प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने, खेलतालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो । दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ । टर्फपीचमा खेल गराउँदा […]

Dec 30, 2024 - 06:45
 0
प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने, खेलतालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।

दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लोस्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आवद्ध प्रदेश– ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए । उक्त छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्को खेलमा डोटी र बझाङ खेल्नेछन् । पुस २० गते हुने पहिलो खेलमा डोटी र अछाम तथा दोस्रोमा बैतडी र बझाङ भिड्नेछन् । पुस २१ गते पहिलो खेलमा बैतडी र डोटी तथा दोस्रोमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ । पुस २२ गते पहिलो खेलमा समूह ‘ए’ मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् । पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ ।

पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा दोस्रोमा कञ्चनपुर र दार्चुला आमनेसामने हुनेछन् । पुस २५ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को विजेताबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register