भारतको टाउको दुखाइ बनेका यी तीन आतङ्कवादी सङ्गठन

काठमाडौं । मे ७ मा भारतीय हवाई हमलामा मारिएका लश्कर–ए–तैयबाका सदस्यहरुको अन्तिम संस्कारमा अमेरिकाले आतङ्ककारी घोषित गरेका अब्दुर रऊफ पाकिस्तानका सैन्य अधिकारीद्वारा घेरिएका थिए । पाकिस्तानी झण्डा ओढाएर मृतकहरूलाई ‘राजकीय सम्मान’ प्रदान गरिएको थियो । अब्दुर रउफको साथमा पाकिस्तानी सेनाका प्रमुख जनरल आसिम मुनिर तथा पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले मृतकहरुको शवमा श्रदाञ्जली स्वरुप फूल चढाए […]

May 11, 2025 - 09:13
 0
भारतको टाउको दुखाइ बनेका यी तीन आतङ्कवादी सङ्गठन

काठमाडौं । मे ७ मा भारतीय हवाई हमलामा मारिएका लश्कर–ए–तैयबाका सदस्यहरुको अन्तिम संस्कारमा अमेरिकाले आतङ्ककारी घोषित गरेका अब्दुर रऊफ पाकिस्तानका सैन्य अधिकारीद्वारा घेरिएका थिए ।

पाकिस्तानी झण्डा ओढाएर मृतकहरूलाई ‘राजकीय सम्मान’ प्रदान गरिएको थियो । अब्दुर रउफको साथमा पाकिस्तानी सेनाका प्रमुख जनरल आसिम मुनिर तथा पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले मृतकहरुको शवमा श्रदाञ्जली स्वरुप फूल चढाए ।

भारत सरकारले ‘अपरेशन सिन्दुर’को दौरान पाँच जना उच्च–प्रोफाइल आतङ्कवादीहरू मारिएको पुष्टि गर्‍यो । भारतका अनुसार उसले पाकिस्तान नियन्त्रित कश्मीरलाई केन्द्र बनाउँदै आएको जैश–ए–मोहम्मद (JeM), लश्कर–ए–तैयबा (LeT) र हिज्बुल मुजाहिद्दीनका नौवटा आतङ्कवादी शिविरहरूमा हमला गरेको थियो ।

भारतको आक्रमणमा जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका दुई भिनाजु – हाफिज मुहम्मद जमिल र मोहम्मद युसुफ अजहर । लश्कर–ए–तैयबाका कमाण्डरहरू मुदस्सर खदियान, खालिद र जैश–ए–मोहम्मदका मोहम्मद हसन खान मारिए ।

हिज्बुल मुजाहिद्दीन

सन् १९८९ मा स्थापना गरिएको हिज्बुल मुजाहिद्दीनले पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबादबाट आफ्नो अभियान सुरु गरेको थियो । यो सङ्गठनको उद्देश्य जम्मु र कश्मीरलाई पाकिस्तानमा विलय गराउनु हो । पाकिस्तानको इस्लामिक सङ्गठन जमात–ए–इस्लामी (Jel)को सशस्त्र शाखाका रूपमा रहेको यो समूह पाकिस्तानको गुप्तचर संस्था इन्टर सर्भिसेस इन्टेलिजेन्स (ISI) को निर्देशनमा स्थापना गरिएको हो ।यस समूहसँग १५ सयभन्दा बढी प्रशिक्षित लडाकुहरू छन् ।

यसका प्रमुख हुन्, मोहम्मद युसुफ शाह (सय्यद सलाउद्दिन) । हिज्बुलले पाँच वटा डिभिजनमार्फत आफ्ना गतिविधि सञ्चालन गर्छ । यसको आतङ्ककारी गतिविधिको केन्द्रमा हुन्छन्, श्रीनगर, कुपवाडा, बान्दिपोरा, बारामुल्ला, अनन्तनाग, पुलवामा, डोडा, राजौरी, पुंछ र उधमपुर ।

यसको मुख्यालय पाकिस्तान नियन्त्रित कश्मीरमा छ । पाकिस्तानको राजधानी इस्लामावाद र रावलपिण्डीमा पनि यो सङ्गठनका शाखा छन् । इस्लामावाद र रावलपिण्डीमा भएका शाखाले पाकिस्तानको सेना र सरकारसँग समन्वयको काम गर्छन् ।

कश्मीरमा विद्रोह उत्कर्षमा पुगेका बेला जन्मिएको यो समूह आन्तरिक मतभेदका कारण विभातिज पनि भइसकेको छ । विभाजनपछि एक पक्षको नेतृत्व सय्यद सलाउद्दिनले र अर्को पक्षको नेतृत्व हिलाल अहमद मिरले गर्न सुरु गरे ।

सन् १९९३ मा भारतको आतङ्कविरोधी कारबाही चरम सीमामा पुगेपछि हिज्बुलका हिलाल अहमद मिर सहित थुप्रै शीर्ष नेता मारिएका थिए ।

केही वर्ष पहिले हिज्बुल र जम्मु कश्मीर लिबरेशन फ्रन्ट (JKLF) बीच पनि सङ्घर्ष चर्किएको थियो । जम्मु कश्मीर लिबरेशन फ्रन्ट पनि पाकिस्तानको सैन्य गुप्तचर संस्था आईएसआईबाट आर्थिक सहयोग पाउने गर्छ । जम्मु कश्मीर लिबरेशन फ्रन्टले पनि स्वतन्त्र कश्मीरको वकालत गर्ने गर्छ ।

सन् २००० को जुलाईमा सलाउद्दिनले इस्लामावादमा आयोजित एक पत्रकार सम्मेलनमा भारतसँग सशर्त युद्धविरामको प्रस्ताव गरे । यो युद्धविरामका दौरान समूहका प्रमुख कमाण्डर अब्दुल मजीद दार र भारतका उच्च तहका अधिकारीहरूबीच श्रीनगरमा भेटघाट भएको थियो ।

तर, पाकिस्तानमा रहेका अन्य आतङ्कवादी समूहहरूबाट आएको दबाबका कारण सलाउद्दिनले युद्धविरामको प्रस्ताव फिर्ता लिए । दार आफ्नो सङ्गठननमा मान्छे भर्ती गर्ने, तालिम दिने प्रमुख व्यक्ति थिए । सन् २००३ मा अज्ञात बन्दुकधारीहरूले दारको हत्या गरे । सार्वजनिक भएका रिपोर्टहरू अनुसार हिज्बुलबाटै टुक्रिएको सलाउद्दिनको समूहले दारको हत्या गरेको थियो ।

यो समूहले जम्मु कश्मीरमा निर्वाचित नेता, प्रहरी चौकी, सेनामाथि बम आक्रमण गर्दै आएको छ । सन् २०११ को दिल्ली उच्च अदालत विस्फोटजस्ता थुप्रै आतङ्ककारी गतिविधिहरूमा यो समूह सामेल छ ।

यसका शीर्ष नेताहरू अहसान दार, अशरफ दार, मकबूल अल्ला, बुरहान वानी, रियाज नायकू, सब्जार भट भारतीय सुरक्षा बलहरूद्वारा मारिएका छन् । हिज्बुल मुजाहिद्दीनलाई सन् २०१७ मा अमेरिकाले आधिकारिक रूपमा आतङ्कवादी सङ्गठन घोषणा गरेका थियो ।

लश्कर–ए–तैयबा

‘शुद्धताको सेना’ भनिने लश्कर–ए–तैयबा (LeT) सन् १९९० मा अफगानिस्तानको कुनार प्रान्तमा स्थापना गरिएको थियो । सन् १९९३ यसका सदस्यहरुले भारतसँगको लाइन अफ कन्ट्रोल पार गरेर भारतमा घुसपैठ गरेपछि पहिलोपटक यो सङ्गठनको सक्रियता देखिएको थियो ।

पाकिस्तानको इस्लामिक सङ्गठन मरकज–अद–दावा–वल–इरशादबाट आर्थिक सहयोग पाउने यो समूहले कश्मीरमाथि भारतको सार्वभौमिकतालाई चुनौती दिँदै आएको छ । यसले सम्पूर्ण मुस्लिम बहुल क्षेत्रहरूलाई एशियामा एकत्रित गर्दै भारतमा इस्लामिक शासन लागू गर्ने विचारको वकालत गर्दै आएको छ ।

यसका प्रमुख हाफिज मुहम्मद सईद यतिखेर पाकिस्तानको सेन्ट्रल जेल लाहोरमा छन् । उनीमाथि ‘आतङ्कवादलाई आर्थिक सहयोग गरेको’ आरोप छ । फाइनान्सियल एक्सन टास्क फोर्स (FATF)को दबाबमा पाकिस्तान सरकारले यो समूहका प्रमुख हाफिज सईदलाई २०१९ मा ‘पक्राउ’ गरेको हो ।

पाकिस्तानको मुरिदकेबाहेक लश्कर–ए–तैयबाका केन्द्रहरू मुजफ्फराबाद, लाहोर, पेशावर, इस्लामाबाद, रावलपिण्डी, कराँची, मुल्तान, क्वेटा, गुजराँवाला, सियालकोट लगायतका शहरहरूमाछन् । यो समुले पाकिस्तानभरि धेरै इस्लामिक संस्था, विद्यालय, अस्पताल र मदरसाहरू सञ्चालन गर्छ ।

भारत, अमेरिका र इजरायललाई मुख्य लक्ष्य बनाउँदै लश्कर–ए–तैयबाले पाकिस्तान, अफगानिस्तान, सुडान, बहरिन, टर्की र लिबियाबाट कार्यकर्ताहरू भर्ती गर्ने गर्छ । यसको सक्रिय उपस्थिति जम्मु कश्मीर, रुसको चेचेन्या र मध्य एशियाका विभिन्न भागमा देखिन्छ । जम्मु कश्मीरमा मात्रै यसका ७०० भन्दा बढी सैन्य प्रशिक्षण पाएका कार्यकर्ताहरुछन् ।

अल–कायदाजस्ता अन्य आतङ्ककारी समूहहरूसँग समन्वय गर्दै लश्कर–ए–तैयबा भारतमा भएका भीषण आतङ्कवादी आक्रमणहरूमा सामेल छ । सन् २००६ मा भएको मुम्बई रेल हमला, २००८ मा भएको मुम्बई हमला, सन् २००२ को अक्षरधाम मन्दिर आक्रमण सहित वाराणसी, बैंगलुरु, नयाँ दिल्ली, कोलकाता, हैदराबाद र मुम्बईमा भएका शृङ्खलाबद्ध बम विस्फोटहरू यही समूहले गराएको थियो ।

सन् १९९९ पछि लश्करले ‘फिदायीन’ शैलीका आक्रमणहरू सुरु गर्‍यो । यो रणनीति अन्तर्गत यो समूहले स–साना समूह बनाएर सुरक्षा बलका अड्डाहरूमा आक्रमण गर्ने रणनीति अपनायो ।

जम्मु कश्मीरमा सुरक्षा बलको भेषमा गैर–मुस्लिम समुदायका मान्छेलाई घेराबन्दी गरी हत्या गर्ने घटनामा पनि लश्करका सदस्यहरू संलग्न भएका थिए ।

लश्कर–ए–तैयबा भारतमा प्रतिबन्धित छ । अमेरिकाले पनि यसलाई आतङ्कवादी सङ्गठनको सूचिमा राखेको छ । सन् २००२ मा चर्को अन्तर्राष्ट्रिय दबाब झेल्न नसकेपछि पाकिस्तान सरकारले यो समूहमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

यस समूहको मुख्य तालिम केन्द्र मुरिदकेस्थित मरकज तैयबा हो । यही तालिम केन्द्रमा सन् २००८ मा भएको मुम्बईमाथि आक्रमण गर्ने अजमल कसाब र डेभिड हेडलीले तालिम लिएका थिए । ‘अपरेशन सिन्दूर’ का दौरान भारतले यो केन्द्र ध्वस्त बनाएको छ ।

जैश–ए–मोहम्मद

सन् १९९९ मा हरकत–उल–मुजाहिद्दीन (HuM) ले काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको भारतीय विमान IC ८१४ अपहरण गर्‍यो । र, फिरौति स्वरुप हरकत–उल–मुजाहिद्दीनका महासचिव मौलाना मसूद अजहर रिहा भए ।

रिहा भएपछि मसूद अजहरले मार्च २००० मा बहावलपुरको एक रङ्गशालामा जैश–ए–मोहम्मद (JeM) स्थापना गरे । जैश–ए–मोहम्मद नामको सङ्गठन बनउाने बेलासम्मम मसूद अजहरलाई अमेरिकाले आतङ्कवादी घोषित गरिसकेको थियो ।

जैश–ए–मोहम्मदले जम्मु कश्मीरबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने र कश्मिर स्वतन्त्र हुनुपर्ने विचार राख्छ । यो समूहले अमृतसर, नयाँ दिल्ली र अयोध्यास्थित राम मन्दिरमाथि आफ्नो नियन्त्रण हुनुपर्ने धारणा राख्छ ।

यो समूहले ISI सँगै अन्य देशहरुबाट आर्थिक सहयोग पाउँछ । जैश–ए–मोहम्मदले २००१ मा भारतीय संसद्, सन् २०१६ मा पठानकोटस्थित भारतीय वायुसेना अड्डा र सन् २०१९ मा पुलवामा आक्रमण गरिसकेको छ ।

जम्मु कश्मीरका विभिन्न जिल्लाहरूमा सक्रिय रहेको जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई २००१ को संसद् आक्रमणपछि गिरफ्तार गरिएको थियो । तर, सन् २००२ मा पाकिस्तानको लाहोर उच्च अदालतको तीन सदस्यीय समीक्षा समितिको आदेशमा रिहा गरियो ।

त्यसपछि पाकिस्तानले अजहरको बारेमा आफूलाई थाहा नभएको दाबी गर्दै आएको छ । तर, रिपोर्टअनुसार मसूद अजहर पाकिस्तानको बहावलपुरमै छन् । उनी पाकिस्तानमै छन् भन्ने मुख्य सङ्केत हो, डिसेम्बर २०२४ मा दिएको एउटा भाषण ।

मे ७ मा भारतले बहावलपुरमा रहेको जैश–ए–मोहम्मदको मुख्यालय मार्कज सुब्हानअल्लाहलाई ध्वस्त पार्‍यो । यो आक्रमणमा मसूद अजहरका परिवारका केही सदसइ मारिएका छन् । मारिएकाहरु जैश–ए–मोहम्मदका सक्रिय सदस्य थिए ।

(द हिन्दुबाट भावानुवाद)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register