संसदमा राष्ट्रिय सरोकारका विषय उठाउन एमाले महासचिव पोखरेलको आग्रह

Jun 4, 2023 - 04:25
 0
संसदमा राष्ट्रिय सरोकारका विषय उठाउन एमाले महासचिव पोखरेलको आग्रह
संसदमा राष्ट्रिय सरोकारका विषय उठाउन एमाले महासचिव पोखरेलको आग्रह

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् बैठकमा राष्ट्रिय सरोकारका विषयमा बोल्न सांसदहरूलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले जनता र राष्ट्रको सरोकारका विषयमा ध्यान गम्भीरतापूर्वक जानुपर्ने बताउनुभयो । 

यस्ता छन् महासचिव पोखरेलका सुझाव :

१)संसद्को विशेषाधिकार हननको विषय: प्रधानमन्त्री भारत भ्रमणमा जादैगर्दा हदम्याद गुज्रिएर निष्क्रिय बनेको विधेयक मन्त्रीपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को क्षेत्राधिकारको गम्भीर उलंघनको विषय हो । विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसद्को हो, सरकारको होइन । त्यसमाथि नयाँ जनादेशबाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा निष्क्रिय र विवादास्पद विधेयक अनुचित तरिकाबाट प्रमाणीकरण गरिनु खेदजनक छ । प्रमाणीकरण भएको विधेयक संविधानको भावना विपरीत छ । वैवाहिक अंगिकृतका सन्दर्भमा नेपाल र भारतका बीचमा कम्तीमा समान व्यवस्था हुनुपर्दछ भन्ने नेपाली जनताको चाहना विपरीत विधेयक आएको छ । नेपाली चेलीहरु विहेगरेर भारत जाँदा भारतीय नागरिकताको अधिकार पाउन ७ वर्ष लाग्ने र नेपालमा विवाहसँगै नागरिकता पाउने व्यवस्था राष्ट्रको हित विरुद्धमा छ । त्यसमाथि यो विधेयकलाई भारत भ्रमणसँग जोडिनुले पनि यसको अन्तर्यलाई सहजै बुझ्न सकिन्छ। यस्ता विषयमा संसद्को ध्यान गम्भीर रूपमा जानु र संसद्को विशेषाधिकारको रक्षा गरिनु आवश्यक छ ।

२) नेपाल र नेपालीको शिर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा  बङ्गलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात हो । बङ्गलादेश जानेबाटो नेपाल जस्ता भूपरिवेष्टित राष्ट्रले पाउनुपर्ने अधिकारको विषय हो । यसलाई हाम्रो मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोच हो । यसप्रति सिंगो संसद् र माननीयज्यूहरूको ध्यान गम्भीर रूपमा जानु पर्दछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट यस अतिरिक्त निम्नानुसारका गम्भीर कमजोरी समेत भएका छन्:

क) औपचारिक भ्रमणलाई राजकीय भ्रमण भनेर जनतालाई गुमराहमा राख्ने र ढाँट्ने काम ।

ख) औपचारिक भ्रमणलाई पारिवारी निजी भ्रमणजस्तो बनाउने काम । सुरक्षा सल्लाहकारसँगको भेटमा भारतीय विदेश सचिव उपस्थित भएको देखिँदा प्रधानमन्त्री भने परराष्ट्रका अधिकारी विना नै छोरीको साथमा देखिनु गम्भीर कमजोरी हो ।

ग) भ्रमणका क्रममा मन्त्रीज्यूहरूको तुलनामा प्रधानमन्त्रीले आफ्नी छोरीलाई (जो प्रधानमन्त्रीको स्वकीय सचिव समेत हुन्) उच्च मर्यादाक्रममा राख्नु कूटनीतिक दृष्टिले गम्भीर त्रुटि हो ।

घ) भारत भ्रमणका क्रममा नेपालले आफ्नो सरोकारका विषयमा भ्रमणलाई केन्द्रित गर्न पूर्णतः असफल रह्यो । जस्तो: सीमा समस्याको समाधान, भारतीय वाधक कारणले बर्खामा हुने गरेको तराई क्षेत्रको डुबानको समस्याको समाधान, पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एअररुटको प्राप्ति र नेपाल भारत असमान सम्धी सम्झौताको सुधारका लागि तयार भएको इपीजीको प्रतिवेदनको कार्यान्वयन । यस्ता विषयलाई अदृष्य भयका कारण प्रधानमन्त्री स्वयमले उपेक्षा गरेको देखियो ।

ङ) प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय चासोको आँखा चिम्लेर सम्बोधन गर्ने काम भयो । नेपालको सरोकारका मुख्य विषयहरूले ठाउ पाउन सकेनन् । तर पनि प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीको सान्त्वना भाषणको प्रसंशा गरेर भ्रमणको औचित्य पुष्टि गर्न खोजिरहनु भएको छ । 

च) जनप्रतिनिधिज्यूहरुले  कुटिलताले भरिएको भाषणमा होइन तथ्यमा प्रवेश गरेर प्रधानमन्त्रीसँग सवाल जवाफ गर्नुपर्दछ । भारत भ्रमणका क्रममा देखिएको नेपाल पक्षको कमजोर तयारी, भ्रमण दलका सदस्यहरूबाट भएको कूटनीतिक मर्यादाको गम्भीर उलंघन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनु सक्नु पर्दछ । ताकी भविष्यमा कुनैपनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शिर निहुराउने काम नगरोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1