नेपालले भन्नुपर्छ – आतङ्कवाद रोक्ने नाममा दुई देशबीच युद्ध हुनुहुँदैन

काठमाडौं । आतङ्कवाद भारत र पाकिस्तानको मात्र समस्या हो भनेर बुझ्नु हुँदैन । यो उनीहरूको मात्र समस्या हो भनेर हामी चुपचाप बस्नु हुँदैन । किनभने दक्षिण एसियाले लामो समयदेखि यो समस्या भोगिरहेको छ । आतङ्कवाद हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोण छ । आतङ्कवादलाई हेर्ने मामलामा हाम्रा क्षेत्रीय सङ्गठनहरू सार्क र बिमस्टेकको पनि एउटा धारणा छ । यो […]

May 7, 2025 - 13:12
 0
नेपालले भन्नुपर्छ – आतङ्कवाद रोक्ने नाममा दुई देशबीच युद्ध हुनुहुँदैन

काठमाडौं । आतङ्कवाद भारत र पाकिस्तानको मात्र समस्या हो भनेर बुझ्नु हुँदैन । यो उनीहरूको मात्र समस्या हो भनेर हामी चुपचाप बस्नु हुँदैन । किनभने दक्षिण एसियाले लामो समयदेखि यो समस्या भोगिरहेको छ ।

आतङ्कवाद हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोण छ । आतङ्कवादलाई हेर्ने मामलामा हाम्रा क्षेत्रीय सङ्गठनहरू सार्क र बिमस्टेकको पनि एउटा धारणा छ । यो धारणाले आतङ्कवाद कुनै देशको मात्र समस्याको विषय नभएर क्षेत्रीय र अन्तर्राष्ट्रिय समस्या हो भन्ने स्थापित गरेको छ । आतङ्कवाद क्षेत्रीय चासो र समस्याको विषय हो । त्यसैले आतङ्कवाद भारत र पाकिस्तानको द्विपक्षीय विषय मात्र होइन ।

अन्तर्राष्ट्रिय चासो भएपछि त्यसको प्रभाव नेपालसम्म पनि पर्छ । भारत र पाकिस्तान नेपालका छिमेकी हुन् । भारतसँग हाम्रो खुला सीमाना छ । त्यसकारण त्यहाँ पर्ने आतङ्कवादको असर हाम्रोमा पनि पर्छ । अहिले आतङ्कवादका नाममा भारत-पाकिस्तान युद्धमा उत्रिएका छन् । हाम्रो आँगनमा युद्ध छेडिएको छ । यसको बाछिटा नेपालसम्म आइपुग्छ ।

नेपाल र भारतको सम्बन्ध, मित्रता र सन्धिको कारण पनि नेपाल भारत-पाकिस्तान युद्धको एउटा हिस्सा हो । नेपाल र भारतको द्विपक्षीय सन्धिको कारण नेपाली जवानहरू भारतीय सैनिकमा छन् । उनीहरू भारतको पक्षबाट युद्ध लड्छन् । त्यसैले यसको प्रभाव हामीसम्म पर्छ ।

नेपालले अहिलेको युद्धलाई आतङ्ककारी गतिविधिको हिसाबले मात्र हेर्नुहुँदैन । राजनीति, कूटनीतिक र सुरक्षासहित त्रिपक्षीय हिसाबले हेर्नुपर्छ । यो युद्धमा नेपालले कूटनीतिक पहल गरेर सार्क-बिमस्टेक लगायतका फोरमहरूलाई युद्ध समाधानको लागी प्रयोग गर्नुपर्छ भनेर पहल गर्नुपर्छ । आतङ्कवादी गतिविधि नियन्त्रणको लागी यस्ता क्षेत्रीय सङ्गठनहरू परिचालन गरिनुपर्छ भनेर नेपालले बलियोसँग आवाज उठाउनुपर्छ । अहिले नेपालको कानुन कार्यान्वयन गर्ने संयन्त्रहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरी निकायको भारतसँग सम्बन्ध छ । यो जटिल समयमा यस्ता सम्बन्धलाई प्रयोग गर्नुपर्छ ।

यस्ता द्विपक्षीय र क्षेत्रीय स्तरको संरचनाहरूलाई प्रतिआतङ्कवादसम्बन्धी कार्यमा कसरि धेरैभन्दा धेरै प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नेपालले सोचविचार गर्नुपर्छ ।

पछिल्लो समय नेपाल अवैध आप्रवासीहरू नियन्त्रण गर्ने मामिलामा चुकेको देखिन्छ । भारतले अवैध आप्रवासी नियन्त्रणको स्तर बढाएको हुँदा हामीकहाँ भने आप्रवासीको सङ्ख्या बढिरहेको छ ।

अवैध आप्रवासी रोक्ने विषयमा नेपाल सरकारले पनि आफ्नो योजना बनाउनुपर्छ । अध्यागमन कार्यालयहरूलाई सक्रिय बनाउनुपर्छ । नेपालमा पर्न सक्ने आतङ्कवादको जोखिमसँगै क्षेत्रीय जोखिमलाई नियन्त्रण गर्न पनि यस्तो कदम चाल्नुपर्छ ।

भारत-पाकिस्तान युद्ध लामो हुँदैन

जारी युद्धमा भारतले पाकिस्तानका ९ वटा स्थानमा मिसाइल आक्रमण गर्‍यो । भारतको आक्रमणको पाकिस्तानले जसरी प्रतिकार गर्ने चेतावनी दिएको छ, त्यो हुँदा यो युद्ध ‘फुल स्केल’मा जाने सङ्केत देखिँदैन । यो आक्रमणलाई भारतले पहलगाम हमलाको जवाफका रूपमा ‘स्मार्ट अट्याक’ मात्रै गरेको देखिन्छ ।

भारतले अहिले आतङ्कवादी बस्ने स्थलहरूमा मात्र हमला गरेको दाबी गरेको छ । यो आक्रमणबाट भारतले विश्व समुदायलाई आतङ्कवादविरुद्ध आफ्नो प्रतिबद्धताको राजनीतिक सन्देश दिन खोजेको जस्तो देखिन्छ । भारत पनि पाकिस्तानसँग फुल स्केलमा युद्ध होस् भन्ने चाहँदैन ।भारतले आफू आतङ्कवादीविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छु भन्ने सन्देश दिन यो आक्रमण गरेको जस्तो लाग्छ ।

सन् २०१९ को बालाकोट आक्रमण र २०१६ को उरीमा आतङ्कवादी हमलापछि भारतले पाकिस्तानी क्षेत्रभित्र छिरेर आक्रमण गरेको थियो । र, त्यतिखेर पनि भारतले आक्रमण गरेपछि सुरु भएको युद्ध रोकिएको थियो ।

अपरेसन सिन्दुरमा भएको आक्रमणको स्वरूप हेर्दा भारत र पाकिस्तान दुवै ठूलो स्केलको युद्धमा जाने देखिँदैन । यो युद्धमा दुवै पक्षले आ–आफ्नो पोजिसन क्लियर गर्छन् र युद्ध रोकिन्छ ।

त्यसै पनि रुस-युक्रेन र इजरायल-हमास युद्धले विश्व समुदाय दबाबमा छ । र, यस्तो अवस्थामा फेरि अर्को युद्ध झेल्न विश्व समुदाय तयार छैन । त्यसकारण अन्तर्राष्ट्रिय समुदायले पनि यो युद्ध रोक्न दबाब दिन्छन् ।

युद्धको अवस्थामा नेपालले लिने नीति !

नेपाल सार्कको सदस्य राष्ट्र हो । अहिले त नेपाल सार्कको अध्यक्षको हैसियतमा छ । सार्कमा स्पष्ट रूपमा आतङ्कवाद नियन्त्रणको विषय छ । सार्कलाई सक्रिय बनाउन पहल गर्ने भूमिका नेपालको हो । यो युद्धको स्थितिलाई नियन्त्रण गर्न समेत नेपालले भूमिका निर्वाह गर्नुपर्छ ।

सार्कको अध्यक्षको हैसियतमा नेपालले जारी युद्धलाई रोक्ने आह्वान गर्नुपर्छ । यो युद्ध रोकिनुपर्छ भन्दै शान्तिका पक्षमा नेपालले अहिलेसम्म एउटा विज्ञप्ति निकालेको छैन । एउटा विज्ञप्ति भएपनि जारी गर्नुपर्छ । आतङ्कवाद नियन्त्रणको नाममा युद्धमा दुई देशहरूलाई जान दिनुहुँदैन भनेर नेपालले खुलेर भन्नुपर्छ ।

(नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातसँगको कुराकानीमा आधारित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register