भारत र पाकिस्तानमा को कति शक्तिशाली ?

काठमाडौैं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरमोत्कर्षमा पुगेको छ । भारतले गए राति पाकिस्तानमा एयर स्ट्राइक गरेसँगै यी दुई आणविक शक्ति सम्पन्न मुलुक युद्धको नजिक उभिएका छन् । यसअघि भारतले दुई देशबीचको सिन्धु जलसन्धि निलम्बन गर्ने, सीमा क्रसिङ बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेलगायतका धेरै निर्णयहरू गरेको […]

May 7, 2025 - 03:39
 0
भारत र पाकिस्तानमा को कति शक्तिशाली ?

काठमाडौैं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरमोत्कर्षमा पुगेको छ । भारतले गए राति पाकिस्तानमा एयर स्ट्राइक गरेसँगै यी दुई आणविक शक्ति सम्पन्न मुलुक युद्धको नजिक उभिएका छन् ।

यसअघि भारतले दुई देशबीचको सिन्धु जलसन्धि निलम्बन गर्ने, सीमा क्रसिङ बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेलगायतका धेरै निर्णयहरू गरेको छ ।

जवाफमा पाकिस्तानले सन् १९६० को सिमला सम्झौताबाट बाहिरिने घोषणा गरेको छ र नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कारबाही’ मानिने र त्यसको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ ।

दुवै देशका राजनीतिक नेतृत्वबाट एक-अर्कालाई कडा चेतावनी र कठोर जवाफी कारबाही गर्ने तिखा बयानहरू आइरहेका छन् । पहलगाम हमलापछि पहिलोपटक सार्वजनिक रूपमा भारतका प्रधानमन्त्रीले गत बिहीबार एक र्‍यालीमा भनेका थिए, ‘हमला गर्ने आतंकवादीहरूलाई कल्पनाभन्दा पनि ठूलो सजाय दिइनेछ ।’

उनले भने, ‘म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंकवादीको पहिचान गरेर, खोजेर सजाय दिनेछ र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि…। अब आतंकवादीहरूको बाँकी जमिनलाई पनि माटोमा मिलाउने समय आएको छ ।’

उता भारतका जलस्रोतमन्त्री सीआर पाटिलले भनेका थिए, ‘पाकिस्तानलाई एक थोपा पानी पनि नपुगोस् भनेर रणनीति बनिरहेको छ ।’

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कुनै पनि साहसिक कदमको कडा जवाफ दिने कुरा गरे भने बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि दोहोर्‍याए, ‘सिन्धु जल सन्धिसँग सम्बन्धित कुनै पनि कारबाहीलाई युद्धको घोषणा मानिनेछ ।’ दक्षिण एसियाको राजनीतिमा नजर राख्ने जानकारहरूले भारतबाट कुनै सीमित सैन्य कारबाहीको सम्भावनालाई अस्वीकार गरेका छैनन्, जसले व्यापक युद्धको खतरा निम्त्याउन सक्छ ।

यद्यपि, लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) एसएच पनागले हतारमा सैन्य कारबाहीको निर्णय लिनबाट सावधान रहन चेतावनी दिएका छन् । तर भारतले सैन्य प्रतिक्रिया दिइसकेको छ । भारतले यसलाई अप्रेसन सिन्दुरको नाम दिएको छ ।

द प्रिन्टमा लेखिएको एक लेखमा पनागले पाकिस्तान एक आणविक हतियारसम्पन्न देश भएको र भारतीय सेनाको सीमित सैन्य कारबाहीको जवाफ दिनका लागि ऊसँग पर्याप्त परम्परागत शक्ति भएको उल्लेख गरेका थिए । उनले लेखेका छन्, ‘भारतसँग कुनै पनि क्षेत्रमा, चाहे मिसाइल, ड्रोन वा वायुसेनाको शक्ति होस्, यति प्राविधिक श्रेष्ठता छैन कि उसले कुनै क्षतिबिना जवाफी सर्जिकल स्ट्राइक गर्न सकोस् । पाकिस्तानसँग जवाफ दिने क्षमता छ र हामीले यसका लागि तयार रहनुपर्छ ।’

त्यस्तै, बीबीसीलाई दिएको एक अन्तर्वार्तामा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले आफ्नो सेनाको तयारीबारे भने, ‘हामीलाई तयारी गर्नु पर्दैन । हामीले तयारी गरिसकेका छौँ । हामी कुनै पनि परिस्थितिका लागि तयार छौँ ।’

शनिबार पाकिस्तानका प्रधानमन्त्री शहनवाज शरीफले पनि भने, ‘यदि कुनै प्रकारको साहसिक कारबाही गरियो भने २०१९ को जस्तै जवाफ दिइनेछ ।’

उनको संकेत पुलवामा आतंकवादी हमलापछि भारतले बालाकोटमा गरेको हवाई हमलातर्फ थियो, जब दुवै देशका वायुसेनाहरूबीच सीमित झडप भएको थियो । ग्लोबल फायर पावरका अनुसार, २०२५ को सैन्य शक्ति र्‍याङ्किङमा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ ।

२०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले १४५ देशहरूमा भारतको र्‍याङ्किङ चौथो छ भने पाकिस्तानको र्‍याङ्किङ १२औँ छ ।

भारतीय सेनासँग करिब २२ लाख सैनिक, ४ हजार २०१ ट्यांक, करिब डेढ लाख बख्तरबन्द वाहन, १०० सेल्फ-प्रोपेल्ड आर्टिलरी र ३,९७५ तान्ने आर्टिलरी छन् । यसबाहेक मल्टि-ब्यारेल रकेट आर्टिलरीको संख्या २६४ छ ।

भारतीय वायुसेनासँग ३ लाख १० हजार वायुसैनिक र जम्मा २,२२९ विमान छन्, जसमा ५१३ लडाकु विमान र २७० यातायात विमान छन् । कुल विमानहरूमा १३० आक्रमणकारी, ३५१ प्रशिक्षक र ६ ट्यांकर फ्लिट विमान छन् ।

भारतीय सेनाका तीनवटै अङ्गसँग जम्मा ८९९ हेलिकप्टर छन्, जसमा ८० आक्रमण हेलिकप्टर छन् ।

भारतीय नौसेनासँग १.४२ लाख नौसैनिक, जम्मा २९३ जहाज छन्, जसमा २ विमानवाहक जहाज, १३ डिस्ट्रोयर, १४ फ्रिगेट, १८ पनडुब्बी, र १८ कोर्वेट युद्धपोत छन् ।

लजिस्टिक्सको रूपमा भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह, ६३ लाख किलोमिटर सडक, र ६५ हजार किलोमिटर रेलवे कभरेज छ ।

ग्लोबल फायर पावरका अनुसार, पाकिस्तानी सेनासँग करिब १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसैनिक छन् ।

पाकिस्तानसँग जम्मा १,३९९ विमान छन्, जसमा ३२८ लडाकु विमान, ९० आक्रमणकारी, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्यांकर फ्लिट, र ३७३ हेलिकप्टर छन्, जसमा ५७ आक्रमण हेलिकप्टर छन् ।

यसमा २,६२७ ट्यांक, १७५ वाहन, ६६२ सेल्फ-प्रोपेल्ड आर्टिलरी, २,६२९ तान्ने आर्टिलरी, र ६०० मल्टि-ब्यारेल रकेट आर्टिलरी छन् ।

पाकिस्तानी नौसेनासँग जम्मा १२१ युद्धपोत छन्, जसमा ९ फ्रिगेट, ९ कोर्वेट, ८ पनडुब्बी, र ६९ गस्ती जहाज छन् ।

लजिस्टिक्सको रूपमा यससँग केवल ३ बन्दरगाह, ११६ विमानस्थल, ६० मर्चेन्ट मरिन फ्लिट छन् । यसबाहेक, २.६४ लाख किलोमिटर सडक र ११.९ किलोमिटर रेलवे कभरेज छ । स्वीडेनको थिङ्क ट्यांक स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट को २०२४ को प्रतिवेदन अनुसार, भारतसँग १७२ र पाकिस्तानसँग १७० आणविक हतियार छन् ।

यद्यपि, दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने स्पष्ट छैन ।

यो संगठनले भन्छ कि पाकिस्तान भारतको सामना गर्न आणविक हतियार तयार गरिरहेको छ भने भारतको ध्यान लामो दूरीमा प्रहार गर्न सक्ने हतियारहरूको तैनातीमा केन्द्रित छ, अर्थात् यस्ता हतियारहरू जसले चीनलाई पनि निसाना बनाउन सक्छन् ।

भारत र पाकिस्तानको छिमेकी र विश्वको तेस्रो ठूलो आणविक शक्ति चीनसँग आणविक हतियारको संख्या २२ प्रतिशतले बढेर ४१० बाट ५०० वटा पुगेको छ । गत वर्ष नोभेम्बरमा प्रकाशित बीबीसी उर्दू संवाददाता शकिल अख्तरको एक लेखअनुसार, भारत र पाकिस्तानले आफ्ना ड्रोनहरूको संख्यामा तीव्र वृद्धि गरिरहेका छन् ।

रक्षा मामिलाका विश्लेषक राहुल बेदीका अनुसार, भारतसँग आगामी दुईदेखि चार वर्षमा करिब ५,००० ड्रोनहरू हुनेछन् । उनका अनुसार, यद्यपि पाकिस्तानसँग ‘भारतभन्दा कम ड्रोनहरू’ छन्, तर पनि पाकिस्तानसँग रहेका ड्रोनहरूमा विभिन्न क्षमताहरू छन् र ती १० देखि ११ फरक डिजाइनका छन् ।

गत वर्ष अक्टुबरमा भारतले अमेरिकाबाट ३.५ अर्ब डलर मूल्यका ३१ प्रिडेटर ड्रोनहरू खरिद गर्ने सम्झौता गरेको थियो । प्रिडेटर ड्रोनहरू विश्वका सबैभन्दा सफल र खतरनाक ड्रोनहरू मानिन्छन् ।

तीसँगै ५० करोड डलर मूल्यका ती ड्रोनहरूमार्फत लक्ष्यलाई नष्ट गर्न प्रयोग हुने बम र लेजर गाइडेड मिसाइलहरू पनि खरिद गरिनेछ ।

राहुल बेदीका अनुसार, पाकिस्तानले टर्की र चीनबाट ड्रोनहरू आयात गर्छ । यद्यपि, उसले जर्मनी र इटालीबाट पनि ड्रोनहरू खरिद गरेको छ । पाकिस्तानले बुर्राक र शहपर जस्ता ड्रोनहरू आफैँले पनि बनाएको छ ।

पाकिस्तानसँग टर्कीका आधुनिक ‘बाय्राक्तर’ ड्रोनहरू टीबी टु र एकेँजी छन् भने उसले चीनबाट ‘वाङ लङ टु’ र ‘सीएच ४’ जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ । बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register