सरकारी निर्णयविपरीत कृषकलाई आफूखुसी दुधको मूल्य दिँदै डेरी उद्योग

सन्तोष शर्माबनियानी, २५ माघ । सरकारले निर्धारण गरेको कच्चा दुधको न्यूनतम् मूल्य आफूहरुले नपाएको कृषकले गुनासो गरेका छन् । पशुपालन तथा दुग्ध उत्पादन संघ झापाले सरकारले कच्चा दुधको न्यूनतम खरिद मूल्य निर्धारण गरे पनि आफूहरुले विगत १४ महिनादेखि नपाएको गुनासो गरेका हुन् । मन्त्रिपरिषदको २०७९ साल फागुन १९ गतेको निर्णय अनुसार कच्चा दूधको न्यूनतम खरिद [...] The post सरकारी निर्णयविपरीत कृषकलाई आफूखुसी दुधको मूल्य दिँदै डेरी उद्योग appeared first on Jhapa Online.

Feb 7, 2025 - 06:04
 0
सरकारी निर्णयविपरीत कृषकलाई आफूखुसी दुधको मूल्य दिँदै डेरी उद्योग

सन्तोष शर्मा
बनियानी, २५ माघ ।
सरकारले निर्धारण गरेको कच्चा दुधको न्यूनतम् मूल्य आफूहरुले नपाएको कृषकले गुनासो गरेका छन् ।

पशुपालन तथा दुग्ध उत्पादन संघ झापाले सरकारले कच्चा दुधको न्यूनतम खरिद मूल्य निर्धारण गरे पनि आफूहरुले विगत १४ महिनादेखि नपाएको गुनासो गरेका हुन् ।

मन्त्रिपरिषदको २०७९ साल फागुन १९ गतेको निर्णय अनुसार कच्चा दूधको न्यूनतम खरिद मूल्य (सरकारी मापदण्ड अनुसार ४ युनिट फ्याट र ८ युनिट एसएनफ) रू ६५ मा चिलिङ्ग, ढुवानी लगायत अन्य खर्चका लागि थप गरी प्रतिलिटर रू ७५ रहेको पशुपालन तथा दुग्ध उत्पादन संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले बताउनुभयो ।

सरकारले तोकेअनुसार दुध खरिद–बिक्री हँुदै आएका पनि २०८० साल कात्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध मुख्य डेरी उद्योगका सञ्चालकहरुको छलफलबाट मिति २०८० साल मंसिर १ गतेदेखि लागु हुने गरी प्रति रू आठ घटाएको उहाँले जानकारी दिनुभयो ।

“सरकारले निर्धारण गरेको मूल्यमा आफूखुसी निर्णय गरेर डेरी उद्योगीहरुले किसानमाथि अन्याय गरेका छन्”, उहाँले भन्नुभयो, “सरकारको निर्णय बर्खिलाप गर्ने अधिकार कसैलाई छैन, सरकारले तोकेको मूल्य घटाउने अधिकार डेरी व्यवसायीलाई कसले दियो ?” डेरीले हाल कृषकलाई प्रतिलिटर दुध रू ६१÷६२ दिने गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०८० मंसिर ७ गतेको चलानी नं ११४ को पत्र, डेरी उद्योग संघ नेपालको २०८० मंसिर ७ गतेको पत्र र केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालको मिति २०८० कात्तिक २४ गतेको पत्रबाट समेत दुधको मूल्य नघटाई खरीद बिक्री गर्न पत्रचार गर्दा समेत कोशी प्रदेश डेरी उद्योग संघले बेवास्ता गरेर आफूखुसी मूल्य निर्धारण गरेको संघका मुख्य सल्लाहकार सुदीप गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषदको निर्णय र दुग्ध विकास बोर्डको अनुरोधलाई समेत बेवास्ता गरेर डेरी व्यवसायीले मनोमानी गरिरहेका छन् ।”

आफूखुसी दुधको मूल्य घटाइँदा दुध उत्पादन गर्ने कृषकहरुको उठिबास हुने अवस्था सिर्जना भएको संघका उपाध्यक्ष दिनेश थापाले बताउनुभयो । कोशी प्रदेशमा दैनिक एक लाख ५० हजार लिटर दुध उत्पादन हुने र डेरी उद्योग संघले मूल्य घटाउँदा दैनिक रू १२ लाख कृषकलाई घाटा भइरहेको उहाँले बताउनुभयो ।

“आफूले उत्पादन गरेको दुधको उचित मूल्य किसानले पाएका छैनन्, बैंक व्याज र पशु आहारको मूल्य पनि बढेको छ”, उहाँले भन्नुभयो, “चौतर्फी घाटाले दुध उत्पादक कृषक पेशा छोडेर पलायन हुने क्रम बढेको छ ।”

मेचीनगरका व्यावसायिक दुध उत्पादक कृषक बद्री निरौलाले मेचीनगरको बाहुनडाँगीमा केही समय पहिले करिब २२ वटा गाई फर्म रहेकामा हाल चार÷पाँच वटा सीमित भएको बताउनुभयो । पछिल्लो समय प्रदेशमा दुध उत्पादन घटिरहेको उहाँको भनाइ छ ।

कोशी प्रदेशमा मात्रै दुध उत्पादक कृषकले गरेको रू सात अर्ब लगानी संकटमा परेको संघले जनाएको छ । डेरी व्यवसायीले कृषकले आफूले चाहेको ठाउँमा दुध बेच्न नपाउने गरी सिण्डिकेटसमेत चलाएको संघको आरोप छ ।

कोशी प्रदेश डेरी उद्योग संघले कृषकको ठूलो लगानीमा क्षति पुर्याएको, कृषकको दैनिक आयमा ह्रास ल्याएर पेशाबाट विस्थापित हुने स्तिथिमा पुर्याएकाले कोशी प्रदेश सरकार कृषि मन्त्रालय तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराइएको संघका उपाध्यक्ष दिनेश थापाले बताउनुभयो ।

आफूखुसी मूल्य घटाउँदा हालसम्म दुध उत्पादक कृषकको रू ५० करोड ४० लाख क्षति भएकाले उक्त क्षतिपूर्ति संघलाई भराएर छाड्ने, नदिए न्यायको ढोका ढक्ढक्याउने संघले जनाएको छ । आफ्ना समस्याको विषयमा सरोकारवाला निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने संघले जनाएको छ ।

The post सरकारी निर्णयविपरीत कृषकलाई आफूखुसी दुधको मूल्य दिँदै डेरी उद्योग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register