अधिकांश मन्त्रालयद्वारा निजामती नियमावलीको धज्जी

Sep 5, 2025 - 04:44
 0
अधिकांश मन्त्रालयद्वारा निजामती नियमावलीको धज्जी

–भौतिकले गर्‍यो नियमविपरीत ५६ को सरुवा
–यसअघिको गृह र अर्थ मन्त्रालयको सरुवा पनि नियमविपरीत
–अब सामान्य प्रशासन मन्त्रालयले कडाइ गर्नुपर्ने

काठमाडौं ।

सरकारका विभिन्न मन्त्रालयहरूले नियमविपरीत ठूलो संख्यामा कर्मचारी सरुवा गरेर निजामती सेवा ऐन र नियमावलीको धज्जी उडाउँदै आएका छन् ।

निजामती सेवा ऐन र नियमावलीले हरेक मन्त्रालय तथा विभागले गर्ने कर्मचारी सरुवाको तालिका र समय नै स्पष्ट रूपमा निर्धारण गरेको छ । तर, अधिकांश मन्त्रालयले कर्मचारी सरुवा गर्दा निजामती सेवा नियमावलीमा उल्लिखित तालिका (क्यालेन्डर) लाई पूर्ण रूपमा बेवास्ता गर्दै आइरहेका हुन् । उनीहरूले क्यालेन्डर छलेर कर्मचारी सरुवा गर्दा कुशासनलाई प्रश्रय मिल्ने गरेको छ ।

निजामती सेवा नियमावलीको नियम ३६ अनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म कर्मचारी सरुवा गर्नुपर्छ । सामान्य प्रशासन मन्त्रालयले भने नयाँ मन्त्री भगवती न्यौपाने मन्त्रीका रूपमा आएपछि सोही क्यालेन्डरअनुसार नै कर्मचारी सरुवा गर्दै आएको छ । यसअघिका धेरै मन्त्रीहरूले भने क्यालेन्डर छल्दै जथाभावी सरुवा गरी बदनाम हुँदै आएका थिए ।

यसै गरी अन्य मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेसम्म कर्मचारी सरुवा गर्नुपर्छ भने क्षेत्रीय स्तरका निकायले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तसम्ममा कर्मचारी सरुवा गर्नुपर्ने कानुनी प्रावधान छ ।

सोही नियमावलीमा कुनै कार्यालयमा कर्मचारी रिक्त रहेमा मात्रै सो समय तालिकाबाहेकको समयमा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिएरमात्रै सरुवा गर्नुपर्ने प्रावधान छ । रिक्त रहेको अवस्थामाबाहेक सरुवा क्यालेन्डरमा रहेर प्रत्येक वर्षको एकपटक मात्रै मन्त्रालयहरूले कर्मचारी सरुवा गर्न पाउँछन् तर अहिले प्रायःजसो सबै मन्त्रालयलले बाह्रै मास सरुवा गर्दै विकृति निम्त्याउने काम गर्दै आइरहेका छन् ।

सो कानुनी प्रावधानविपरीत केही दिन अघिमात्रै गृह मन्त्रालय र अर्थ मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन् भने बिहीबारमात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निजामती सेवा नियमावलीको धज्जी उडाउँदै उपसचिवस्तरमा ५६ जना सिनियर डिभिजनल इन्जिनियरहरूको सरुवा गरेको छ । जबकि, भौतिक मन्त्रालयलाई नियमावलीले असोजमा मात्रै कर्मचारी सरुवा गर्न सक्ने अधिकार दिएको छ । तर, सोविपरीत भौतिकले भदौमा नै ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो । सरुवामा चलखेलसमेत भएको दाबी स्रोतको छ ।

निजामती सेवा नियमावलीका अनुसार क्यालेन्डरबाहेक अन्य समयमा कुनै पनि मन्त्रालय, केन्द्रीय निकाय वा विभागले कर्मचारी सरुवा गर्न पाउँदैन । यदि, कुनै कारणवश कर्मचारीको सरुवा गर्न परेमा सरुवा गर्नुपर्ने कारणसहित खुलाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनिवार्य सहमति लिनुपर्छ । सामान्यले सहमति दिएमा मात्रै मन्त्रालयहरूले अन्य समयमा फाट्टफुट्ट सरुवा गर्न सक्छन् ।

तर, अधिकांश मन्त्रालयले अन्य समयमा कर्मचारी सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयसँग सहमति नलिएर नियमावलीलाई चुनौती दिँदै आएका छन् । यसमा सामान्य प्रशासन मन्त्रालयले पनि कडाइ गर्न सकेको छैन । सामान्य प्रशासन मन्त्री न्यौपानेले केही समय अघिमात्रै देशभरका सबै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य बनाएर सरुवा विकृति रोक्ने अभियान थाल्नुभएको छ । उहाँले सामान्य प्रशासन मन्त्रालयमा व्याप्त सरुवा विकृति अन्त्य गरी अन्य मन्त्रालयमा हुने विकृतिलाई समेत रोक्न आवश्यक पहल गर्ने विश्वास आम कर्मचारीले गरेका छन् ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register