रहस्यमय राइमण्डल : मध्यपाषाण युगदेखि पर्यटकीय केन्द्रसम्मको यात्रा

जनकपुरधाम । महोत्तरीको बर्दिवासमा फेला परेको १०–१२ हजार वर्ष पुरानो हतियार कारखाना क्षेत्रबारे यतिबेला पुरातात्विक अध्ययन भइरहेको छ । पुरातत्व विभागका विज्ञहरूको टोलीले गत शनिबारदेखि बर्दिबास नगरपालिका–३ स्थित राइमण्डल क्षेत्रमा पुरातात्विक अध्ययन थालेको बर्दिवास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका सदस्य सचिव दीपेश काफ्लेले जानकारी दिए । प्राचीन मानव इतिहासमा प्रयोग भएका हतियार (ढुंगे औजारहरू) […]

May 31, 2025 - 09:34
 0
रहस्यमय राइमण्डल : मध्यपाषाण युगदेखि पर्यटकीय केन्द्रसम्मको यात्रा

जनकपुरधाम । महोत्तरीको बर्दिवासमा फेला परेको १०–१२ हजार वर्ष पुरानो हतियार कारखाना क्षेत्रबारे यतिबेला पुरातात्विक अध्ययन भइरहेको छ ।

पुरातत्व विभागका विज्ञहरूको टोलीले गत शनिबारदेखि बर्दिबास नगरपालिका–३ स्थित राइमण्डल क्षेत्रमा पुरातात्विक अध्ययन थालेको बर्दिवास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका सदस्य सचिव दीपेश काफ्लेले जानकारी दिए ।

प्राचीन मानव इतिहासमा प्रयोग भएका हतियार (ढुंगे औजारहरू) सो क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्वलाई थप उजागर गर्न नगरपालिकाले अनुसन्धान सुरु गरिएको उनले बताए ।

‘बर्दिवासमा पुरातात्विक पर्यटन प्रबद्र्धन गर्ने र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट प्राडा मंजित हजारियाको नेतृत्वको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको छ,’ उनले भने ।

जर्मन अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८० को दशकमा तराईका विभिन्न भूभागहरूमा मानव सभ्यताको अध्ययन गरी २००७ मा ‘प्रि–हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु, रातु र राइमण्डल क्षेत्रलाई मध्यपाषण युगको हतियार निर्माण हुने स्थल भनेर चिनाएको पाइएको छ । कार्विन्सले उक्त किताबको भोलम १ को पृष्ठ २३९ मा अहिलेको राइमण्डल अर्थात पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी छिन् । रातो माटोले पुरिएको अवस्थामा मध्यपाषण युगका हजारौँ हतियार भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमार्फत बताएकी छिन् ।

 

मध्यपाषण १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १० हजार वर्षअघिको नवपाषणको अवधिलाई भनिन्छ । ‘कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ १० हजार वर्षअघिको मध्यपाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको हो,’ सदस्य सचिव काफ्लेले भने ।

कर्विन्सले राइमन्ड आसपास र पाटुमा नै किन आएर अध्ययन गरिन् भन्ने विषय अझै रहस्यमय छ ।

तर विख्यात भूगर्भविद् कर्विन्सले गरेको अध्ययनपछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषण युगको हतियार कारखाना यतिबेला आममानिसको चर्चा र कौतहुलको विषय भने बनेको छ ।

कर्विन्सले उक्त किताबमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष पहिला अर्थात् मध्यपाषण युगमा मानिसको बाक्लो चहलपहल रहेको उल्लेख गरेकी छिन् ।

पुरातात्विक अध्ययन टोलीका पुरातत्वविद् भास्कर ज्ञवालीले अबको करिब १० दिनसम्म सो क्षेत्र र प्राप्त औजारहरूको अवलोकन, अध्ययन र अनुसन्धान गरिने जानकारी दिए । ‘धेरै अनुसन्धानकर्ताले उक्त क्षेत्रको अध्ययन, अनुसन्धान गरी प्रतिवेदन, किताब प्रकाशन गरिसकेका छन् । उक्त क्षेत्रका ढुंगे औजारहरू पुरातत्व विभागको प्रदर्शनीमा समेत राखिएकाले यहाँ थप विस्तृत अध्ययन थालिएको हो,’ उनले भने ।

मध्यपाषण युग १० देखि १२ हजार वर्ष पहिलाकोलाई मानिन्छ । अहिलेको पाटु गाउँमा विसं २०२० को दशकमा बस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १०–१२ हजार वर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछि स्थानीयहरूसमेत अचम्मित बनेका छन् ।

‘बन्चरोजस्ता र धारिला अनौठा ढुंगाहरू जंगल जाँदा भेटिन्थ्यो । पाटु १२ हजार वर्ष पुरानो सभ्यता भएको सञ्चारमाध्यमबाट थाहा पाएपछि हामीले त्यस्ता आकृतिका ढुंगाहरूको खोजी गरिरहेका छौं,’ स्थानीय रमेश पौडेलले भने,’ यो भूमि पुरातात्त्विक पर्यटनका हिसाबले उर्वर रहेछ ।’

हतियार कारखाना भेटिएको विषय पुरात्तात्विक हिसाबले निक्कै रहस्यमय भएको भन्दै यस ठाउँमा उद्योग बाणिज्य संघ बर्दिवासले पनि चासो देखाएको छ ।

पुरात्तात्विक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न संघका अध्यक्ष विष्णु खड्काको नेतृत्वमा तत्कालीन पर्यटनमन्त्री सुदन किरातीलाई प्रतिवेदनसमेत बुझाइएको थियो । फलस्वरुप संघीय सरकार र प्रदेश सरकारले झण्डै ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जानकारहरूका अनुसार मध्यपाषण युगको हतियार कारखाना– जुन बेला मानिसले ढुंगाका हतियार बनाउथे । सोही हतियारहरू कर्विन्सले रातो माटोभित्र हजारौँ संख्यामा रहेको पत्ता लगाइन् ।

तत्कालीन समयमा हतियार कारखानाको रुपमा नै प्रयोग भएको पाटुमा ठूलो संख्यामा मानिसको बसोबास मात्र नभएर अन्यत्रबाट पनि मानिस आएर त्यहाँ नै केन्द्रित हुने गरेको कर्विन्सको अध्ययनामा उल्लेख छ ।

‘उहाँले पत्ता लगाउनुभएका केही हतियार हामीले पुरातात्त्विक विभागमा समेत गएर अवोलोकन गर्यौं अध्यक्ष खडकाले भने, ‘वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्ययन केन्द्र बनाउन सकिने आधारहरू देखिएका छन् ।’

नेपालकै पहिलो र ठूलो पुरातात्त्विक पर्यटकीय केन्द्र बन्न सक्छ : पुरातत्वविद्

देशैभरिका पुरातत्वविद्हरूले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन् ।

‘बर्दिवासमा भेटिएको ठाउँ विश्व कै पुरातात्त्विक पर्यटन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधारहरू देखिएको छ,’ भूगर्भविद् प्रकाश दर्नालले भने, ‘संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । अब गुरुयोजना नै बनाएर काम गर्नुपर्छ ।’

कर्विन्सले पत्ता लगाएका उक्त अवशेषलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । हतियारहरू रातो माटोमुनि हजारौँको संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको त्यहाँको किताबमा उल्लेख गरिएको छ ।

यी सबै सम्पदालाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित बनाएको अर्का पुरातत्वविद् सोमनाथ सापकोटा बताउँछन् । मध्यपाषण युगका हतियारको राजधानी, सर्पहरूको राजधानी र विसं १२१८ को शक्तिशाली भूकम्पका विषयमा यहाँ थुप्रै रहस्य रहेको उनले बताए ।

‘पाटुको विषयमा थुप्रै गौरवपूर्ण इतिहास हामीले पत्ता लगाएका छौं । स्थानीय सरकारले यसमा विशेष चासो देखाउनुपर्छ,’ सापकोटाले भने । ‘कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगका हतियारको राजधानी, सर्पहरूको राजधानी र विसं १२१८ को शक्तिशाली भूकम्पका विषयमा यहाँ थुप्रै रहस्य छन् ।’

१२१८ को भूकम्पले बनाएको पहाड

नेपालको भूकम्प इतिहास केलाउँदा विसं १२१८ मा गएको भूकम्पलाई रेकर्ड गरिएकामध्ये सबैभन्दा पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
१२१८ असार शुक्ल तृतीया तिथि सोमबारका दिन करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।

यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाइ जनसंख्यालाई प्रभावित बनाएको थियो ।

इतिहासकारहरूका अनुसार भूकम्पका कारण तत्कालीन समयमा समथर र केही माथि उठेका चुरे पहाड झन् माथि उठेको बताइन्छ ।

त्यसैमध्ये भूकम्पको प्रभावकै कारण सबैभन्दा ठूलो पहाड पाटुको उपल्लो क्षेत्र अर्थात राइमण्डलको वरपर नै रहेको बताइन्छ ।

भूकम्पको झण्डै ९०० वर्ष पुरानो इतिहास यस ठाउँको एउटा टापुले प्रमाणित गरिरहेको भूगर्भविदहरू बताउछन् ।

भूगर्भविद्व सोमनाथ सापकोटाका अनुसार विद्यावारिधि (पीएचडी)का विद्यार्थीहरूले पाटुमा नै थुप्रै अध्यययन र अनुसन्धान गरेर जर्नलहरू प्रकाशित गरेका छन् ।

कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासँगै देखिएका ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरात्तात्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिने सापकोटा बताउँछन् ।
यसको व्यवस्थापन र प्रचारमा आफ्नो पालिकाले काम सुरु गरिसकेको बर्दिवास नगरपालिका प्रमुख (मेयर) प्रल्हादकुमार क्षेत्रीले बताए । उनले राइमण्डल र यस वरिपरिका क्षेत्र बर्दिवास नगरपालिकाको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।

यस्तो छ भौगोलिक अवस्था

बर्दिवास नगरपालिकाको समथर भूभाग छाडेर झण्डै सात किलोमिटर उकालो हिडेपछि पुगिन्छ राइमन्डल । यही राइमन्डलमा रहेका भीमडाँडा र सोली घोप्टे पहाडका टाकुरा हुन्, जसले हरबखत मधेशका समथर भूमि नियालिरहेकोजस्तो भान हुन्छ ।

‘समुन्द्री सतहबाट झण्डै ३६२ मिटर अग्ला यी पहाड तराईका गहना हुन भने बर्दिवासको समृद्धिका आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडा जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासतसमेत बोकेका छन्,’ मेयर क्षेत्री भन्छन् ।

उनका अनुसार शान्ति र अध्यात्मिक लाभका लागि कतिपय मानिस यस क्षेत्रमा आएर तपस्यासमेत गर्ने गरेका छन् ।

पुरातात्विक पर्यटकीयस्थलको रुपमा विकास गरिने

यसअघि प्रचारप्रसारको अभावमा ओझेलमा रहेका यी डाडाँहरूलाई मधेशका प्राकृतिक भ्यू टावरसमेत मानिन्छ । स्थानीय युवा विजय पोखरेलले यी डाँडामा उक्लिएपछि भारतको सीमानादेखि जनकपुर सहरसमेत दृश्यावोलकन गर्न सकिने बताए ।

बर्दिवास नगर क्षेत्रमा रिसोर्टदेखि ७० भन्दा बढी होटल छन् । ठूलो लगानीका होटलहरू धरासयी बन्दा व्यापारीमा चिन्ता बढ्दै गएको अवस्था छ । होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीका अध्यक्ष गुञ्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यसको व्यवस्थापन गर्न नसक्दा पर्यटकहरू एकदिन पनि बर्दिवास क्षेत्रमा टिक्न नसकिरहेको अवस्था रहेको गुनासो गर्छन् ।

यस्तोमा राइमण्डल क्षेत्रलाई पुरातात्विक पर्यटनस्थलको रुपमा विकास गर्न सकेमा आफूहरूलाई पनि राहत मिल्ने होटल व्यवसायीको आशा छ । ‘प्राकृतिक छट्टाले अनेकांै तरहले सिंगारिएको राइमन्डलबाट मनमोहक दृश्यावलोकनको लागि व्यवस्था मिलाउन सकिए पर्यटनलाई टेवा पुग्ने थियो,’ व्यवसायी कार्की भन्छन् ।

स्थानीय सरकारले यसको व्यवस्थापन र प्रचारमा काम थालिसकेकोले राइमण्डल बर्दिवास नगरपालिकाको समृद्धिको आधार बन्ने विश्वास स्थानीय व्यवसायीको छ । राइमण्डलका अग्ला डाँडामा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यसको फेदीमा थप खोजी गरी नवीन पर्यटकीय गन्तव्य वनाउन सकिने आधारहरू देखिएका छन्,’ व्यवसायी कार्कीले थपे ।

चराचुरुंगी तथा पर्यापर्यटन विकास उपसमितिका संयोजक विशाल बस्नेतले राइमण्डल र रातमाटे वरिपरिका क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर पुरातात्विक पर्यटनस्थलको रुपमा विकास गरिने बताए ।

‘अध्ययन टोलीले अध्ययनपश्चात् नगरपालिकालाई बुझाएको प्रतिवेदनअनुसार राइमण्डल र रातमाटे वरिपरिका क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर पुरातात्विक पर्यटनस्थलको रुपमा विकास गरिने छ,’ उनले भने ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register