खाँडादेवीको गोगनपानीमा बन्दै गरेको बौद्ध विहार समयमा बनेन
काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिकाको गोगनपानीमा बनिरहेको साम्तेलिङ गुम्बा बौद्ध विहारको निर्माण अन्योलमा परेको छ । संघीय सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब साँढे ३ करोड रुपैँयाको लागतमा बिहारको निर्माण सुरु भएको हो । गत साल नै सम्पन्न हुनु पर्ने सो भवन निर्माण व्यवसायीले समयमा निर्माणको काम सम्पन्न नगर्दा निर्माण के हुने भन्ने अन्यौलता बढेको छ ।
दुईवटा भवन बन्नु पर्नेमा एउटा भवनको निर्माण सुरु भएकै छैन । एउटा २० कोठे भवन भने निर्माणको अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको लागि गाउँपालिकाले ३३ लाख रुपैँया र संघीय सरकारले करिब ६५ लाख रुपैँया निर्माण व्यवसायीलाई भुक्तानी गरिसकेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।
अहिले अर्थ मन्त्रालयले पैसा रोकेको, असारसम्म मात्र थप भएको सम्झौताको म्याद रहेको र निर्माणको काम समेत नसकिएकोले के गर्ने भन्ने अन्यौलता रहेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । बन्न बाँकी भवन नबने पनि अहिलेकै भवन फिनिसिङ गरी पठन पाठनको काम अघि बढाउने श्रेष्ठले बताउनुभयो । ‘अहिले यही बनेको भवनबाट गुरु र विद्यार्थी राखेर पठन पाठन सुरु गरिहाल्छौँ, अरू व्यवस्था बिस्तारै हुँदै जान्छ’, उहाँले भन्नुभयो ।
देशभरि १ सय ७१ वटा त्यस्ता गुम्बाको भवन निर्माण गर्ने सम्झौता भएकोमा हालसम्म १२ वटाको मात्र काम सम्पन्न भएको छ । देश भरीका १ सय ५९ वटा यस्ता गुम्बा भवन अहिले अलपत्र अवस्थामा रहेका छन् ।
What's Your Reaction?






