आलमको आतंकी साम्राज्य

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि २०७६ को २६ असोजमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम पक्राउ परे । चुनाव बिथोल्न बनाइरहेको बम विस्फोट हुँदा मरेका र घाइते भएकालाई जिउँदै इँट्टा भट्टामा पोलेर मारेको आरोपमा उनी पक्राउ परेका थिए । २०६४ चैत २८ मा भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत)मा आलमले चुनाव बिथोल्न भनेर बम […]

May 30, 2025 - 13:29
 0
आलमको आतंकी साम्राज्य

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि २०७६ को २६ असोजमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम पक्राउ परे । चुनाव बिथोल्न बनाइरहेको बम विस्फोट हुँदा मरेका र घाइते भएकालाई जिउँदै इँट्टा भट्टामा पोलेर मारेको आरोपमा उनी पक्राउ परेका थिए ।

२०६४ चैत २८ मा भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत)मा आलमले चुनाव बिथोल्न भनेर बम बनाउन लगाए । बनाउँदै गर्दा बम विस्फोट भयो । प्रमाण मेटाउन भनेर आलमले विस्फोटमा मरेका र घाइते भएकालाई आलामले इँट्टा भट्टामा पोले ।

घटनाको १२ वर्षपछि आलम पक्राउ परे । आलम पक्राउ परेपछि काठमाडौंबाट म रिर्पोटिङका लागि रौतहट पुगेँ । रौतहट पुगेर स्थानीय पत्रकार राकेश यादवलाई साथमा लिएर म सरासर आलमको गाउँ फरहदवा पुगेँ । आलमको गाउँमा मैले भोगेको मानसिक तनावको वर्णन त मैले शिलापत्रमा प्रकाशित ‘छिर्नै नसकिने सांसद आलमको गाउँ’ शीर्षकमा गरिसकेको छु ।

आलमको गाउँ फरहदवा छिर्नु अगाडि फतुवा नामको एउटा सानो बजार आउँछ । त्यही बजारदेखि नै आलमका सेनामेनाले हाम्रो निगरानी गर्न सुरु गरेका थिए । आलमको गाउँ छिर्दै गर्दा हाम्रो अगाडि र पछाडि मोटरसाइकलको ताँती थियो । ती मोटरसाइकल सवारले हामीलाई आलमले मान्छे जलाएको इँट्टा भट्टा भएको क्षेत्रको फोटो खिच्न दिएका थिएनन् । स्थानीयका अनुसार विस्फोटको दुई वर्षपछि इँट्टा भट्टा भत्काउन लगाएका थिए ।

आलमको गाउँ छिरेपछि हामीलाई लाट्ठी र डन्डा समातेका आलमका समर्थकले घेरा हाले । चौरको बीचमा मलाई राखेर वरीपरी ती हतियारधारी उभिएका थिए र मैले सोधेका प्रश्नको जवाफ लाट्ठी उठाउँदै दिइरहेका थिए ।

मैले त्यतिखेर मेरो अवस्थाबारे लेखेको थिएँ, ‘तराईमा अझै गर्मी घटेको छैन । त्यसमाथि चारैतिर भिडले घेरेको छ । चटचट पसिना आइसक्यो निधारमा । कोही कोही मान्छेहरु मैले प्रश्न सोधिरहेको भिडिओसमेत बनाउँदैछन् । यदि यो भिडिओ कसैगरी सामाजिक सञ्जालमा पुग्यो भने तपाईंले देख्नुहुनेछ – एउटा निरीह पत्रकार । गम्छाले बारम्बार निधारको पसिना पुछिरहेको । डरले हायलकायल पत्रकारले प्रश्न गरिरहेको ।’

आलमका छरछिमेकीले मलाई बारम्बार भनिरहे, ‘मन्त्री जी(आलम)लाई फसाइएको हो । घटना भएकै छैन, यो सब षडयन्त्र हो ।’

आलम २०५४ सालमै सहायकमन्त्री भएका थिए । २०५७ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा आलम वनमन्त्री थिए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा आलम भूमिसुधार मन्त्री थिए । त्यसपछि २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा आलम श्रममन्त्री भएका थिए ।

बारम्बार मन्त्री पद पाएका आलम रौतहटमा ‘मन्त्रीजी’का नामले परिचित छन् । आलमका हजुरबुवा (बाजे) शेख इद्रिसको साथ लागेर आलम राजनीतिमा आएका हुन् । २७ चैत २०६४ बम विस्फोट आलमका बाजे इद्रिसकै गोठमा भएको हो । गाउँबाट निस्कँदै गर्दा हाम्रो अगाडि पछाडि मोटरसाइकलको ताँती लाग्यो ।

मलाई अझै सम्झना छ – त्यो ताँतीमा ना १ ब ३००१ र ना १ ब २९७९ नम्बर दुईवटा सरकारी मोटरसाइकल पनि थियो । सरकारी मोटरसाइकल सवारले भनिरहेका थिए, ‘राम्रो लेखिदिनुहोला । मन्त्री जीलाई फसाइएको हो ।’

हत्या, हत्या र हत्या !

आलमले बनाउन लगाएको बम पड्किँदा मारिएका धेरै थिए । तर, थाहा भएका दुई जना हुन् – त्रिलोकप्रताप सिहं (पिन्टु) र महम्मद ओसी अख्तर ।

रिर्पोटिङको क्रममा १ कार्तिक (२०७६)को साँझ पिन्टुको घरमा पुगेको थिएँ । आलमका समर्थकबाट जोगाउन भनेर पिन्टुका बुवा श्रीनारायण सिहंको परिवारलाई प्रहरीले सुरक्षा दिइरहेको थियो ।

श्रीनारायण सिंहले बताएअनुसार उनका छोरा विस्फोटमा घाइते मात्र भएका थिए । घाइते पिन्टुलाई बाँधेर इँट्टा भट्टामा हालेर जिउँदै जलाइएको थियो । २७ चैत(२०६४)को बिहानै आलमको गाउँ गएको छोरा २८ चैतको बिहानसम्म पनि आएनन् । गाउँलेहरुले आलमको गाउँमा बम पड्केको सुनाएपछि उनी आलमको गाउँतर्फ हिँडे । नारायणले मसँग भनेका थिए, ‘तर, मलाई गाउँमा छिर्नै दिएनन् ।’

छोराको कुरा उप्काएपछि आँगनमा खाना पकाउँदै गरेकी आमा कमलादेवीले भनेकी थिइन्, ‘अभि भि कौनो आदमी दरावाजा पे आके ढक ढक कएलापर, हमर पिन्टु आगेल लागले ।’ (कसैले ढोका ढक ढक गर्‍यो भने पिन्टु नै हो कि जस्तो लाग्छ ।)

खाना पस्किँदा पनि कमलादेवी पिन्टुको भाग छुट्याउँ थिइन् । तर, आउँदैनन् छोरा खाना खान ।

बिहारबाट प्लस टु पास गरेका त्रिलोप्रताप गौरमा बीएड पढ्दै थिए । श्रीनारायणले सम्झनास्वरुप संगालेर राखेका छन्, छोराको नागरिकता, कलेजका सर्टिफिकेट र एक थान फोटो । आफ्नो घरमा आउने हर एक नयाँ मान्छेलाई उनी छोराको तस्वीर देखाउँथे । छोराको तस्वीर देखाइरहँदा उनी आफूलाई थाम्न सक्दैन्थे । उनका आँखाबाट अनयासै आँसु झर्थ्यो ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा एक प्रत्यक्षदर्शीले दिएको बयानअनुसार ‘इँट्टा भट्टाको दाउरा हाल्ने ठाउँमा ठूलो ज्यान भएका मान्छे नछिरेपछि बन्चरोले काटेर हालियो ।’

आलमले इँट्टा भट्टामा हालेको थाहा भएका अर्का मान्छे हुन्, महम्मद ओसी अख्तर । उनी दुबईबाट छुट्टीमा आएका थिए ।

अख्तरकी श्रीमती आमना खातुनले भनेअनुसार चुनावको अघिल्लो दिन (२७ चैत २०६४) घरमै शितल तापिरहेका थिए, ओसी अख्तर । आलमको गाउँका मान्छे आएर उनलाई लिएर गए । र, त्यसपछि उनी कहिल्यै फर्केनन् ।

आफूले नजाऊभन्दा भन्दै आफ्ना श्रीमान्‌लाई जबरजस्ती आलमका मान्छेले लिएर गएको सुनाएकी थिइन्, आमनाले ।

२०६४ को चैतमा आमनाको गर्भमा २ महिनाको बच्चा थियो । मैले भेट्दा आमनाको छोरा अब्दलु शाहिल ११ वर्षका थिए । अब्दुलले आफ्ना बुवालाई नागरिकताको तस्वीरमा मात्र देखेका छन् । श्रीमान्‌को सम्झनामा नागरिकता मात्रै छ, आमनासँग ।

कुराकानीकै शिलशिलामा उनले भनेकी थिइन्, ‘अब कौनो उपाय नबा’ (अब केही केही उपाय वा आश छैन ।)

छेउमा बसिरहेका आमनाकी बुवा समसुल छोरीको कुरा सुनेर मलिन भएका थिए । छोरीलाई एक टकले हेर्दै उनले भनेका थिए, ‘मेरो जिन्दगीको १२ वर्ष गयो दमादका लागि अब यत्तिकै कहाँ हुन्छ र ?’ अर्थात् उनले यो लडाइँ यत्तिकै नछाडने प्रण गरेका थिए ।

प्रहरीको सहयोग माग्न खोजेपछि समसुलको घरमा गोली हानिएको थियो । जिउँदै मान्छे इँट्टा भट्टामा हाल्ने आलमलाई सराप्दै समसुलले मसँग भनेका थिए, ‘अल्लाह ! तिनिहरु त मान्छे होइनन् – जल्हाद हुन्, जल्हाद ।’

प्रहरीले विस्फोटको घटना लुकाउन खोजेपछि मानव अधिकारकर्मीको टोली नै पुगेको थियो । मानव अधिकारकर्मीको टोलीले विस्फोटपछि चर्किएको भित्ता देखियो । भित्तामा नयाँ इँट्टा, छानामा नयाँ खवटा देखिए । अध्ययनका लागि भन्दै वैशाखमा घटनास्थल पुगेको प्रहरीसहितको मानव अधिकारकर्मीको टोलीमाथि आलमका समर्थकले आक्रमण नै गरेका थिए ।

अनौपचारीक सेवा केन्द्र इन्सेकको एक प्रतिवेदनमा लेखिएको छ, ‘घटनाको बारेमा वैशाख १७ गते (२०६५)सम्म प्रहरीलाई जानकारी नहुनु र, अध्ययनको क्रममा पीडितले वैशाख १८ गते प्रहरीलाई समेत लिएर गएको मानवअधिकारकर्मीको टोलीलाई भुस (विस्फोट भएको घरमा) निकाली तथ्य बुझ्न खोज्दा पीडित महिला र अध्ययन टोलीका सदस्यलाई आक्रमणको प्रयास हुनुले घटनालाई थप रहस्यमय बनाइदिएको छ ।’

रौतहट प्रहरीले आलमविरुद्ध जाहेरी लिन नमानेपछि समसुलले हुलाकबाट जाहेरी दिएका थिए । मानव अधिकारकर्मीको चर्को दबाबपछि मात्र प्रहरीले आलमविरुद्ध जाहेरी लिएको थियो ।

आलमको आतंकी साम्राज्य कस्तो थियो भने आलमले ओसी अख्तरकी आमाको पनि हत्या गरे । २०६७ माघमा आमनाकी सासु रोक्सना खातुनको हत्या गरियो । माइतीबाट फर्किँदै गरेकी रोक्सनासँगै थिइन्, समसुलकी श्रीमती साहजहाँ खातुन ।

सम्धिनीलाई गोली हानेको प्रत्यक्ष देखेकी साहजहाँले भनेकी हामीसँग भनेकी थिइन्, ‘३/४ जना नकाव लगाएको मान्छे आयो । घेँट पकडके बन्दुकके नालसे मारलक । ओकरा बादमे गोली मारदे ।’ (घाँटी समातेर बन्दुकको नालले हान्यो । त्यसपछि गोली हानेर मार्‍यो ।)

रोक्सनाले २०६५ वैशाखमा मानव अधिकारकर्मीलाई दिएको बयानअनुसार विस्फोटमा ओसी अख्तर घाइते मात्रै भएका थिए । ‘मेरो छोरा जिउँदै थियो । पानी खान मागिरहेको थियो भने उपचारका लागि अस्पताल लान भनेको रहेछ । मेरो छोरा घाइते अवस्थामा ल्याइदिए पनि म उपचार गराउँथे । अपांग भएपनि मेरै छोरा थियो, म पाल्न सक्थेँ,’ रोक्सनाले बयानमा भनेकी थिइन् ।

विस्फोटको घटनाको राम्रोसँग सुनुवाइ नभएपछि रोक्सना, समसुल र श्रीनारायण सिंह सर्वोच्च अदालत नै पुगे । सर्वोच्चकै आदेशमा प्रहरीले आलमलाई पक्राउ गरेको थियो ।

रोक्सनाको हत्यापछि पनि समसुलले न्यायको लडाइँ जारी राखेपछि उनलाई पनि आलमले धम्की दिएका थिए । ‘मलाई पनि बारम्बार धम्की आएको छ । प्रलोभन देखाएको छ,’ छोरीलाई हेर्दै उनले प्रश्न गरेका थिए, ‘अब के मेरो ज्वाइँ आउँछ ? हेर्नुहोस् छोरीको अनुहार कतै यस्तो हुन्छ ?’

समसुलले यस्तो भनेपछि त्यहाँ उपस्थित हाम्रा (राकेश यादव, नयाँ पत्रिकाकर्मी टेकराज थामी, विनोद विष्ट) प्रश्न रोकिएका थिए । छोरीलाई हेर्दै समसुलका आँखा भरिएका थिए । बुवाका आँखामा आँसु देखेपछि आमना कोठाभित्र दौडिएकी थिइन् र समसुलले आकाशतर्फ हेर्दै पुकारेका थिए, ‘अल्लाह, रहम कर ।’

रौतहट टाइगर !

काकाको बिँडो थाम्दै राजनीतिमा उदाएका आलमलाई रौतहटमा ‘टाइगर’ नामले पनि चिनिन्छ । चार पटक सांसद भएका, राजनीतिक शक्ति र आर्थिक प्रलोभनले सबैलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने आलमले पक्राउ परेपछि पनि प्रहरीलाई धम्क्याउँदै भनेका थिए – ‘तपाईंले ठट्टा ठान्नुभएको छ मलाई पक्राउ गर्नु, रौतहटमा आगो बाल्छु ।’

कांग्रेस रौतहटका सभापति रहिसकेका आलम कांग्रेसको भ्रातृ संगठन तरुण दल हुँदै राजनीतिमा उदाएका थिए । आलम पक्राउ पर्ने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवाले आलमलाई राजनीतिक प्रतिसोध साँध्न फसाइएको भाषण गरेका थिए । त्यसो त त्यसपछि अदालती प्रक्रियाका क्रममा पनि देउवाले ‘आलमलाई छुटाउन लागिरहेको छुँ’समेत भनेका थिए ।

आलमलाई पक्राउ गरेपछि अनुसन्धान गरिरहेका एक अनुसन्धान अधिकारीले त्यतिखेर भनेअनुसार आलम आफ्ना विरोधिप्रति सधैं हिंसात्मक रवैया अपनाउँथे । उनको यही रवैयाका कारण हुनुपर्छ – रौतहटमा उनी ‘रौतहट टाइगर !’ नामले कुख्यात थिए ।

संविधानसभा चुनाव विथोल्न आलमले विस्फोटक पदार्थसहित धाँधली गर्न लागेको भन्दै निर्वाचन आयोगमा विस्फोट अगाडि नै उजुरी परेको थियो । विस्फोटको अघिल्लो दिन (२६ चैत २०६४) मै जिल्ला निर्वाचन कार्यालय रौतहटमा नेकपा एमालेका उम्मेदवार शैलेन्द्र साहले विस्फोट योजनाको जानकारीसहितको उजुरी दिएका थिए । साहले दिएको सो उजुरी आयोगमा ३८४६ नम्बरमा दर्ता भयो । तर, त्यो उजुरी नै अहिलेसम्म गायब छ ।

साहले भारतबाट गुण्डा र विस्फोटक पदार्थ मगाएर चुनाव बिथोल्न लागेको उजुरी दिएपछि रौतहटका तत्कालीन एसपी लक्ष्मण नेउपाने(२०७२ टिकापुर घटनामा मारिए)ले उल्टै साहको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै फिर्ता मगाएका थिए ।

धाँधली र विस्फोट गराएर चुनाव जितेको भन्दै साह र अन्य ११ जना उम्मेदवारले मतगणना बहिष्कारसमेत गरेका थिए । घटना हुनुअघि मात्र होइन, घटनाको तीन दिनपछि ३० चैत २०६४ मा पनि साहले तत्कालीन संविधानसभा अदालतमा उजुरी दिएका थिए । ३० चैतमा संविधानसभा अदालतमा तत्कालीन मधेशी जनाधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा माओवादी, जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पनि आलमविरुद्ध उजुरी दर्ता गरेका थिए । तर, यी कुनै उजुरीको सुनुवाइ भएन ।

संविधानसभा अदालतलाई दिइएको उक्त उजुरीमा विस्फोटमा घाइते भएकाहरूको भारतको पटनास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उल्लेख गरेका थिए । जिल्ला निर्वाचन कार्यालय र सो कार्यालयमार्फत संविधानसभा अदालतमा पठाइएको उजुरी नै गायब पारिएपछि साहसहित पीडित परिवारले १२ वैशाख २०७५ मा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन लेखेका थिए ।

त्यसलगत्तै आयोगले विस्फोटको छानबिन गर्न सरकारलाई निर्देशन दियो । तर, सरकारले रौतहटको विस्फोटको छानबिन नै गर्‍यो । पीडित परिवारले विभिन्न निकायमा उजुरी दिँदा पनि आलममाथि अनुसन्धान हुनुको सट्टा उनलाई मन्त्री बनाइयो । २०६६ मा एमाले नेता माधव नेपालको नेतृत्वमा सरकार बन्ने तयारी भयो । नेपाल नेतृत्वको सरकारमा आलमलाई पनि मन्त्री बनाइन लागेको थाहा पाएपछि साहले नेपाललाई भेटेका थिए ।

नेपाललाई आलमले गरेको नरसंहारको जानकारी पनि गराएका थिए । आफ्नै पार्टी कार्यकर्ताको कुरा नसुनेर नेपालले आलमलाई श्रम तथा यातायातमन्त्री बनाइ छाडे । सत्ता र शक्तिको आडमा उनी त्यसपटक पनि छुटेका थिए ।

रिहा भयो भने मार्छ !

कुराकानी गर्दै गर्दा पिन्टुका बुवा श्रीनारायणले हात जोड्दै भनेका थिए, ‘अदालतले धरौटीमा रिहा गर्‍यो भने त मेरो ज्यानमा खतरा हुन्छ ।’

मैले स्पष्ट नसुनेपछि फेरि दोहोर्‍याउन आग्रह गरेपछि उनले भनेका थिए, ‘हजुर लेख्दिनुहोला, आलमलाई धरौटीमा छाड्यो भने मेरो ज्यानमा खतरा छ ।’

श्रीनारायणकी श्रीमती कमलादेवीलाई पनि २० वर्षपछि जेलबाट छुटेपनि आलमले आफ्नो परिवारलाई मार्छ कि भन्ने डर थियो । उनले भनेकी थिइन्, ‘२० वर्षपछि मेरो छोरा, नाती त हुन्छ । यिनलाई पनि मार्छ त्यसले । त्यसैले जन्मकैद होस् ।’

तर, उच्च अदालतले आलमलाई २० वर्ष नपुग्दै रिहा गर्‍यो । आलमलाई रिहा गर्दा उच्च अदालतले भन्यो, ‘विस्फोट भएको पुष्टी भएन । मान्छे मरेको प्रमाण छैन ।’

अदालतको यो तर्कमाथि पत्रकार शिव गाउँले प्रश्न गर्छन्, ‘उसो भए भट्टीमा हालिएका भनिएकाहरु कहाँ छन् त ?’

२९ सोजमा हस्याङफस्याङ गर्दै राति ७ बजेतिर चन्द्रनिगाहपुर पुगेपछि होटल साहुले आश्चर्यचकित हुँदै सोधेका थिए, ‘सकुशल फर्किनुभयो ?’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register