एन्ड्रियानाको नियति : मृत शरीरमा हुर्काउँदै एक जीवन (भिडिओ)

काठमाडौं । जर्जियाको एटलान्टाकी एन्ड्रियाना स्मिथको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको ब्रेन डेड भइसकेको छ । तर, जर्जिया सरकारको कानुनको कारण उनको शरीरलाई इन्क्युभेटरका रूपमा प्रयोग गरिएको छ । यो घटनाले समाजमा दुईवटा बहस निम्त्याएको छ । केहीले एन्ड्रियानाको शरीरलाई मुक्ति दिनुपर्ने र यो घटना अमानवीय हो भनिरहेका छन् । केहीले […]

May 28, 2025 - 09:10
 0
एन्ड्रियानाको नियति : मृत शरीरमा हुर्काउँदै एक जीवन (भिडिओ)

काठमाडौं । जर्जियाको एटलान्टाकी एन्ड्रियाना स्मिथको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको ब्रेन डेड भइसकेको छ । तर, जर्जिया सरकारको कानुनको कारण उनको शरीरलाई इन्क्युभेटरका रूपमा प्रयोग गरिएको छ । यो घटनाले समाजमा दुईवटा बहस निम्त्याएको छ ।

केहीले एन्ड्रियानाको शरीरलाई मुक्ति दिनुपर्ने र यो घटना अमानवीय हो भनिरहेका छन् । केहीले भ्रूणको पूर्ण विकासका लागि पर्खनुपर्छ भन्ने तर्क दिइरहेका छन् ।

के थियो घटनाक्रम ?

घटना गत फेब्रुअरीको हो । एटलान्टामा बस्ने ३० वर्षीया नर्स एन्ड्रियाना स्मिथ गर्भावस्थाको नवौँ हप्तामा टाउको दुख्ने समस्याका कारण अस्पताल गइन् । प्रारम्भिक जाँचमा गम्भीरता नदेखिएपछि उनलाई औषधि दिएर घर पठाइयो ।

अर्को दिन, उनलाई सास फेर्न गाह्रो भयो र झस्किँदै उठेर तुरुन्तै अस्पताल गइन् । अस्पतालमा भर्ना गरिएपछि मस्तिष्कमा रगत जमेको (BLOOD-CLOT) देखियो । त्यसको केही घण्टापछि चिकित्सकहरूले उनलाई ब्रेन डेड घोषित गरे ।

तर, एन्ड्रियानाको शरीर अझै पनि लाइफ सपोर्ट प्रणालीमा राखिएको छ । कारण ? उनको गर्भमा रहेको भ्रूणलाई पूर्ण विकास गर्न समय दिनु । ब्रेन डेड भएको व्यक्तिले सास फेर्न सक्दैन, यस्तो अवस्थामा लाइफ सपोर्टको सहायता दिइन्छ । लाइफ सपोर्ट भनेको यस्तो चिकित्सा प्रविधि र उपचार हो, जसले रगतमा अक्सिजन आपूर्ति गरिरहन्छ । रक्तचाप सामान्य राख्न औषधि दिइन्छ ।

मिर्गौला, कलेजो आदि अङ्गहरूलाई काम गर्न सहयोग पुर्‍याइन्छ । यद्यपि शरीर न्यानो हुन्छ, मुटु चलिरहेको देखिन्छ, र श्वास चलिरहेको जस्तो देखिन्छ । तर, यी सबै यन्त्रको सहयोगले मात्र सम्भव हुन्छ । व्यक्ति वास्तवमै मृत हुन्छ । यदि लाइफ सपोर्ट हटाइयो भने शरीरका अङ्गहरू क्रमशः बन्द हुन थाल्छन् र शरीरको कार्य पूर्ण रूपमा रोकिन्छ । ब्रेन डेड भएको व्यक्ति अब कहिल्यै होसमा आउन सक्दैन ।

जर्जियाको कानुनमा भ्रूण हत्या निषेध

जर्जियाको कडा गर्भपतन विरोधी कानुनअनुसार, भ्रूणको हार्टबिट सुनिएपछि गर्भपतन निषेध छ, जुन सामान्यतया छ हप्तामा हुन्छ । यो कानुनले चिकित्सकहरूलाई भ्रूणको जीवन बचाउन एन्ड्रियानाको शरीरलाई कृत्रिम रूपमा जीवित राख्न बाध्य बनाएको छ ।

द गार्डियनको रिपोर्टअनुसार एन्ड्रियानाकी आमा अप्रिल न्युक्रिक भन्छिन्, ‘यो हाम्रो लागि अत्यन्त पीडादायक छ । हामीले हाम्री छोरी गुमाइसकेका छौँ, तर अझै पनि उनको शरीरलाई जीवित राखिएको छ । छोरीलाई के गर्ने हामीलाई निर्णय गर्ने अधिकार छैन ।’

भ्रूण, जसको नाम ‘च्यान्स’ राखिएको छ, अहिले २२ हप्ताको भएको छ । तर, चिकित्सकहरूलाई भ्रूणको मस्तिष्कमा तरल पदार्थको रहेकोले चिन्ता छ, जसले भविष्यमा स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । चिकित्सकहरू भ्रूणलाई ३२ हप्तासम्म विकास गर्न चाहन्छन्, त्यसपछि  शल्यक्रिया गरेर बच्चालाई झिक्ने योजना छ ।

रिपोर्टका अनुसार एड्रियानका एक अबोध छोरा छन् । उनी आफ्नो हजुरआमा अप्रिल न्युक्रिकसँगै आमालाई भेट्न जान्छन् र ‘आमा सुतिरहेकी छन्’ भन्ने गर्छन् । आमालाई के भएको हो भन्ने र आमाको मृत्यु भइसकेको कुरा उनलाई थाहा छैन ।

अस्पष्ट कानुन

यो घटना जर्जियाको गर्भपतन कानुनमाथि प्रश्न उठाउने विषय बनेको छ । कानुनअनुसार भ्रूणको हार्टबिट सुनिएपछि गर्भपतन निषेध छ, तर मस्तिष्क मृत महिलाको अवस्थामा के गर्ने भन्ने कानुनमा स्पष्ट उल्लेख छैन । एन्ड्रियानाको परिवारले आर्थिक र भावनात्मक रूपमा ठूलो पीडा भोगिरहेको छ । उनीहरूले गो फन्ड मी (GO-FUND_ME)  मार्फत सहयोग सङ्कलन गरिरहेका छन्, तर यो पर्याप्त छैन ।

द गार्डियनका अनुसार एन्ड्रियानाकी आमा आफ्नो छोरीको अन्तिम संस्कार गर्न चाहन्छिन् । तर, त्यहाँको कानुनले उनीहरूलाई छोरीलाई कृत्रिम रूपमा भए पनि जीवित राख्न बाध्य बनाएको छ । महिलाको शरीर र निर्णयमाथि राज्यको नियन्त्रण कति उचित छ ? यो घटना केवल एक परिवारको पीडा होइन, यो सम्पूर्ण समाजका लागि चेतावनी बनेको छ ।

भिडिओ –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register