आदिल अन्सारी : हेलिकाेप्टर सट, स्पट फिक्सिङ र फुकुवा

काठमाडौं । क्रिकेटर मोहम्मद आदिल आलम अन्सारीको प्रतिबन्ध फुकुवा भएसँगै उनको राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने ढोका खुलेको छ । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध […]

May 6, 2025 - 09:53
 0
आदिल अन्सारी : हेलिकाेप्टर सट, स्पट फिक्सिङ र फुकुवा

काठमाडौं । क्रिकेटर मोहम्मद आदिल आलम अन्सारीको प्रतिबन्ध फुकुवा भएसँगै उनको राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने ढोका खुलेको छ ।

सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानबिन गरेर बुझाएको प्रतिवेदनअनुसार फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्धका कारण आलमले एनपीएललगायत महत्वपूर्ण प्रतियोगितारू गुमाएका थिए । यससँगै आदिलको उदीयमान खेल जीवनलाई आएको उतारचढावलाई फर्केर हेर्दा यस्तो देखिन्छ ।

‘हेलिकाेप्टर सट’ले चुलिएको चर्चा

मार्च ३१, २०२२ मा पपुवा न्यु गिनीविरुद्ध कीर्तिपुर मैदानमा आदिलले आफ्नो टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । उक्त खेलमा उनले ११ बलमा ३ छक्का र १ चौकासहित ३१ रन बनाए । उनको ‘हेलिकोप्टर सट’ले सबैको ध्यान खिचेकाे थियाे ।

बाल्यकालदेखि नै चम्किएका आदिलले यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशबाट सुदूरपश्चिमविरुद्ध ४३ बलमा अविजित ८७ रन बनाएका थिए, जसले सुदूरपश्चिमका अर्जुन साउदको शतकलाई पनि छायामा पारिदिएको थियो । उनले यू–१९ एसिया कपमा तीन खेलमा ५७ रन र तीन विकेट लिएका थिए ।

लगातार उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि उनले प्रधानमन्त्री कपजस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा पनि प्रदेश टोलीबाट स्थान बनाएका थिए ।

हार्ड हिटरको रूपमा परिचित 

नेपाली क्रिकेटमा उदाउँदै गरेको एक बहुप्रतिभाशाली खेलाडीको रूपमा चिनिएका आदिल बलर र ब्याट्सम्यान दुवै भूमिकामा उत्तिकै प्रभावशाली छन् ।

विशेषगरी ब्याटिङमा उनी हार्ड हिटरको रूपमा परिचित थिए । जसले क्रिजमा स्थिर उभिएर पनि सजिलै बललाई सीमा पार पुर्‍याउन सक्ने क्षमता भएका खेलाडीको रुपमा आदिललाई चिनिन्छ ।

आदिल म्याच जिताउने प्रदर्शन गर्न सक्ने खेलाडीको छवि भएको खेलाडीको रुपमा प्रसिद्ध थिए । जस्तो बललाई पनि आक्रमक शैलीमा ट्याकल गरेर बाउन्ड्री कटाउन सक्ने खुबी भएका खेलाडीका रुपमा आदिललाई लिइन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनले हालसम्म ६ एकदिवसीय र आठ टी–२० खेल खेलेका छन् । उनले सन् २०२२ मा आईसीसी विश्वकप लिग–२अन्तर्गत अमेरिकाविरुद्ध डेब्यू गर्दै पहिलो खेलमै चर्चा कमाएका थिए । उक्त त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र ओमान सहभागी थिए ।

शृङ्खलाको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध २७४ रनको लक्ष्य दिएको थियो । अमेरिकालाई अन्तिम ओभरमा ६ बलमा ६ रन आवश्यक थियो, तर कप्तान सन्दीप लामिछानेले आश्चर्यजनक रूपमा डेब्यू खेलाडी आदिललाई अन्तिम ओभर दिएका थिए ।

आदिलले सो ओभरमा केवल पाँच रन दिएर एक विकेट लिएका थिए । अनि एउटा रनआउट गराएका थिए । साे खेल बराबरीमा सकिएको थियो । याे खेल बराबरी भएपनि हारजस्तै महसुस भएकाे अमेरिकाका कप्तानले पनि स्वीकारेका थिए ।

सो खेलमा आदिलले समग्रमा नाै ओभरमा ४५ रन दिँदै तीन विकेट लिए । साथै २४ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन पनि बनाएका थिए । उनले डेब्यू खेलमै ‘म्यान अफ दी म्याच’को अवार्ड जितेका थिए ।

फिक्सिङ प्रस्ताव अस्वीकार गरेको आदिलको बयान

स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर आदिलले आफू निर्दोष भएको दाबी गर्दै बयान दिएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिँदै उनले समीर शेख नाम गरेका भारतीय नागिरकले फिक्सिङको प्रस्ताव गरेको, तर आफूले अस्वीकार गरेको बताएका थिए ।

आदिलका अनुसार टी–२० लिग सुरु भएपछि भारतका समीरले उनलाई ह्वाट्सएपमार्फत सम्पर्क गरी एक नो बल र एक वाइड बल फालिदिनु भन्दै एक लाख रुपैयाँ दिने प्रस्ताव राखेका थिए । उनले तुरुन्तै त्यो प्रस्ताव अस्वीकार गरे र यस्ता कुरा नगर्न चेतावनी दिँदै सम्पर्क तोडे । उनले यो विषयबारे क्यानका म्यानेजर विनोद दासलाई पनि जानकारी गराएको बताएका थिए । दासको सुझावअनुसार उनले एन्टी करप्सन युनिटका म्यानेजर वीर सिंहलाई अर्कोदिन जानकारी गराएका थिए ।

बयानमा आदिलले खेलका क्रममा चोटका कारण आफ्नो प्रदर्शनमा केही असर परेको स्वीकार गरेका छन् । पुस ११ गते भएको खेलमा कम्मरको बाँया भागमा समस्या आएपछि फिजियोथेरापी गरेर मैदान फर्किएको र त्यसपछि केही नो बल र वाइड बल देखिएको बताए ।

पुस १२ र १४ गतेका खेलमा उनले एक–एक नो बल र वाइड बल फालेका थिए । तर, ती समीर शेखको निर्देशनमा नभई चोटका कारण भएको उनले स्पष्ट पारेका छन् ।

‘समीरसँग रकम नलिएको र हल्काफुल्का मजाकमा प्रस्ताव राखेकाे थिएँ । त्यसलाई गम्भीरतापूर्वक लिएर सम्बन्ध तोडेँ’, आदिलले सीआईबीकाे बयानमा भनेकाे स्राेतले जनाएकाे छ ।

जिल्ला अदालतबाट सफाइ

नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेका अलराउन्डर आदिलसँगै  राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलम, नीतेश गुप्ता, नवीन कँडेल र रवि माझीगरी कुल पाँच जनालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो ।

अदालतले २०८० चैत १३ मा स्पट फिक्सिङसम्बन्धी दाबीहरू पुष्टि गर्न पर्याप्त प्रमाण नपुगेको ठहर गरेको थियो ।

आधिकारिक क्रिकेटमा प्रतिबन्ध लागेपनि अन्सारीले भारतका विभिन्न स्थानमा हुने स्थानीयस्तरका प्रतियोगिता भने खेलिरहेका थिए ।

प्रतिबन्ध फुकुवा भएसँगै क्रिकेटमा पुनरागमनको ढोका खुलेको छ । आदिलको खेल जीवनले कुन मोड लिन्छ त्यो भने हेर्न बाँकी रहेको क्रिकेट जानकारहरू बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register