चीनमा बेचिनबाट यसरी जोगिइन् सर्वदा

काठमाडौं । जोरपाटीमा खाजा पसल चलाइरहेकी थिइन्, सर्वदा काफ्ले (नाम परिवर्तित) । श्रीमान्‌सँग सम्बन्धविच्छेद भएपछि जीविकोपार्जनको एक मात्र स्रोत थियो, खाजा पसल । खाजा पसलमा सधैं आइरहने ग्राहकले एक दिन सर्वदालाई प्रस्ताव गरे, ‘स्ट्रबेरी टिप्ने काममा चीन जाने हो ? पैसा राम्रै कमाइ हुन्छ ।’ ‘कति रुपैयाँ लाग्छ ?’ सर्वदाले सोधिन् । ‘रुपैयाँ लाग्दैन । […]

Apr 27, 2025 - 08:35
 0
चीनमा बेचिनबाट यसरी जोगिइन् सर्वदा

काठमाडौं । जोरपाटीमा खाजा पसल चलाइरहेकी थिइन्, सर्वदा काफ्ले (नाम परिवर्तित) । श्रीमान्‌सँग सम्बन्धविच्छेद भएपछि जीविकोपार्जनको एक मात्र स्रोत थियो, खाजा पसल । खाजा पसलमा सधैं आइरहने ग्राहकले एक दिन सर्वदालाई प्रस्ताव गरे, ‘स्ट्रबेरी टिप्ने काममा चीन जाने हो ? पैसा राम्रै कमाइ हुन्छ ।’

‘कति रुपैयाँ लाग्छ ?’ सर्वदाले सोधिन् ।

‘रुपैयाँ लाग्दैन । राम्रै पैसा कमाइ हुन्छ,’ ती ग्राहकले भने । त्यसपछि लोभिइन्, सर्वदा ।

महिनाको लाखौँ तलब पाइने र जान पैसा पनि नलाग्ने प्रस्ताव सर्वदालाई ठीकै लाग्यो । लेखपढ गर्न नजान्ने सर्वदालाई लागेको थियो, ‘चीन गएर टन्न पैसा कमाएर आउँछु ।’

सर्वदाले चीन जाने मनसाय बनाएपछि उनलाई खाजा पसलमा प्रस्ताव गर्नेले एउटा फोन नम्बर दिएर फोन गर्न भने । सर्वदाले फोन गरिन् । फोनमा उताबाट भनियो, ‘चीनमा काम गर्न जानका लागि अविवाहित प्रमाणपत्र बनाउनुपर्छ ।’

‘कसरी, कहाँबाट बनाउने यस्तो कागज ?’ सर्वदाले सोधिन् ।

वडा कार्यालयमा गएर अविवाहित प्रमाणपत्र बनाउन भनेर भनियो । चीन जाने भएपछि सर्वदाले राहदानी बनाइन् । पूर्वी नेपालको आफ्नो गाउँ गएर वडा कार्यालयबाट अविवाहित प्रमाणपत्र पनि बनाएर ल्याइन् ।

अविवाहितताको प्रमाणपत्र र राहदानी उनले फोनमा कुरा भएको दलाललाई बुझाइन् । कागजात बुझाएपछि दलालले उनलाई जोरपाटीको एउटा होटेलमा लगेर राखे । सर्वदा भन्छिन्, ‘होटेलमा राखेपछि मलाई होटेलबाट बाहिर जान दिइएन । कोठाभित्रै राखे ।’

दलालको यस्तो व्यवहारले उनको मनमा चिसो पस्यो । तर, उनले गर्न सक्ने केही थिएन ।

सर्वदा होटेलमै थिइन् । उनलाई फेसबुकमा एउटा अडिओ म्यासेज आयो । म्यासेज सुनेर उनी छाँगाबाट खसेझैँ भइन् ।

‘म्यासेज सुनेपछि थाहा भयो, म त झन्डै फसेकी रहिछु,’ सर्वदाले सुनाइन् ।

उनलाई चीनमै रहेकी नेपाली महिला रमिला (परिवर्तित नाम)ले म्यासेज गरेकी थिइन् । चीनबाट सर्वदालाई म्यासेज गर्ने महिलालाई पनि सर्वदाजस्तै राम्रै पैसा पाइने र लगानी नलाग्ने भन्दै लोभ्याएर चीन पुर्‍याइएको रहेछ । सर्वदालाई चीन पठाउन खोजेका दलालले नै रमिलालाई चीन पठाएका रहेछन् ।

रमिलाले चीनबाट म्यासेज गरेर सर्वदालाई भनिन्, ‘बहिनी यहाँ ल्याएर बुढा मान्छेसँग विवाह गराइदिन्छन् । नेपालभन्दा विकट ठाउँमा ल्याएर खेतीपाती र घरको काममा लगाउँछन्, नेपाल पनि फर्किन दिँदैनन् ।’

यो सुनेपछि सर्वदाले चीन नजाने निधो गरिन् । तर, दलालले त्यतिकै कहाँ छाड्थ्यो र !

‘चीन नजाने भए पासपोर्ट, नागरिकता अविवाहित प्रमाणपत्र फिर्ता दिँदैनौँ, अनि होटेलमा बस्दा लागेको खर्च ब्याजसहित तिर्नुपर्छ,’ दलालले सर्वदालाई धम्क्यायो ।

चीन गएर जीवनभर कैदी बन्नुभन्दा त नागरिकता, पासपोर्ट त्यागेकै राम्रो ठानिन्, सर्वदाले । नागरिकता, पासर्पोटलगायतका कागजात दलालसँगै छाडेर सर्वदा होटेलबाट भागिन् ।

सर्वदा नेपालभ्युजको सम्पर्कमा आएपछि हामीले दलाललाई फोन गरेर सर्वदाको कागजातको कुरा गर्‍यौँ । लगत्तै ती दलालले गोकर्णेश्वर नगरपालिका-६ स्थित नारायणटार पुलमा बोलाए कागजात लिन भनेर ।

मास्क, चस्मा र हेलमेट लगाएर आएका दलाल स्कुटरमा आए । सर्वदा सुनाउँछिन्, ‘कागजात हातमा थमाएर स्कुटर लिएर दौडिहाले ।’

त्यसपछि ती दलालको फोन नम्बर स्विच अफ छ । अचम्म त के छ भने सर्वदालाई ती दलालको नामसमेत थाहा छैन । सर्वदालाई चीनबाट म्यासेज गर्ने महिलासँग नेपालभ्युजले सम्पर्क गर्ने प्रयास गर्‍यो । लामो प्रयासपछि ती महिला सम्पर्कमा आइन् ।

उनले आफूले थाहा पाएसम्मका महिलाहरूलाई चीनको वास्तविकता सुनाउने गरेको बताइन् । उनले भनिन्, ‘चीनमा झुक्याएर लिएर आउने धेरै छन् । मैले थाहा पाए जति त सबैलाई यहाँको वास्तविकता भनिदिएको छु । मलाई पनि झुक्याएर नै ल्याएका हुन् ।’

जोरपाटीमा पसल गरेर बस्थिन्, रमिला पनि । उनलाई पनि पसलमा नियमित आइरहने ग्राहकले चीन जाने प्रस्ताव गरेका थिए । चीनमा राम्रो कमाइ हुन्छ भनेर लोभ्याएको रमिलाले सुनाइन् ।

चीनमा पुर्‍याएपछि जबरजस्ती आफ्नो विवाह गरिएको पनि उनले सुनाइन् । उनका अनुसार चिनियाँ श्रीमान्‌बाट उनले बच्चा पनि पाइसकेकी छन् । उनको काखमा यतिखेर ६ महिनाको बच्चा छ भने उनी फेरि गर्भवती छन् ।

करिब साढे दुई वर्ष अगाडि रमिलालाई चीन लगिएको थियो । उनका अनुसार उनलाई विवाह नै गर्ने भनेर लगिएको हो । उनी भन्छिन्, ‘नेपाल आउजाउ गर्न पाइन्छ । टन्न पैसा कमाइन्छ भनेका थिए, दलालले ।’

तर, चीनमा पुगेपछि उनको जबरजस्ती विवाह गरियो । चीनको दुर्गम पहाडी क्षेत्रमा आफूलाई राखिएको उनले बताइन् । ‘यहाँ खेतीपाती घर व्यवहार सबै हेर्नुपर्छ,’ रमिलाले चीनबाट भनिन् ।

चीन गएदेखि उनले यता घरमा पैसा पठाउन पाएकी छैनन् । चीन पुगेपछि घरमा पठाउन भनेर एक लाख रुपैयाँ मात्र दिएको उनले बताइन् । ‘त्यही एक लाख हो । त्यसपछि त एक रुपैयाँ पनि पाएको छैन,’ उनी सुनाउँछिन् ।

चीनमा नेपाली महिला/युवतीलाई लगेर विवाह गरेर यातना दिन थालिएपछि नेपाल सरकारले २०७३ मै नेपालीले चिनियाँसँग विवाह गर्न नपाउने व्यवस्था गरेको थियो । नेपाली चेलीलाई चीनमा राम्रो जागिरको लोभ देखाएर विवाह गर्न बाध्य बनाउने कयौँ गिरोहलाई प्रहरीले पक्राउसमेत गरिसकेको छ । तर, यस्ता गिरोहहरू नयाँ–नयाँ रूपमा सक्रिय हुन्छन् ।

प्रहरीले २०७६ सालमा ४ चिनियाँ र ६ नेपालीसहित १० जना पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको चीनमा मानव तस्करी गर्ने सबैभन्दा ठूलो गिरोह यही हो ।

चीनबाट रमिला भन्छिन् – यो जेलबाट फर्किन सजिलो छैन

‘यहाँको कुनैले त ऋण गरेर विवाह गरेको हुँदो रहेछ । तँलाई बिहे गर्दा यति खर्च भएको छ भनेर उल्टै दिमाग खराब गर्छन्, कहाँबाट घरमा पैसा पठाउनु,’ उनी गुनासो गर्छिन् ।

‘यहाँ ल्याउने बित्तिकै छिटो बिहे गर्ने काम सक्छन् । म यहाँ बस्दिनँ घर जान्छु, मलाई नेपाल पठाइदेऊ भन्दा पनि तिमिलाई बिहे गर्दा यति खर्च भएको छ सबै खर्च फिर्ता गर अनि जाऊ भन्छन् । डिभोर्स गरौँभन्दा पनि जसले डिभोर्स फाइल गर्छ, उसैले क्षतिपूर्ति तिर्नुपर्छ भन्छन् । त्यसपछि हामीले गर्न सक्ने केही हुँदैन । यहाँ आउँदा पैसा कमाउँछु, नेपाल फर्केपछि आनन्दको जीवन जिउँछु भन्ने सपना थियो । तर, आज सबै चकनाचुर भयो ।

नेपालबाट चीन ल्याउँदा दलालहरूले लेखपढ गर्न नजान्ने, दुःख पाएका, परिवारबाट छुट्टिएका महिलाहरू हेर्छन् । मलाई पनि चीन ल्याउनु अगाडि मलाई विश्वासमा पार्न बौद्धका ठूला–ठूला होटेलहरूमा लैजान्थे । ती दलाहरूको अफिस हुँदैन । अनेक लोभ देखाएर फकाउँछन् अनि चीन पठाउँछन् । यहाँ आइसकेपछि यहाँबाट उम्कनै पाइँदैन नि ।

यता आएपछि यहाँको दुःख र नेपाल फर्किन नपाइने भएपछि कतिपय नेपालीले आत्महत्या गरेका छन् । कतिलाई उद्धार पनि गरिएको छ । तर, यहाँबाट उद्धार गर्न सजिलो छैन । यहाँ फेसबुक पनि भीपीएन भएपछि मात्र चल्छ, सबै जनालाई यो थाह हुँदैन । यस्ता दलालको लोभमा नपर्नुहोला भन्छु म ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register