्त पन्त मारियो’ भन्ने समाचार प्रकाशित भयो ।’
रिमालले भीमदत्तको हत्यापछि काटिएको टाउको र शरीर भारतीय फौजले डडेलधुरा बजारमा प्रदर्शन गरेको कुरा पनि लेखेका छन् । उनी लेख्छन्, ‘पश्चिमी सीमान्त जिल्ला डडेलधुराको जङ्गलमा टाउको काटिएको र गोली हिर्काएर छियाछिया पारिएको भीमदत्त पन्तको शरीरलाई भारतीय फौजहरूको मद्दतबाट नेपाली फौजहरूले प्रदर्शनसमेत गरे ।’
भीमदत्त पन्तको हत्या गर्न भारतीय सैनिक परिचालन गरिएको विषयमा सुदूरपश्चिममा गीत पनि रचिएको छ । पूर्णप्रकाश नेपाल ‘यात्री’ ले आफ्नो किताब ‘सेती अञ्चल दिग्दर्शन’मा उक्त गीत सङ्कलन गरेका छन् ।
‘एकलो भीमदत्त कताकता धाऊँ
ताहैत भीमदत्त वडेहाका गाउँ
शान्ति अशान्ति जनताका रोज
आइपुग्यो भारती भीमदत्त खोज
भीमदत्त पन्तले पाइहाल्यो चाल….।’
डडेलधुरामा जन्मिएर कञ्चनपुरमा विद्रोह गरेका भीमदत्तको सम्झनामा सरकारले भीमदत्त नगर नामकरण गरेको हो । भीमदत्तले कब्जा गरेर नुन बाँडेको ब्रह्मदेव बजारमा उनको सालिक पनि राखिएको छ ।
किसानका लागि सङ्घर्ष गर्दा गर्दै मारिएका भीमदत्तले सहिद कहलाउन पनि ६२ वर्ष कुर्नुपर्यो । मारिएको ६२ वर्षपछि २०७२ को फागुन १९ मा भीमदत्तलाई सरकारले सहिद घोषणा गर्यो ।
भन्नेहरू त भन्छन्, ‘नाममा के छ र ?’ तर, जे छ नाममै छ । नाममा केही नहुँदो हो त देशभरका स्कुल र सहरका नाम राजा-रानीको नामबाट हुने थिएनन् ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सहरका मुस्लिम नाम फेरेर हिन्दु नामकरण गर्ने थिएनन् । पहिचानको पहिलो दृश्य, अनुभूति हो नाम ।
प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई भन्ने गर्छन्, ‘नाममा धेरै थोक छ । नाममा खास किसिमको मानव सभ्यताको खास कडी छ । संस्कृति, भाषा, जाति, वाङ्मय, ज्ञान परम्परा, इतिहास धेरै थोक छ ।’
नागरिकको हातमा पुगेको व्यवस्थालाई फेरी ‘राजाको निगाह’मा पुर्याउन कस्सिएका राजावादीलाई आम मान्छेको नाममा सहरको नाम भएको कसरी चित्त बुझ्थ्यो ! व्यवस्था नै फेर्न हिँडेका राजावादीले नाम फेर्न खोज्नु कुन नौलो कुरा हो र ?
किन फेर्ने नाम ? – के भन्छन् स्वागत नेपाल ?
‘शनिवार भएको कार्यक्रममा बोलेको हुँ मैले । भीमदत्तप्रति एकदमै सम्मान छ . तर, भीमदत्तभन्दा पहिला त्यो ठाउँको नाम महेन्द्रनगर नै हो । भीमदत्तको जन्म पनि माथि (डडेलधुरा) भएको हो । भीमदत्तको योगदान देशभरिकै लागि छदैंँछ । भीमदत्तको जन्म र योगदानको हिसाबले मात्र नभई उनी जन्मेका ठाउँका मान्छेको सेन्टीमेन्टका हिसाबले पनि भीमदत्त जन्मेको ठाउँको नाम भीमदत्त नगर राख्नुपर्छ ।
अहिले भीमदत्त भन्ने गरिएको ठाउँ महेन्द्रले बसाएको बस्ती हो । देशभर जहाँ–जहाँ महेन्द्रले बस्ती बसाए ती ठाउँमा सीमा मिचिएको छैन । महेन्द्रले भूमि सुधार लागू गरेको ठाउँ पनि हो, महेन्द्रनगर । महेन्द्रनगरमा साहु महाजनबाट जग्गा जमिन किसानलाई दिलाएका हुन्, महेन्द्रले । त्यस कारण यस्तो ठाउँको नाम महेन्द्रनगर परिवर्तन गर्न जरुरी थिएन । र, त्यो ठाउँको नाम महेन्द्रनगर नै हुनुपर्छ ।’
What's Your Reaction?






