प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी प्रिशा साहको शव प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएर घटनास्थलबाट अन्यत्र लगेको पाइएको छ । ओडिशाटीभी अनलाइनकाअनुसार विश्वविद्यालय होस्टेलको १११ नम्बर कोठामा उनको शव झुन्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले भनेको थियो । तर, प्रहरी पुग्नुअघि नै शव विश्वविद्यालयका कर्मचारीले निकालेको […]

May 2, 2025 - 08:43
 0
प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी प्रिशा साहको शव प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएर घटनास्थलबाट अन्यत्र लगेको पाइएको छ ।

ओडिशाटीभी अनलाइनकाअनुसार विश्वविद्यालय होस्टेलको १११ नम्बर कोठामा उनको शव झुन्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले भनेको थियो । तर, प्रहरी पुग्नुअघि नै शव विश्वविद्यालयका कर्मचारीले निकालेको पाइएको हो ।

ओडिशाको इन्फोसिटी प्रहरी कार्यालयमा कार्यरत कन्स्टेबल निराकर खटुआले शव प्रहरीले ननिकालेको बताए । पोस्टमार्टमका निम्ति अस्पताल गएका खटुआले शव कलेजको मेडिकल इमर्जेन्सी वार्डबाट प्रहरीले भुवनेश्वरस्थित एम्स अस्पतालमा ल्याएको बताए ।

शव प्रहरीले नभएर कलेजका कर्मचारीले नै होस्टेलबाट निकालेको हुनसक्ने बताइएको छ ।

वीरगञ्जकी साह बी-टेक प्रथम वर्षमा अध्ययनरत थिइन् । प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वरका प्रहरी आयुक्त एस देवदत्त सिंहका अनुसार, “मे १ को साँझ ७ बजेतिर कोठामा सँगै कोही नभएको अवस्थामा विद्यार्थी झुण्डिएको अवस्थामा भेटिएको भन्ने जानकारी प्राप्त भएको थियो । त्यही आधारमा अनुसन्धान भइरहेको छ । हालसम्म सुसाइड नोट फेला परेको छैन । कोठा जाँचिरहेको छ र साथीहरूको सहयोग लिइँदैछ ।”

तर, प्रहरीले स्पष्ट रूपमा भनेको शव झुण्डिएको अवस्थामा नभई बेडमा रहेको विवरण र कलेज प्रशासनले प्रहरी आउनुअघि नै शव उठाएको तथ्यले घटनालाई थप रहस्यमय बनाएको छ । शव उठाउने काम प्रहरीले नभइ कलेज प्रशासनले गरेको हो भने यसले प्रमाण नष्ट गर्ने वा अनुसन्धान प्रभावित पार्ने सम्भावनाको सन्देह निम्त्याएको छ ।

यस विषयमा युनिभर्सिटीका कुनै पनि अधिकारीले हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसअघि पनि यही विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको रहस्यमय मृत्यु भएको थियो । तीन महिनाको अन्तरालमा यस्ता दुई घटनाले नेपाली विद्यार्थीहरूबीच त्रास फैलिएको छ । मृतकका परिवार तथा नेपाली समुदायले गम्भीर र स्वतन्त्र छानबिनको माग गरेका छन् ।

यस घटनाले भारतीय शिक्षालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य समर्थन प्रणाली, र युनिभर्सिटी प्रशासनको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

ओडिशा सरकारद्वारा सहयोगको आश्वासन

घटनाबारे दुःख व्यक्त गर्दै ओडिशा सरकारले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ र सबै सहयोगको आश्वासन दिएको छ।

एक पत्रमार्फत सूचना तथा जनसम्पर्क विभागले भनेको छ, “दुःखको यस घडीमा राज्य सरकारले मृतकको परिवारलाई सहयोग गर्दछ र उनीहरूप्रति समवेदना प्रकट गर्दछ। जानकारी प्राप्त भएपछि प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नरलगायत वरिष्ठ अधिकारीहरू दुर्भाग्यपूर्ण घटनाको कारणको बारेमा सोधपुछ गर्न र यस विषयमा आवश्यक कारबाही गर्न घटनास्थलमा पुगेका छन् । प्रमाण सङ्कलन गर्न फोरेन्सिक टोली घटनास्थलमा छ।”

राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

भारतको राष्ट्रिय मानव अधिकार आयोगका एक सदस्यले यस घटनाको बारेमा ध्यानाकर्षण गराउँदै स्तब्ध पारेको बताएका छन् ।

एनएचआरसी सदस्य प्रियाङ्क कानुनगोले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा एक पोस्टमार्फत नेपालकी एक छात्राले ‘आत्महत्या’ गरेको बताएका छन् ।

“हिजो, ओडिशाको केआईआईटी विश्वविद्यालयकी अर्की नेपाली छात्राले आत्महत्या गरिन् । गत महिना यस्तै घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी आफ्ना सिफारिसहरू जारी गर्‍यो, जसले विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने प्रक्रियागत त्रुटिहरूलाई औंल्यायो,” प्रियाङ्कले लेखे।

आफ्नो पछिल्लो सामाजिक सञ्जाल पोस्टमा प्रियाङ्कले थप भने, “राष्ट्रिय मानव अधिकार आयोगले फेरि एकपटक आधिकारिक रूपमा घटनाको ध्यान लिइरहेको छ र तदनुसार कारबाही गर्नेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register