मेयरले प्रहरीकै अगाडि प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएपछि …

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर (प्रमुख) बेचन दासले प्रहरीकै अगाडि प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको घटना सार्वजनिक भएको छ । शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा रामभजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली–गलौज गर्दै कुटपिट गरेका थिए । यसपछि पनि […]

Feb 12, 2025 - 03:57
 0
मेयरले प्रहरीकै अगाडि प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएपछि …

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर (प्रमुख) बेचन दासले प्रहरीकै अगाडि प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको घटना सार्वजनिक भएको छ ।

शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा रामभजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली–गलौज गर्दै कुटपिट गरेका थिए । यसपछि पनि आफूलाई मेयर दासले गोली हान्ने धम्की दिएको प्रशासकीय अधिकृत साहले बताए ।

शिक्षिकालाई सोमबार हाजिर गराउँदा मेयरका छोरा रामभजनले कार्यकक्षमै गाली–गलौज गरी कुटपिट गरेपछि प्रशासकीय अधिकृत साहले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । यसपछि उनलाई मंगलबार मेयर दासले कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका हुन् ।

घटनापछि प्रहरी जवान विकास बस्नेत र विकासकुमार राय तथा वडा नम्बर ७ का अध्यक्ष राजकिशोर सिंह घटनास्थलमा पुगेका थिए । तर प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमै मेयर दासले साहलाई गोली हान्ने धम्की दिएको बताइएको छ ।

’कार्यालयमा असुरक्षित भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट सुरक्षार्थ खटिएका प्रहरीकै अगाडि मेयर दासले गोली हान्ने धम्की दिए,’ प्रशासकीय अधिकृत साहले भने, ‘कुटपिट भएपछि कारबाहीका लागि प्रयास गर्दा मेयरले गोली हान्ने धम्की दिएका हुन् ।’

मेयरले धम्की दिएपछि आफूले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा शान्ति सुरक्षा मागेको प्रशासकीय अधिकृत साहले बताए । यस्तै घटनाको जानकारी धनुषाका प्रहरी प्रमुखलाई पनि गराएको उनले बताए ।

साहले यही माघ २ गते विदेह नगरपालिकामा हाजिर भएर कार्यभार सम्हालेका थिए । कार्यालयमा आएदेखि नै धाकधम्की, अपशब्द, गाली–गलौज गर्दै आएको साहले आरोप लगाए ।

साहले उक्त घटनापछि रामभजन दासलाई कुटपिटको आरोपमा र मेयर बेचन दासलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

साथै, उनले आफ्नो सुरक्षाको व्यवस्था मिलाउन र नयाँ कार्यस्थलको व्यवस्था नभएसम्म पूर्ण सुरक्षा प्रदान गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register