लगानी दशक घोषणा गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्। कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लगानीसम्बन्धी एकीकृत कानून बनाई लागू गर्न पनि सरकारलाई अनुरोध गरेका हुन्। अध्यक्ष ढकालले आगामी १० वर्षलाई लगानी दशकको […]

May 6, 2025 - 14:59
 0
लगानी दशक घोषणा गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्। कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लगानीसम्बन्धी एकीकृत कानून बनाई लागू गर्न पनि सरकारलाई अनुरोध गरेका हुन्।

अध्यक्ष ढकालले आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, वन, वातावरण र भूमिसम्बन्धी लगानीसँग सम्बन्धित कानूनहरूलाई एकीकृत गरी एकिकृत लगानी संहिता बनाउनुपर्ने धारणा राखे। उनले विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य हुनुपर्नेमा पनि जोड दिए।

लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अपरिहार्य रहेको बताउँदै अध्यक्ष ढकालले राजनीतिक अस्थिरताका बाबजुद नीतिगत स्थिरता कायम गरेर धेरै देशले विकास गरेको उदाहरण प्रस्तुत गरे। उनले सबै राजनीतिक दलहरूले कम्तीमा आगामी १० वर्षसम्म नीतिगत परिवर्तन नगर्ने सहमति गर्नुपर्ने र कानूनको अपव्याख्या गर्ने तथा एकअर्कासँग बाझिने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

आगामी बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेटलाई नयाँ चरणको आर्थिक सुधारको प्रस्थानबिन्दु बनाउनुपर्ने विचार व्यक्त गरे।

व्यवसाय दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधारमा स्वतः नवीकरण हुने व्यवस्था गर्न र विदेशी लगानीकर्ताले अनलाइनबाट सबै प्रक्रिया पूरा गरेपछि कागजात बुझाए पुग्ने व्यवस्था गरी फाइल बोकेर विभिन्न निकाय धाउनुपर्ने अवस्था अन्त्य गर्न पनि उनले सरकारसँग आग्रह गरे।

यसैगरी, अध्यक्ष ढकालले लगानी बोर्ड, उद्योग विभागलगायत अन्य निकायलाई एकीकृत गरी अधिकारसम्पन्न लगानी सहजीकरण निकाय निर्माण गर्न र लगानी सहजीकरणमा जोड दिन आग्रह गरे।

कोशी प्रदेश पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधिजस्ता क्षेत्रमा व्यापक सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको सम्भाव्यता, लगानीको ढाँचा र प्रदेश सरकारको भूमिका स्पष्ट पारेर लगानीकर्तालाई आश्वस्त पार्न कोशी प्रदेश सरकारलाई अनुरोध गरे।

देशमा पूर्वाधार विकासमा पूँजीको अभाव नहोस् भनेर महासङ्घकै पहलमा १० अर्ब पूँजी भएको पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम सुरु गरिसकेको जानकारी दिँदै यसले पूर्वाधारमा लगानीको अभावलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्ने उनले बताए।

महासङ्घले आफ्नो साधारणसभाको अवसरमा लगानी विस्तार र सर्वसाधारणको सेवा सुरक्षा बढाउन सुशासनको विषय उठाएको स्मरण गर्दै अध्यक्ष ढकालले सरकारले तत्काल सुशासन आयोग गठन गरेकोमा आभार व्यक्त गरे। साथै, निजी क्षेत्र सुशासन र सुधारका क्षेत्रमा सहकार्य गर्न तयार रहेको पनि उनले स्पष्ट पारे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register