डढेलोको चपेटामा मकवानपुर, १० वटै पालिका प्रभावित

हेटौँडा । मकवानपुरमा दैनिक जसो डढेलो लाग्ने कुरा सामान्य जस्तो हुन थालेको छ । धेरै लामो समयदेखि पानी नपरेका कारण सुख्खा बनेको जिल्लाका १० वटै पालिकाका अधिकांश जङ्गल रहेका स्थानहरू डढेलोको चपेटमा परेका छन् । बिकट पालिकादेखि हेटौँडा उपमहानगरका आसपासका क्षेत्रमा समेत डढेलो फैलिएको छ । जिल्ला वन कार्यालयसँग उपलब्ध तथ्याङ्क अनुसार सामुदायिक जङ्गलमा लागेको […]

Apr 8, 2025 - 15:37
 0
डढेलोको चपेटामा मकवानपुर, १० वटै पालिका प्रभावित

हेटौँडा । मकवानपुरमा दैनिक जसो डढेलो लाग्ने कुरा सामान्य जस्तो हुन थालेको छ । धेरै लामो समयदेखि पानी नपरेका कारण सुख्खा बनेको जिल्लाका १० वटै पालिकाका अधिकांश जङ्गल रहेका स्थानहरू डढेलोको चपेटमा परेका छन् ।

बिकट पालिकादेखि हेटौँडा उपमहानगरका आसपासका क्षेत्रमा समेत डढेलो फैलिएको छ । जिल्ला वन कार्यालयसँग उपलब्ध तथ्याङ्क अनुसार सामुदायिक जङ्गलमा लागेको डढेलोले २,६३६ हेक्टर क्षेत्रफल  भू-भाग नष्ट गरेको छ ।

जिल्लास्थित डिभिजन वन कार्यालय हेटौँडाका अनुसार अधिकांश वन क्षेत्रमा दुई वर्षयता रोपेका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । डढेलोले १०२ वटा वयस्क र पुराना रुखसहित १ लाख ३ हजार ५ सय ६२ थान बिरुवा नष्ट भइसकेको कार्यालयका वन डढेलो फोकल पर्सन हेम पाठक बताउँछन् । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको जोखिममा परेकाले उच्च सतर्कता अपनाउन फिल्डमै पुगेर सबैमा आग्रह गरिएको पाठकले जानकारी दिए ।

डिभिजन वन कार्यालय हेटौँडा र प्रदेश वन मन्त्रालयको छेवैमा रहेको वनस्खण्डी र सुन्दर सामुदायिक वनमा पनि चैत लागेसँगै दैनिक रूपमा डढेलो लाग्नाले केही दिनयता हेटौँडा सहरलाई धुवाँले ढाकेको छ ।

हेटौँडा उपमहानगरमा रहेको २ वटा दमकलले बस्ती नजिकैको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको उपमहानगरकी वातावरण इन्जिनियर चन्दा खड्काले जानकारी दिइन् । उपमहानगरले पनि वन डढेलो नियन्त्रणका लागि वार्षिक रूपमा बजेट व्यवस्थापन गरी कार्य गरिरहेको खड्काले बताइन् ।

खड्काका अनुसार २ वटा वारुण यन्त्र र त्यसका १४ कर्मचारीसहित थप ३३ नगर प्रहरी सतर्क रूपमा रहेका छन् भने स्वास्थ्यसम्बन्धी समस्या पर्दा ९६ स्वास्थ्यकर्मी र ९१ जना महिला स्वयंसेविका समेत खटाइएको छ ।

जिल्लाको १० वटै पालिका प्रभावित, एक जनाको मृत्यु

डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीका अनुसार समाचार तयार पार्दासम्म अहिलेको अवस्थामा जिल्लाका १० वटा स्थानीय तहका १ सय ५४ स्थानमा डढेलो लागेको छ ।

उनका अनुसार जिल्लमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ४३ स्थानमा वन डढेलो लागेको छ । उपमहानगर क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वनहरूमा गरी ६१४ हेक्टर वनमा डढेलो लागेको छ । यस्तै जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकामा ९ स्थानमा डढेलो लाग्दा १०४ हेक्टर क्षेत्रफलको वन विनाश भएको छ ।

यसै गरी इन्द्रसरोवर गाउँपालिकामा १६ स्थानको ४ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको चन्द्रवंशीले जानकारी दिए । उनका अनुसार कैलाश गाउँपालिकाको १० स्थान वन डढेलो लाग्दा २९५ हेक्टर, राक्सिराङ गाउँपालिकाको ३ स्थानमा डढेलो लाग्दा १५० हेक्टर, भीमफेदी गाउँपालिकाको १२ स्थानमा डढेलो लाग्दा ३४८ हेक्टर क्षेत्रफलको वन विनाश भएको छ ।

यसै गरी जिल्लाको मनहरी गाउँपालिकाको ५ स्थानमा डढेलो लाग्दा १७७ हेक्टर, मकवानपुर गढी गाउँपालिकाको ८ स्थान स्थानमा डढेलो लाग्दा २२६ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको तथ्याङ्क छ । यस्तै, बकैया गाउँपालिकामा २१ स्थानमा ६० हेक्टर वनमा डढेलो लागेको छ भने बागमती गाउँपालिकामा २७ स्थानमा डढेलो लाग्दा ३२१ हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै वनमा लागेको डढेलोबाट गोठ बचाउन गएका भीमफेदी १ नयाँगाउँका ४९ वर्षीय अकिलबहादुर पाख्रिनको भिरबाट लडेर ज्यान गएको छ । राती ११ बजे श्रीमती बीपीमाया पाख्रिन र दाइ नाता पर्ने रत्नकुमार पाख्रिनसहित घरदेखि एक सय मिटर टाढा रहेको बोकेदह सामुदायिक वनमा लागेको आगो निभाउन गएका पाख्रिन भीरबाट लडेका थिए । रातको समयमा स्थानीयले खोज्दा फेला नपरेका पाख्रिन भोलीपल्ट बिहान भीरबाट झन्डै २ सय मिटर तल खसेर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनको शव भोर्लाको लहरामा अड्किएको र डढेलोले जलेको अवस्थामा फेला परेको थियो ।

मकवानपुरको राक्सिराङमा मात्रै वनबाट फैलिएको आगोका कारण ३ वटा आगलागीका घटना भएका छन् । राक्सिराङ गाउँपालिका–७ मा जङ्गलमा लागेको आगो घरमा सल्किदा स्थानीय सुब्बा प्रजा र चन्द्र प्रजाको घर र गोठ जलेर नष्ट भएको छ । जङ्गलबाट लागेको आगो हावाहुरीको कारणले जङ्गल नजिकै रहेको सुब्बा र चन्द्रको काठको खरले छाएको कच्ची घर र घरसङ्गै रहेको खाली बाख्रा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार जङ्गलमा लागेको आगो सल्कीदाँ राक्सिराङ–४ का राम बहादुर थिङको काठको खरले छाएको कच्ची घर जलेर नष्ट भएको छ । यस्तै मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी भालुडाँडा स्थित राष्ट्रिय वनमा डढेलो लाग्दा स्थानीय मिठ्ठु सिलवालको कच्ची घर र वेद बहादुर सिलवालको गोठ जलेर नष्ट भएको छ ।

डढेलो नियन्त्रणका लागि बजेट १५ लाख रुपैयाँ मात्रै

चालु आर्थिक वर्षमा जिल्लामा वन डढेलो नियन्त्रणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यही बजेटको सीमितताभित्र रहेर डढेलो नियन्त्रणको कोशिस गरिरहेको बताउँछन् वन अधिकृत चन्द्रवंशी । उनका अनुसार जिल्लाको विकट भौगोलिक बनावटका कारण डढेलो नियन्त्रणमा लिन कठिन भइरहेको छ । तर बजेटको अभावका कारण त्यसलाई प्रभावकारी बनाउन सकिएको छैन ।

उनले उपलब्ध स्रोत र साधनको प्रयोगबाट वन डढेलो नियन्त्रणको प्रयास भइरहेको बताए । कतिपय स्थानका सामुदायिक वनका सदस्यहरू आफैँले वनमा लागेको डढेलो नियन्त्रणको प्रयास गर्ने गरेको उनले सुनाए । ‘हामीले डिभिजन वन कार्यालयमा उपलब्ध स्रोत र साधनको प्रयोगबाटै वन नियन्त्रणको प्रयास गरेका छौँ । साँच्चै भन्ने हो भने हामीसँग पर्याप्त स्रोत र साधन नै छैन,’ उनले भने, कतिपय स्थानमा त सामुदायिक वनमा लागेको डढेलो वनका सदस्य र स्थानीयको प्रयासमै निभाउने गरिएको छ ।’

वन मन्त्रालयसलाई जिल्लाले पठाउँदैनन् तथ्याङ्क

१३ वटा जिल्ला रहेको बागमती प्रदेशमा मकवानपुरजस्तै अन्य जिल्लामा पनि डढेले तीव्र गतिमा बढेको छ । चितवन, धादिङ, सिन्धुली, मकवानपुर, ललितपुर, काभ्रे, दोलखा लगायत प्रायः सबै जिल्लाका वनमा डढेलो लागेको भएता पनि बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले मकवानपुर, रसुवा, दोलखा र नुवाकोटमा मात्र डढेलो लागेको तथ्याङ्क मात्रै प्राप्त गरेको छ ।

पटक-पटक तथ्याङ्क माग गर्दा पनि जिल्ला तथा निर्देशनालयले तथ्याङ्क नपठाएको मन्त्रालयका सूचना अधिकारी सञ्जीव सुवेदीले बताए । प्रदेशका १३ जिल्लाका १५ वटा डिभिजन रहेको भएता पनि निर्देशनालय हुँदै मन्त्रालयलाई दिनुपर्ने वन डढेलोसम्बन्धी तथ्याङ्क अझैसम्म पनि मन्त्रालयमा नआएको सुवेदीले बताए । प्रदेशका १३ जिल्लाको कति क्षेत्रफलमा डढेलोले क्षति पुर्‍‍याएको छ भन्ने तथ्याङ्क समाचार तयार पार्दासम्म मन्त्रालयसँग छैन ।

प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालय र डिभिजन वन कार्यालयहरूबीच समन्वय नहुँदा तथ्याङ्क सङ्कलन प्रभावकारी हुन नसकेको देखिन्छ । साथै, व्यवस्थित सूचना प्रणालीको विकास नहुँदा वन डढेलो तथा अन्य विभिन्न घटनाका तथ्याङ्क सङ्कलनमा वन कार्यालहरूले तदारुकता नदेखाएको प्रस्टै देखिन्छ ।

सूचना अधिकारी सुवेदीका अनुसार मन्त्रालयमा डढेलो नियन्त्रण सामग्री खरिद, प्रचार प्रसार, अग्निरेखा निर्माण यस वर्ष वन डढेलो नियन्त्रण, क्षतिग्रस्त स्थानमा तारबार तथा बृक्षरोपण लगायतका शीर्षकमा २ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्रति डिभिजन १५ लाख रुपैयाँ भन्दा बढी बजेट रहँदा पनि समयमा मन्त्रालयले पहल लिन नसक्दा प्रदेशभर डढेलोबाट हुने क्षति बढिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register