काङ्ग्रेसभित्रैबाट ओलीको आलोचना रोक्न खोज्दै देउवा

काठमाडौं । सत्ता साझेदारका पदाधिकारीबाटै आफूविरूद्ध भइरहेका श्रृङ्खलाबद्ध आलोचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले त्यसलाई रोक्न खोजेका छन् । प्रधानमन्त्री ओलीले द्विपक्षीय छलफलमा काङ्ग्रेसबाटै बढिरहेको आलोचनामा असन्तुष्टि व्यक्त गरेपछि देउवाले त्यसलाई रोक्न खोजेका हुन् । बिहीबार बालुवाटारमा बसेको संयन्त्रको बैठकमा पनि ओलीले सरकार र आफूविरूद्धको श्रृङ्खलाबद्ध आलोचनाबारे देउवाको ध्यानाकर्षण […]

Apr 17, 2025 - 11:22
 0
काङ्ग्रेसभित्रैबाट ओलीको आलोचना रोक्न खोज्दै देउवा

काठमाडौं । सत्ता साझेदारका पदाधिकारीबाटै आफूविरूद्ध भइरहेका श्रृङ्खलाबद्ध आलोचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले त्यसलाई रोक्न खोजेका छन् ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय छलफलमा काङ्ग्रेसबाटै बढिरहेको आलोचनामा असन्तुष्टि व्यक्त गरेपछि देउवाले त्यसलाई रोक्न खोजेका हुन् । बिहीबार बालुवाटारमा बसेको संयन्त्रको बैठकमा पनि ओलीले सरकार र आफूविरूद्धको श्रृङ्खलाबद्ध आलोचनाबारे देउवाको ध्यानाकर्षण गराएका थिए । उच्चस्तरीय राजनीतिक संयन्त्रमै रहेका महामन्त्री गगन थापाले सरकारको चर्को आलोचना गरिरहेको विषयमा ओलीले देउवाको ध्यानाकर्षण गराउँदै सचेत गराउन आग्रह गरेका थिए । बैठकमा ओलीले भनेका थिए, ‘सरकारको संयन्त्रमा जो व्यक्ति छ, उसैले सरकारको विरोध गरेको छ । चित्त नबुझेका कुरा वा सरकारलाई  दिनुपर्ने सुझावका लागि संयन्त्र गठन गरेको होइन र ?’

त्यसपछि देउवाले व्यक्तिगत आलोचनालाई पार्टीगत धारणाका रूपमा नलिन ओलीलाई सुझाएका थिए । ‘व्यक्तिगत कुरा पार्टीको होइन नि । सानातिना कुरा आइहाल्छ नि !,’ उनले भनेका थिए ।

महामन्त्री थापाले सरकारले प्रशंसायोग्य काम नगर्दा प्रचार गर्न नसकिएको बताइरहेका छन् । यस्तै, सरकारको कार्यशैली निकै सुस्त रहेको भन्दै सरकार कङ्कर्डको गतिमा चल्नुपर्नेमा ट्याक्टरको गतिमा रहेको टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्रीको कार्यशैली सुधारमा खबरदारी गर्दा समेत नसुध्रिएपछि थापा विरक्तिएका छन् । ‘सरकार सुध्रियोस् भनेर हामीले झक्झक्याइरहेका छौँ । तर, बीँड मात्रै तातेर नहुँदो रहेछ, ताप्के पनि तात्नुपर्दोरहेछ,’ उनको टिप्पणी छ ।

यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले सरकारको आलोचना गर्नुपर्ने सात बुँदे कारण बुधबार सार्वजनिक गरेका थिए । महामन्त्रीद्वयको निष्कर्ष सरकारको कार्यशैली समर्थनयोग्य नरहेको छ । उनीहरू दुवैले आफूहरू सत्ता बदल्ने नभएर सरकार सञ्चालनको शैली बदल्ने अभियानमा रहेको बताउँदै आएका छन् ।

संयन्त्रको बैठकमा प्रधानमन्त्रीले काङ्ग्रेसभित्रबाटै भइरहेको आलोचनाप्रति असन्तुष्टि व्यक्त गरेको भोलिपल्टै काङ्ग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बस्यो । उक्त बैठकमा काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले काङ्ग्रेसले सरकारको विरोध गर्ने वा प्रतिरक्षा गर्ने हो भनेर प्रश्न राखेका थिए । ‘पार्टीका नेताहरूबाटै सरकारको आलोचना भएपछि अन्यौलझैँ भयो । हामीले सरकारको विरोध गर्ने हो की सरकारको प्रतिरक्षा गर्ने हो भन्ने कुरा प्रष्ट हुनुपर्ने माग गरेँ,’ उनले भने ।

त्यसपछि सभापति देउवाले काङ्ग्रेसले सरकारको प्रतिरक्षा गर्नुपर्ने मत राखेका थिए । बाहिर-बाहिर सरकारको आलोचना नगर्न उनले महामन्त्रीहरूलाई निर्देशन दिए । सरकारको कमजोरी आफूलाई भन्न उनले निर्देशन दिएका छन् । उक्त कमजोरी सच्याउन आफूले प्रधानमन्त्रीलाई खबरदारी गर्ने देउवाले बताएका छन् । ‘अहिले दायाँबायाँ केही पनि छैन । सरकारको पक्षमा बोल्ने हो नि । असन्तुष्टि पार्टीभित्र र संयन्त्रमा राखौँ बाहिर सरकारको पक्षमा बोल्ने हो । सरकारको कमजोरी मलाई सुनाउनुस्, म प्रधानमन्त्रीलाई सुनाउँछु,’ उनले भनेका छन् ।

काङ्ग्रेस बैठकमा सरकारको विकल्प खोज्ने लाइनमा पार्टी रहे नरहेको विषयमा पनि प्रश्न उठेको घिमिरेले बताए । उक्त प्रश्नप्रति देउवाले ०८४ सालसम्म यही सरकार अघि बढ्ने बताएका छन् । सात बुँदे सहमतिमा काङ्ग्रेस प्रतिबद्ध रहेको भन्दै उनले दायाँबायाँ केही नहुने बताएका छन् । ‘हामी एमालेसँग भएको ७ बुँदे समझदारीप्रति प्रतिबद्ध छौं, यही सरकारलाई सहयोग गर्ने हो । हामी ओली नेतृत्वको विपक्षमा छैनौँ,’ देउवाको भनाइ छ ।

देउवाले सरकारको कमीकमजोरी भने सच्याउन जरूरी रहेको बताएका छन् । ‘सरकारले केही कुरा सुधार गर्नुपर्छ, सच्याउनुपर्छ,’ उनले भने ।

बैठकमा राजनीतिक नियुक्तिमा सन्तुलन कायमका लागि नेताहरूले सभापतिको ध्यानाकर्षण गराएका थिए । काङ्ग्रेस प्रवक्ता प्रकाशशरण महतले दुई दलको सरकार रहेकाले राजनीतिक नियुक्तिमा सन्तुलन आवश्यक रहेको विषयमा बैठकमा छलफल भएको जानकारी दिए । गभर्नरलगायत अन्य नियुक्तिमा एमालेको मात्रै एकलौटी हुन नहुने विषयमा छलफल भएको उनले बताए । ‘गठबन्धन दलको सरकार भएकाले प्रधानमन्त्रीले भनेको मात्रै नियुक्ति हुँदैन । यसमा सन्तुलन आवश्यक छ भन्ने छलफल भएको छ । गठबन्धन दलबीच तालमेल आवश्यकता छ । एउटै दलको सबैथोक हुनुहुँदैन भन्ने कोणबाट छलफल भएको छ,’ उनले भने ।

बैठकमा नेताहरूले अर्थमन्त्रालय एमाले नेतृत्वमा रहेकाले काङ्ग्रेसले गभर्नरमा दाबी छोड्न नहुने सुझाव देउवालाई दिएका थिए । जवाफमा देउवाले गभर्नरमा आपसी समझदारी भएको बैठकमा जानकारी गराएका छन् । राम्रो र योग्य मान्छे नै गभर्नरमा नियुक्ति हुने जानकारी देउवाले गराएको प्रवक्ता महतले बताए । ‘पार्टीको व्यक्तिभन्दा प्रोफेसनल व्यक्ति गभर्नरमा ल्याउनुपर्ने र यसमा अडान लिनुपर्ने कुरा उठेको थियो । सभापतिले छिट्टै नै राम्रो मान्छे गभर्नर बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो,’ उनले भने ।

राजनीतिक नियुक्तिमा आपसी समन्वयन नहुँदा समस्या भइरहेको भन्दै समन्वय बढाउनुपर्ने निष्कर्ष काङ्ग्रेसको छ । ‘हाल भइरहेका केही नियुक्तिले सरकारको प्रभावकारितामा असर पुर्‍याइरहेको छ । प्रणालीलाई भन्दा पनि पार्टीगत हितमा प्रधानमन्त्रीले नियुक्तिमा एकलौटी गर्न खोजेको कोणबाट प्रश्न उठेसँगै समन्वय बढाउनुपर्ने निष्कर्षमा काङ्ग्रेस पुगेको छ,’ महतले भने ।

काङ्ग्रेस बैठकमा शिक्षकहरूलाई विद्यालय फर्काउन विषयमा पनि छलफल भएको छ । सभापति देउवाले शिक्षकहरुको माग सम्बोधनको समय तोकेरै गर्नुपर्ने बताएका छन् । ‘शिक्षकहरूको कतिपय माग समय तोकेरै सम्बोधन गरेर उहाँहरूलाई विद्यालयमा फर्काउनुपर्छ,’ उनले भनेका थिए ।

शिक्षकहरूलाई विद्यालय फर्काउनका लागि आवश्यक संवाद गर्न देउवाले महामन्त्री थापा र शर्मालाई आग्रह गरेका छन् । बैठकले महाधिवेशन हुन नसकेका भ्रातृ सङ्गठनबारे प्रतिवेदन पेस गर्न निर्देशक समितिलाई भनेको छ । ‘अधिवेशन नभएका भ्रातृ सङ्गठनलाई अवस्थाबारे प्रतिवेदन पेस गर्ने समय दिइएको छ । त्यस प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल हुनेछ,’ प्रवक्ता महतको भनाइ छ ।

काङ्ग्रेसले चैत १३ भित्र भ्रातृ संस्थालाई अधिवेशन गर्न  भनेको थियो । त्यस अवधिमा पाँच भ्रातृ संस्थाले महाधिवेशन गरेका थिए । अधिवेशन नगरेका भ्रातृ संस्थाका म्याद थप हुने नहुने निर्णय केन्द्रीय समितिले लिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register