अमेरिकाले इरानमा जीबीयू–५७ म्यासिभ अर्डनन्स पेनेट्रेटर बम बर्साएको संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानका तीन प्रमुख परमाणु स्थलहरू फोर्दो, नतान्ज र इस्फहानमा सैन्य आक्रमण सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् ।  उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले इरानमा थप आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यी आक्रमणमा प्रयोग भएको मुख्य हतियार बी-२ स्पिरिट स्टेल्थ बमवर्षकबाट खसालिएको जीबीयू-५७ […]

Jun 22, 2025 - 06:35
 0
अमेरिकाले इरानमा जीबीयू–५७ म्यासिभ अर्डनन्स पेनेट्रेटर बम बर्साएको संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानका तीन प्रमुख परमाणु स्थलहरू फोर्दो, नतान्ज र इस्फहानमा सैन्य आक्रमण सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् ।  उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले इरानमा थप आक्रमण गर्ने चेतावनी पनि दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यी आक्रमणमा प्रयोग भएको मुख्य हतियार बी-२ स्पिरिट स्टेल्थ बमवर्षकबाट खसालिएको जीबीयू-५७ म्यासिभ अर्डनन्स पेनेट्रेटर (एमओपी) बम भएको संकेत गरेका छन् । यो बम विश्वकै सबैभन्दा शक्तिशाली गैर-परमाणु बंकर बस्टिङ हतियार मानिन्छ, जसको तौल १३,६०० किलोग्राम छ । यो ६१ मिटर गहिराइसम्म कंक्रिटमा प्रवेश गरेर विस्फोट गर्न सक्छ ।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘हामीले फोर्दो, नतान्ज र इस्फहानमा सफल आक्रमण गरेका छौँ । फोर्दोमा सबै बम खसालिएको छ र हाम्रा सबै विमानहरू सुरक्षित रूपमा इरानको हवाई क्षेत्रबाट बाहिरिएका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने अर्को सेना छैन । अब शान्तिको समय हो ।’

इरानको दाबी : स्थलहरू पहिल्यै खाली

इरानले भने यी आक्रमणबाट कुनै ठूलो क्षति नभएको दाबी गरेको छ । इरानको सरकारी टेलिभिजन च्यानलका उप-राजनीतिक निर्देशक हसन अबेदिनीले भने, ‘हामीले परमाणु स्थलहरू पहिल्यै खाली गरिसकेका थियौँ । यदि ट्रम्पले भनेको कुरा सत्य भए पनि हामीलाई कुनै ठूलो क्षति भएको छैन किनभने महत्वपूर्ण सामग्रीहरू पहिल्यै सुरक्षित स्थानमा सारिसकिएको थियो ।’ तस्निम समाचार एजेन्सीका अनुसार, क्वोम प्रान्तका सङ्कट व्यवस्थापन प्रवक्ता मोर्तजा हैदरीले फोर्दो परमाणु केन्द्रको एक हिस्सामा हवाई आक्रमण भएको पुष्टि गरेका छन् ।

जीबीयू-५७ बम : विश्वकै शक्तिशाली बंकर बस्टिङ हतियार

रक्षा विशेषज्ञहरूका अनुसार, जीबीयू-५७, जसलाई म्यासिभ अर्डनन्स पेनेट्रेटर (एमओपी) भनिन्छ, अमेरिकाले मात्र प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने हतियार हो । यो बम मिसौरीको ह्वाइटम्यान एयर फोर्स बेसबाट उड्ने बी-२ स्पिरिट स्टेल्थ बमवर्षकबाट खसालिन्छ । रोयटर्स समाचार एजेन्सीले उद्धृत गरेको एक अमेरिकी अधिकारीका अनुसार, इरानमाथिको आक्रमणमा बी-२ बमवर्षकहरू संलग्न थिए ।

यो बमको डिजाइन बोइङ कम्पनीले गरेको हो र यसको लम्बाइ ६ मिटर छ । यो ५०,००० फिटको उचाइबाट खसालिन्छ, जसले गर्दा यसले गति ऊर्जा (काइनेटिक इनर्जी) प्राप्त गर्छ र जमिनमा गहिरो प्रवेश गर्न सक्छ । बमको बाहिरी भाग अत्यन्त बलियो बनाइएको छ ताकि टक्कर हुँदा पनि यसको संरचना नबिग्रयोस् । यसको पछाडि जडान गरिएको डिले फ्युजिङ सिस्टमले ५,३०० पाउन्ड विस्फोटक सही गहिराइमा पुगेर विस्फोट गरोस् भन्ने सुनिश्चित गर्छ । प्रायः एकभन्दा बढी बम खसालिन्छ—पहिलो बमले बाटो बनाउँछ भने दोस्रो वा अन्य बमले लक्षित स्थल पूर्ण रूपमा ध्वस्त गर्छ ।

परमाणु हतियारबाहेक, यो बमलाई विश्वकै सबैभन्दा ठूलो बंकर बस्टिङ हतियार मानिन्छ । यसको परीक्षण अमेरिकाको न्यू मेक्सिकोस्थित ह्वाइट स्यान्ड्स मिसाइल रेन्जमा गरिएको थियो, तर युद्धमा यसको प्रयोग पहिलोपटक भएको मानिन्छ । यो म्यासिभ अर्डनन्स एयर ब्लास्ट (एमओएबी) बमभन्दा पनि शक्तिशाली छ, जसलाई ‘मदर अफ अल बोम्ब्स’ भनिन्छ र सन् २०१७ मा अफगानिस्तानमा प्रयोग गरिएको थियो ।

इरानको सम्भावित जवाफी कारबाही

बीबीसीका तेल अवीव संवाददाता मार्क लोवेनका अनुसार, यो आक्रमणले इरान र इजरायलको सम्बन्धमा ठूलो मोड ल्याएको छ । इजरायली सरकारी प्रसारक कानलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार, इरानका परमाणु स्थलमा भएको आक्रमणमा इजरायलले अमेरिकासँग पूर्ण समन्वय गरेको थियो ।

यो घटनाले क्षेत्रीय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ । मध्यपूर्वमा करिब ४०,००० अमेरिकी सैनिक तैनाथ छन्, जो अहिले पूर्ण सतर्क अवस्थामा छन् । शनिबार यमनका इरान समर्थित हुथी विद्रोहीहरूले अमेरिकाले इरानमा सैन्य कारबाही गरेमा लाल सागरमा अमेरिकी जहाजहरूमा आक्रमण पुनः सुरु गर्ने चेतावनी दिएका थिए ।

इरानले अमेरिकी वा क्षेत्रीय सैन्य अखडाहरूमा जवाफी कारबाही गर्न सक्ने र इजरायलमाथि कसरी प्रतिक्रिया जनाउँछ भन्ने चासो र आशङ्का बढेको छ ।

आगामी परिस्थिति

यो आक्रमणले मध्यपूर्वको भूराजनीतिमा नयाँ तनाव सिर्जना गरेको छ । इरानले कस्तो कदम चाल्छ र यसको जवाफमा अमेरिका वा इजरायलको रणनीति के हुन्छ भन्ने कुराले आगामी दिनमा क्षेत्रीय स्थायित्व निर्धारण गर्नेछ ।  बीबीसीको यसहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register