आन्तरिक पर्यटकको गन्तव्य बन्दै सुतैया ताल

बाँके । वैजनाथ गाउँपालिका–३ स्थित सुतैया ताल आन्तरिक पर्यटकका निम्ति नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको सुतैया ताल प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजंगलको आनन्द लिनेका निम्ति आकर्षणको केन्द्र बन्दै गएको छ । करिब सात हेक्टर क्षेत्रफलमा […]

Oct 14, 2024 - 07:13
 0
आन्तरिक पर्यटकको गन्तव्य बन्दै सुतैया ताल

बाँके । वैजनाथ गाउँपालिका–३ स्थित सुतैया ताल आन्तरिक पर्यटकका निम्ति नयाँ गन्तव्य बन्न थालेको छ ।

कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको सुतैया ताल प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजंगलको आनन्द लिनेका निम्ति आकर्षणको केन्द्र बन्दै गएको छ ।

करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र सम्वर्द्धन गर्दै आएको छ ।

समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए । “बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ,” उनले भने, “ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन् । यहाँ पाटेबाघ, चित्तल, बँदेललगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन् । जसले धेरैलाई लोभ्याउने गरेको छ ।”

पूर्वअध्यक्ष थारुले ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना भए पनि लगानीका निम्ति स्रोत नहुँदा उक्त कार्य हुन नसकेको बताए ।

वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका निम्ति हरेक वर्ष केही न केही बजेट छुट्ट्याए पनि पर्याप्त नभएको बताए ।

पालिकाले ताल संरक्षणका निम्ति वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा संघीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“यो ताल संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक आम्दानीको स्रोत पनि बन्थ्यो । तर, हामीसँग आर्थिक स्रोत नभएकाले ठूलो लगानी गर्न सकेका छैनौँ । यसमा प्रदेश तथा संघीय सरकारले सहयोग गरेमा धेरै सहज हुन्थ्यो । अब त्यसका लागि पहल गर्छौँ,” अध्यक्ष शाहीले भने । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register